मंगलबार, वैशाख ४, २०८१

फ्र्यांकफोर्टमा अलपत्र परेका नेपाली अझै अमेरिका पुग्ने आशामा

नेपालप्लस संवाददाता / फ्रयांकफोर्ट, जर्मनी२०७८ असोज ३ गते १५:१८

सांकेतिक फोटो

जर्मनीको फ्रयांकफोर्ट बिमानस्थलमा अलपत्र परेका नेपालीहरुले अमेरिका पुग्ने आफूहरुको आशा अझै मरिनसकेको बताएका छन् । अलपत्र परेका एक जना नेपालीले नेपालप्लससँग कुरा गर्दै भने ‘एक दुई दिनमा हामीहरु यहाँँबाट मेक्सिकोका लागि उड्ने प्रयास गरिरहेका छौं ।’

काठमाडौं-दुबई, मस्को-फ्रयांकफोर्ट हुँदै मेक्सिको जान लागेका पाँच दर्जन बढी नेपालीहरु विगत ६ दिन देखी फ्रयांकफोर्ट विमानस्थलमा अलपत्र छन् । उनिहरु मध्ये केही मेक्सिको प्रहरिले फ्र्यांकफोर्ट डिपोर्ट गरेका नेपालीहरु हुन् । मेक्सिकोबाट डिपोर्ट भएकाहरुलाई मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा संयन्त्रले बताएको नेपाली दुतावास बर्लिनले जनाएको छ ।

दुतावासका अनुसार तीन दिन अघी मेक्सिको उड्न लागेका १८ जना मध्ये ६ जना सँग जापानको नक्कली भिसा भेटिएकोले शंकाको आधारमा समुहका सबै जनालाई निगरानीमा राखिएको जर्मन सुरक्षा एजेन्सीको हावाला दिदै नेपाली दुतावास बर्लीनले जनाएको छ ।

तर अलपत्र परेका मध्धे एक जना नेपालीले आफूहरु प्रहरिको नियन्त्रणमा नरहेको र मेक्सिको उड्नकालागी टिकट पर्खिरहेको बताए । अलपत्र परेका मध्ये अधिकांशलाई नेपाली दलालले दुई साता अघि काठमाडौंबाट दुबईका लागि उडाएका थियो । सबैजना नेपालीहरुलाई दुबईको एउटा होटलमा राखिएको थियो । जहाँँबाट एक हप्ता पछी उनिहरुलाई एउटा पाकिस्तानी एजेन्टले मस्कोका लागि उडाएको अलपत्र नेपालीको भनाइ छ । मस्कोमा एकदिन बसे पछी सबै जना फ्रयांकफोर्ट हुँदै मेक्सिकोका लागि उडेका थिए । तर केही नक्कली भिसा भेटिएको कारण समुहका सबैजनालाई जर्मनी सुरक्षा निकायले रोकेको थियो । ति सबै जना ६ दिन देखी एयरपोर्टको ट्रान्जिट कक्षमामै छन् ।

पीडित नेपालीले आफुहरुलाई रोल्पा घर बताउने आले थरको नेपाली दलालले पठाएको बताए । “तर हामीहरुको उनीसँग प्रत्यक्ष संपर्क भएको थिएन । फोनमै कुराकानी गरेर सबै कुराहरु फिक्स भएको हो । हामीले बुझाउने पैसा लिन भने आलेका मान्छेहरु आउँथे ।

“विश्वासकै आधारमा पैसा बुझायौं- ति नेपालीले भने । उनका अनुसार यस्तो काममा लाग्ने शायद चिनिन चाहँदैन । तै पनि उनिहरुले पठाएका मान्छेहरु मेक्सिको हुँदै अमेरिका पुगिरहेका थिए । “त्यही विश्वासमा हामीले पनि पैसा बुझाएर हिंडेका हौं । “हामी फ्रयांकफोर्ट आएकै भोलिपल्ट ९ जनाको एउटा समुह मेक्सिको उडेको थियो । कागजात नमिलेको हुनाले अस्ती मात्रै डिपोर्ट भएर उनिहरु यहीँ आइपुगेका छन” उनले भने । तै पनि आफुहरुले अझै प्रयास गर्ने उनको भनाइ छ ।

“हामीहरुको एउटा टिकट क्यान्सिल भयो र अर्को टिकट पर्खिरहेका छौं । टिकट बने पछी हामी यहाँँबाट मेक्सिको उड्ने प्रयास गर्ने छौं” उनको थप बह्नाई छ ।

नेपाली युवाहरुलाई अमेरिका पुर्याउनका लागि मानव तस्करहरुले नयाँँ मार्ग शुरु गरेको देखिएको छ । उनिहरुले काठमाडौंमै जापानको नक्कली भिसा बनाउने गरेका छन् । जापानको मल्टिपल भिसा हुनेहरुले मेक्सिको घुम्नका लागि त्यहाँको भिसा लिनु पर्दैन । जापानको भिसाले नै छोटो समयका लागि मेक्सिको घुम्न सकिन्छ । मानव तस्करहरुले कतिपयलाई यस्तै नक्कली भिसाका आधारमा मेक्सिकोसम्म पुर्याएका छन् ।

फ्रयांकफोर्टमा अलपत्र परेका ति नेपालीकै अनुसार यस्ता भिसा लगाएर उडेका केही मान्छेहरु अमेरिका पुगिसकेका छन् । यो भिसाले मेक्सिको उत्रिसकेपछी हप्तौंको पैदल यात्रा पछी केही ब्यक्तिहरु अमेरिका प्रवेश गर्न सफल हुन्छन भने केही मेक्सिको प्रहरिद्वारा नै समातिने गरेका छन् ।

अहिले फ्र्यांकफोर्टमा अलपत्र नेपालीहरु पनि जापानको नक्कली भिसामा यात्रा गरिरहेका थिए । तर नक्कली भिसा पत्ता लागेपछी केहीलाई जर्मन सुरक्षा निकायले रोकेको हो ।

तपाइँको प्रतिक्रिया