शनिबार, वैशाख ८, २०८१

आणविक अस्त्रको विरूद्धमा शान्ति समाजले प्रदर्शन गर्ने

नेपालप्लस संवाददाता २०७८ असोज ४ गते १४:४१

अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको मागसहित काठमाडौंको माइतिघर मण्डलामा असोज ५ गते मंगलबार दिउँसो १ बजेदेखि १.३० बजेसम्म प्रदर्शन गरिने भएको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने छ ।

सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा शुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा शुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णय अनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थाइ रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।

आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन, निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि (टिपिएनडब्ल्यु) २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेको हुँदा शान्तिका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले यो सन्धि शिघ्र अनुमोदन गर्न आग्रहसहित प्रदर्शन गर्न लागेको हो ।

गत वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मंसिर २५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको मागसहित शान्ति समाजले काठमाडौं, ललितपुरस्थित अमेरिका, रुस, चिन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गरेको थियो भने सोही दिन शान्ति समाजले ३२ जिल्लामा प्रदर्शन गरेको थियो ।

यसैगरी नेपालले यो सन्धिलाई शिघ्र अनुमोदन गर्न शान्ति समाजको प्रतिनिधिमण्डलले गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवा र ३ जना मन्त्रिहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउँदै छलफल गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक