सोमबार, मंसिर २०, २०७८

भुलेको गाउँमा फुलेका मान्छेलाइ अन्तिम सास फेर्ने धोको

देवेन्द्र कँडेल / टोकियो, जापान २०७८ भदौ ३० गते १६:०४

प्यारो गाउँ पचुवा तँलाइ धेरै धेरै सम्झना । खै कसरी बिर्सुं र तँलाइ जे छ तेरै आधारमा उभिएको छु । मलाइ यो पनि थाहा छ, शब्दका सम्झनाले केही नाप्दैन ब्यावहार शुन्य भए पछि । स्वार्थीहरुको लाइनमा म पनि कसैको चेलो हुँ भने कसैको गुरु पनि बनें हुँला । यति हुँदाहुँदै पनि तैंले दण्डित नगरेर उन्नती प्रगतीको पुकार गरिरहिस् । यसले मान्छेहरुलाइ मनग्गे बिध्या तथा धन लाभ भइरह्यो । अनि कसैले तेरो खाँचो बिर्सिए त कसैले तँसँगको नातो बिर्सिए । तैंले भरेको बिध्या बोकेर हिंड्नेहरु नेटो काटिसके । तर विवेक फर्काइदिएनन् । तेरै बाटो खर्चमा धन छोप्न हिंडेकाहरुले मन फर्काएनन् । मान्छेहरु ठूला ठूला शहर र नगर खोज्दै हिंड्दा तैंले पनि आफूलाइ फरक पार्दै गाउँ बिकासबाट बागलुङको गल्कोट नगरमा पुर्याइछस् । तर पनि मान्छेले गाउँको जोगी भतुवा सम्झिराखे ।

सायद तसँग ज्यान टाढिएको वर्षौ भइसक्यो । तर मन त्यहिं टाँस्सिईरहेको पाउँछु । त्यो मन झिक्ने मन पटक्कै छैन । तर यस्तै भन्ने मान्छेहरुले सबथोक झिकिसके । त्यसैले तैंले बिश्वास नगर्लास्, खैर केही छैन ।

धेरै मान्छेहरुलाइ घर कहाँ भन्दा शहर बताउँदै गर्नेको भिडमा मलाइ तेरै नामले खुशी दिलाउँछ । दोष त मैंले तँलाइ नै दिन्छु । किनभने कहिले आफ्नै शरिर गलाएर निकालेको स्वस्थ पानीले प्यास मेराइदिइस् त कहिले आफ्नै रुप रंग खुल्याएर उब्जाएका अन्नपातले भुँडीमात्र भराइनस की मेधाबी, ह्रष्टपुष्ट, भुसतिघ्रे नै पारिदिइस् जसले गर्दा आज तेरै छातीमा उभिएको स्कुलमा अंक सिकेका श्यामेहरुले युरोप, अमेरिका पुगेर नफर्कने गरेर उतै डलर र युरो गन्दैछन् । तेरै शरिरलाइ धितो राखेर शहर बजार तथा जापान छिरेका देवेहरुले मधेसतिर बित्ताले जग्गा नाप्दैछन् ।

स्वस्थानी पुजाको भजनमा छमछमी नाच्ने मन छ । तेरै छाति चिरी चिरी आठ दश दिन काम गरेर सालभर पेट भर्ने मन छ । दुइ चार दिन भए पनि तेरै लागि केहि गर्ने मन छ । सबै भन्दा ठूलो कुरा तेरै काखमा अन्तिम सास फेर्ने मन छ ।

प्यारो पचुवा तैंले बिर्सेको छैनस् भने तेरो छातीको बाँसको लौरो टाङ मुनी हालेर घोडा भन्दै दौडने छत्ताउरेहरु जो हराएका छन् तिनै फर्कने आशमा तिनका पाइलाका डोबहर मेटेको छैनस् होला । तेरै थाप्लोमा चरा चाखुराका गुँड भत्काएर फुल चोर्ने तथा बचराका निम्ती चारो खोज्न आउने ढुकुर छोपेर पोल्नेहरुका निम्ती आफैं माफि माग्दैछस् होला । तैंले उब्जाएको अन्नपात तथा फलफुल खाएर तेरै शरिर भरि बिष्टाएकाहरुको मलमुत्र पखालेर दरम खोलाको भेलमा पुर्याइसकेको छैनस् होला । तेरै किनाराबाट बग्ने दरमको तिरका ढुङ्गामुनि असला माछा अझै साचेको होलास । कहिले आउँछ भनेर वर्षैपिच्छे स्वागत गर्न छेवैको वनैभरि कोइरालो फुलाएर राख्छस् होला ।

भो छोडीदे मान्छेले बिर्से भन्दैमा तैंले चिन्ता नगरेस् । हिजो तँलाइ आटो र पिठोमा हिसाब गर्नेहरु आज बिटोमा हिसाब गर्दैछन् । तैले हुर्काएका मान्छेले पुरै नसम्झे पनि छेउ टुप्पो कतै न कतै सम्झिनै रहेछन् । कतै पानी किन्नु परे बतासेको पानी सोच्नेछन्, माछा किन्नु परे दरमको असला सोच्नेछन् । अचार मोल्दै गर्दा वनको कोइरालो सोच्नेछन् । बजारमा निउरो, पुदिना आदि आदि देख्दै गर्दा बेथखोलाको छेउछाउ पुग्नेछन् । मन बेचैन हुँदा तेरै काखमा ढुङगाकै सिरानीमा भए पनि निद्रा लाग्ने उनै दिन सम्झिनेछन् । तैपनि के हुने छ कसैले पनि आफ्नै हिसावकिताबले मेलोबाटो पाएका छैनन । तेरो हिसाव अब कसैको सम्झना समेत छैन ।

जसलाइ तैले हुर्काइस तिनका सन्तान पनि त्यसै गरि हुर्काउने तेरो इच्छा अपुरै रहनेछ । तिनका नाममा फलाउने तिजु, औषली, चौतारो, अमला आदि आदि अरु कसैलाई खुवाइदिनु । बटौली पुगेर पिठ्‌युँमा नुन बोकेर तेरै काखमा रमाएको कथा कहने बाहरु तिनै भाँडा बोकेर तर्कीसकेका छन् । भो अब झारमौराको दैला पकड बिर्सीदिनु । तन्नेरीहरुले देश छाड्दै गर्दा बुढाबाउले अन्तिम सास छाडेको ठाउँमा अरुहरु आफ्ना काला केश छाडेर भागीसके । त्यसैले परलोक यात्रीको बिदाइमा रुने बरको रुखका जरामा सबैको आँसु पोखिदिनु ।

मनको याद पोखेरै सकिंदैन । लामो गन्थन कति गरौं र ? तैंले आफैं अभागी बनेर भएपनि अरु कसैलाइ अभागी राखिनस् । त्यसैले अब आफैं भाग्यमानी बन्ने प्रयास गरेस् । बुद्धि भर्दा आफैलाइ सिंगार्ने मसी भरेस् । पर पुग्नेहरुलाई डोर्याउने रसी भरेस् । आफैंलाइ अभागी माने पनि टुहुरो हुने छैनस् । भाग्यमानी सन्तानका खुशीमा धरधरी रुने छैनस् । जे जसो जता रहेपनि एकपटक त्यहि पुगी एक भारी घाँस पल्टाएर दिनभरी डुल्न मन छ । बर्खे झरीमा गोठको भारमा एक हात कलब्रेक खेल्ने मन छ । स्वस्थानी पुजाको भजनमा छमछमी नाच्ने मन छ । तेरै छाति चिरी चिरी आठ दश दिन काम गरेर सालभर पेट भर्ने मन छ । दुइ चार दिन भए पनि तेरै लागि केहि गर्ने मन छ । सबै भन्दा ठूलो कुरा तेरै काखमा अन्तिम सास फेर्ने मन छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक