शनिबार, वैशाख ८, २०८१

पेरुका कम्युनिष्ट नेता गोन्जालोको निधन

नेपालप्लस संवाददाता२०७८ भदौ २६ गते २३:५३

आजिवन कारावासको सजाय काटिरहेका पेरुको भूमिगत माओवादी संगठन साइनिङ पाथका नेता गोन्जालोको ८६ वर्षको उमेरमा शनिवार निधन भएको छ ।

सन् १९८० मा माओवादी विचारधाराबाट प्रभावित भई दश हजार छापामार सेनाको गठन गरेर युद्धमा होमिएका थिए गोन्जालो । उनले गाउँ कब्जा गर्दै राजधानी लिमा कब्जा गर्ने वृहत्त छापामार योजना अनुसार युद्ध लडिरहेको थियो ।

अमेरिकी गुप्तचर निकाय सिआईएको सहयोगमा पेरुको सरकारले साइनिङ पाथ विरुद्ध चलाएको अपरेशनमा गोन्जालोलाई पटक पटकको प्रयासपछि सन् १९९२ मा गिरफ्तार गरिएको थियो । सोही समयदेखि निरन्तर जेलमा रहेका यी नेता पहिला दर्शनशास्त्रको प्राध्यापक थिए ।

गोन्जालो पक्राउ परेर जेल परेपछि उनको आन्दोलन पनि कमजोर हुँदै गयो । सरकारसँग शान्तिवार्ता गरेपछि ग्रामीण क्षेत्रमा प्रभाव कम भयो ।

भूमिगतकालमा नेपालमा गोन्जालोलाई आदर्श मानेर विभिन्न कम्युनिष्ट पार्टीहरुले कार्यक्रमहरु संचालन गर्दथे । उनको नाममा गीतहरु गाउने र छिटै पेरुमा कम्युनिष्ट सत्ता आउँदैछ भनेर गाउँगाउँमा उनको अभियानलाई नैतिक समर्थन दिने काम कम्युनिष्ट पार्टीहरुले गर्दथे ।

पेरुको सरकारले गोन्जालोकै कारण ७० हजारको आसपासमा मानिसहरु मारिएको बताउँदै नेल ठोकेर उनलाई नै राख्ने विशेष खालको जेल बनाएर जीवनभर बन्दी बनाएर राखेको थियो । सर्वहारा वर्गको राज्य नहुँदासम्म गरिब दुखीको मुक्ति सम्भव छैन भन्ने यी पुराना प्राध्यापक र माओवादी विचारधारालाई पेरुमा प्रयोग गर्न खोज्ने नेताको निधनमा संसारभरीका कम्युनिष्ट पार्टीहरुले शोक समवेदना दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक