शुक्रबार, चैत १६, २०८०

मेक्सिको जान हिँडेका करिब ६० नेपाली जर्मनीमा अलपत्र, १८ जना प्रहरी नियन्त्रणमा

नेपालप्लस संवाददाता / फ्रयांकफोर्ट, जर्मनी२०७८ असोज २ गते १७:२०

मस्को-फ्र्यांकफोर्ट हुँदै मेक्सिको जान लागेका पाँच दर्जन नेपालीहरु विगत चार दिन देखी जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा अलपत्र परेका छन् । जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा कार्यरत एक नेपाली श्याम खनालले दिएको जानकारी अनुसार दुई तीन समुह गरेर करिव पाँच दर्जन नेपालीहरु अलपत्र परेका हुन ।

उनिहरु मध्ये केही मेक्सिकोबाट फर्काइका हुन भने अधिकांश मस्को फ्रयांकफोर्ट हुँदै मेक्सिको जाने तयारीमा थिए । नेपाली दुतावास बर्लिनले भने आफूहरुलाई १८ जना नेपाली अलपत्र परेको जानकारी आएको बताएको छ । बर्लीनस्थित नेपाली राजदुत रामकाजी खड्का नेपालप्लससित भन्छन् “हामीले जर्मनीको सुरक्षा एजेन्सी सँग संपर्क गर्दा १८ जना नेपालीहरु आफ्नो नियन्त्रणमा रहेको बताएको छ । ति मध्ये ६ जना सँग जापानको नक्कली भिसा भएको र शंकाको आधारमा समुहका सबै जनालाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा एजेन्सीले जानकारि दिएको छ ।

जर्मन एजेन्सीले छानविन पछी जुन देशबाट आएको हो त्यही देशमा फर्काउने तयारी गरिरहेको खड्काले बताए ।

एयरपोर्टमा कार्यरत श्याम खनालका अनुसार १८ जना बाहेकका मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएका छन् । उनिहरु सबैलाई सुरक्षा एजेन्सिले आफ्नो नियन्त्रणमा राखेको छ ।

अब ति नेपालीको उद्दारमा दुतावासको भूमिका के भूमिका हुन्छ त ? राजदुत खड्का भन्छन- हाम्रो भूमिका के हुने ? हामीलाई कसैले आधिकारिकरुपमा भनेको छैन । यदी कसैले हाम्रो उद्दार गरिदिनु पर्‍यो भन्यो भने हामीले पहल गर्ने हो । तै पनि हामी यहाँँको निकायसँग संपर्कमा छौ र तिनको अवस्थाका बारेमा जानकार छौं ।

सुरक्षा निकायको नियन्त्रणमा जाँचबुझको क्रममै रहेकाले पक्राउ परेका नेपालीहरुको जानकारि र परिचय जर्मन सुरक्षा अधिकारीले हालसम्म खुलाएको छैन ।

तपाइँको प्रतिक्रिया