शनिबार, वैशाख ८, २०८१

एनआरएनएमा महिलाका आवाज दवाइयो : महिला अभियन्ता

नेपालप्लस संवाददाता / कोपनहेगन –२०७८ असोज ७ गते २१:०४

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) मा महिलाहरुको आवाज दबाउन खोजिएको छ ।
एनआरएनए महिला अभियन्ताहरुले आइसीसीमा महिलाहरुको संख्या अत्यन्तै न्यून भएका कारण आफूहरुको आवाज दबाउन खोजिएको गुनासो गरेका हुन् । महिलाहरुमाथि बिभिन्न खालका हिंसा भएका उदाहरण दिंदै आइसीसी महिला संयोजक भोमा देवी लिम्बुले आफूहरुले त्यस बिरुद्धमा बोल्दा आवाज नै दबाउन खोजिएको बताईन् ।

‘मध्यपूर्व र युरोपमा महिला अभियन्ताहरुमाथि संस्थामै रहेकाहरुबाट दुर्ब्यवहार भए’ नेपाल पत्रकार महासंघ युरोपले आयोजना गरेको बहस कार्यक्रममा लिम्बुले भनिन् ‘हामीले पीडकलाई कारबाही गर्न पटक पटक आवाज उठायौं तर, अहिलेसम्म हाम्रो आवाज सुनिएन ।’

महिलाको सहभागीता कम भएकै कारण महिलाका आवाज नसुनिएको बताउँदै लिम्बुले मध्य पूर्व र युरोपमा महिलामाथि भएको घट्नामा छाविन गरी पीडकलाई कारबाही गर्न नेतृत्वसँग माग समेत गरिन् । एनआरएनएको केन्द्रिय समितिमा एक सय ३७ जनामा २० जनामात्र महिला छन् ।

महिलाहरुप्रति गरिने हेपाहा प्रबृती, राजनीतिक किचलो र घरायसी व्यवहारका कारण उनीहरु एनआरएनएमा आउन नचाहेको बताउँदै उनीहरुले आरक्षण कोटाबाटै भएपनि महिलालाई ल्याउन जोड दिए ।

बहस कार्यक्रममा सहभागी एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले अगाडी बढ्न खोज्ने महिलाहरुलाई समेत नकारात्मक दृष्टिले व्यवहार गरिने बताईन् । परिवार, समाज र संस्थाका प्रतिनिधिहरुले सम्मान व्यवहार गरिए महिलाको सहभागीता बढ्ने उल्लेख गर्दै अध्यक्ष तिवारीले अन्य संघ संस्थाको तुलनामा एनआरएनएमा महिलाको सहभागिता न्यून भएको उल्लेख गरिन् ।

प्रोत्साहन हुने व्यवहार, उम्मेदवारी मनोनयन शुल्कमा ५० प्रतिशत छुट, मनोनयन र आरक्षणमा विशेष जोड दिन उनीहरुले माग समेत गरेका छन् । सो बहस कार्यक्रम नेपाल पत्रकार महासंघ युरोपकी अध्यक्ष सरस्वती कार्कीले संचालन गरेकि थिईन् ।

एनआरएनए, आइसीसीमा ७ महिला सहित २१ जना मनोनित गर्ने व्यवस्था छ । मनोनयनमा महिलाको संख्या बढी पार्न जोड दिंदै केन्द्रिय सचिव पदकी प्रत्याशीसमेत रहेकि महिला संयोजक लिम्बुले महाधिवेशन प्रतिनिधिमा शत प्रतिशत महिलाहरुलाई मनोनित गर्न अध्यक्ष कुमार पन्तलाई अनुरोध गरिन् ।

महाधिवेशन प्रतिनिधिमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइएस) को सिफारिसमा अध्यक्षले संसार भरबाट १५ जना मनोनित गर्न पाउने बैधानिक व्यवस्था छ । करिब एक लाख ६ हजार साधारण सदस्य रहेको एनआरएनएमा करिब २१ हजार महिला छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक