शनिबार, असोज २, २०७८

एनआरएनमा ४१ प्रोजेक्ट : काम गर्ने नगण्य, अधिकांशको ध्याउन्न आफ्नै फाईदा

नेपालप्लस संवाददाता २०७८ भदौ २१ गते १७:३४

एनआरएनएको निर्वाचन वा क्षेत्रिय र वार्षिक सम्मेलनमा एक से एक प्रोजेक्टको नाम सुनिन्छ । नसुनियोसपनि किन ? एनआरएनएमा प्रोजेक्टनै करिब ४२ वटा छन् । ति मध्ये पूर्णरुपमा सफल भएका प्रोजेक्ट नगण्ड्य छन् । केहि समयको अभाव र कोभिडका कारणलेपनि सफल हुन नसक्ने अवस्थामा पुगेका हुन् । तर अधिकांश प्रोजेक्ट अर्थात् टास्क फोर्स सफल पार्न, काम गर्नकालागि थिएनन् र होइनन् । त्यस्तो टास्कफोर्सको नेत्रित्व गर्न पाउँदा फाईदा हुने भएकाले दर्जनका दर्जन टास्कफोर्स, समिति बनेका हुन् ।

टास्क फोर्सको जसले नेत्रित्व गर्छ एनआरएनए महाधिवेशनमा त्यो ब्यक्ति स्वतह प्रतिनिधी छनोटमा पर्छ । त्यसैले पुरा गर्नै नसक्ने, काम गर्ने इच्क्षा र क्षमता नहुँदापनि टास्क फोर्स गठन भए ।

अझ अघिल्लो कार्यकालसम्म त हरेक टास्कफोर्समा रहेका सदस्यहरुपनि महाधिवेशन वा राष्ट्रिय सम्मेलनमा स्वत छनोटमा पर्थे । यहि आकर्षण र लोभले गर्दा टास्क फोर्सका संयोजकले एनआरएनएको कुनै मतलवनै नभएका आफ्ना सालासाली, पत्नी, भाई भान्जा, साथी, निकटहरुलाईसमेत सदस्यमा राख्न थाले । टास्कफोर्सले काम केहि नगर्ने तर प्रतिनिधीको लावालस्कर लाग्ने भैराख्यो ।

अहिलेको समितिले भने टास्कफोर्सका संयोजकलाई मात्रै स्वत प्रतिनिधी छनोट हुने र सदस्यहरु नपर्नेगरि बिधान संशोधन गरिदिएको छ । खास गरेर डा. उपेन्द्र महतोको कार्यकालपछि टास्कफोर्स भर्तिकेन्द्र जस्तो बनेको भनाई अभियन्ताहरुको छ ।

एनआरएनएका झण्डै चार दर्जन प्रोजेक्ट मध्ये कुन कुन प्रोजेक्ट र कसको नेत्रित्वमा रहेको कुन टास्कफोर्स बढि सफल भएहोला ?

एनआरएनमा धेरै र सफल भएको, सुनिएको डा. सन्जिव सापकोटाको स्वास्थ्य समिति हो । कोरोना भाईरस संक्रमणका बेला यो समितिले जुन काम गर्‍यो यसको सबैले उच्च मूल्यांकन गरेका छन् । हिकमत थापाको भाषा संस्क्रिति, सम्पदा समिति र महत्वका हिसाबले ‘मोबाईल ब्लड बस’ यि प्रोजेक्टपनि निकै सफल देखिए ।

मोबाईल ब्लड बैंकको नेत्रित्व गौरी राज जोशीले गरेका थिए । रगतको अभावले शल्यक्रिया गर्नुपर्ने धेरै बिरामीको शल्याक्रिया रोक्नुपर्ने र दूर्घटनामा परेकाको रगत अभावकै कारण मृत्यु हुने गरेको देखिएपछि तत्कालै रगत पुर्‍याउने उद्देश्यले यो प्रोजेक्ट शुरु गरिएको थियो । ब्लड बैंक नमुना प्रोजेक्टका रुपमा सफल भएर बस भरतपुर रेडक्रसलाई हस्तान्तरण गरिसकिएको छ ।

महत्वका हिसाबले नेपाल भ्रमण वर्ष अर्को प्रोजेक्ट थियो । यसको नेत्रित्व भवन भट्टले गरेका थिए । संरक्षकका रुपमा तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराई थिए । कोरोनाका कारणले यो कार्यक्रम असफल हुनु स्वभाविक मानिएको छ । तर यसलाई सफल बनाउन भनेर राखिएका सदस्य, संयोजकमापनि क्षमता, दक्षता र प्रचारप्रसार बुझेको, अनुभव भन्दा पदिय भागबण्डा मिलाउनकालागि थियो । अझ त्यसमापनि एनआरएनए गुटगुटका ब्यक्ति छानिएका थिए ।

वैदेशिक रोजगार र आप्रवासी श्रमिक कल्याण (फरेन्ट इम्प्लोइमेन्ट एण्ड माईग्रेन्ट वर्कर्स वेलफेयर) को नेत्रित्व डा. बद्रि केसीले गरेका थिए । विश्व श्रमिक संगठनले दिएको रकम कसरि दुरुपयोग भयो । कति बदनामी कमायो र त्यसको खास परिणाम, पारदर्शिता अहिलेसम्म सार्वजनिक नहुनुले यो कार्यक्रम सफल भएको मान्न कोहि तयार देखिन्न ।

‘नेपाली नागरिकताको निरन्तरता’ प्रोजेक्टको नेत्रित्व सोनाम लामाले गरेका थिए । यसमा लामा स्वयंले खासै केहि गरेनन् । बरु यसमा अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री, कानुनमन्त्री र अन्य सरोकारवालासित पटकपटक बैठक राखे ।

गोर्खा वेलफेयरको नेत्रित्व चन्द्र गुरुङले गरेका थिए । यसको उद्देश्य ‘गोरखा सैनिकले सामना गरेको असमानताको सार्थक अन्त्य गर्नु’ भनिएको छ । हालसालै गोरखा सैनिक र बेलायती रक्षा मन्त्रालयबिच छलफल गर्ने सहमति भएकाले यो प्रोजेक्ट पुरै सफल भएको त छैन । तर केहि काम भएको पक्कै छ ।

नेपाली डायस्पोरा मेनस्ट्रिम इन्ट्रिगेसन अर्थात् नेपाली समुदायलाई प्रवाशमा घुलमिल, एकिक्रित गराउने भन्ने थियो । खगेन्द्र जिसीले नेत्रित्व गरेको यो प्रोजेक्टले सफलता पाउन सकेन । ‘नेपाली डायस्पोरालाई आफू बसेको संवन्धित देशमा एकीकृत गर्ने’ यसको उद्देश्य थियो । यति गम्भिर विषय एक दुई वर्षमा सहजै सफल हुने विषयनै थिएन ।

विदेशी रोजगार र एनआरएनको वेलफेयर डिपार्टमेन्टको नेत्रित्व डा. बद्रि केसीले गरेपनि यसको स्टीयरिंग कमिटी थियो २५ सदस्यिय । त्यसमा सोनाम लामा, आर के शर्मा, कतारका प्रविण गुरुङ समेत थिए । यो डिपार्टमेन्ट अन्तर्गतपनि वैदेशिक रोजगार र आप्रवासी श्रमिक कल्याण समिति थियो । यसको नेत्रित्वकर्ता थिए कतारका आर. के. शर्मा । यो समितिले श्रमिकको कल्याण गर्ने कार्यक्रम दिन सकेन ।

लगानी र व्यापार प्रवर्द्धन कमिटीको नेत्रित्व अर्जुन श्रेष्ठले गरेका थिए । यसको त झन एक दिन बैठकसमेत नबसि सक्कियो । केन्द्रिय बैठकमापनि अर्जुन श्रेष्ठ उपस्थित नभैकनै दुई वर्षे कार्यकाल सक्किनै लाग्यो । पर्यटन प्रवर्धन टास्कफोर्सको प्रमुखपनि यिनै थिए । कोरोनाका कारण यो कार्यक्रम सफल बनाउन गाह्रो परेतापनि उनले एउटा बैठकसम्म राखेनन् ।

सामाजिक उद्यमशीलता विकास समितिको नेत्रित्व लोकराज शर्माले गरेका थिए । यसमापनि कुनै भुटिभाङ काम भएन ।

भाषा, साहित्य, संस्कृति र सम्पदा र संवर्धनको नेत्रित्व हिकमत थापाले गरेका थिए । यो क्षेत्रमा निरन्तर काम भैरहेको छ । थापाले साप्ताहिकरुपमै साहित्यिक कार्यक्रम गरिरहेका छन् । प्रवाशी नेपालीको अनुभवमा आधारित नियात्रा पुस्तक निकाल्ने तयारि गरिरहेका छन् । अरनिको पुरस्कार स्थापना गरेर अर्को महत्वपूर्ण काम हिकमत थापाले गरेका छन् ।

नेपाली उत्पादनको विश्वव्यापी पदोन्नति वा प्रवर्धन (ग्लोबल प्रोमोसन अफ नेपाली प्रोडक्ट्स) को नेत्रित्व बेल्जियमका शिव बरुवालले गरेका थिए । यिनलेपनि नेपाली उत्पादनको प्रवर्धनकालागि केहि काम गरेनन् ।

लगानी, व्यापार र नेपाल प्रमोशन डिपार्टमेन्टको प्रमुख अर्जुन कुमार श्रेष्ठ छन् । यसको स्टीयरिंग कमिटीपनि छ, २४ सदस्यिय । यसमा डेढ दर्जन मुलुकका बडे बडे एनआरएनए अभियन्ता छन् । तर यो समितिलेपनि शुन्य काम गरेर बिदा हुँदै छ ।

डेनमार्कका लोक राज शर्माको नेत्रित्वमा सामाजिक उद्यमशीलता विकास समिति छ । यो समितिको कार्यकारी सदस्यपनि २१ सदस्यिय छ । काम भने शुन्य भएको छ ।

यस्तै, एनआरएनएमा कौशल, ज्ञान र प्रविधी (एसकेटिटी) अर्थात् स्किल नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्ट छ । यसलाई अति धेरै महत्व दिईन्छ । यसका गफ पनि भयंकर सुनिन्छन् । सधैं ‘बिदेशमा सिकेको ज्ञान नेपाल लैजाने’ भनिन्छ । सम्मेलनको घोषणा भएकोपनि सुनिन्छ । यस्तो समितिमा कोको छन् भनेर नाम हेर्ने हो भने त ‘ओहो यिनले बिदेशको सबै ज्ञान लैजालान्’ जस्तो लाग्छ । यो समितिमा मुख्य त मन केसी, डा. हेमराज शर्मा, डा. राजु अधिकारी, डा. प्रमोद ढकाल, डा. हरि दहाल र राम प्रताप थापा छन् । यसको स्टेरिङ कमिटीमा २० सदस्य छन् । बैज्ञानिक सुझाव दिने यसको अर्को उप समिति, सम्मेलन ब्यवस्थापन समिति आदि अनेक समितिमा पाँच दर्जन भन्दा बढि सदस्य छन् । यसले काम गरेन भन्न मिल्दैन । तर के काम गर्‍यो र के उपलब्धि हाँसिल भयो भन्नेपनि खासै देखिन्न । अर्थात् यसले आफ्नो कार्य योजनामा उल्लेख गरेको लक्ष्य अनुरुप हाँसिल गरेको देखिन्न ।

अर्को नेपाल विज्ञान प्रतिष्ठान कोष (नेपाल साईन्स फाउन्डेसन ट्रस्ट) समिति छ । एनआरएनए भित्र नाम सुनिएका सबैजसो दिग्गजको नाम यो कमिटीमा देखिन्छ । डा. शेष घले, डा. उपेन्द्र महतो, डा. अम्बिका अधिकारी, कुमार पन्त सबै छन् । तर यसले के काम गर्‍यो त ? सहजै भन्न मुस्किल छ ।

क्यानडाका नारायण घिमिरेको नेत्रित्वमा कृषि प्रवर्धन समिति, डा. हरि दहालको नेत्रित्वमा एनआरएनए पोलिसी इन्स्टिचुट बाई लज फर्मेसन कमिटी छ । रामप्रताप थापाको संयोजकत्वमा भोकेसनल एजुकेसन कमिटी, रबिना थापाको संयोजकत्वमा एक एनसिसी एक परियोजना, डा. सन्जिव सापकोटाको नेत्रित्वमा ग्लोबल हेल्थ कमिटी ।

स्मार्ट एनआरएनए परियोजना  गौरीराज जोशीको नेत्रित्व छ । यो कमिटीको काम पूर्ण हुनपाएको त छैन । तर एनआरएनए डिजिटल कार्ड, डिजिटल सूचीमा लैजाने, अनलाईन मतदान गर्ने आदि काम यहि समितिले गरेको हो ।

बेलायतका रामशरण सिम्खडाको नेत्रित्वमा नीति र प्रक्रिया समिति (पोलिसी एण्ड प्रोसिड्युर) समिति छ । यसले कस्तो निति बनायो एनआरएनएको जगजाहेरै छ ।

महेश श्रेष्ठको नेत्रित्वमा रहेको आर्थिक समिति (ड्राफ्ट फाईनान्सियल बाई लज, पोलिसी एण्ड रेगुलेसन) ले अघिल्लो कार्य समितिका बेला देखिएको घाटा पूर्ति गरेको, लेखा परिक्षण तगडा बनाएको र एनआरएनएमा रहेको भनिएको ६ करोड भन्दा बढि घाटालाई झण्डै आधा पूर्ति गरेको भनिन्छ । महेश श्रेष्ठको टास्क फोर्सको काम वित्तीय प्रदर्शन र पारदर्शिताकोलागी नियम र नितिहरु बनाउनु, सुझाव दिनुपनि थियो । श्रेष्ठले बनाएका ति नियम कस्ता छन् सार्वजनिक नभएपनि उनले बनाएर तयार पारेको भनिएको छ ।

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीको संयोजकत्वमा रहेको मेडिया समितिले १३ वटा काम गर्ने भनेर लिखित प्रविबद्दता उल्लेख गरेपनि काम भने तिन वटापनि गर्न सकेन । मध्यपूर्वकै आरके शर्माले नेत्रित्व गरेको वैदेशिक रोजगार र आप्रवासी श्रमिक कल्याण समितिको काम उसैगरि असफल भए ।

बाहिर बाहिर धेरैले आलोचना गरेको देखिएपनि एनआरएनएको निति नियम, प्रतिनिधी छनौट, पारदर्शिता, सुधार र नियन्त्रण, स्मार्ट एनआरएनए, प्रचारप्रसार आदिमा डा. हेमराज शर्माको हात छ ।

यि बाहेक युवा तथा खेलकुद, महिला तथा वालवालिका, फेलान्टोलिक, महिला शसक्तिकरण, सडक सुरक्षा, फण्ड जेनेरेसन कमिटी, वित्तीय नीति निर्माण समिति आदि अनेक समितिहरु छन् । तिनको काम देखाउने, हल्ला गर्ने, अधिबेशन प्रतिनिधी बन्ने बाहेक केहि भएन ।

तपाइँको प्रतिक्रिया

फेसबुक