शुक्रबार, वैशाख १४, २०८१

कसैकै लहडमा अधिवेशन सार्न पाइदैन, त्यस्तो प्रयास नगरियोस : कुल आचार्य, अध्यक्ष प्रत्याशी

नेपालप्लस संवाददाता२०७८ भदौ २९ गते ७:५६

नेपालको परराष्ट्र मन्त्रालयले गैर आवाशिय नेपाली संघ केन्द्रलाई बिभिन्न ठाउँमा धाँधली भएको भन्दै परेको उजुरिका आधारमा स्पष्टिकरण सोधे पछी संस्था भित्र मन्द गतिमा देखिएको विवाद अहिले एकाएक चुलिएको छ । संस्थापन पक्षले अध्यक्षका प्रत्यासी कुल आचार्यले संस्थामा राजनीति घुसाएको आरोप लगाइरहेका छन । शक्तीको प्रयोग गरेर संस्था भाड्न खोजेको उनिहरुको भनाइ छ । त्यही पक्षले के पनि भनेको छ भने आचार्य पक्षले चुनाव हार्ने डरले अधिवेशन सार्नका लागि दवाव दिइरहेको छ । तर नेपालप्लस सँगको कुराकानीमा आचार्यले भने- कुनै पनि बहानामा अधिवेशनको मिती सार्न पाइदैन । भनेकै समय र मितिमा अधिवेशन हुनु पर्दछ ।

तपाईंहरुले एनआरएन भित्र किन राजनीति घुसाएको ?

के को आधारमा भन्नु भएको छ मलाई थाहा छैन । म तपाईंलाई के भन्न चाहन्छु भने संघ भित्र भएको ज्यादती, प्रतिनिधि चयनमा भएको अनियमितता, बिधान मिचिएका कुराहरुलाई तपाईंहरुले पनि खोजेर हेर्नुपर्‍यो । त्यसपछी बल्ल गर्नुहोला राजनीतिको कुरा । तपाईंले मैले एनआरएनमा गरेको विगतको कामलाई हेर्नुस् । मैले कहाँनेर आफ्नो ब्यक्तिगत स्वार्थ र गलत ठाउँमा संस्थालाई प्रयोग गरें । जसले पद्दतीको चराम दुरुपायोग गरेको छ उसैले नै गल्तिलाई ढाकछोप गर्नका लागि अरुले राजनीति मिसाए भनिरहेको छ । पहिला त कसले गल्ती गर्‍यो भन्ने कुरालाई मुल्यांकन गरेर हेरिदिनुस् । जसले गल्ती गरेको छ उतैबाट नै राजनीतिक रंग लगाउने प्रयास भएको छ । यसमा मेरो घोर आपत्ति छ ।

तपाईंहरुले मन्त्रालयमा किन उजुरी हालेको ?

संसारभरिका धेरै देशमा अनियमितता भए पछी धेरै साथीहरुले एनआरएन केन्द्रमा नै ईमेल र उजुरीहरु गर्नु भएको रहेछ । त्यस्ता अनियमितता भएका मुलुकहरुको समस्या समाधान गर्न उपाध्यक्ष समेतहरुले पनि निकै अनुरोध गर्नु भएको रहेछ । बिधान मिचेर अनियमितता गरिएको छ केन्द्रले छनविन गरोस भनेर पटक पटक भनिएको रहेछ । केन्द्रले कुनै अग्रसरता नदेखाएर बेवास्ता गरेपछी उहाँहरुले परराष्ट्रमा उजुरी दिनुभएको रहेछ । तर कुल आचार्यले निवेदन हाल्न लगायो भनेर मलाई बद्नाम गराउन खोजिएको छ । अती भए पछी त्यो अतीको पराकाष्ट बाहिर निस्केको हुनु पर्दछ । र, मलाई के लाग्छ भने नेतृत्वले आफ्ना कुराहरुलाई बेवास्ता गरेपछी केही साथीहरु परराष्ट्र जानु भएको हो भन्ने मैले सुनेको हुँँ । म फेरी पनि के भन्न चाहन्छु भने कुल आचार्यले परराष्ट्रमा न त कुनै निवेदन दिएको छ न कुनै दबाब । यसरी परराष्ट्रसम्म उजुरी पुर्‍याउने मुख्य दोषी त नेतृत्व नै हो । किन भने संस्थालाई उनिहरुले नै मर्यादित बनाउन सकेनन । बिधान मिचेर तोकिएको समय भन्दा पछाडि गएर सदस्यता बितरण गर्ने, तोकिएको समयभन्दा पछी गएर प्रतिनिधिहरुको हेरफेर गर्ने, उपाध्यक्ष र सदस्यहरुकै गुनासाहरुमा कुनै सम्बोधन नगर्ने अनी कोही परराष्ट्र मन्त्रालयमा किन गयो भने कुल आचार्यलाई प्रश्न गर्ने । कतीबिधी अमिल्दो छ होइन ? मलाई दोष लगाउनु भन्दा पहिला हामीले गल्ती गर्यौ कि गरेनौं भन्ने कुरा पहिला नेतृत्वले सोचोस भन्ने म अनुरोध गर्दछु ।

नेतृत्वले परराष्ट्र मन्त्रालयबाट एनआरएनमा हस्तक्षेप गर्‍यो भनिरहेको छ त ?

नेतृत्वले गल्ती गरेको छ कि छैन भन्ने कुरा पहिले त आफैंले मुल्यांकन गरोस । कुनै गल्ती नभएसम्म परराष्ट्र मन्त्रालयले गल्ती नगर भन्दैन होला । गल्ती सुधार गरे कुरै खत्तम । मन्त्रालय र सरकारलाई हामीले यसरी विवादमा ल्याउन हुँदैन । उ हाम्रो अभिभावक हो । यदी परराष्ट्र मन्त्रालयले केही कुरा एनआरएनलाई सोधेको छ भने पक्कै पनि कानुन सम्मत तरिकाले नै सोधेको हुनुपर्छ । गल्ती सच्याए त कुरै सक्कियो नि ।

हामीले हेर्दा पनि सरकारी हस्तक्षेप जस्तै देखिन्छ । तपाईंलाई किन हस्तक्षेप जस्तो किन लागेन ?

यसलाई कसरी हस्तक्षेप भन्न मिल्छ ? गल्ती अनियमितता भए पछी अभिभावकले के भन्छ त्यही हो गल्ती सच्याउ, अबदेखी गल्ती नगर भनेको त होला नि । तथापी म निवेदनकर्ता नभएको हुनाले मैले धेरै बोल्ने आधार रहँदैन । तर के लाग्छ भने अनियमितता भएका कुरा, बिधान विपरित नियमावली बनाउने कुरा, धाँधली भएका कुराहरु सच्याउँ । अबदेखी त्यस्तो नगर बन्नु कसरी हस्तक्षेप होला र । कुनै पत्रकारले अथवा कोही स्वतन्त्र ब्यक्तिले एनआरएन भित्र धाँधली भयो, बिधान मिचियो, सच्याउ भन्न पाउँछ । यो हस्तक्षेप लाग्दैन हामीलाई भने परराष्ट्र त एनआरएनको अभिभावको हो । गल्ती नगर भन्दा कसरी हस्तक्षेप हुन्छ ? त्यो त खवरदारी मात्रा हो जस्तो लाग्छ मेरो विचारमा । म पुन: के भन्छु भने हामी बिचका समस्या त्यहाँसम्म पुग्ने अवस्था किन बनाइयो ? नेतृत्वको अक्षमता होइन यो । तथापी मन्त्रालयले यो संस्थालाई चुनाव हार र जितको माध्यम नबनाइयोस भन्ने मनशाय राखेको हुनु पर्दछ ।

तपाईंहरुले चुनाव हार्ने अवस्था आएपछी अधिवेशन नै पछी सार्न खोजिरहनु भएको छ रे त ?

हामीले भर्खरै चुनाव भएपनि अत्यधिक बहुमतले जित्छौं । हाम्रो पक्षमा स्पष्ट बहुमत देखिएको छ । हार्ने अवस्था आएपछी प्रतिनिधि चयनमा कसले धाँधली गरिरहेको छ भन्ने कुरा छर्लंङ्ग देखिएको छ । चुनाव त हामीले जितेका छौं । तर अहिलेको आवाज बिधी बिधानको पालना हुनुपर्छ भन्ने हो । चुनाव हार्ने भएपछी अर्को पक्षले कसरी गडबड गरेको छ भन्ने कुरा त सबैले देखेकै छौं नि होइन र !

भन्नुस त अर्को पक्षले कसरी र कहाँँ गडबड गर्‍यो ?

मलाई लाग्छ अमेरिका, बेलायत र अष्ट्रेलियामा राम्रोसँग प्रतिनिधि चयन भएको छ तर यि देशमा बिबाद किन देखाइयो उनिहरु सँग प्रश्न गरिदिनुहोला । हाम्रा १७-१८ वटा देशमा चुनाव भएको छ एनसीसीको । अहिले अमेरिका, बेलायत र अष्ट्रेलियाले मात्र २५ प्रतिशतका लागि चुनाव गर्नुपर्ने अरु देशहरुले २५ प्रतिशतको चुनाव गर्नु नपर्ने हो र ? यदी विधानको पालना गर्ने हो भने सबै देशमा त्यो २५ प्रतिशतका लागि चुनाव गरौं । किन एकरुपता नगरेको ? तपाईंहरु विधान विपरित कार्य गर्ने अनी बेलायत, अमेरिका, अष्ट्रेलिया विवादित देश भन्ने ? किन देश अनुसार छुट्टाछुट्टै नियम ? म संघका सबैलाई दोष लगाउन चाहन्न । तर केही ब्यक्ती छन् जसले आफ्नो निहित स्वार्थका लागि पुरै संस्थालाई बद्नाम गराइरहेका छन् ।

कांग्रेसका नेताहरुसँगको ब्यक्तिगत समबन्धका आधारमा तपाईंले नै खैलाबैला मच्चाएको कुरो छ त ?

एउटा सामान्य कुरा गरौं, तपाईं कसैको ब्यक्तिगत सम्बन्ध किन खोज्नुहुन्छ ? आफूले गल्ती गरेको छु कि छैन भनेर पहिला हेर्नुपर्‍यो । मैले त यत्ती मात्रै भन्छु- ब्यक्तिगत सम्बध परका कुरा हुन् संस्था भनेको नजिकको कुरा हो । यो संस्था भित्र बसेर जानी जानी गल्ती गर्ने, बिधान मिच्ने अनी अरुलाई दोषारोपण गर्ने ।

तपाईं नेताका घर घर जानुहुन्छ भन्छन ! नत्र के गरेर बसिरहनु भएको छ काठमाडौंमा ?

मेरो आफ्नै ब्यक्तिगत कामहरु छन् । कतिपय साथीहरुसँग भेटघाट गर्ने काम गरेको छु । गैर आवाशिय नेपाली संघलाई कसरी मर्यादित बनाउन सकिन्छ, ति लाखौं नेपालीहरुलाई कसरी नेपाल सँग जोड्न सकिन्छ भनेर नेपाल सरकारका पदाधिकारी र बिभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल परामर्श गरिरहेको छु । म कुनै नेताकहाँ मेरो कुनै ब्यक्तिगत काम लिएर गएको छैन । त्यहाँ गएर मैले कुनै पद पाउने होइन । मेरो उद्देश्य मात्र विदेशमा रहेका नेपालीहरुका समस्या समाधान गर्दै उनिहरुलाई कसरी नेपालसँग जोड्ने भन्ने हो । त्यसको बिन्दु भनेको नेपाल सरकार र नेपालका राजनीतिक दल नै हुन् । त्यसैले सबै दलका नेताहरु, मन्त्रिहरुसँग भेटघट भईरहेको छ । उद्देश्य ठुलो छ । कुराहरु सामान्य छन् हामी कसरी जोडीने । यि भेटघाटमा चुनाव वा अधिवेशनको कुनै तारतम्य छैन । म पहिले पहिले पनि यसरी नै भेट्थें ।

तपाईंहरुले किन अधिवेशन सार्न खोजेको ?

कसले भन्यो हामीले सार्न खोजेका छौं भनेर । हामी त त्यही कुरामा अडिग छौं, कुनै पनि हालतमा तोकिएको समय भन्दा पछाडी अधिवेशन सार्न हुँदैन । भएका गल्ती, अनियमितताहरुलाई छिटो भन्दा छिटो समाधान गरेर संस्थालाई मर्यादित रुपमा अघी बढाउन जरुरी छ । कसैको लहडमा अधिवेशन सार्न पाइँदैन, त्यस्तो प्रयास नगरियोस् । एक मिनटपनि अधिवेशनलाई पर धकेल्ने हाम्रो मनशाय छैन । बरु समयमा अधिवेशन नगराउन षडयन्त्र भएको संकेत देखिएको छ । तपाईंले मलाई टार्गेट गरेर जुन कुरा सोध्नु भएको छ- म भन्छु गैर आवाशिय नेपाली संघको समयतालिका र आइसीसीको निर्णय अनुसार नै अधिवेशन हुनुपर्छ भन्नेमा मेरो अर्को मत छैन । तर कस्तो देखिएको छ भने समस्याहरु उत्पती गराएर अधिवेशनलाई पर धकेल्ने छल अन्त कतैबाट भएको छ ।

अब समस्याको समाधान कसरी गर्ने त ?

जहाँँ जहाँँ बदमाशी भएको छ त्यस्ता सबै ठाउँँमा बिधान सम्मत रुपले सच्याउने हो भने त समस्याको समाधान भइहाल्छ नि । यसबारेमा अध्यक्ष ज्युले सोच्नुहुन्छ भन्ने मेरो अपेक्षा छ ।

अध्यक्षले नै राजनीतिक हस्तक्षेप भयो भनेर भनिरहनु भएको छ त ?

राजनीतिक हस्तक्षेप भने पनि उहाँले निस्पक्ष काम गरिरहनु भएको छ भन्ने कुरा मैले विश्वास लिएको छु । हामीले हाम्रा समस्याको समाधान आफैं गर्यौं भने बाहिरको कसैले पनि खेल्ने मौका पाउँदैन । यो कुरा अध्यक्ष ज्युले राम्रो सँग बुझ्नु भएको छ ।

तपाइँको प्रतिक्रिया