बिहीबार, वैशाख १३, २०८१

अमेरिका, बेलायत, अष्ट्रेलिया र फ्रान्सबिचको पनडुब्बी बिवाद झन कठिन मोडतिर

नेपालप्लस संवाददाता२०७८ असोज ५ गते १५:०७

फोटो साभार-एलपिएन डट कम

अष्ट्रेलियाले फ्रान्ससित खरिद गर्न लागेको पनडुब्बीको संझौता अकस्मात रद्द गरेर अमेरिकासित किन्ने निर्णय गरेपछि ठूलो तनाव उत्पन्न भएको छ । यो विवादमा अमेरिका, अष्ट्रेलिया र बेलायत एकातिर छन् भने फ्रान्सले एक्लै उनीहरुसित लडिरहेको छ । यो बिवाद बिस्तारै तानिएर युरोपेली युनियनमा त पुग्योनै, अब संयुक्त राष्ट्र संघ र नाटोसम्मपनि पुग्ने देखिएको छ ।

अष्ट्रेलियाले फ्रान्ससित पनडुब्बी खरिद गर्ने संझौता रद्द गरेर अमेरिकासित खरिद गरेपछि फ्रान्सले त्यसलाई धोका र सहमतीको उल्लंघन भन्दै अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतनै फिर्ता बोलायो । यसपछि यो बिवाद चर्किँदै गएको छ । यसले अ ष्ट्रेलिया र ईयुबिचको ब्यापार संझौतालाईपनि प्रभाव पार्ने संकेतहरु देखिएका छन् ।

यो बिवाद मिलाउन भन्दै अमेरिका, अष्ट्रेलिया र बेलायतले फ्रान्ससित वार्ताको प्रयास गरिरहेका थिए । सहमतीकै प्रयासका क्रममा बेलायत र अमेरिकासित फ्रान्सको वार्ता तय गरिएकोमा फ्रान्सले ति दुबै देशसितको वार्ता रद्द गरिदिएको छ । यसले यि चार शक्तिशाली देशबिचको तनाब झन उत्कर्षमा पुगेको छ ।

संयुक्त राज्य अमेरिकाद्वारा आयोजित प्रमुख प्रशान्त रक्षा सम्झौता (पेसिफिक डिफेन्स प्याक) द्वारा फ्रान्सले आफू अपमानित भएको महसुस गरेको छ । किनकि त्यो प्याकमा उनीहरुले फ्रान्सलाई अलग पार्न खोजेको बुझाई फ्रान्सको छ । प्याक संझौतापछि युरोपेली संघको सहयोगीहरुलाई ब्यापक युरोपेली सार्वभौमसत्ताको लागी सामुहिक रुपमा लड्नुपर्छ भन्दै फ्रान्सले लबी गरिरहेको छ ।

अस्ट्रेलिया र बेलायतले हालको कूटनीतिक संकटले फ्रान्ससँगको उनीहरुको दीर्घकालीन सम्बन्धलाई असर नगर्ने अभिब्यक्ति दिएका छन् । अमेरिका, अष्ट्रेलिया र बेलायत सम्मिलित एक आश्चर्यजनक रणनीतिक पनडुब्बी सम्झौता गरेर प्रतिद्वन्द्वीको रुपमा फ्रान्सेली पनडुब्बी सम्झौता भंग गरेका छन् ।

यहि सम्झौताको कारण आफूहरुलाई धोका दिएको भन्दै फ्रान्सले पहिलो पटक अमेरिका र अष्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलायो । ​​यसपछिपनि फ्रान्सको आक्रोश कम हुने देखिएको छैन ।

संयुक्त राष्ट्र संघको महासभामा फ्रान्सको प्रतिनिधित्व गर्न न्यूयोर्कमा रहेका फ्रान्सेली विदेशमन्त्री जँ-ईभ्स ल ड्रियनले एक पत्रकार सम्मेलन गरी स्थितिलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । उनी न्यूयोर्कमा अन्य २ युरोपेली संघका राष्ट्रहरुका विदेश मन्त्रीहरुसँग पनि भेटघाट गर्दै छन् जहाँ उनले पनडुब्बी सम्झौताको नतिजा र रणनीतिक रुपमा स्वतन्त्र युरोपको लागी फ्रान्सको दृष्टिकोणको बारेमा छलफल गर्नेछन् ।

“यो केवल एक फ्रान्को-अस्ट्रेलियन मामिला हैन । बरु युरोपेली गठबन्धनमा विश्वासको एक भाग हो” ल ड्रियनले फ्रान्सेली अखबार वेस्ट फ्रान्समा भनेका छन् । उनले यो विषयमा ईयु गठबन्धनले के गर्ने भनेर गम्भिर छलफल गर्न आव्हान गरेका छन् ।

ल ड्रियनले न्यूयोर्कमा आफ्नो अस्ट्रेलियन समकक्षीसँग गर्ने भनेको बैठकपनि स्पष्ठ कारण नखुलाईकनै रद्द गरे । अष्ट्रेलियन, फ्रेन्च र भारतीय उच्च प्रतिनिधिबिच हुने भनिएको यो वार्ता अष्ट्रेलियनसित रद्द गरेर भारतीयसित मात्रै हुने भएको छ ।

ल ड्रियनले आफू अमेरिकामा रहेका बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग कुनै बैठक तय नगरिएको बताउँदै भनेका छन् “तर उनीसित हलभित्र ओहोरदोहोर गर्दा जम्काभेट, देखादेख हुनसक्छ ।”

अमेरिकी राष्ट्रपति जो बिडेनले यस हप्ता अष्ट्रेलियाली र बेलायती नेताहरुलाई भेट्दै छन् । उनले फ्रान्सका राष्ट्रपति एमानुएल माख्रोंलाई भने भेट्ने छैनन् किनकि उनी संयुक्त राष्ट्र संघको यात्रा गर्दै छैनन् । फ्रान्समै रहने माख्रोंसित बिडेनले आगामी दिनहरुमा पनडुब्बीको बिवादका बारेमा कुरा गर्ने अपेक्षा गरिएको छ ।

डिजेल-बिजुलीबाट चल्ने उकुस भनेर चिनिने पनडुब्बी सम्झौता अष्ट्रेलियाले रद्द गरेको छ । फ्रान्ससित किन्नुको सट्टा पनडुब्बीहरु अमेरिकाबाट परमाणुद्वारा संचालित किन्न भन्दै फ्रान्ससितको सम्झौता रद्द गर्ने घोषणा गर्‍यो ।

अष्ट्रेलिया र बेलायतले चीनको बढ्दो प्रभावलाई सामना गर्ने एक कदमको रूपमा भनेर ब्याख्या गरेका छन् । उनीहरुले इन्डो पेसिफिक रिजनको नाममा चीनको प्रभाव कम गर्न यस्तो संझौता अमेरिकासित गर्नुपरेको भनेका छन् ।

फ्रान्सेली सरकार सम्झौता भंग भएपछि अन्धो भएको देखिन्छ । किनभने प्रशान्त क्षेत्रमा फ्रान्सको आफ्नै रणनीतिक चासो छ । उसका आफ्ना क्षेत्रहरुमा प्रभाव र त्यहाँ आफ्नो सैन्य उपस्थितिको लागी आफ्ना प्रमुख सहयोगीहरुद्वारा उपेक्षा गरीएको फ्रान्सले बुझेको छ ।

फ्रान्सका रक्षामन्त्रीले आफ्नो ब्रिटिश समकक्षीसँगको भेटसमेत रद्द गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो बीचमा फ्रान्ससँग ब्रिटेनको सम्बन्ध छुट्टिनै नसक्ने अभिब्यक्ति दिएका छन् । अमेरिकातिर ढल्किँदै उनले भनेका छन् “ओकुस कुनैपनि हिसाबले शून्य हिसाब, बेमतलवका लागी होइन । यो कसैलाई बहिस्कार गर्नकालागिपनि होइन। यो केहि हैन । खासमा कसैले चिन्ता लिनु पर्दैन र विशेष गरी हाम्रो फ्रेन्च साथीहरुले चिन्ता लिनु पर्दैन ।”

बेलायती अधिकारीहरुले माली र एस्टोनियामा संयुक्त अपरेसनमा यूके र फ्रान्स रहेकाले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धमा जोड दिएका छन् ।

अष्ट्रेलियाका अधिकारीहरूले फ्रान्सद्वारा ब्यक्त गरिएको आक्रोशले अष्ट्रेलिया-युरोपेली संघको स्वतन्त्र व्यापार सम्झौता वार्तालाई नरोक्ने बताएका छन् ।

अष्ट्रेलियाका लागि फ्रान्सेली राजदूत जँ पियर थेबोल्टले सन् २०१८ देखि वार्तामा रहेको अष्ट्रेलियासँगको व्यापार सम्झौतामा हस्ताक्षर नगर्न युरोपेली संघ (ईयू) लाई पैरवी गर्न लागेको भन्ने मिडिया रिपोर्टको खण्डन गरेका छन् ।

तर कूटनितिज्ञ र राजनितिक विश्लेषकहरुले फ्रान्सेली आक्रोशको असर गम्भिर हुनसक्ने संकेत गरेका छन् ।

अष्ट्रेलियाका व्यापार मन्त्री डान तेहानले आफू व्यापार वार्ताका लागि पेरिस जाने बताउँदै भनेका छन् “म फ्रान्सेली समकक्षसँग आधार सम्पर्क गर्न धेरै इच्छुक छु । ती छलफलहरु जारी रहँदैनन् भन्ने म कुनै कारण देख्दिन ।”

युरोपेली आयोग, ईयूको कार्यकारी शाखाले सोमबार आफूहरुले अष्ट्रेलियाली पनडुब्बी सम्झौताको प्रभावबारे विश्लेषण गरीरहेको जनाएको छ ।

अष्ट्रेलियाको तर्क छ- पनडुब्बी सम्झौता चीनको बढ्दो दृढताको बारेमा व्यापक चिन्ताको विषय थियो । यहि कारण आफ्नो रणनीतिक हित रक्षाको लागि त्यो संझौता अमेरिकासित गरिएको थियो।

“म बुझ्न सक्छु फ्रेन्च कसरी रिसाएका छन् । हामी स्पष्ट रूपमा यो पास गर्न चाहन्छौं र हामीलाई नजिकबाट काम गर्नको लागी सहज बनाउन चाहन्छौं । तर याद गरौं, फ्रान्सको रक्षा गर्न र फ्रान्सलाई आक्रमण गर्ने दुश्मनबाट फ्रान्सको रक्षा गर्न दुई विश्व युद्धहरुमा फ्रान्सेली भूमिमै हजारौं अष्ट्रेलियालीहरु मरे” अस्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोइसले भनेका छन् ।

(नेपालप्लसको साथ एपी, एफपी र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया