शुक्रबार, चैत १६, २०८०

परराष्ट्र मन्त्रालयको चासो सम्बोधनपछि एनआरएनए निर्वाचन कार्यतालिका प्रकाशन हुने

नेपालप्लस संवाददाता२०७८ असोज १ गते १६:१८

निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेकै बेला परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा पत्र आएकाले त्यसलाई सम्बोधन गरेपछि मात्रै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने भएको छ ।

एनआरएनए निर्वाचन समितिले आज जारि गरेको प्रेस विज्ञप्तिका अनुसार गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्न संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचनको आन्तरिक तयारीमा गत समिति जुलाई देखि नै जुटिरहेको छ ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । विज्ञप्तीमा निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको र हाल तीनको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको उल्लेख छ ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको निर्वाचन समितिको भनाई छ ।

निर्वाचन समितिले प्राविधिक लगायत अन्य विविध पूर्व तयारी गरिसकेकोसमेत जनाएको छ । बिज्ञप्तीका अनुसार अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न समितिले अनुरोध गरेको छ । हाल सोही अनुसार फोटो संकलनको काम जारी छ ।

निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्ने भन्दै निर्वाचन समितिले सचेत गराएको छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएकोले यदि सदस्यता बनिसकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए [email protected] मा पठाइ दिन समेत सुचित गरेको छ ।

आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) छन् । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार) र डा. गणेश गुरुङ्ग (नेपाल) छन् ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको समेत दाबि गरेको छ ।

निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्ना साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने जनाउँदै बिज्ञप्तीमा भनिएको छ “निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक