मंगलबार, वैशाख ११, २०८१

एनआरएनए केन्द्रिय निर्वाचनकालागि बद्रि केसीको उम्मेदवार सूची सार्वजनिक

नेपालप्लस संवाददाता२०७८ असोज १२ गते १४:४२

गैर आवाशिय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन् । रसिया निवासी ब्यवशायी समेत रहेका बर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन् ।

डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ ।

उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन् ।

महासचिवमा अमेरिकाका गौरीराज जोशीलाई अघि सार्ने निधो डा. केसी समूहले गरेको छ । जोशी बर्तमान कार्यसमितिका सचिव समेत हुन् ।

एक महिला अनिवार्य सहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै,महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन् ।

क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेदवारहरुबारे पछि निर्णय गर्ने डा. केसीको सचिवालयले जनाएको छ ।

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । नेतृत्वका लागि बेलायतका ब्यवसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाइँको प्रतिक्रिया