बिहीबार, वैशाख १३, २०८१

सासु–राजदूत जोगाउन तल्लीन प्रम–ज्वाई : ओमानकी शर्मिला र जापानकी प्रतिभा आजीवन राजदूत ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज ४ गते १६:४९

राजदूत प्रतिभा राणा

नेपालीमा एउटा चलनचल्तीको आहान छ ‘अरुलाई केको धन्दा, घर ज्वाइलाई खानकै धन्दा ।’ ठीक यस्तै स्थिती देखिएको छ, नेपाली राजनीतिमा । परराष्ट्र मन्त्रालयमा यो साताभर चर्चाको विषय थियो— सासु राजदूतको आजीवन कार्यकाल । उखानलाई मिल्ने गरी साख्खे ज्वाई एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालको दोस्रो महिनामैं अर्को काम गरेका छन्— जापानस्थित सासु राजदूत प्रतिभा राणाको पदावधी थपेर ।

गत जेठमैं ४ वर्षे कार्यकाल पुरा गरिसकेपनि पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा असोजसम्म थप भएको सासु राजदूत राणाको कार्यकाल अहिले फेरि आफ्नै ज्वाईले सासुको कार्यकाल थपिदिएका छन्— अर्को व्यवस्था नभएसम्म शिर्षकमा ।

सासु राजदूतबाहेक चाकडी–चाप्लुसीकै भरमा ओली प्रधानमन्त्रीबाट ‘अर्को व्यवस्था नभएसम्म राजदूत पदावधी थपिएकी’ ओमानस्थित (म्यानपावर) राजदूत शर्मिला पराजुली ढकाल पनि यस्तै भाग्यमानीमा परिसकेकी छिन् ।

‘बिगतमा कार्यसम्पादन र तत्कालको आवश्यकता हेरेर केदारभक्त माथेमा(जापान), महेश मास्के(चीन)जस्ता जस्ता राजदूतको कार्यावधी थपिएको थियो ’परराष्ट्र प्रशासनका एक सहसचिव भन्छन्—‘अमेरिकाको वासिंङटनमा हुने अर्जुन कार्कीले पनि आफ्नै बलमिच्याइ र पहुँच देखाएर तोकिएको मितिभन्दा एक वर्ष बढी राजदूत पद खाएका हुन् ।

ओमानस्थित राजदूत शर्मिला पराजुली ढकाल । फोटो-अनलाईन खबर

तर, न कुनै कार्यसम्पादन न अरु क्षमता— राप्रपाकी बयोबृद्ध नेतृ एवं देउवा सासु प्रतिभाको कार्यकाल थप हुनु आश्चर्यलाग्दो देखिएको छ ।

कोरोना कहर सुरु भएपछि गत वर्ष ‘काठमाडौंबाटै टोकियो हाँक्दैछु’ भन्दै काठमाडौंको माइती–मावलीमैं बसेर ६ महिनाभन्दा बढी उग्राएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ठेलेरै टोकियो पठाएका थिए । उनै राजदूत राणा बितेको ८ महिना आफ्नी छोरी (फस्ट–लेडी) आरजू राणाको टोकियोमा भएको हिप–ट्रान्सप्लान्टको संवेदनशिल काममा पुरापुर खटिएकी थिइन् । सासु राजदूत राणाको कार्यसम्पदान मूल्यांकन नै यही बन्यो जसका कारण उनको अनिश्चितकालिन कार्यावधी थप भएको छ ।

अहिले भारतमा रहेका अर्को बयोबृद्ध राजदूत निलाम्बर आचार्य र चीनमा रहेका महेन्द्र पाण्डेलाई पहिलो चरणमा फिर्ता बोलाउनेबारे प्रधानमन्त्री देउवा सल्लाहकार समुहमाझ छलफल अघि बढेको छ । हाल म्यानमार, साउदी अरेबिया, कतार, अष्ट्रेलिया, बहराइन, दक्षिण कोरिया, श्रीलंकालगायतका एक दर्जनभन्दा बढी राजदूत पद खाली रहेकोमा यसमा पनि तत्कालै पदपुर्तीको सम्भावना देखिन्न ।

तपाइँको प्रतिक्रिया