शुक्रबार, वैशाख १४, २०८१

भाङको सत्यले चिमोटिएको बेला

कृष्ण शर्मा२०७८ भदौ २० गते ११:५५

उपनयन हुँदै गर्दा सुशील र म धेरै साना थियौँ । कानमा खुसुक्क सुनाईएको गायत्री मन्त्रको अर्थ बुझ्नु त टाढाको कुरा भयो । ठाडो मन्त्र सम्झनसक्ने भएका पनि थिएनौं । तर त्यति बिघ्न साना पनि थिएनौं कि लोकोक्तिले संकेत गरेजस्तो ओंठ निचर्दा दूध आउने होओस । भाइको र मेरो ओंठमाथि हल्का जुंघाका रेखि बस्न थालेका थिए कि जस्तो पनि लाग्छ । बाल्यकालमा बिन्दास थियौं । चिन्ताका बादल कहिं कतै थिएनन् । पर्वमय थियो जिन्दगी । शरद ऋतु जस्तै उल्लासपुर्ण थियो जिन्दगी ।

तर उपनयन पछि अनायास परिवर्तनले पछ्याउन थाले । परिवारबाट छुटाएर हामीलाइ भान्से खोजेर एक्कासि पढ्नका लागि पाल्पा पठाइयो । हिउँदको तुसारो पर्ने बिहानिमा तानसेन होलाँदी स्थित ढुंगेधाराको मुहानमै टाउको सोझ्याएर स्नान गर्नुपर्दा हामी दाजुभाइको आँखाबाट आँसु त्यति नै अनुपातमा बग्थ्यो जति त्यो चिसो धाराबाट पानी । तराइको न्यानो घर, हजुरआमाको माया, आमाको ममता, कलबाट निस्कने तातो पानी, समथल धुलौटे बाटो र त्यसमा गरिने उधुमको साइकल कुदाइ, सोमबारे हाट, लहलहाउँदा खेत खलियान, आँपका बगिया, भोजपुरी संगीत, ताजियाका मेला, बनियाका पसल, सुन्तला मिठाइ, नेबिको बिस्कुट, ऊँखुका ट्रक आदी इत्यादि सम्झेर रुनु बाहेक हामिसँग अर्को उपाय थिएन ।

म र मेरो भाइमा विधार्थीका पाँच लक्षणहरु (कागको जस्तो दृष्टि, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, अल्प भोजन एबं गृह त्याग) मध्ये सायद पाचौं लक्षण मात्र थियो । तराइमा पढाइ राम्रो भएन भनी बुबाहरुले तानसेन पठाउनु भएको थियो । अबुझ भएकैले अल्लारे थियौं । छुट्टिको दिन शीतलपाटी, टक्सार, श्रीनगर, बनदेवी, बसपार्क, सिनेमाहल अनि टुँडिखेल तिर ज्यादा हुन्थ्यौं । दिनमा दश घण्टा भन्दा बढि सुत्थ्यौं । अनि खानाको काल नै थियौं भन्दा अत्युक्ति नहोला । संस्कार त्याग्ने हिम्मत गर्ने चाहिं भैसकेका थिएनौं । हेरक विहान स्नान गर्नु पर्दा रुन्थ्यौं । तर गायत्री लगायतका मन्त्र पढ्दा मन प्रफुल्ल हुन्थ्यो ।

भाग्यमानी नै मान्नु पर्ला, समयले हुर्कायो । स्कूले जिवन बित्यो । कलेजका शुरुवाति दिन आए । शहरमा अरु साथीहरु नौला बने । हामी चाहिं रैथाने । घरमा भाडा बस्ने क्याम्पस पढाउने गुरुहरुसँग बिदाका दिनमा तास खेल्ने अनि सहपाठि विधार्थीहरुलाइ शहर, सिनेमाघर र श्रीनगर घुमाउने भैसकेका थियौं । यत्तिकैमा शिवरात्रि आयो । हरेक वर्ष पर्बासमा आयोजना हुने शिवरात्रिको मेलाबाट फर्के पछि भाङको लड्डु खाने कुरा भयो । नारायणस्थानको पेडा पसल गयौं । भाङका लड्डु खाएको करिब आधा घन्टा पछि त दिमाग यसरि घुम्न थाल्यो कि हामी हामी जस्ता रहेनौं । दिमागसँगै कोठा घुम्न थाल्यो । घर घुम्न थाल्यो । सारा दुनियाँ घुम्न थाल्यो । उठेर हिंड्न खोज्दा बाटो घुम्न थाल्यो । गल्लि घुम्न थाल्यो । शौचालय घुम थाल्यो । मान्छेहरु कमिला झैं घुमिरहेका जस्ता देखिन थाले । त्यसको दुइ दिन पछि मात्रै होश फिर्ता आउँदा बस्तुतः हामी ठिक छौं जस्तो लाग्यो । तर दिमाग र शरिर पुरानो तालमा आउन सकिरहेका थिएनन ।

पत्रकारितालाइ ब्यवसाय बनाएकाहरुले पत्रकारहरुलाइ राम्ररि बाँच्न पनि दिंदैनन् अनि मर्न पनि दिंदैनन् । भिन्दा भिन्दै समय र परिस्थितिमा जब जब मैले पत्रकारिता गरें तब तब म चरम आर्थिक संकट्बाट गुज्रें । चाहे त्यो भैरहवाको सूचना अर्ध साप्ताहिकमा काम गर्दाको समय होस वा काठमाडौंको बालमन्चमा काम गर्दा होस । वा काठमाडौंकै दि राइजिंग नेपालमा काम गर्दा होस वा अमेरिका आएपछि कनेक्सन साप्ताहिक वा दि वाशिंटन पोस्टमा ।

शिवरात्री पछिको तेस्रो दिन पत्रकारिता तालीमको लागि बुझाउनुपर्ने निबन्धको म्यादको अन्तिम दिन थियो । मैले कोशिस गरें तर लेख्न सकिन । भाङको असर बाँकि नै थियो । जति पानी पिएपनि मुख सुकेर खरानी बुकाए जस्तै सुख्खा प्रतित भइरहेथ्यो । त्यसदिन बिहान जेसुकै होस भनेर पत्रकारिता तालिममा भाग लिने योजना तुहिन दिएँ । दिउँसोतिर भाङको असर कम भए जस्तो लाग्यो । होलाँदी गएर चिसो पानीमा स्नान गरेपछि नयाँ कपडा लगाएर म शितलपाटी तिर उकालो लागें । सत्य साप्ताहिकको कार्यालय अगाडि पुग्दासम्म पनि म स्वयंलाइ थाहा थिएन हातमा “म किन लेख्छु?” नामक शिर्षकको निबन्ध बिना मैले कसलाइ भेटेर के भन्दैछु भनेर !

मेरा रित्ता हातले दुस्तक दिएको अलिक बेरमा उक्त कार्यालयको ढोका खुल्यो । हुरी जस्तै अनुमति बिना नै भित्र पसें । कुर्कुरे बैंसको करामत थियो शायद । खै अरु के कुराले सनक थपेको थियो कुन्नि ! अलिक घमण्डि स्वभावको थिएँ ।

“कसलाइ खोजेको?” कार्यालय सहायकको रुखो सोधाईले म अलिक हच्किएँ । शायद कार्यालय सहायक रिसाउनु स्वाभाविक थियो । उसको ठाउँमा भएको भए म उ भन्दा बढि नै रिसाउँथें होला, अनुमति बिना सिधै भित्र पसेको मान्छे बिरुद्ध ।

एक छिन त्यहिं उभिएर सोचें, म कसलाइ र किन भेट्न आएको हुँला भनेर । त्यो कार्यालय सहायकले आफ्ना तिखा नजर मेरो दुब्लो पातलो शरिरमाथि दौडायो । मलाइ हल्का महशुस भैरहेको थियो कि उ अलिक बढि नै हेपाहा तरिकाले प्रस्तुत भएको छ भनेर ।

तरपनि मैले नम्र स्वरमा उसलाइ भनें, “म बिनय सरलाइ भेट्न आएको हो।” म त्यति सम्यमी मानिस थिईन । तर म त्यस दिन सन्तुलित हुन सकेकोमा आज पर्यन्त अचम्भित छु।

“बिशेष कारण?” उसको स्वभाव अझै उस्तै थियो । उ हाकिम भएको भए मलाइ धेरै पहिले नै घोक्रेठ्याक लगाएर निकालिसकिको हुन्थ्यो होला ।

“उहाँको पत्रकारिता तालिम सम्बन्धि सूचनाको बौलठ्ठिपन देखेर दया लाग्यो । त्यसैले उहाँलाइ सुझाव दिन मन लागेर आएको ।”

भाङका लड्डु खाएको करिब आधा घन्टा पछि त दिमाग यसरि घुम्न थाल्यो कि हामी हामी जस्ता रहेनौं । दिमागसँगै कोठा घुम्न थाल्यो । घर घुम्न थाल्यो । सारा दुनियाँ घुम्न थाल्यो । उठेर हिंड्न खोज्दा बाटो घुम्न थाल्यो । गल्लि घुम्न थाल्यो । शौचालय घुम थाल्यो । मान्छेहरु कमिला झैं घुमिरहेका जस्ता देखिन थाले ।

म जस्तो फुच्चे मान्छेको यति ठुलो कुरा सुनेर कार्यालय सहायक केहिबेर अलिक बिस्फारित अनि त्यसपछि किंकर्तब्य बिमुढ भयो । उसले केहि भन्नुअघि भित्रबाट कोहि हिंडेको पदचाप नजिकिंदै आयो।

आँखामा गान्धिबादि चश्मा मिलाउँदै सत्य साप्ताहिक पत्रिकाका प्रकाशक एवं सम्पादक बिनय कुमार कसजू सर मेरो अगाडि आएर उभिनु भयो ।

उहाँले केहि सोध्नु अघि मैले आफ्नो छुचो परिचय दिएँ । उहाँले मलाइ आफ्नो नाम जस्तै भावमा आफ्नै कार्यकक्षमा लैजानुभयो । बस्दै गर्दा मलाइ सजिलो महशुस पार्न भन्नुभयो “मैले पनि तपाइले नै पढेको स्कूलमा पढेको हो । जगत बहादुर जोशी सर मेरो पनि प्रधानाध्यापक हुनुहुन्थ्यो।”

उहाँको त्यो अभिब्यक्तिले मलाइ चंगा जस्तै एकदमै सजिलो महशुस गर्न सहयोग गर्यो। म अब के भनुँ के भनुँ भनेर दिमाग भरि अल्झिरहेको थिएँ ।

अन्ततः मेरो दिमागमा बचावटको एउटा तर्क लुसुक्क आयो । बिनय सरको आँखामै हेरेर मैले भनें “म पत्रकारिता तालिमका लागि निबन्ध लेख्न अल्छि लागेर यो तर्क लिएर आएको होइन । तर मलाइ के लाग्यो भने कि तपाइले दिएको शिर्षकमा यदि मैले मेरो दाजुलाइ वा पिताजीलाइ वा अरु कोहि म भन्दा बढि जान्ने मान्छेलाइ लेख्न लगाएर पठाए नपठाएको तपाइले कसरि थाहा पाएर मलाइ अन्य योग्य उम्मेदवारहरु छोडेर छान्नुहुन्छ?”

बिनय सरले मेरो कुरा बुझिहाल्नु भयो । “मैले एकपल्ट सबै इच्छुकहरुलाइ कुनै स्थान र समयमा बोलाएर परीक्षा जस्तै लिउँ कि भन्ने बारे नसोचेको पनि होइन । तर पछि आफ्नो सजिलोको लागि निबेदन मार्फत निबन्धको माग गर्यौं । आगामी दिनमा तपाइको सुझावलाइ बिल्कुल गम्भिरताका साथ कार्यान्वयन गर्छौँ । बरु तपाइ तालिमका लागि इच्छुक हो भने यहिं बसेर केहि लेख्नुहोस न, हुँदैन ? प्रतियोगितामा तपाइको निबन्धलाइ सामेल गर्छौं र अब्बल देखियो भने तपाइको नाम पनि प्रशिक्षार्थिको रुपमा प्रकाशित गर्ने छौँ।

मैले के लेखें याद छैन । तर लेखें । अनि बिनय सरको हातमा थमाएर नमस्कार गर्दै बाहिर निस्कें ।

केहि दिन पछि सहपाठि साथी बालनर सिंह जिसिले पत्रकारिताका लागि मेरो नाम पनि प्रकाशित भएको सूचना दिएपछि ममा खुशिको सिमा रहेन । अन्य सहभागिहरु मध्ये हामीलाइ कलेजमा अंग्रेजि, अर्थशास्त्र र संस्कृति पढाउने गुरुहरु पनि भएको थाहा पाएपछि म त सानैउमेरमा ठूलै मान्छे हुँदैछु कि क्या हो भन्ने भ्रम बढ्यो । कलेजको कक्षाकोठामा सबैका अगाडि अंग्रेजी पढाउने गुरु सुदिप बागचीले ‘मेरो पत्रकारिता तालिमको सहपाठि’ भनेर परिचय गराउँदा शायद मेरो नाकको पोरा फुलिरहेको हुंँदो हो ।

पत्रिकाको गन्ध (आजकल लोप हुँदै गए पनि) अझै पनि नयाँ कारको गन्ध जस्तै मन पर्छ । पत्रकारिता गर्दा सिकेका कुनै त्यस्ता कुरा छैनन् जो मेरा अन्य पेशाका लागि सहायक नबनेका होउन् । बरु गर्वका साथ भन्न सक्छु, म अन्य पेशामा खरो उत्रन सक्नुमा पत्रकारिताले सिकाएका ए बि सि नै सधैं निर्णायक बनेका छन् ।

जीवनको लामो बाटो हिंड्दै गर्दा प्रत्येक घुम्तिमा मैले पछाडि फर्केर हेर्ने कुनै सानो तर प्रिय घटना छ भने त्यो यहि घटना हो जसले मलाइ त्यसपछि कहिल्यै संकोचको ठेस लाग्न दिएन ।

हो म स्विकार्छु, पत्रकारितालाइ मैले जीवनभर बाँच्नको लागि मुख्य पेशा बनाउन चाहिन । कारण स्पष्ट थियो : पत्रकारितालाइ ब्यवसाय बनाएकाहरुले पत्रकारहरुलाइ राम्ररि बाँच्न पनि दिंदैनन् अनि मर्न पनि दिंदैनन् । भिन्दा भिन्दै समय र परिस्थितिमा जब जब मैले पत्रकारिता गरें तब तब म चरम आर्थिक संकट्बाट गुज्रें । चाहे त्यो भैरहवाको सूचना अर्ध साप्ताहिकमा काम गर्दाको समय होस वा काठमाडौंको बालमन्चमा काम गर्दा होस । वा काठमाडौंकै दि राइजिंग नेपालमा काम गर्दा होस वा अमेरिका आएपछि कनेक्सन साप्ताहिक वा दि वाशिंट्न पोस्टमा । यदि यि सबले मलाइ दिएको एक मात्र साझा कुरा केहि थियो भने त्यो थियो, मर्न पनि नदिने तर राम्ररि बाँच्न पनि नदिने खालको आर्थिक जिन्दगी ।

तर पनि मैले आफूलाइ सधैं पत्रकार भन्न रुचाएँ । पत्रकार साथीहरु आज पर्यन्त दाजु भाइ जस्ता लाग्छन् । पत्रिकाको गन्ध (आजकल लोप हुँदै गए पनि) अझै पनि नयाँ कारको गन्ध जस्तै मन पर्छ । पत्रकारिता गर्दा सिकेका कुनै त्यस्ता कुरा छैनन् जो मेरा अन्य पेशाका लागि सहायक नबनेका होउन् । बरु गर्वका साथ भन्न सक्छु, म अन्य पेशामा खरो उत्रन सक्नुमा पत्रकारिताले सिकाएका ए बि सि नै सधैं निर्णायक बनेका छन् ।

पत्रकारिता र भाङको त्यो सुरुवाती संयोग आज पर्यन्त मेरो स्मृतिको गर्भमा सुरक्षित बसेको छ । मलाइ लाग्छ, स्वर्गीय बिनय सरले मेरो छनोट निबन्धको सतहि आधारमा मात्र गर्नु भएको थिएन । पत्रकारिता गर्न पत्रकारमा शैक्षिक दक्षताको अलावा साहस र तर्क शक्ति पनि चाहिन्छ । अर्को अर्थ नलागोस्, पत्रकारिता मेरो लागि भाङ लिएको बेला हो । डर भागेको बेला हो । साहस जागेको बेला हो । आँखामा आँखा मिलाएर बोल्ने बेला हो । बिवेक बोल्ने बेला हो । मान्छेको मानविय धर्म बोल्ने बेला हो । मान्छेको हृदयलाइ हल्लाउने बेला हो ।

त्यसैले आजसम्म पनि मैले बाँच्नका लागि पत्रकारिता नगरे पनि म ज्युँदै छु कि छैन भनी स्वयंलाइ चिमोट्न लेख्ने गरिरहेको छु । स्वर्गीय बिनय सर, यदि तपाइँको पत्रकारिता कार्यशालाको प्रशिक्षार्थि पत्रकार बन्न आज त्यो निबन्ध फेरि लेख्नु परेको हुन्थ्यो भने मेरो अन्तिम वाक्य यो हुन्थ्यो : म सत्यबाट चिमोटिन लेख्छु ।

कृष्ण शर्माको अघिल्लो लेखपनि हेर्ने कि ?

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

तपाइँको प्रतिक्रिया