शनिबार, वैशाख ८, २०८१

जो काबुलबाट फर्कनै चाहँदैनन

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २ गते १९:४८

अफगानिस्तानमा तालिवान शासन सुरु भएको एक महिना बितिसक्दा पनि त्यहाँ ३४ जना नेपाली अलपत्रै रहेको भनेर बरोबर समाचार आइरहेको छ । तिनलाई उद्धार गरेर घर फर्काउन अनेक तरहको पहल भैरहेपनि अहिले आएर मात्रै यथार्थ बाहिर आएको छ— यी नेपाली घर फर्कनै चाहँदैनन् ।

गैर कानूनी उपाय र बाटोबाट २ वर्षअघि काबुल पुगेपनि अहिलेसम्मै काम र गासबासको टुङ्गो नभएपछि मुश्किलले उनीहरु काबुलको गुरुद्धारा हुँदै राष्ट्रसंघीय सुरक्षा निकायको बेसमा गएर बसेका छन् । काबुलबाट झण्ठै १ हजार नेपालीको उद्धार भएको र तत्काल अफगानिस्तानमा सहज स्थिती आइहाल्ला नभएकै अवस्थामा अलपत्र ३४ जनाका बारे सूचना बाहिर आएको हो ।

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार उद्धार गरेर (१८ सेप्टेबर) स्वदेश ल्याइने भनिएपनि प्राविधिक कारणले गर्दा सोमबारमात्र उद्धार गरिने तय भएको छ । कागजातहीन र गैर कानूनी अवस्थामा रहेको ३४ मध्ये पनि १२ जना कामदार भारतीय नागरिक रहेको २२ जना मात्रै नेपाल प्रहरी वा सेनाका अवकाशप्राप्त जवान रहेको बिशेष स्रोतले जनाउ दिएको छ ।

काबुलमा रहेका नेपालीले रुवाबासी गर्दै दिल्लीको नेपाली दूतावासमा फोन गरिरहेका हुन्छन्—तर, घर फर्कन हैन, युद्धरत भूमी अफगानिस्तानमैं बस्न । ‘नेपालमा रोजगारी दिन र पाउन नसकेपछि बरु मरिन्छ तर, रोजगारीमा खटिएरै मरिन्छ भन्ने भएर नेपाल सरकारलाई अनुरोध गरेका हौं’काबुलमैं बस्न चाहनेमध्येको स्याङ्जा घर भएका एक पुर्व सैन्य अधिकारीले भने—‘यहाँ त ज्यूँदै भएपनि पैसा हुन्छ नै, मरियो भने पनि शवको बाकससँगै पैसाको मुठो आफ्नो परिवारमा जान्छ । त्यही भएपनि आत्माले चित्त बुझाउने बाटो हो ।’

यसरी रुवाबासी गरेर बस्न चाहेपनि नेपाल सरकारले विशेष चार्टड फ्लाइटबाट सबैलाई सोमबार घर ल्याउन लागेको हो । तर, बरु मर्न तयार भएर पनि रोजगारीका निम्ति काबुलभूमीमा बस्न चाहने निडर नेपालीलाई भने सम्मान गर्नैपर्छ भनेर अर्को तहमा काबुलमा अड्किएका नेपालीका पक्षमा समेत आवाज उठिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक