बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री पत्नीद्वारा एनआरएनमा हस्तक्षेप, परराष्ट्र मन्त्रायलद्वारा आदेशात्मक पत्र (पत्रसहित)

नेपालप्लस संवाददाता२०७८ भदौ १८ गते १९:२१

एनआरएनए राष्ट्रिय परिषद जापानको अधिवेशनमा भएको भनिएको धाँधली र मत दुरुपयोगको विषयमा परराष्ट्र मन्त्रालयले एनआरएन केन्द्रलाई स्पष्टिकरण सोधेको छ । मन्त्रालयद्वारा भदौ १७ गते पठाएको पत्रमा पाँच दिन भित्र जवाफ पठाउन आदेश दिइएको छ ।

यस अघि नेपाली दुतावास टोकियोले राष्ट्रिय परिषद निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा निर्वाचन समितिले गरेको छानविन प्रतिवेदन सहित परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । त्यहि पत्रअनुसार मन्त्रालयले एनआरएनलाई स्पष्टिकरण सोधेको हो ।

टोकियो दुतावास राष्ट्रिय परिषद जापानको पुन: निर्वाचन गराउने पक्षमा उभिएको छ र राजदुत प्रतिमा राणाले मन्त्रालयमा पटक पटक फोन गरेर दवाव दिने गरेको मन्त्रालयका एक जना अधिकारी बताउँछन । एनआरएनको आन्तरिक मामिलामा दुतावास सिधा हस्तक्षेपकारि भूमिकासहित संलग्न भएको यो पहिलो पटक हो ।

आन्तरिक विवादहरुलाई सल्ट्याउने एनआरएनए सँग आफ्नै संयन्त्रहरु छन् । यसलाई एनआरएनए अभियन्ताहरुले दुतावासको हस्तक्षेपका रुपमा बुझेका छन् । राष्ट्रिय परिषद जापानका एक सदस्य भन्छन्- धाँधलीका विषयमा समितिको रिपोर्ट केन्द्रलाई बुझाईसकेको अवस्थामा उसले काम गर्न नपाउँदै आन्तरिक मामिलामा दुतावासको संलग्नता देखिनु गम्भिर हस्तक्षेप हो । यसले संस्थाको दिर्घकालिन विकासमा गहिरो राजनीतिक प्रभाव पार्ने छन् ।

मन्त्रालयद्वारा प्रेषित पत्रमा जापान बाहेकका अन्य मुलुकहरुमा समेत प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयमा निर्वाचन नगरिएको भन्ने खालका उजुरी परेको हुनाले सत्यतथ्य बुझेर जवाफ दिन भनिएको छ । तथापी एनआरएन डेस्क हेर्ने परराष्ट्रका अधीकारीहरुले स्पष्टिकरणको मुख्य आधार टोकियो दुतावासको पत्रलाई आधार मानेका छन् ।

राजदुत प्रतिभा राणाको दवाव र दुतावासको पत्र पछी एनआरएन विवादमा मन्त्रालय मिसिएको छ । उसले पठएको पत्रमा भनिएको छ- नेपाली राजदुतावास टोकियोको पत्र मार्फत गैर आवाशिय संघ, जापानको अध्यक्ष मण्डलद्वारा गठित निर्वाचन समिक्षा समितिले आफ्नो छानविन पश्चात आएको प्रतिवेदनमा अनियमितता भएको देखिन्छ । यसले उक्त निर्वाचनको वैधतामा प्रश्न खडा गरेको छ” । यसको मतलव टोकियो दुतावास एनआरएनए जापान राष्ट्रिय परिषदको निर्वाचन पुन: गराउने पक्षमा छ ।

परराष्ट्र मन्त्रालयको आदेशात्मक पत्र

त्यसो त, राजदुत राणालेनै निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथ खुवाएकी हुन् । त्यसबेला नै निर्वाचनमा धाँधली भएका समाचारहरु सार्वजनिक भएका थिए । नेपालप्लसले त्यहाँको निर्वाचनमा भएको धाँधलीको समाचार पहिलो पटक प्रकाशन गरेको थियो । तथापी राजदुत राणा सपथग्रहण कार्यक्रममा उपस्थित भईन् ।

सपथको एक हप्ता पछी किन यस्तो दवाव ? हामीले यो प्रश्न टोकियो दुतावासका नियोग उपप्रमुख अम्बिका जोशीलाई सोधेका थियौं । “हामीले कुनैपनि दवाव दिएका छैनौं । हामीलाई त पछीसम्म पनि यस्तो भएछ भन्ने कुराको जानकारी थिएन” उनले भने “तर पछी एक पक्षले चुनावमा धाँधली भयो भनेर दुतावासमा भन्नुभयो । हामीले धाँधली भयो भन्ने उहाँहरुको निवेदन र छानविन समितीको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएका हौं ।”

दुतावासले एनआरएनको विषयमा किन यसरी चासो लिएको भन्ने एक जिज्ञासामा जोशीले भने- हामीले कुनै प्रकारको चासो लिएका छैनौं । हामीकहाँ आएका नेपालीहरुको गुनासा मन्त्रालयमा ‘फरवार्ड’ मात्र गरेको हो । अब राजदुत ज्युले कसैसँग मौखिक केही भन्नु भएको रहेछ भने त हामीलाई थाहा भएन ।”

परराष्ट्र मन्त्रालयले घुमाउरो पाराले जापानको राष्ट्रिय परिषदको पुन: निर्वाचन गर्ने संकेत गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्त भन्छन्- यो समस्या राष्ट्रिय परिषद भित्रको समस्या हो । त्यसमा हस्तक्षेप गर्ने हामीलाई हाम्रो विधानले दिंदैन । समस्या देखिएका विषयमा त्यहिकै साथीहरु बसेर समाधान गर्नुहुन्छ । अब परराष्ट्र मन्त्रालयलाई जवाफ पठाउने कुरा रह्यो । त्यो हामीले समयमा नै पठाउछौं ।”

जापान समस्याको खास कुरो के हो त ? यसलाई अलिकती पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । गत श्रावण ७ गते नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विदेशस्थित जनसंपर्क समितिका संयोजक तथा अध्यक्षहरुलाई सम्बोधन गर्दै पत्र लेखेका थिए । जसमा एनआरएनको राष्ट्रिय परिषद निर्वाचन र केन्द्रिय निर्वाचनमा कांग्रेस पक्षधर उम्मेद्वारहरुलाई विजयी गराउन निर्देशन दिइएको थियो । नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन अनुसार जनसंपर्क समितिहरु तयार थिए । तर सबै ठाउँमा सोचे जस्तो परिणाम आउन सकेन ।

त्यसो त, जापान लगायतका केही देशमा धाँधली भएको पनि सत्य हो । जापानको परिणाम आफ्नो पक्षमा नआएपछी त्यसको गुनासो नेपाली कांग्रेसका केही नेताहरुसम्म पुगेको थियो । महाधिवेशनको संघारमा रहेको कांग्रेस पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुको गुनासो सुन्नुपर्ने समय थियो । छानवीन समितिले काम थाले देखिनै प्रधानमन्त्री पत्नी आराजु देउवा राणाले तारन्तार परराष्ट्र मन्त्रालयमा फोन गरेकी थिइन् । उनले कुनैपनि हालतमा जापानको पुन निर्वाचन गराउनुपर्नेमा दबाब दिएको मन्त्रालयका एक जना अधिकारी बताउँछन ।

ति अधिकारी भन्छन्- “झट्ट हेर्दा मन्त्रालयले एनआरएनको आन्तरिक मामिलामा हस्तक्षेप गरे जस्तो देखिन्छ । तर हामीहरुले दवाव थेग्न नसकेर नै पत्र काटेको हो । आराजु देउवा प्रधानमन्त्री पत्नी भएकाले पनि एनआरएन शाखा हेर्ने कर्मचारीहरु त्रास फैलिएको ति अधिकारीको भनाइ छ ।

उनका अनुसार नेपाल सरकारले कुनै गम्भिर प्रकृतीको विषय नभएसम्म एनआरएनको आन्तरिक मामिलामा मुछिनु मनासिव हुँदैन । यो हामीलाई थाहा छ । तर हामीलाई दवाव दिनेले कसरी यस्तो कुरा दोहर्याइरहन्छन् पुरै मन्त्रालय अचम्ममा छ ।

तपाइँको प्रतिक्रिया