शनिबार, वैशाख १५, २०८१

अख्तियारले मुद्दा हाल्ने हो भने ९९ प्रतिशत नेता जेल जान्छन् – अनुराग खड्का

नेपालप्लस राजनितिक संवाददाता२०७८ भदौ २८ गते १५:४८

खुमबहादुर खड्काको नामलाई नमिसाउने हो भने अनुराग खड्का नेपाली कांग्रेसको राजनीतिमा अहिलेसम्म केही पनि होइनन् । हाल भइरहेका उनका सम्पूर्ण कृयाकलापका पछाडि खुमबहादुर खड्काको नाम जोडीएको छ । खुमबहादुर खड्काले नेपाली कांग्रेस पार्टीमा पुर्‍याएको योगदानका कारण अनुरागले मनग्य ‘फेम’ पनि बटुलेका छन् । तर पारिवारिक विरासतले मात्र राजनीतिमा उभिन त्यती सजिलो छैन अब । राजनीतिक उचाई प्राप्त गर्न अदम्य लगाव जरुरी छ । नेपाली कांग्रेस महाधिवेशनको पूर्वशन्ध्यामा धेरै युवा अनुहारहरु पार्टीका स्थानिय प्रतिनिधिको रुपमा देखिएका छन् । केही वर्ष पछी पार्टी र देश चलाऊनै यिनैले हो । धेरै युवा पारिवारिक विरासत भन्दा बाहिरका छन् । केही राजनीतिक विरासत धान्ने गरी आएको बुझिन्छ । अनुराग खड्का पनि पारिवारिक विरासत धान्ने गरी निस्किएका हुन् । स्व खुमबहादुर खड्काका छोरा दाङ जिल्लाको कुनै एउटा वडाबाट क्षेत्रिय प्रतिनिधि निर्वाचित भएसँगै अनुरागको चर्चा चुलिएको छ । नेपालप्लससँगको कुराकानीमा उनले भने- सपनाका धेरै कुरा नगरौं । अब हामीले पनि सपना देखाउने होइन । बीपी कोइराला देखि मेरो बाबासम्म नेपाली कांग्रेसको राजनीति आइपुग्दा उहाँहरुले देखेका असंख्य सपनाको ताँती हामी सँग छन् । अबको समय उहाँहरुका ति सपनालाई मुर्त बनाउने समय हो । उनी अगाडि थप्छन- ति सपनाको मुर्तताका लागि म केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि छ ।

तपाईं राजनीतिमा प्रवेश गरेको भनेर निकै चर्चा छ ! पुर्व योजना हो कि सजिलो बाटो रोजेको ?

मेरो राजनीतिमा आउने सोच त पहेले देखिकै हो । अध्ययन सक्नु भन्दा पहिले नै बुवासँग जिल्ला जिल्ला घुम्ने, पार्टी र देशको अवस्था बुझ्ने सोच थियो । बुवा बिते पछी त्यो सम्भव भएन । तर पनि पढाई पुरा गरेपछी राजनीतिमा नै जान्छु भन्ने मैले निर्णय नै गरेको थिएँ । अहिलेका मेरा पाइलाहरु तिनै सोचका आधार हुन । अर्को कुरा राजनीति कसरी सजिलो हुन्छ र ! हामीले बुवाको पुरै जीवन देखेको हो । पछील्लो समय बाहिर मान्छेहरुले देखे जस्तो हाम्रो जीवन पटक्कै थिएन । ति कष्टकर दिनहरु मलाई राम्रो सँग थाहा छ ।

तपाईंलाई नेपाली कांग्रेस र सिङ्गो देश कुन र कस्तो अवस्थामा छ भन्ने थाहा छ ?

किन थाहा नहुनु । तै पनि म अझै बुझ्दै छु । म पढाईको शिलशिलामा बाहिर बसेको हुनाले केही ‘ग्याप’ पक्कै भएको छ । नेपाली कांग्रेसको पछील्लो हार, देशले भोग्नु परेका अनेक वितण्डा यि त सबैलाई थाहा भएकै कुरा हुन नि ।

पछील्ला दिनहरुलाई हेर्दा नेपालको राजनीतिमा वा भनौं नेपाली कांग्रेसमा युवाहरुको आकर्षण त्यति थिएन । अहिलेको अधिवेशनले त्यो क्रम तोडे जस्तो देखिन्छ ! अब युवाहरु आउनु पर्छ भन्ने लागेको हो तपाईंलाई पनि ?

हो नि ! अहिले त धेरै युवा साथीहरु आउनु भएको छ । अहिलेको अधिवेशन पहिलेका भन्दा धेरै फरक हुने छ । हाम्रा अग्रजहरुले धेरै गर्नुभयो । अब उहाँहरुले युवाहरुलाई सामेल नगरि सुख्खै छैन । मेरो कुरा गर्नुहुन्छ भने मलाई हाम्रो जिल्लाका सबै अग्रजहरुबाट सहयोग र समर्थन छ । यो हुनै पर्दछ, अहिले नेपाली कांग्रेस प्रती देखिएको युवाहरुको आकर्षणलाई हाम्रा अग्रजहरुले मर्न दिनु हुँदैन ।

तपाईंलाई अब पुरानो पुस्ताले अवकाश लिनुपर्छ भन्ने लाग्छ ?

उहाँहरुले अवकाश लिनुपर्छ भन्ने होइन । युवालाई पनि मार्गदर्शनको आवश्यकता छ । त्यसैले उहाँहरुले सल्लाहकारको भूमिका निर्वह गर्नुपर्छ भन्ने हो । उहाँहरुको अनुभव अहिलेको म जस्तो युवा राजनीतिकर्मीलाई सँधै आवश्यक हुन्छ । अवकाश लिने भनेको त बाहिर बस्ने हो । उहाँहरु न त बाहिर न त भित्र सबभन्दा माथि बसेर हामीलाई बाटो देखाउने हो । देश र पार्टी हामी बनाउँछौ अब !

राजनीतिमा तपाईंको ‘भिजन’ के हो ?

पहिले त म महाधिवेशन, महासमिती प्रतिनिधिको लागि प्र्यास गरिरहेको छु । यदी यो सम्भव भयो भने म धेरै माथिको कुरा गर्दिन । म यही दाङ जिल्लाको अथवा यही जिल्ला भित्रको एउटा कुनै गाउँको कुरा गर्छु । मेरो बुवाले देखेका सपनाका कुरा छन् । मैले देशलाई यस्तो बनाउँछु भन्यो भने त्यो मात्र राजनीतिक स्टन्ट जस्तो सुनिन्छ । मलाई लाग्छ देशको शुरुवात टोल, वडा, गाउँ र जिल्लाबाट हुन्छ । मेरो बुवाले देखेको सपना पनि यिनै टोल, गाउँ र जिल्लालाई समृद्ध बनाउने हो । यहीबाट देश बन्न सुरु हुने हो । म सँग खातका खात सपना छैनन् । हाम्रा अग्रजहरुले देखेका सपनाको भारी छ । त्यही भारी भोकेर यो जिल्लाका गाउँ गाउँ पुग्नु पर्ने छ ।

तपाइको बुवाले के गर्न भ्याउनु भएको थिएन र तपाईंले पुरा गर्नुपर्ने छ ?

देश बिकासको पुर्वाधार अझै पनि बनेको छैन । बाटो घाटोकै गुरा गरौं, शहर गाउँका ढल, फोहर ब्यवस्थापनको कुरा, बिजुली, पिउने पानी, शिक्षा स्वास्थ्य । २० वर्ष अघी जस्तो अवस्थामा थिए अहिले पनि त्यस्तै अवस्थामा छन् । भारतलाई हेर्नुस यो २० वर्षमा कहाँबाट कहाँँ पुग्यो । हामी जहाँँको त्यहीं छौं । म धेरै ठूलो कुरा गर्दिन । सामान्य भन्दा सामान्य कुरा पनि हुन सकेका छैनन् । म त्यसैमा केन्द्रित हुन्छु । मेरो बुवाको सपना पनि त्यही हो । हामीले देशलाई स्विजरल्याण्ड बनाउछौं भन्नु भ्रम मात्र हो- अहिलेलाई । साना भन्दा साना लिंकेजहरु छन् । हामीले त्यहीँबाट सुरुवात गर्नुपर्दछ ।

तपाईंको बुवा, खुमबहादुर खड्काका पछील्ला अभिब्यक्ती देशलाई हिन्दू राष्ट्र बनाउन पर्छ भन्ने थियो ! तपाईंको अडान पनि त्यही हो ?

देशलाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने बुवाको जोड थियो होला । उहाँको त्यस्तो मन थियो होला । त म भर्खरै यो बिषयमा जान चाहन्न । उपयुक्त समय आउँदा यो विषयमा सोचौंला । अहिलेलाई हिन्दू राष्ट्र बनाउने भन्दा पनि पहिले राष्ट्र बनाउन जरुरी छ । पहिला त देश बनाउनु पर्‍यो । अनी बल्ल के राष्ट्र बनाउने भन्ने कुरा बहस गरौंला । राष्ट्र नै नबनाइकन कसरी अरु कुरा हुन सक्दछ ?

तपाईंको बुवामाथि लागेका भ्रष्टाचारका आरोप र सजायँहरुले तपाईंको राजनीतिक सुरुवातलाई असर पार्छ होला नि ?

यदि अख्तियारले भटाभट मुद्दा हाल्ने हो भने उनान्सय प्रतिशत नेताहरुलाई भ्रष्टाचारको मुद्दा लाग्छ र जेल जान्छन् । मेरो बुवालाई मुद्दा लागेको बेला के भएको थियो भन्ने कुरा सबैलाई थाहा छ । कुन तरिकाले जजमेन्ट सुनाइएको थियो । कसरी १६ वर्ष सम्म मुद्दा लम्ब्याएर सर्वोच्च अदालतले न्याय दिएको थिएन । के भयो कसरी मुद्दा लाग्यो भन्ने कुरा धेरैलाई थाहा छ । तपाईंले देख्नु भयो होला भ्रष्टाचारी भनिएको मान्छेको पछी कती कार्यकर्ता थिए भन्ने कुरा । १६ वर्ष कुनै पावरमा नहुँदा पनि अरु नेताहरुको तुलनामा उहाँका पछी धेरै मान्छेहरु थिए । उहाँलाई भ्रष्टाचारको मुद्दा लागे पनि नलागे पनि उहाँसँग जती कार्यकर्ता अरु कुनै नेता सँग थिएनन् र छैनन् पनि । त्यो दुनियाँलाई थाहा छ कुन कारणले उहाँलाई मुद्दा हराइएको हो । ल हेर्नुस् कस्तो भएको थियो- पहिलेको संविधानमा के थियो भने यदी कसैको आरोप प्रमाणित भयो, सजायँ काट्यो भनेपनि पछी चुनाव लड्न पाइन्थ्यो । तर मेरो बुवाको लागि त्यो संविधानका धाराहरु परिवर्तन गरियो । भ्रष्टाचारको आरोप प्रमाणित भएको ब्यक्तिलाई चुनाव लड्न नदिने प्रावधान ल्याइयो । मेरो बुवा बितेको ६ महिना पछी त्यो प्रावधान फेरी फेरियो । भ्रष्टाचारमा सजायँ पाएको ब्यक्तीले चुनाव लड्न पाउने भयो । यहीबाट नै तपाईंले अनुमान लगाउन सक्नुहुन्छ । त्यो सबै मेरो बुवाको राजनीतिक शक्तिलाई कमजोर पार्न मान्छेहरु समुहगत रुपमा लागेका थिए । एउटा मान्छेलाई निमिट्यान्न पार्न संबिधान नै संशोधन गरेको दुनियाँमा कहीँ कतै रेकर्ड छैन होला ।

तपाईंलाई के लाग्छ खुमबहादुर खड्कालाई सिध्याउन नेपाली कांग्रेस कै मान्छेहरु लागेका थिए ?

कांग्रेस पार्टी त नभनौं । तर केही मान्छेहरुलाई उहाँको लोकप्रियता चित्त बुझेको थिएन । त्यो लोकप्रियताले आफूहरुको राजनीतिक शक्ती कमजोर भएको महशुस गर्ने केही पार्टीकै मान्छेहरु शायद मेरो बुवालाई फसाउने षडयन्त्रमा सामेल थिए । आफ्नो ब्यक्तिगत फाईदाका लागि बाटोबाट हटाउन चाहने केही ब्यक्तीहरु सम्भवत: लागेका थिए ।

तपाइँको प्रतिक्रिया