शनिबार, वैशाख ८, २०८१

अफगानिस्तानका १० लाख वालवालिकामा भोकमरीको त्रास, राष्ट्र संघद्वारा आपतकालिन आर्थिक अपिल

नेपालप्लस संवाददाता२०७८ भदौ २९ गते २१:४८

फोटो साभार- तेहरान टाईम्स

लामो युद्द र मौसम खराबीले गर्दा अफगानिस्तानमा भोकमरी लागेको भन्दै संयुक्त राष्ट्र संघले आपतकालिन आर्थिक अपिल गरेको छ ।

संयुक्त राष्ट्र संघले सोमबार जेनेभामा आपतकालीन आर्थिक अपील बैठक आयोजना गरी अफगानिस्तानलाई मानवीय सहायताका लागि कोष जुटाउन लागेको हो । संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले त्यहाँका जनताकालागि ‘लाईफलाईन’ को आवस्यकता परेकाले आर्थिक कोष खडा गर्न आपतकालिन अपिल गरिएको बताएका छन् ।

“दशकौंको युद्ध, पीडा र असुरक्षा पछि उनीहरुले सायद आफ्नो सबैभन्दा खतरनाक घडीको सामना गरिरहेका छन्” गुटेरेसले भनेका छन् ।

बैठक पछि गुटेरेसले अफगानिस्तानलाई तत्कालै सहयोग गर्न एक अर्ब डलरभन्दा बढि सहायताको प्रतिबद्दता गरिएको बताएका छन् । यो लक्ष्य मध्ये सोमवार ६० करोड डलर संकलनको लक्ष्य तिर पुग्नेपनि उनले बताएको भन्दै सिबिएस न्युजले उल्लेख गरेको छ ।

अफगानिस्तानको स्थितिबारे संयुक्त राष्ट्र प्रमुखद्वारा चित्रित तस्वीर भयावह छ । तीन अफगानहरु मध्ये एक जनालाई थाहा छैन, एक छाक खाएपछि उनीहरुको अर्को खाना कहाँबाट आउने हो । र कतिखेर आउने हो । गरीबीको दर बढिरहेको छ । आधारभूत सार्वजनिक सेवाहरु सबै समाप्त हुन लागेका छन् । त्यो अवस्था निकट पुगेको छ । लाखौं मानिसहरु घर छोडेर जान बाध्य भएका छन् ।

यसबाहेक अफगानिस्तानले भयानक खडेरीको सामना गर्नु परेको छ । चार वर्षमा यस्तो खडेरी अफगानिस्तानले दोस्रो पटक भोग्नुपरेको छ । धेरै मानिसहरु यस महिना (सेप्टेम्बर) को अन्त्यसम्म खानाबाट बञ्चित हुनसक्छन् । जाडो नजिकिँदै छ । अवस्था झन कठिन हुने छ ।

तालिबानले कब्जा गरेपछि अरबौं डलरको वैदेशिक सहायता अचानक अन्त्य भएको छ । नयाँ सरकारले सबै पुरुष नेतृत्व टोली राखेर सरकार बनाएको छ र महिला शिक्षाको नयाँ नियम घोषणा गरेको छ । त्यसले गर्दा अन्तर्राष्ट्रिय जगत सशंकित बनेको छ । त्यसैले बाहिरी जगतले दिने आर्थिक सहयोगमा शंका उत्पन्न गराइदिएको छ ।

तालिबानबाट बच्न भागेर अफगानिस्तानबाटै विस्थापित हुनु र देशको आर्थिक अवस्था बिग्रनु एक प्रमुख चिन्ताको विषय रहेको संयुक्त राष्ट्र संघका अधिकारीहरुले सोमबार बताएका छन् । संयुक्त राष्ट्र संघ शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डे ३५ लाख विस्थापित अफगानहरुको स्थितिको आँकलन गर्न काबुल पुगेका छन् ।

संयुक्त राष्ट्र संघका २० वटा एजेन्सीहरु अफगानिस्तानमा आफ्नो मानवीय काम जारी राख्ने आशामा छन् । उनीहरुले काम गर्न नपाए अफगानिस्तानको मानविय संकट गम्भिर हुने अवस्था देखिएको अन्तर्राष्ट्रिय सामाजिक, मानविय संस्था र दाताहरुले चेतावनी दिइरहेका छन् । मानवीय मामिला र आपतकालीन राहत संयोजनकालागि उपमहासचिव मार्टिन ग्रिफिथ्स तालिबानको नेतृत्वसँग उनीहरूको भूमिकाको बारेमा घेटघाट गर्न गत हप्ता काबुल गएका थिए ।

गुटेरेसले भने “उनले लाखौं मानिसहरुलाई निष्पक्ष, स्वतन्त्र मानवीय सहायता र सुरक्षा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाएका छन् ।”

ती उपायहरुमा अफगानिस्तानको गहुँको खेती बचाउन, खडेरीको बीचमा भोकमरी रोक्न मद्दत गर्न जरुरी सहयोग चाहिएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू यू डोंग्युले संयुक्त राष्ट्र संघको बैठकमा भनेका छन् ।

अमेरिकी राष्ट्रपति जो बिडेनका संयुक्त राष्ट्र संघका राजदूत लिन्डा थोमस- ग्रीनफिल्डले अमेरिकाबाट ६ करोड ४० लाख डलरको मानवीय सहायता घोषणा गर्दै भनिन् “स्थिति भयावह छ ।”

थोमस-ग्रीनफिल्डले संयुक्त राष्ट्र संघको वालवालिका एजेन्सी, युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरलाई उद्धृत गर्दै ५ वर्ष मुनिका १० लाख वालवालिकाले छिट्टै गम्भीर कुपोषणको सामना गर्नुपर्ने अवस्था स्रिजना हुनसक्ने भविष्यवाणी गरेका छन् ।

“रोक्न सकिने भोकमरीबाट एक जना वच्चा मर्नुपनि धेरै हो, गम्भिर हो । १० लाख त अकल्पनीय हो” थोमस-ग्रीनफील्डले भने “नयाँ कोषको अर्थ यो हो कि अमेरिकाले अफगानहरुलाई यस आर्थिक वर्षमा ३३ करोड डलर सहयोग प्रदान गरेको छ ।”

उनले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको प्रयासमा समर्थन गर्न र तालिबानलाई जवाफदेही बनाउनका लागि एकजुट हुन आह्वान गर्दै भनिन् “विश्वले मानविय हित, सेवामा साथ दिनुपर्छ । अफगानिस्तानमा मानविय कार्यहरुलाई अगाडि बढाउनुपर्छ ताकी हामीले अप्ठेरोमा परेका अफगानहरुको जिवन बचाउन सकौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक