आइतबार, असोज ३१, २०७८

हामी सबैका रहरहरुको मजबुत अभियान हो गैर आवाशिय नेपाली संघ

महेश श्रेष्ठ / जापान२०७८ असोज १२ गते १४:२१

यो धरातलमा हामीले पहाडका गाउँमा बनाउने मसिना घर, रुख विरुवा, आकाश छुने डाँडाकाँडा र यो गण्डकी बाहेक अरु केहि हुन्छ वा छ जस्तो लागेकै थिएन मलाई । स्कुले उमेरमा दिनभरी हिँडेर नागडाँडा पुग्दा मैले पहिलो पटक मोटर देखें । त्योबेला यस्तो लाग्यो, यो धरातल मेरो सोचको धरातल भन्दा धेरै फराकिलो छ । हामीले कहिल्यै नदेखेका र नसुनेका कुरा पनि यहीं छन । मैले त्यो दिन अजिवसँग नागडाँडामा उभिएको त्यो बसलाई हेरिरहेको थिएँ । साँच्चै नै मलाई त्यो दिन अचम्म लाग्यो ।

यो कथा केही दशक भन्दा बढी पुरानो होइन । मलाई कुस्मा देखि नागडाँडा बस चढेर कुद्न पाए कस्तो हुँदो हो भन्ने कल्पनाले अरु धेरै वर्ष दिमागमा फन्को मारिरह्यो । पोखराको इन्जिनियरिङ्ग पढाई सकेर काठमाडौं नगरपालिकाको जागिरे हुँदासम्म र अहिले म टोकियो शहरमा बसेर देशको बारेमा सोचीरहँदा कुस्मा जस्तो कुनै गाउँलाई काठमाडौं र काठमाडौंलाई अन्तरराष्ट्रिय स्तरको तारतम्य कसरी मिलाउन सकिएला ?

हुन त यो अली फराकिलो कुरा हो, एकजना मान्छेको सोचले तुरुन्तै कहीं कतै कायपलट हुँदैन । कुनै न कुनै तार पक्कै भेटिन्छ- सपना देख्न छोड्नु हुँदैन । यदि सपना देख्न छोडेको भए गैरआवाशीय नेपाली संघ जन्मिने नै थिएन ।

स्कुले उमेरमा दिनभरी हिँडेर नागडाँडा पुग्दा मैले पहिलो पटक मोटर देखें । त्योबेला यस्तो लाग्यो, यो धरातल मेरो सोचको धरातल भन्दा धेरै फराकिलो छ । हामीले कहिल्यै नदेखेका र नसुनेका कुरा पनि यहीं छन ।

मलाई कुनै बेला कुस्मा देखि नागडाँडासम्म बस चढ्ने रहर थियो । दुर्गम गाउँहरुमा अहिले पनि उस्तै रहरहरु ज्यँका त्युँ छन । हुन त रहरहरुको कुनै सिमा हुँदैन । ति उडीरह्न्छन हरेक पल । तिनै रहरले म जापान आइपुगें । धेरै साथीहरु दुनियाँका कुना कुनासम्म पुग्नु भएको छ- आफ्ना रहरहरुलाई छुन् ।

म अलिकती पछाडि फर्केर हेर्छु- दुनियाँका हरेक छेउमा बढ्दै गरेका सबै रहरहरुको एकमुष्ट स्वरुप रहेछ गैर आवाशीय नेपाली संघ । गैर आवाशीय नेपाली संघको अभियानमा जोडिंदै गर्दा मैले धेरै अघि देखि हामीले छोडेको त्यही धरातल सम्झिरहेको थिएँ । हाम्रा रहर र त्यो भूमिमा विस्तारै झांगिदै गरेका ति नेपाली दाजुभाइका आकंक्षाहरुलाई एकै ठाउँमा समेट्ने यो अभियानको एउटा हिस्सा बन्न पाउनु मेरो लागि गौरवकै कुरा हो ।

कस्तो लाग्यो भने यो संघ मैले कुस्मा बजार मुनी बग्ने गण्डकीको निलो पानीलाई हेर्दा हेर्दै उम्रेका सपनाहरुको संशोधित आकार हो । देश छोड्नुमा हामी सबैका आ-आफ्ना वाध्यता छन । हामी ६० लाख भन्दा बढी नेपालीहरु आफ्ना रहर र सन्ततीको भविष्यलाई मलजल गर्ने वाध्यताले बाहिरिएका छौं । हामी जो जो बिदेशी भूमिमा छौं हाम्रा आफ्नै केही अकाट्य दायरा र सिमाना छन् जहाँँ हामी कुनै न कुनै रुपमा संकुचित हुनुपर्दछ । तथापी हामीले सिकेको सिप, विदेशी भूमिमा देखाएको जाँगर र फराकिलो भएको हाम्रो सोचले पक्कै पनि त्यो भूमिको लागि केही गर्न सकिन्छ ।

मलाई कुस्मा देखि नागडाँडा बस चढेर कुद्न पाए कस्तो हुँदो हो भन्ने कल्पनाले अरु धेरै वर्ष दिमागमा फन्को मारिरह्यो ।

गैर आवाशीय नेपाली संघले १८ वर्ष पार गरीसक्दा हामी अहिले दशौं महाधिवेशनको तयारीमा छौं । यसमा मैले आफुलाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा प्रस्तुत गरेको कुरा त्यति महत्वपूर्ण नहुन सक्छ । किनभने हामीले यो संस्थालाई कसरी अगाडि बढाउने र देश भित्र र बाहिर बस्ने सबै नेपालीका सपनालाई समेटेर सँगोलमा पुर्याउने पाटो बढी महत्वपूर्ण होला । समय अनुरुप सबै ठाउँमा रुपान्तरणको आवश्यकता पर्दछ ।

पछिल्ला वर्षहरुलाई हेर्ने हो भने गैर आवाशिय नेपाली संघ पनि रुपान्तरण हुँदै गैरहेको छ । यो अनुभुत भएको कुरा हो । गैर आवाशीय नेपाली संघ आफैंमा सामाजिक संस्था भएकोले हामीहरु प्रत्यक्ष रुपमा नेपाल र नेपाली समाजसँग जोडिएका छौं । किनभने हाम्रो बुझाई अलिकती फरक छ । हामी देशमा लगानीको कुरा गरिरहेका हुन्छौं, विदेशमा आर्जन गरेको सिपलाई देशमा लैजाने कुरा गरिरहेका हुन्छौं जसले सामाजिक नक्सालाई विस्तार गर्न मद्दत पुर्याउने छ । तर हामीले बुझाउन नसकेको अथवा नबुझेको कुरा के हो भने लगानी भनेको समाज रुपान्तरण गर्ने एउटा पाटो हो । यो नाफा र घाटासँग मात्र सिमित रहँदैन ।

हामी चाहन्छौं, अब कुनै पनि युवा जमातले आफ्ना रहर पुरा गर्न विदेशिनु नपरोस् । तिनका रहर देशमै फुल्न पाउन् । यसका लागि गैर आवाशीय नेपाली संघ नेपाली र नेपाल सरकारसँग हातेमालो गर्न सधैं तयार छ । यसकै लागि भर्खरै १० अर्व लगानिको योजनाले सबै प्रकृया पार गरेको छ । विशुद्द रुपमा नाफारहित सेवाका लागि एनआरएन फाउण्डेशन स्थापना भएको छ जसले नेपाल र नेपालीका हरेक दु:खमा साथ दिने छ ।

अब कुनै पनि युवा जमातले आफ्ना रहर पुरा गर्न विदेशिनु नपरोस् । तिनका रहर देशमै फुल्न पाउन् । यसका लागि गैर आवाशीय नेपाली संघ नेपाली र नेपाल सरकारसँग हातेमालो गर्न सधैं तयार छ ।

मलाई कस्तो लाग्छ भने पछिल्ला वर्षहरुमा एनआरएनको जग निकै मजवुत भएको छ । हामीले ठ्याक्कै कता हिंड्ने हो भनेर बाटो निर्माण गरिसकेका छौं । अब त्यो जगमा इँट्टा थप्ने काम बाँकी छ । नेपाल र हामीहरुलाई एकै ठाउँमा समेट्ने सुमधुर बाटो जोडिने छ । एनआरएनको गती र दायरा फराकिलो हुँदै जाँदा पछिल्ला दिनहरुमा यो संस्थालाई नेपालका राजनीतिक दलहरुसँग जोडेर विवादमा ल्याउने कोशीस भएको छ । म यो संस्थाको जिम्मेवार ब्यक्ति भएकोले के कुरा स्पष्ट पार्न चाहन्छु भने नेपालका सबै राजनीतिक दलहरु अथवा कार्यकारी ब्यक्तिहरु हामीसँग उत्तिकै निकट छन् । नेपाल सरकार हाम्रो सहयात्री हो । नेपाल सरकार र त्यहाँका राजनीतिक दलहरुले देश बनाउने काममा चालेका हरेक कदमहरुमा हामी परोक्ष रहन सक्दैनौं ।

तर यसको अर्थ यो होइन कि हामी त्यहाँको आन्तरिक राजनीतिमा सामेल छौं । हाम्रो उद्देश्य र बाटो स्पष्ट छ- बिदेशमा बस्ने हामी नेपालीहरु त्यो अनेकौं पुस्ता किन नहोस् नेपाल र नेपालीसँगै जोडिने कोसिसमा छौं । त्यहाँबाट हामी कसैगरी अलग हुन सक्दैनौं । सुन्दर देश, सुखि र हँसिला नेपाली, गौरव गर्न लायकको राष्ट्र बनाउन हामी हरेक भावना, प्रत्येक मन र सबै बिकल्पले लाग्ने छौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक