शनिबार, वैशाख ८, २०८१

दुर्गमका वालवालिकालाई शिक्षा दिन एनआरएन अफ्रिकाद्वारा छात्रवृत्ति कोष स्थापना

नेपालप्लस प्रतिनिधी / लेगोस, नाइजेरिया २०७८ भदौ २५ गते १०:४५

‘भोक लाग्दा माटो खान्छन यी टुहुरा बालिकाहरु’। केहि दिन अघि अखवारहरुमा बैतडीका तीनजना नावालक छोरीहरुको बारेमा यस्तो खबर छापियो । १०,९ र ५ वर्षका रोगी र बिपन्न आमाका ती वालिकाहरुलाई बेल्जियमको हाम्रो सेवा समूहका तर्फबाट हरिकृष्ण लभलीले एक वर्षका लागि खाध्यान्न र अन्य सहयोग जुट्याए । यो खबर तिब्ररुपमा नेपाली समुदायबिच फैलियो । यहि खबर नाइजेरियाबाट हिक्मत थापाले आफ्नो फेसबुकमा पोस्ट गरे । अफ्रिकाको बोत्स्वानाबाट पदम भन्डारीले उनिहरुको स्कुल फी, स्टेशनरी र पोशाकको खर्च जुटाइदिने इच्छा राखे । स्कुलै नदेखेका ती नानीहरु अब स्कुल भर्नाहुने भएका छन् । अब तिनले औपचारिक शिक्षा पाउने छन् ।

त्यसो त काठमाडौंमा उनको शिक्षा उपलब्ध गराउने प्रस्ताव पतान्जली योग केन्द्र मार्फत अशोक आलेले पनि थापाको उक्त पोस्ट्मा राखेका छन् । तर बैतडीमा सहयोगको समन्वय गरिरहेका पत्रकार वीर गदालका अनुसार आमाले नानीहरूलाई आफैंसँग राखेर गाउँकै स्कुलमा पढाउने मनसाय राखेकि छन् ।

त्यसैगरि कर्णाली प्रदेश, पश्चिम रुकुम, मुसीकोटका बिपन्न र टुहुरा तर मेघावी एक छात्रले स्कुल शुल्कको अभावमा उच्च शिक्षा पढने अवसरबाट बन्चित भएको खवर एन आर एन ए अफ्रिकाको सेसेल्सका तर्फबाट रामप्रसाद पन्तले गरे । उनले पढाइ खर्च जुटाउन केही उक्ति लाग्छकि भन्ने प्रस्ताव गरे । हिकमत थापाले उक्त सहयोगको लागि अफ्रिकाका एनआरएनहरुको समुहमा प्रस्ताव राखे । मेघाबी छात्र ललित बिकको लागि त सहयोग जुट्यो नै । त्यसमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले थप प्रस्ताव गरे ‘छात्रवृत्ति कोष नै बनाउँ’ । रोशनको तर्क थियो ‘कोषनै बनाएर दिर्घकालिन कार्यक्रमनै दिन सके पो त्यसले नेपालको दूरदराजका केही भए पनि बिपन्न र मेघावी वालवालिकाको शैक्षिक यात्रामा सहयोग गर्न सकिन्छ ।’

नभन्दै एनआरएन अफ्रिकाले छात्रवृत्ति कोष बनाउने निर्णय गर्‍यो । सहयोगको शुरुआतपनि भयो । रोशन थापाबाट शुरु भएको सहयोग बढ्दै गयो । यसमा पदम भन्डारी (निबर्तमान अध्यक्ष, बोत्स्वाना), कृष्ण डुम्रे (आइभोरी कोस्ट), बिरेन्द्र गुप्ता (अध्यक्ष, नाइजेरिया), पुष्पराज भट्टराई (अध्यक्ष, तान्जानिया) र हिक्मत थापाले शुरुमै सहयोग थपे । पहिलो छलफलमै चार लाख जुट्यो । यो कोषलाई २० लाख पुगाउने लक्ष्य राखियो ।

यसमा अफ्रिकाका नेपाली, अफ्रिकन शुभचिन्तक र अन्य देशका एनआरएन र अफ्रिकाका सबै एनआरएनए एनसीसी मार्फत सहयोग जम्मा गर्दै कोषलाई अघि बढाउने निधो गरे । अब कोषले माथिका दुई छात्रवृत्ति यसै कोष मार्फत पठाउने र थप छात्रवृत्ति दिंदै जानेछ ।

यस अघि अफ्रिकाका एनआरएनहरुको आफ्नै पहल र सहायतामा संचालन भएको एनआरएन अफ्रिका राहत कोषले अफ्रिकामा दुःखमा पर्ने नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको छ । अलपत्र परेका नेपालीलाई बस्न, खान र घरफिर्तीको ब्यवस्था यसले गरिरहेको छ । कोरना महामारीका बेला गत वर्ष स्वास्थ सेवा, खाध्यान्न सहयोग, काम छुटेकालाई घर फिर्ताको ब्यवस्था पनि यसले गर्दै आएको छ । साथै कोरोनाबाट अफ्रिकामा मृत्यु भएका नेपालीको नेपाल स्थित परिवारलाई अफ्रिकाका नेपालीको माया र राहत स्वरुप कम्तिमा एक लाख सहयोग दिदै आएको छ । गत महिना मात्र युगान्डामा मृत्यु भएका तनहुँका हीराबहादुर खडकीको परिवारलाई रु तीनलाख दस हजार सहयोग गरेको थियो । यो मृतकका परिवारलाई दिइएको कोषको चौथो सहयोग हो ।

नेपाल कोरोनाको दोस्रो चपेटामा परेका बेला अफ्रिकाका एनएनआरएन शाखाहरुले इलाम देखि मुगुसम्मका १३ जिल्लाका ३५ स्वास्थ्य संस्थाहरुमा १३०० अक्सिजन सिलिन्डरहरु तत्काल ठाउँमै पुर्याएर सहयोग गरेका थिए । एनआरएनए केन्द्रले खासै यो सहयोगलाई महत्व नदिए पनि एनआरएनएको नाममा अहिलेसम्म ठाउँमै र समयमै पुगेको अत्यावश्यक सहयोग यो पहिलो हो । दुर्गम जिल्ला जुम्ला र मुगुमा पुगेको त झनै प्रभावकारि मानिएको थियो । यसमा थोरै नेपाली भएका र सीमान्तकृत अफ्रिकाका नेपालीहरुले एनआरएनए अफ्रिकाको नाममा ६० लाख सहयोग जुटाएर दुर्गमका स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर पुर्याएका थिए ।

यो अफ्रिकाका एनआरएनहरुको दोश्रो कोषबाट थोरै भएपनि दुर्गमका बिपन्न केही विद्यार्थीहरुको पढने चाहना पुरा हुने विश्वास एनआरएनए अफ्रिकाले लिएको एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक रोशन थापाले ब्यक्त गरे ।

तपाइँको प्रतिक्रिया

फेसबुक