बुधबार, वैशाख १२, २०८१

अनलाईन मतदान बिवादरहित, एनआरएनए निर्वाचन तोकिएकै समयमा : महासचिव शर्मा

नेपालप्लस संवाददाता२०७८ असोज ६ गते २२:०५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) का केन्द्रिय महासचिव डा. हेमराज शर्माले एन आरएनएको केन्द्रिय निर्वाचन तोकिएकै समयमा हुने केन्द्रिय समितिको अडान दोहोर्‍याएका छन् । उनले एनआरएनएको अनलाईन मतदानका विषयमा कुनै बिवाद नरहेको समेत बताए ।

‘संरक्षकहरुको बैठकद्वारा प्रतिनिधी छनौट र अनलाईन मतदान प्रक्रिया छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णय’ शिर्षकमा प्रकाशित समाचारमा केन्द्रिय समितिका तर्फबाट केहि स्पष्ठ हुनुपर्ने भन्दै त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपालप्लससित संक्षिप्त कुरा गर्दै उनले एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालयले संरक्षकहरुलाई १० औं एनआरएनए महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बिवादबारे छलफल गरेर निर्क्यौलमा पुग्न र आवस्यक भएमा कानुनबिदहरुको परामर्श लिन सकिने म्यान्डेट दिएको बताए ।

‘राष्ट्रिय समन्वय समिति (एनसिसी) हरुमा अनलाईन भोटिङमा कुनै बिवाद भए अर्कै हो । नत्र केन्द्रिय समितिसित संवन्धित भनेको महाधिवेशन प्रतिनिधी छनौट संवन्धि मात्रै हो’ डा. शर्माले नेपालप्लससित भने ।

‘संरक्षकहरुलाई प्रतिनिधी बिवाद समाधान गर्ने म्यान्डेट दिएपछि त्यसको जाँचबुझ गर्दा निर्वाचन बेलैमा गर्न संभ होला र ?’ भन्ने नेपालप्लसको प्रश्नमा डा. शर्माले निर्वाचन तोकिएकै मितिमा हुने बताउँदै भने “बेलैमा हुनेगरि सबैले काम गर्नुपर्‍यो नी त ।”

संस्थापकहरुले जहाँजहाँबाट बिवाद आएको छ, उजुरि परेको छ त्यसलाई हेर्ने र समस्या सुल्झाउने उपाय निकाल्ने भनाई डा. शर्माको छ ।

“आएका उजुरिहरुलाई हेर्ने हो उहाँहरुले । त्यो सबै जानकारि त लिखितनै छ । बिवाद जुन जुन देशमा छ त्यो देशमा कि त पुन निर्वाचन हुनुपर्‍यो । कि त मिलेर आउनुपर्‍यो । ६५ प्रतिशत प्रतिनिधी छनौटको विषय त बिधानमै छ । विधान विशेष अधिवेशनबाट सबैले पास गरेको हो । केन्द्रिय समिति वा अन्तर्राष्ट्रिय सचिवालयले त्यसले कुनै भूमिका खेलेको भएको पो अन्यथा लिनु ?”

प्रतिनिधी छनौट प्रक्रियामा गुनासो वा बिरोध भएमा, अन्यायमा परेको भए केन्द्रमा निबेदन दिन सकिने प्रावधान हुँदाहुँदै त्यसो नगरि प्रतिनिधी छनौट हुन नदिएको भन्दै बिरोध गरिएको विषयलाईपनि डा. हेमराज शर्माले औंल्याए । उनले भने “एनआरएनए अष्ट्रियाकि अध्यक्ष भवानी तिवारीले प्रतिनिधी हुन नदिएको भनेर निबेदननै दिनुभएको छैन । निबेदन दिएको प्रमाणसहित पठाएरपनि त्यसमा सुनुवाई नभए पो प्रतिनिधी हुन दिईेएन भन्नु । उहाँले निबेदनको प्रमाणसहित पठाउनुभएकै छैन । पद्दतीलाई त सबैले मान्नुपर्‍यो नी ।”

तपाइँको प्रतिक्रिया