बुधबार, वैशाख १२, २०८१

“राजनीतिक नियुक्ती खराब हुन्छ भन्ने मेरो विश्वास पटक्कै छैन” राजदूत लोक दर्शन रेग्मी

नेपालप्लस संवाददाता२०७८ असोज ७ गते १५:१२

लोकदर्शन रेग्मी, बेलायतका लागि नेपाली राजदूत, नेपाल सरकारको पूर्व मुख्य सचिव । आज भन्दा लगभग एक वर्ष अघि ओली सरकारले उनलाई बेलायतका लागि राजदूत नियुक्त गरेको थियो । नियुक्ती पछीका विभिन्न प्रकृया पुरा गरी उनी बेलायत आएर आफ्नो कार्यभार सम्हालेको अहिले ६ महिना मात्र भएको छ । ६ महिनाको समय कसैको पनि कार्य मुल्यांकन गर्न मिले समय होइन । तथापी उनकै दाविलाई मान्ने हो भने यो बिचमा उनले बिभिन्न कामको सुरुवात गरिसकेका छन् । तर गत मंगलवार देउवा सरकारले राजनीतिक नियुक्ती पाएर बनेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि यसले कुटनैतीक क्षेत्रमा तरंग ल्याएको छ । परराष्ट्र सेवाबाट राजदूत बनेकाहरु समेत सरकारको यो रवैयाबाट खुशी छैनन् । नेपालप्लसले सरकारको यही निर्णयका कारण फर्किने सुरसारमा रहेका यिनै पूर्व मुख्य सचिवलाई राजनीतिक नियुक्तिमा राजदूत बनेकाहरुको हकमा त सरकारको पछील्लो निर्णय गतिलो देखिएन नि भनेर कुरा शुरु गरेको थियो । उनी त्यती खुल्न त खुलेनन् । तर उनिभित्रको असन्तोष बेला बेला भने बाहिरिएको थियो । प्रस्तुत छ यिनै आधा वर्षका राजदुत रेग्मीसँगको कुराकानी !

राजनीतिक आधारमा नियुक्त भएका राजादुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय तपाईंलाई कस्तो लागेको छ ?

सरकारले गरेको त्यो निर्णयलाई मैले स्वभाविक रुपमा लिएको छु ।

यो निर्णयले नेपालको कुटनितिक क्षेत्रमा नराम्रो असर पार्छ जस्तो लाग्छ कि राम्रै गर्छ ?

सरकारले निर्णय गर्दा समग्र विश्लेषण गरेर देश र जनताको हित हुने गरेर गर्छ भन्ने नै मेरो विश्वास छ ।

सरकारले सबै कुरा ठीक गर्छ, त्रुटी हुँदैन भन्ने त हुँदैन होला नि !

विश्वमा आफ्नो देश र जनताको हित हुनेगरी निर्णय गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

हुन त तपाईंको पनि राजनीतिक नियुक्ती हो, तर कुटनैतीक क्षेत्रमा यसरी भटाभट राजनीतिक नियुक्ती हुनु अनी सरकार फेरिंदाबित्तिकै फर्काउने प्रचलन कत्तिको ठीक हो ?

देशको परराष्ट्र नितिहरु र यसको मातहतमा हुने कुटनैतीक नियुक्तिहरुले समग्र देशलाई प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ । सिंगो देशलाई प्रतिनिधित्व गर्ने विषयमा स्थायित्व अपरिहार्य हुन्छ र वान्छनिय पनि हो ।

तपाईंकै कुरा गरौं, आएको ६ महिनामै फर्किंदै हुनुहुन्छ । अब यो रिक्तताले त देशको प्रतिनिधित्व नहुने अवस्था हुँदैन र ?

देश र सरकार भन्ने कुरा स्थाइ विषय हो, अभिभाज्य विषय पनि हो । यसको प्रतिनिधित्व निरन्तर हुन्छ र हुनु पर्दछ । मैले म भन्दा अघिको प्रतिनिधिको निरन्तरता दिएको हुँ । म पछी पनि अरु कसैले निरन्तरता दिन्छ ।

तपाईं मुख्य सचिव भएको मान्छे अपेक्षा पनि अली बढी नै थिए । ६ महिना समय त्यति धेरै त होइन । तैपनि यो बिचमा के के काम गर्नु भयो ?

खासगरी नेपाल सरकार, नेपालको संविधान, प्रचलित कानुन र भियाना कन्भेन्सन अन्तर्गत रहेर मैले केही काम थालएको थिएँ । नेपाल सरकारको निर्देशन् अन्तर्गग रहेर अन्य कार्यका अतिरिक्त मुख्य रुपमा मैले सात वटा विषयमा काम गर्ने भनेर म अघी बढीरहेको थिएँ । बिचमा स्वास्थ्य सम्बन्धी जटिलताले अली खुल्ला भएर काम गर्न पाइन । तैपनि हामी ति कामलाईहरुलाई अगाडि बढाउने प्रयासमा थियौं ।

के हुन ति कामहरु जो तपाईंले गरिसक्नुभयो या गर्ने तयारीमा हुनुहुन्थ्यो ?

जस्तो भुतपुर्व गोर्खाहरुको समस्या थियो । उनिहरुलाई न्यायसंगत तरिकाले अवतरण गराउन जरुरी थियो । नेपाल सरकारको पनि प्राथमिकतामा परेको विषय, नेपालको संसदले पनि निर्देशन् गरेको विषय, नेपालको सम्मानित अदालतले पनि निर्देशन् गरेको विषय । त्यसमा बेलायत सरकारसँग सौहार्द्धपूर्ण वातावरण बनाएर दुबैको हित हुने गरी यो समस्यालाई एउटा टुंगोमा पुर्याउन हामीले पहल गरिरह्यौं । र, यो बिचमा यो मुद्दा राम्रो मोडमा पुगेको छ । वार्ता समिती गठन गरेर आउँदो डिसेम्बर देखी वार्ता थाल्ने विन्दुसम्म पुगेका छौं । यो विषयमा यहाँँको सरकार खासगरेर रक्षामन्त्री निकै सकारात्मक हुनुहुन्छ । अर्को कुरा नेपालको मुहार फेर्न आवश्यक छ । भौतिक पुर्वाधारको क्षेत्रमा एउटा सडक, एउटा जलविद्युत आयोजना र एउटा सिंचाई योजनामा बेलायत सरकार वा बेलायतमा रहेका अन्तर्राष्ट्रिय कोषहरुको परिचालन गरेर काम गर्ने भन्ने विषयमा केन्द्रित भएर लागिरहेका थियौं । दुई देशको बिचमा सिधा हावाइ संपर्क पुन: सन्चालन गर्नका लागि आवश्यक तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ । त्यसैगरि बेलायतमा रहेका ठुला वित्तिय संस्थाहरुको शाखा कार्यालय अथवा यिनको प्रतिनिधिमुलक कार्यालय नेपालमा खोल्ने जसले गर्दा हाम्रो वित्तिय विश्वासनियता बढेर जान्छ । यो विषयमा पनि हाम्रो छलफल अगाडि बढेको छ । अर्को यहाँँका क्रेडिट रेटिङ एजेन्सी र नेपालका संस्थाहरु बिचमा समझदारी र सहकार्य बढाएर लिएर जाने कुरा पनि अघी बढिसकेको छ । र, अर्को दोहोरो कर प्रणालिको विरुद्दमा नेपाल र बेलायत सरकारबिचको सम्झौताका बारेमा पनि काम बढेको छ । यि कामहरुलाई जतिसक्दो छिटो सम्पन्न गर्न हामी प्रयास गरिरहेका छौं । नेपाल र बेलायतको बिचमा धेरै पुरानो सम्बन्ध छ र यहाँँका नागरिक तथा बेलायत सरकार नेपालको उन्नतिका लागि धेरै नै सकारात्मक् हुनुहुन्छ । यसलाई हामीले नेपाली जनताको हितमा अधिकतम परिचालन गर्न सकियो भने नेपालको उन्नतिमा बेलायती चासो उपयोग गर्न सकिन्छ भन्ने विश्वासका साथ मैले काम गरेको छु ।

तपाईं यहाँँ राजदूत बनेर आएको जम्मा ६ महिना भएको छ । ६ महिना मै यती धेरै कामको प्रकृया अघिबढेको फेहरिस्त तपाईं सँग छ । यसरी खटेर काम गर्ने मान्छेलाई सरकार किन फर्काएको ?

म निजामती कर्मचारी हुँ । सरकारको निर्णय मैले मान्नु पर्दछ । सरकारका हरेक निर्णय मेरा लागि सधैं सिरोपर हुन्छ । अब मलाई किन फिर्ता बोलाउनु पर्‍यो भन्ने त मलाई त्यती जानकारी भएन त । उहाँहरुको अझ राम्रो केही सोचाइ होला जस्तो लाग्दछ मलाई ।

कूटनितिक क्षेत्रमा अली बढी नै राजनीति भएको हो भन्ने लाग्दैन ?

राजनीति सबै नितिहरुको मुल निती हो भनिन्छ । त्यसैले पनि अरु सबै नितिमा राजनीतिको असर हुन्छ ।

अली धेरै नै असर परेको हो कि ?

हामीले तरकारी बनाउँदा वा कुनै पनि कुरा पिस्दा त्यसको मात्रा मिलाएर नै गरिन्छ भन्ने मेरो विश्वास छ ।

तपाईंले भनेपनि नभने पनि राजनीति त भएकै छ । तर तपाईं मुख्य सचिव हुँदा यि कुराहरु हुन नदिन के गर्नुभयो ?

राजनीति भन्ने कुरा समग्र देशको हित हुने गरेर परिचालित हुनु पर्दछ भन्ने मेरो मान्यता हो ।

छातीमा हात राखेर आँफैलाई सोध्नुस् त, राजनीतिक दलहरुले हरेक क्षेत्रमा हस्तक्षेप गरेर देश बिगारे भन्ने लाग्छ ? कि लाग्दैन ?

मैले के विश्वास गर्छु भने जनताको प्रतिनिधित्व गर्ने संस्थाहरु र प्रतिनिधिहरुले जहिलेपनि देश र जनताको हित हुने काम गर्नुहुन्छ ।

काम गरेको त देखिएन ! तपाईंको विश्वास अनन्तकालसम्म त्यस्तै रहिरहने हो ?

मेरो विश्वास अजर, अमर र अटल हुन्छ ।

तपाईंहरुकै विश्वासले कुटनैतिक क्षेत्र त झन बिग्रिने भयो नि त ?

हामीले यसलाई सपार्नु पर्छ ।

त्यत्रो विश्वास छ तपाईंको कसरी सपार्नु हुन्छ ?

मेरो विश्वास सधैं नेपाली र नेपालको दिग्विजय हुनेगरी काम गर्नुपर्छ भन्ने हो । कती समय, कुन ठाँउ र कहाँँ भन्ने कुराले त्यती महत्व राख्दैन !

तपाईंको पनि राजनीति नियुक्ती नै हो । तर कुटनैतीक क्षेत्रमा यस्ता नियुक्ती ठीक छन कि छैनन ?

म कित्तामा कुरा गर्न चाहन्न । कूटनितिक क्षेत्रले सिंगो देशको प्रतिनिधित्व गर्नु पर्छ भन्ने मेरो मान्यता हो !

राजनीतिक नियुक्तीहरुको प्रस्तुती कतिपय ठाउँमा खराव पनि देखिएका छ। । त्यस्तोमा देशको प्रतिनिधित्व कसरी हुन सक्ला र ?

राजनीति नियुक्ती खराब हुन्छ भन्ने मेरो विश्वास पटक्कै छैन ।

पहिल्यै धेरै देशमा राजदूतहरु खाली छन्, अझै तपाईंहरुलाई फर्काइँदा त नेपालको कूटनितिक नक्सामा टूलो ग्याप देखिने भयो नि ?

हामीले राम्रो काम गर्नु पर्दछ । राम्रो बनाउनु पर्दछ !

कसरी बनाउने त नि ?

मैले अगाडि भने नि जुनासुकै ठाउँमा र समयमा पनि राम्रो काम गरियो भने त राम्रो भइहाल्छ नि ।

भने पछी तपाईं अर्को कुनै राजनीति नियुक्तिको प्रतिक्षामा हुनुहुन्छ ?

हेर्नुस मलाई यस्ता कुराहरुले खासै फरक पर्दैन । म कुनै पदमा भए पनि सामान्य नागरिक भए पनि मेरो विश्वास राम्रो काम गरियो भने देशको उन्नती हुन्छ भन्ने नै हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक