शुक्रबार, चैत १६, २०८०

सेप्टेम्बर ११ हमलाका २० वर्ष : जिहादीको विजयोत्सव, अमेरिकामा शोक

नेपालप्लस डेस्क२०७८ भदौ २६ गते २३:२४

Photo Credit- wikipedia.org

तीन हजार आसपासको संख्यामा नरसंहार हुनेगरी अमेरिकीको मुटुमा अवस्थित ट्वीनटावरमा हमला गरिएको २० वर्ष पुगेको छ । सो हमलाबाट प्रत्यक्ष, परोक्ष रुपमा प्रताडितहरु, आतंकवादी हमलाको निन्दा गर्ने शान्तिकामी मानिसहरुले आज दिवंगतहरुलाई सम्झेर शोक मनाइरहेकाछन् । दूर्भाग्य अमेरिकी हमलाकारहरुसँग आवद्ध जिहादीहरु भने आजैको दिन इस्लामको सबैभन्दा ठूलो दुश्मन भनेर आतंकी संगठनहरुले व्याख्या गर्ने अमेरिकामा शैतानहरुको वध गरेको दिन सम्झेर हर्षोल्लास मनाइरहेका छन् । आतंकवादी संगठन इस्लामीक स्टेट, अल कायदा, तालिबान र त्यसका शाखाको रुपमा रहेका अल सबाब, बोको हराम जस्ता क्षेत्रीय संगठनहरुले आज इस्लाम धर्मको रक्षाको निम्ति बलिदानी दिएका वीरहरु भनेर हमलाकारहरु सम्झँदै विजयोत्सव मनाइरहेका छन् । उनीहरुका प्रपोगण्डापूर्ण भिडियो सन्देशहरु सामाजिक संजालहरुमा सार्वजनिक भैरहेका छन् । अफगानिस्तानमा तालिवानको पुनर्आगमन र अमेरिकी सेनाको वापसीलाई अमेरिकीहरुको हारको रुपमा व्याख्या गर्दै उनीहरुले अल्लाहको आशिर्वादका कारण अफगानिस्तानमा तालिवानको विजय भएको खुशियाली मनाइरहेका छन् ।

अमेरिकी हमलामा निर्दोष मानिसहरुको विभत्स हत्या भएपछि विश्वको राजनीतिमा धेरै परिवर्तन आइसकेको छ । आफ्नो मुटुमा हमला गर्ने अलकायदाका नेता ओसामा विन लादेनको अमेरिकाले हत्या गरिसकेको छ । आतंकी हमलाको बदलामा अफगानिस्तान प्रवेश गरेको अमेरिकी सेनाले मच्चाएको अपरेशनका क्रममा लाखौं अफगानीहरुको ज्यान गएको छ भने लाखौं अँगभँग भएका छन् । अमेरिकामा जसैगरी निर्दोषहरु मारिए, उसैगरी अफगानिस्तानमा आतंकवादी र अमेरिकीहरुको युद्धको चपेटामा थुप्रै मानिसहरुले ज्यान गुमाए । यसरी मारिनेमा महिला र वालवालिकाहरुको संख्या असाध्यै धेरै छ ।

मुस्लिम धर्मका नाममा आतंकवादको प्रश्रयले राज्य कब्जा गर्ने अतिवादी अभ्यास आगामी दिनमा अरु बढ्ने देखिन्छ ।

इराक, सिरिया, अफगानिस्तानमा अमेरिकी सैन्य कारवाहीको बदलामा झन् कट्टर इस्लामिक संगठनहरु जन्मिएका छन् । अलकायदा र स्थानीय आतंकी संगठन मिलेर इस्लामिक स्टेट जस्तो क्रूर संगठनको जन्म भयो । यिनीहरुलाई नियन्त्रणमा लिन अमेरिका र पश्चिमा शक्तिलाई हम्मे हम्मे भयो । अमेरिका मात्रै किन अमेरिका पछिको इस्लामिक आतंकीहरुको दोश्रो ठूलो दुश्मन फ्रान्सको उपनिवेशबाट मुक्त भएका पश्चिमी अफ्रिकी मुलुकहरुमा पनि आतंकवादीहरुको जालो बेसरी बढिरहेको छ । यमन र सोमालियामा बढिरहेको उनीहरुको शक्ति कुनैबेला अफ्रिका महादेशकै निम्ति ठूलो चुनौतिको विषय नहोला भन्न सकिन्न । नाइजेरियामा बोको हरामको ज्यादती उत्तिकै बढिरहेकोछ । अफगानिस्तानमा तालिबानी सत्तामा फर्किएपछि यसको पहिलो असर पाकिस्तानमाथि पर्नेछ । चीनको उरुँग्चीका भूमिगत संगठन र भारतका आतंकवादीहरु पनि सल्बलाउने छन् । क्षत्रीय सन्तुलनमा आतंकी संगठनहरुको विस्तार र विकासले पक्कै पनि अरु देशहरुलाई असर गर्नेनैछ ।

निकै नरम रुपमा सत्तामा आएर देखिन खोजेको तालिबानले शरिया कानूनलाई कसरी व्यवहारमा ल्याउँछ, सम्भवत त्यसैमा बाँकी कुराहरु भर पर्नेछ । यदि नरम रुपमै प्रस्तुत भयो भने इस्लामिक स्टेट खोरसान चुप लागेर बस्नेछैन । अर्को रक्तपातको सम्भावना यथावतै देखिन्छ ।

मूल रुपमा मुस्लिम कट्टरपन्थी विचारधारासँग असहमत राख्ने मुसलमानहरुको ठूलो संख्या छ । उनीहरु राज्य र धर्मलाई अलग तरिकाले हेर्छन् । कट्टरपन्थी धर्मलाई आफ्नो हिसाबले व्याख्या गरेर शरिया कानून लगाएर देशको भाषा, संस्कृति, श्रोत र साधनमा कब्जा जमाउनु यो समूहको काम हो । बाँकी अल्पसंख्यकहरु विधर्मीको रुपमा मानिए झैं कतिपय ठाउँमा त मुस्लिमकै अर्को शाखालाई उनीहरुले विधर्मी मान्दछन् । फरक आस्था राखेकै कारण राज्यबाट प्रताडित हुनु र न्यूनतम मानव अधिकारबाट वन्चित हुनु गलत कुरा हो । विगतमा तालिबानी सत्ता भोगेका अफगानीहरु यही डरकै कारण अहिले देश छोडेर अरु देशमा शरण लिन पुगिरहेका छन् । मुस्लिम धर्मका नाममा आतंकवादको प्रश्रयले राज्य कब्जा गर्ने अतिवादी अभ्यास आगामी दिनमा अरु बढ्ने देखिन्छ ।

अमेरिकी रणनीतिकै कारण कालान्तरमा आतंकवादीहरु निर्माण भइरहेका छन् । अरुको आन्तरिक मामिलामा पसेर गिजोल्ने र असहमतहरुलाई जुनकुनै निहुँमा पनि कमजोर बनाइरहने अमेरिकी रणनीति, त्यसमा साथमा साथ दिने पश्चिमी शक्तिले पनि आफ्नो रणनीति बदल्नुपर्दछ ।

अतिवादीहरुलाई यो अवसर दिलाइदिने काम साम्राज्यवादीहरु शक्तिहरुले गरिरहेका छन् । सोभियत सँघको साम्राज्यका विरुद्ध छिरेका अमेरिकीहरुले अलकायदा जन्माए । ओसामा विन लादेनलाई प्रशिक्षित गरे । कालान्तरमा उनीहरुले नै अमेरिकीहरुलाई धपाइदिए । रसायनिक हतियार नष्ट गर्ने निहुँमा शान्त बसिरहेको इराकमा पसेर वितण्डा मच्चाए जो अहिलेसम्म यथावतै छ । सिरिया तहसनहस बनाउन यिनीहरुको पनि कम हात छैन । त्यसैले अमेरिकी रणनीतिकै कारण कालान्तरमा आतंकवादीहरु निर्माण भइरहेका छन् । अरुको आन्तरिक मामिलामा पसेर गिजोल्ने र असहमतहरुलाई जुनकुनै निहुँमा पनि कमजोर बनाइरहने अमेरिकी रणनीति, त्यसमा साथमा साथ दिने पश्चिमी शक्तिले पनि आफ्नो रणनीति बदल्नुपर्दछ ।

व्याख्या विवेचना जे जस्ता भएपनि कुनै पनि निहुँमा निर्दोष मानिसहरुको ज्यान लिनु गलत कुरा हो । अझ धर्मका नाममा जहाजलाई अस्त्र बनाएर यसरी निर्दोषको हत्या गर्नु महाअपराध हो । धर्मान्धताको होस् या कुनै राजनीतिक विचारधाराको नाममा फैलाइने आतंक हुन्, यी सबै मानवताविरोधी कामहरु हुन् । बीस वर्ष अघि सेप्टेम्बर ११ मा भएको हमलाले मानवतावादको खाँचो झन् बढाएको छ । हिंसाले कहिल्यै कसैको जय गर्दैन भन्ने चेत दुनियाँलाई दिएको छ ।

धर्म, जात, नश्ल, वर्गका रुपमा गरिने हिंसाले कालान्तरमा दुनियाँमा निर्दोषहरुको ज्यानमात्रै लिन्छ । अल्लाह, जिसस, राम जसका नाउँमा भए पनि कट्टरपन्थ राम्रो कुरा होइन । अरुको अस्तित्व स्विकार्न नसक्नेहरुको अस्तित्व कुनै न कुनैदिन यो धर्तीबाट हराएरै जानैपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक