शुक्रबार, वैशाख ७, २०८१

कविता खोज्न ओलङ्गङतिर !

युवराज नयाँघरे२०७८ भदौ २७ गते ६:४१

छुटी त गयो सात बजेको रेल !
अब थप आधी घण्टा मैले कुर्नैपर्ने भो । शनिवार र आइतबारका दिन सिडनीका रेलहरु यसै पनि कम चल्छन् । ब्ल्याक टाउनबाट आठ बजेको रेल समात्ने मेसो मिल्ने देखियो । म छट्पटिएको थिएँ समयमा नपुगुँला भनेर !

‘काका, तपाईं दुइटा ट्रेन चढेर पुग्दा नि बोलाउनेहरु तयार भएका हुँदैनन् । हेर्नु होला !’

मलाई रेल स्टेशनमा छोडेर जाने बेलामा मेरिना सुवेदीले भनेकी थिइन् । उनीसँग छुट्टिए लगत्तै म रेडफनसम्मको रेल चढी पुगेँ । त्यसपछि फेरि अर्को रेल चढी कोग्राह हुइँकिएको थिएँ ।

सिटीतिर चल्ने रेलका ढोकैमा ठाउँ सहितका नाम आउने र जाने गरिरहन्थे । सँगसँगै माइकबाट भट्याउने पनि गरिन्थ्यो । तर कोग्राहतिर लाग्दा निकै डराइरहेको थिएँ म ।
रेलमा त्यो आउने–जाने नाम र सूची पनि थिएन । कतैबाट उद्घोषण पनि भएको छैन । फेरि यो कहिल्यै नआएको ठाउँ प¥यो मेरा लागि । भित्रभित्रै औधी लुगलुगाएँ म ।
‘केटा, झ्यालमा बस् !’

म बसिरहेको ठाउँ छोडेर झ्यालतिर पुगेँ । यहाँबाट रेल रोकिने ठाउँ देखिन्थ्यो मज्जैले ।
एउटी बेलायती गोरी म जत्तिकै अत्तालिएकी थिई । मैले नि उसलाई, उसले पनि मलाई आफू नौलो भएको दुखेसो पोखेथ्यौँ । म अङ्ग्रेजी नजान्ने, ऊ भक्कुमार जानेर नि अल्मलिएकी थिई । दुबैका आँखामा थियो नयाँ ठाउँको चञ्चलता ।
केही पछि ऊ अगाडि लागी । म झरेँ कोग्राह ।

‘आइपुग्नु भयो ?’

फोन आयो । ममता सापकोटाले स्टेशनमा झरे लगत्तै सोधेकी थिइन् मलाई । आफू झरेको र स्टेशनबाट बाहिरिन लागेको बताएँ ।

‘ओर्लेको ठाउँमै उभिरहनु । कविता सुन्नेको हुल आउँदैछ दाजै । पर्खनु दस–पन्ध्र मिनेट !’

‘अझै दस–पन्ध्र मिनेट ?’ ममतालाई असन्तोष देखाएँ फोनमै ।
उनले खित्काएर टारिन् ।

भतिजी मेरिनाले भनेको सोह्रै आना सत्य निस्कियो । मलाई घुमाउन र डुलाउन बोलाउनेहरु पर्खाइरहेका थिए । ताप्के तातेन, बीँड तातेर के काम !

पसले हुँदैनन्, सामान हुन्छ टनाटन । भित्ताको सूची हेर्‍यो अनि डलर खसालेपछि पिउने पानी, जुस, बिस्कुट आदि झिक्न मिल्छ । हरेक कुरा कम्प्युटर र क्यामेराबाट निर्देशित हुन्छन् ती पसलहरु ।

खल्तीको मोबाइलले यताउता फोटो खिचेँ । पैसा खसालेर एउटा कोक किनेँ— स्टेशनमा राखिएको सुनसान पसलबाट । पसले हुँदैनन्, सामान हुन्छ टनाटन । भित्ताको सूची हेर्‍यो अनि डलर खसालेपछि पिउने पानी, जुस, बिस्कुट आदि झिक्न मिल्छ । हरेक कुरा कम्प्युटर र क्यामेराबाट निर्देशित हुन्छन् ती पसलहरु । त्यही भएर त्यस्ता पसलका नाम मैले ‘चकमन्ने’ राखेको थिएँ ।

स्टेशनको एक ठाउँबाट अर्को ठाउँसम्म ओहोरदोहोर गरिरहेको छु । माथि टुप्पीसम्म टोपी लाएका, तल चैँ खल्ती बाहिर निकालेर हुनसम्म छोटो पारी अनौठा लुगा लाउनेहरु देखेर अवाक् बन्छु म । आँखालाई जवाफ छैन ।

फेसन हो कि ? बनोट नै यस्तै हो कि ? शरीरले यस्तै चाहेको हो कि ? बनाउने फुर्सद नभएर हो कि ? चलनै यस्तै हो कि ? अनेकौँ ‘हो कि–हो कि’ मै अल्झिन्छ मन ।

समय कटाउनु छ मलाई त !

आए है साथीहरु । परैबाट चिनेँ ममतालाई । उनले अरुलाई चिनाइन्— सविना न्यौपाने, पूजा काफ्ले, दीपा बस्याल । छिनभरमै थपिए रोनी न्यौपाने । सबैको व्यवहार र हृदय मायालु अनि हार्दिक । परदेशका हरेक अनुहारमा आफन्तको लेपन हन्छ । हरेक बोलीमा चिनारुको मल्हम भेटिन्छ ।

‘दाजै, अब कवितामय हुन्छ दिन !’

ममताका आँखा बोल्छन् । बोलीमा त्यही छ छनक ।
कोग्राहबाट छुटेको रेल फेर्नु पर्‍यो फेरि नि । त्यहीँ भेटिए केशव र रोमा ढकाल । ती झन् रमाइला र कवि–मनका रैछन् ।

‘डलर थपिदिऊँ ओपल कार्डमा ?’

रेल चढ्दा कार्ड छुवाउने आग्लोनिर पुग्दा ममताको पोखियो थप ममत्व ।
‘छ । आजको लागि हिजै बीस डलर हालेको छु !’

अनि हामी हुइँकिएका थियौँ अर्को लम्बेतान रेलमा । चारपाँच स्टेशन कटेपछि अस्टिनमेर आयो । एक हुल किशोरीहरु पसे बेस्सरी कराउँदै । ती पनि ओलङ्गङ जाँदै रहेछन् । बडेमान शरीरका ती किशोरीहरु मुस्किलले १२-१३ वर्षका थिए ।
‘यी टोगो जातिका हुन् । साह्रै ठूला ज्यानका हुन्छन् !’  मेरा आँखाले ममताबाटै उत्तर पाए ।

झ्यालमा बसेर घना वनमा डुलाइरहेको छु मन । पातला बस्ती, आँखाले नभ्याउनेसम्मको हरियालीमा मन र चेतनाको बुर्कुसीलाई रोक्दै–छोड्दै गरिरहेको छु । रेलमा गप्फिनेहरुको कुरा झन् तीव्र गतिको छ । हाँसो र गफले रेलको हलचल जितेको देख्छु म ।
‘कविता चाहियो !’
सविना, दीपा, ममताको आग्रह एउटै ।
म गम्भीर बन्छु । उनीहरु पछि लागेका छन् मेरो कविता सुनिछाड्ने ! कुरो घुमाई–घुमाई कुरा गर्छन् कविताकै ।
‘कविता सुन्न पाऊँ !’
रोमा, केशव र रोनीको माग छ झनै चर्को ।

कविताले खोजेको दर्शन यो रेलको दगुराइसँगै छ । कविताले पर्गेलेको सङ्गीत यो रेलको हुइँकाइसँगै छ । कविताले खोजेको अन्तर्भाव यो रेलको लम्काइसँगै छ ।

तर यी सहज र हार्दिक हृदयसँग ‘कविता छैन’ भन्न सकिरहेको छैन म । तिनलाई कविता नभएको हप्कीदप्की लगाउन सकिरहेको छैन । कविताको आगोले राप्पिएको भावनामा तपतप भएको बताउँदै भन्छु— ‘म सात कक्षामा लेखेको कविता सुनाउँछु है । पर्खनुस् केही छिन ।’

ठूला–ठूला चट्टान काटेर बनेका बाटो देखेर उहापोह हुन्छ छाती । रातो माटोमा सुलुत्त–सुलुत्त उम्रेका बोटले अकास ताकेकै छन् । घना झाडी टुप्लुकिइरहन्छ । ठाउँ–ठाउँमा कङ्गारु भएको सूचनापाटी झुल्कन्छन् । राता चट्टान पखाल्न झरेका पानीका कुलेसा देख्छु भीरतिर ।

ओनोना पुग्दा धेरै मान्छे झरे । दक्षिणतिर समुद्रको अथाह जलभण्डार नीलाम्मे भएको रहेछ । आँखाले झ्वाट्ट देख्दा अपार मीठो आनन्दी मनमा मुस्कायो । समुद्रको छाल छातीभित्र सरर्र पसेजस्तै भयो ।

‘कविता खोई त ?’ रोनीले कोट्याए ।

म जर्खरिएर समुद्रतिरै मुन्टो फर्काएर बसेँ । जङ्गलको फेदसम्म गम्भीर भएर फैलिएको हिन्द महासागरको अदभूत् छायाँमा लापत्ता भयो मेरो कविता । समुद्रले दिएको आकारमा मेरो कविताको धुकधुकी चल्मलाउन सकेन ।

बेलाम्बी, कोरिमल हुँदै नर्थ ओलङ्गङ पुग्यो रेल । मैले कविता कथ्न सकिनँ ।  हप्तैपिच्छे जस्तो कसैको मामा भएर, कसैको भान्जा भएर, कसैको ज्वाइँ भएर, कसैको जेठान भएर विभिन्न पास्नी, जन्मदिन र वैवाहिक वर्षगाँठमा गइरहेको हाँसोठट्टा रमाइलो पाराले बताइरहेथे रोनी ।

तर त्यो रमाइलोभित्र संस्कृति लुकेको थियो, नेपाली परम्परा जोडिएको थियो, त्यो रीतिभित्र नेपाली चालचलन टाँसिएको थियो । अझ चोखो रुपमा नेपाली जातिको अकाट्य हार्दिकता पोखिएको थियो ।

मैले रोनीलाई भनेँ पनि— ‘तपाईं सधैं भान्जा नै बन्नुस् । तपाईं सधैँ मामा नै बनिरहन पाउनुस् !’

रेल दगुरिरहेको छ ।
ओलङ्गङमा पुगेर घ्याच्चै रोकिएपछि एकै चोटि कराए सबै— ‘खोई त कविता ?’
‘आउँछ !’
यत्ति भनेर अगाडि–अगाडि लम्किरहेँ म ।

ओलङ्गङ सिटीमा ओर्लेपछि हाम्रो हुल अल्मलियो । केशव जोडीले छोराको खोजीनितीमा मन लगाए । रोनी, ममता र सविनाले बाटो पहिल्याउन आँखा तिखारे । मैले त खुट्टा मात्र तगडा पारेँ ।

कविताको अथाह सौन्दर्य समात्न कहाँ सजिलो हुन्छ र ! कविताको नदीमा हेलिन कहाँ सामान्य हुन्छ र ! कविताको विराट आकाश निहाल्न कहाँ लर्तरो हुन्छ र !

ती जता भन्छन् लम्किनै तयार भएँ । रोनी पो अष्ट्रेलिया पढेर खग्गु । उनले वरपर बुझेर गाडी आउने पत्तो पाएछन् । तर गाडीमा जाने–नजाने भनेर गलबदी परिरहे पनि बाटो भने काटिरह्यौँ हामीले ।

‘हिँड्नै पाए हुने !’

सुकिला बाटा, अग्ला भवन, मन्द हावा र चखिलो घामको स्वादलाई पढ्न खोजिरहेको थिएँ म ।

‘कविता आएन त ?’

साथीहरुले खैखबरी गर्न छोडेनन् ।

मैले ओलङ्गङ सिटी बीच जाने सङ्केत–बाटोमा खुट्टा मोरेर उनीहरुतिर मुस्कान फ्याकेँ । त्यो मुस्कानमा थियो— कविताको तपस्या, कविताको विषय, कविताको प्रस्तुति, कविताको उरालधुराल । कविताको अथाह सौन्दर्य समात्न कहाँ सजिलो हुन्छ र ! कविताको नदीमा हेलिन कहाँ सामान्य हुन्छ र ! कविताको विराट आकाश निहाल्न कहाँ लर्तरो हुन्छ र !

ओलङ्गङ सिटी बीच जाने बस भेटिएपछि हामी चढी पनि हाल्यौँ । बसमा मात्र हामी आठ जना । सबै नेपाली । सबैले चर्को स्वरमा आफ्नो खुशी, आफ्नो आनन्दी र आफ्नो उत्फुल्ल पोख्न थालिहाल्यौँ ।

ओरालो सरर्र झरेपछि हामी पनि ओर्लनु पर्‍यो । अनि फाँटिलो चौर नाघेर यस्तै पाँच–सात मिनेट हिँडी नसक्दै देखियो अथाह नीलो समुद्र ।
यही रहेछ ओलङ्गङ सिटी बीच !

ओलङ्गङबाट विदा हुँदा मैले समुद्रजस्तै भरिभराउ रूप छातीमा टाँसेको थिएँ । आँखा थिए तृप्त र सन्तुष्ट । अघाएर शान्त भयो मेरा ज्यान । समुद्रका सेता छालमा थिए मैले लेख्ने कविताका शब्दहरू !

पूर्वबाट फैलेर उत्तर हुँदै पश्चिमसम्म लमतन्निएको ओलङ्गङ सिटी बीचमा आँखाले देखेसम्म पानी जहाजका लस्कर थिए । पहेँला चुच्चा गरेका सेता चीलहरु हाम्रा काँधमा बस्न झुत्ती खेल्थे ।

आज छुट्टीको दिन रै’छ !
घुम्न आउनेको लस्कर अनगिन्ती थियो । बालबच्चा, बूढाबूढीभन्दा बढ्ता थिए— तरुनातरुनीहरु ।

पूर्व–पश्चिमका दुई ठूला चौरमा अग्ला न अग्ला ‘दुरबीने घर’ हरु थिए । पूर्वपट्टिको ‘कोस्टल टावर’ नजिकै एउटा बडेमानको तोप थियो । समुद्रको अनन्त दुरीलाई त्यसले ताकेको लाग्थ्यो । साथीहरु तोप र टावर नजिकै घुमिरहेथे ।

पश्चिमतिर अकास्सिएका धुँवैधुँवाका लहर हेर्दै समुद्रका सङ्ला छाल हेर्न चुकिनँ । थाकेका आँखाले ओलङ्गङ बीचलाई गलेको पाराले पढेनन् ।
नीलो समुद्र । आँखाले भेटेसम्म उस्तै र उही रङले आफ्नो विस्तार चारै दिशामा फैलाएको छ । हरियो समुद्र । परेलीले देखेसम्म एकै र एउटै रङको विस्तार दर्गदिशामा पोखेको छ ।

ओलङ्गङबाट विदा हुँदा मैले समुद्रजस्तै भरिभराउ रूप छातीमा टाँसेको थिएँ । आँखा थिए तृप्त र सन्तुष्ट । अघाएर शान्त भयो मेरा ज्यान । समुद्रका सेता छालमा थिए मैले लेख्ने कविताका शब्दहरू !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया