मंगलबार, मंसिर २१, २०७८

आफैंले हुर्काएको समय मरेको हेरिरहने छु

गुमनाम परदेशी२०७८ भदौ २१ गते १४:५०

जीवनको एउटा कलिलो पाटो सकियो । आशाहरु कस्ता हुने रहेछन भनेर धेरैबेर मैले सोचिरहें । ति उड्ने चंगा जस्ता, धागो सँगै जोडीएर फर्किन पनि सक्छन । धागो चुँडिएर आकाशमा अलाप हुन पनि सक्छन । मेरा आशाहरुको मैले कहिल्यै भेउ पाइन । शायद चंगा जस्ता थिए, धागो चुँडिएर आकाशमा हराएको कागजको एउटा पानो । उमेरको त्यो कलिलो पाटो हेर्नु बेकार छ अब । चंगा चुँडियो या जोडीयो त्यो सबै अतितको वादलमा विलय भएको छ । म चंगा चुँडिए जस्तै भएँ । त्यही त खोजेको थिएँ शायद मैले ।

उ बेला धागो चुँडालेर आकाशमा उडेको हाम्रो कापीको पानोलाई मैले धेरैबेर हेरेको थिएँ । यस्तो लाग्यो, त्यो कागजको टुक्रो कती खुशी भए होला वन्धन मुक्त भएर । घर ओर्लिंदा अहिले पनि सोच्छु- कहाँँ पुगे होला त्यो मेरो कागजको पानो ? त्यसैले त मलाई उड्न सिकाएर गएको थियो । एक दिन आमालाई भनें- मलाई उड्न मन छ । आमा दंगदास परिन् । “पछी ठुलो भए पछी विदेश जालास नि” । तर मलाई धागो चुँडाएर उड्न मन थियो । कहाँँ पुग्छ बन्धन विनाको जीवन । मलाई त्यता सोच्न मन लागेन ।

हाम्रो घर देखि अली तल पुगेपछी नारायणी नदी फन्फनी घुमेर खर्खरेको भित्तोमा ठोकिन्छ । त्यहाँभन्दा अली माथि एउटा सानो बगर छ । पहिले हामी त्यसलाई घुमाउनी भन्थ्यौं । अहिले चक्रघाट भएको छ । थुम्सीका मान्छेहरुको अन्तिम विन्दु । पुरै जिन्दगी त्यहिं पुगेर विसर्जन हुन्छ । तर त्यही बगर राफ्टिङ् गर्ने पारखिहरुका लागि बास बस्ने थलो पनि हो । मलाई उदेक लाग्दथ्यो सानो छँदा- हाम्रो जीवन खरानी पारीने त्यो बगरमा दुर देशको कुनै शहरबाट पानीमा चोभलिंदै आउने गोराहरुले कस्तो जिन्दगी फेला पार्दा हुन् । हामी रुँदै फर्किने त्यो बगरमा उनिहरु हाँसिरहेका हुन्थे । कसरी जिन्दगीको उद्घोषण गर्न सकिन्छ- त्यही ठाँउबाट ।

हामी गाउँमा ओर्लिंदा छेउछाउमा केटाकेटीहरु खेलिरहेका थिए । म कस्तो देखिएँ कुन्नी खेल रोकेर मलाई ट्वाल्ट्वाल्ति हेरे । कतिले आपसमा कुरा पनि गरे । त्यहाँ म अर्कै लोकको मान्छे जस्तो देखिएँ । ति केटाकेटीको कल्पना भन्दा बाहिरको प्राणी ।

तै पनि मलाई गोरा हेर्न जाने नशा भो । गोराहरुको आकर्षण अर्कै थियो । ति सुकिला लाग्दथे । शास्त्रहरुले वर्णन गेरेका अलौकिक मान्छे जस्ता । बेलुका रातीसम्म तीनलाई हेरेर बगरमा बस्नु र बिहान जुरुक्क उठेर फेरी त्यहीँ पुग्नु अजीवको दिनचर्या बन्यो । कहिलेकाहीँ उनिहरुले बाँड्ने मसिना डट्पेनले जिन्दगीमा कती हो कती खुशी थप्यो ।

आमालाई एक दिन सोधें, यि गोरा किन आउँछन यो बगरमा ? खर्खरेको भित्तोमा ठुलो सुन खानी छ- त्यही निकाल्ने दाउमा छन् गोराहरु आमाले भनिन् । त्यही दिन देखि मलाई गोरा हेर्न मन लागेन । हामीलाई मसिना डट्पेन बाँडेर सुन ओसार्न आएका भन्ने भो मनमा । बरु अब मलाई चुँडिनु छैन । धागोले बाँधी रहोस् । उड्ने रहर सकियो, खर्खरेको भित्तो कोपर्ने रहर जाग्यो । तर त्यस्तो हुँदैन नि त । सोचाइ साकार थोरै मान्छेका मात्र हुन्छन । धेरै मान्छेहरुका सोचाइले आकार लिन पाउँदैनन, ति छोडिन्छन कतै । खै कुन्नी कसरी जिन्दगीमा केही न केही छुटिरहेका हुन्छन । सोचहरु छुट्छन, आफुले हुर्काएको समय छुट्छ । एउटा सम्पूर्ण धरातल कता हो कता अदृष्‍य हुन्छ । मैले आफ्ना सोचहरुलाई जोगाउने धरातल समात्न सकिन । त्यो धरातल धागो चुँडिएको चंगा जस्तो भयो । मेरा सोचाहरु आकाशमा धेरै माथि धुमिल भएर विलिन भए ।

त्यो खर्खरेको भित्तो उस्तै छ । नारायणीको भेलले हेरेक वर्षा मुटु फुट्ने गरेर हिर्काएर जान्छ । त्यो भित्तो त्यहीँ छ, त्यसको धागो चुँडिएन ।

अली अस्ती आमाले भनिन्- खर्खरेको भित्तो पुरिने गरेर नारायणी उर्लियो ।

‘सुन सबै बगायो होला’ मैले भने । गोराले उखेल्न नसकेको सुनखानीको त्यो भित्तो नारायणीको भेलले कोपरेर गयो । त्यसलाई हामीले कोपर्न सकेनौं । गोराहरु अझै पनि नारायणीको पानीमा चहै चहै झर्छन र घुमाउनीको बगरमा रात बिताएर त्यही भित्ताको फोटो खिच्दै ओरालिन्छन् । गाउँका धेरैलाई अहिले पनि लाग्छ, त्यो भित्तोमा सुनखानी छ र त गोराहरु वर्षेनी आउँछन् । हाम्रो उतिबेला जस्तो अहिलेका केटाकेटी गोरा हेर्न हामी जस्तै दौडिन्नन्, अहिले समय फेरिएको छ । दंगदास पर्ने समय सकिएको छ । तर उड्ने चाहना सबैका छन् । ति सबैले आफूलाई आफ्नो धागो चुँडिएको हेर्न चाहन्छन्, जस्तो म चाहन्थें ।

धेरै अघि एक दशक पहिला होला, जर्मनी-अष्ट्रिया बोर्डरमा पर्ने एउटा सानो गाउँ, त्यो गाउँको नाम विर्सें । त्यहाँको गाई पालन हेर्ने लहड चल्यो । दुई जना चिनजानका जर्मनहरुको साथ लागेर घाम ढल्किनै लाग्दा त्यहाँ पुगें । अद्भुत गाउँ थियो त्यो- बिल्कुल अर्ज्ञानीक । भिरालो परेको जमिनलाई गह्रा गह्रा जस्तो बनाएर सानो गाउँ बनेको थियो । सबैभन्दा माथि स्कुल, विचमा सिर्लिक्क तिखो परेर उभिएको चर्च र सबभन्दा तल गाईका गोठहरु ।

मलाई विदेश पुगेर भाग्यको तमसुक लेख्ने रहर जागेन । कोरिया पुगेर आफ्ना बाउलाई पैसा पठाउने साथीहरुका समाचारले सँधैभरी झिज्याई रहे ।

हामी गाउँमा ओर्लिंदा छेउछाउमा केटाकेटीहरु खेलिरहेका थिए । म कस्तो देखिएँ कुन्नी खेल रोकेर मलाई ट्वाल्ट्वाल्ति हेरे । कतिले आपसमा कुरा पनि गरे । त्यहाँ म अर्कै लोकको मान्छे जस्तो देखिएँ । ति केटाकेटीको कल्पना भन्दा बाहिरको प्राणी । ठ्याक्कै मैले सानामा गोरा देखे जस्तै । मैले पहिलो पटक गोरा देख्दा जसरी चकमन्न परेको थिएँ त्यस्तै भए होला तिनलाई । एक दिन यिनिहरुको पनि जीवनको कलिलो पाटो सकिने छ । धागो चुँडिएको चंगा जस्तै यिनिहरुको सोच पनि छरिने छन् ।

म आजभोलि सोचिरहन्छु, सोचको उमेर कती होला । घुमाउनीसँग जोडीएका मेरा सोच कती बाँचे । मान्छेहरुका ति सोचहरु किन अजम्बरी हुन सक्दैनन् ? मलाई कहिल्यै पनि परदेश पस्न मन लागेन उ बेला । देशको मायाँले होइन । तर मलाई विदेश पुगेर भाग्यको तमसुक लेख्ने रहर जागेन । कोरिया पुगेर आफ्ना बाउलाई पैसा पठाउने साथीहरुका समाचारले सँधैभरी झिज्याई रहे । तै पनि काठमाडौंको धुलोमै सहि मेरो कल्पनाको समयलाई हुर्काउने निधो गरें । मान्छेहरु भन्छन् नि, समय वलवान छ भनेर । त्यस्तै एउटा आफ्नै वलवान समय हुर्काउन मन थियो ।

तर कल्पना उदेक लाग्दा हुन्छन्, सोचको परिधि हुँदैन । कुनै दिन आफ्नै सोचले पर क्षितिजमा बसेर आफैंलाई गिज्याइरहेका हुन्छन् । कति लाज मान्नु- आफैसँग । अनी चंगा चुँडियो, जिन्दगी हलुङ्गो भयो । बेपरवाह उड्यो बादलसँग । एक दिन फेरि उत्पातको वर्षाद हुनेछ र पानीले भिजेको जिन्दगीको चंगा छाँट्टिने छ कतै कुनामा । म आफैंले हुर्काएको समय मरेको हेरिरहनेछु । मेरा सोचहरु, मेरा मलामीहरु- धागो चुँडिएको चंगा जस्तो सुनसान एकलव्य ।

तपाइँको प्रतिक्रिया

फेसबुक