आइतबार, असोज ३१, २०७८

हिउँको बाढी रातनाङ्गेमा !

युवराज नयाँघरे२०७८ असोज १० गते ०:५१

सगरमाथामा टाँस्सिएका आँखा फक्किए बल्लतल्ल !
धेरै समयदेखि हामी यो रातनाङ्गेबाट हेरिरहेथ्यौँ सगरमाथालाई । सल्लेरी मास्तिरको रातनाङ्गेबाट देखिए— थामसेर्कु, ल्होत्से, होत्से, नुप्से, गणेश र सगरमाथाका रहरलाग्दा हिउँचुली । मनलाई काबु पार्न नसकिने लस्कर छ चुलीको ।

घाम छँदाको सेताम्मे चुली अब पहेँलो सुनपानीले धोइन थाले । पहेँलपुर चुलीमा छायाँ र उज्यालोको राम्रै लडन्तभिडन्त हुन थाल्यो । रङैरङको कुस्ताकुस्ती ।

मसँग गएका सबै तन्नेरीहरु आफ्नै तालमा ओराली झरिसके । सबैभन्दा अगुवा छन्— उमेरले सबैभन्दा कान्छा सलोन राई । उनी आफैँ धेरै पटक बाटो बिराएर ‘यता कि उता’ भनी ओंठ टोक्छन् । तै निकै भरथेग भो हामीलाई ती बालक ‘लाउके’ को । हामीलाई औधी भरथेग भो उनको हार्दिक साथ ।

रातनाङ्गेको ओरालीमा हिउँले कपेर खाएको खोँच थियो । छिद्र–छिद्र भएको ओरालीमा खरपचजस्तो हिउँको खात थियो । पोथ्राहरु हिउँको थिचोमिचोमा लच्किएका थिए । घाँसे पखेरामा हिउँले मज्जासँग आफ्नो तुजुग देखाएथ्यो । त्यै तुजुगमा अब हामी तिरिमिरी झ्याइँ देखिरहेथ्यौँ पटक–पटक ।

हावाको लछारपछारमा हमेशा अग्लिन नसकेका विरुवा बाम्पुड्किएका थिए— हिउँदे हिउँले तिनलाई पत्तालै धसाएको लाग्थ्यो । हाँगामा समेत हिउँ थुप्रिएर पानीको शक्ति देखाएको भेट्यौँ हामीले ।

पानी कुलकुलाएका चेप र हिउँ जमेर त्यसैभित्र बगिरहेका कुलेसा देख्दा प्रकृतिको अदभूत् चरित्रमा हराउँथे आँखाहरु । धेरै सोचिरहने समय थिएन हाम्रा छेउमा । हामी ओरालो झर्‍यौँ सासका तालमा ।

साना बिरुवाले हिउँमा तन्ना च्यातेर मास्तिर चिहाएर हेरेको कति माया लाग्दो ! एक दुई ठाउँमा त हिउँ सोहोरेर बिरुवालाई सास फेर्ने बनाइदिएँ मैले । दुःखले चचहुई गर्न छोड्दैन ।

म अघि जति पटक पच्छारिएको थिएँ— अहिले झन् पाहा भ्यागुता हुन पुगेँ । हिउँ, रातमाटेको हिलोले मेरा जुत्ता विरुप भएका थिए । कुइनेटा र हत्केला हेर्दा असारे लाठेभन्दा अरुथोक कहलिन्नँ थिएँ म ।

ओरालीमा त्यसै त खुट्टा काम्थे लगलगी । त्यसमाथि हिउँको चप्परी छ जताततै । बिहानैदेखि यो बाटोमा मान्छे हिँडेकाले होला— हिउँ पग्लेर टेके ठाउँमा पैताला थामिइदैनथे । सुलुलु…सुलुलु…जति पटक नि !

‘ए लडिएला है !’ म साना केटालाई भनिनसक्दै— आफैं हुन्थेँ सुलुलु । लुलो न लुलो— हात परेको छ लट्ठी । टेक्यो कि दोब्रिई हाल्ने— के काम यस्तो लुतिखरे लौराको !

म कोल्टोमा उभिएर पूर्वतिरका हिमाल हेर्छु । चुच्चा, थेप्चा, सम्मिएका र उबडखाबड— हिउँका चुचुराहरु । हरेकले आफूलाई विशेष बनाउने प्रयास गरेका छन् । सयौँ हिमालमा आँखाका हजार परेली अवाक बन्छन् ।

पानी पर्ने छनक छ अकाशमा उत्पातको । ‘यत्ति एक हाते हिउँ छ— यसैमा थप्पियो भने रगत समेत जम्ला !’ फसफसी हिउँ टेक्तै मनमनमा चर्केर बोल्छु म ।

रातो माटो छ । बाक्लो वन छ । साना बिरुवाले हिउँमा तन्ना च्यातेर मास्तिर चिहाएर हेरेको कति माया लाग्दो ! एक दुई ठाउँमा त हिउँ सोहोरेर बिरुवालाई सास फेर्ने बनाइदिएँ मैले । दुःखले चचहुई गर्न छोड्दैन ।

अगाडि गएका सम्पूर्ण आचार्यले भनेको सुनेँ— ‘तपाईंको बाटो चैँ कसले बनाइदिने ?’ यो कठोर अनि यथार्थपूर्ण प्रश्न थियो । मेरा सामुको हिउँले ओराली डरलाग्दो थियो, अप्ठ्यारो थियो र सातै लाने खालको थियो । समात्नलाई नि निकै परको बोटतिर हात लम्काउनु पर्ने ।

हिमालमा कुनै अजङ्गको संसार हुँदैन, मनमा पानीको तरलता उमार्ने तह मात्र हुन्छ । यतिखेर मभित्र छ त्यही लहर, तह र तरङ्ग ।

अझ ठूलो भयावह थियो—चारैतिरबाट घेरिँदै आएको घनघोर अँध्यारो ! उत्तरतिरका हिमालमा सुनौलो रङबाट तामा रङको अर्कै पर्दा सरिरहेको देखियो । छिनभरमै साटिने पर्दा । हावा र स्याँठले हिर्काएको हिर्काएकै थियो हामीलाई ।

हामी वनमा पस्छौँ र हिउँको घनघोर रासबाट बाहिरिन्छौँ पटक–पटक । फेरि पोथ्राहरुको लस्कर र रातमाटेको लतपतमा खुट्टा सार्ने मुस्किलमा पर्छौं ।  रुखका चेप र बाटोको अन्तर छुट्याउनै महा मुस्किल ! आँखा तिर्मिराउने हिउँको रासमा धेरै बेर उभिनै सक्तैनौँ । तिर्खा धपाउन हिउँ चाट्छु म ।

मुखको हिउँ बिली नसक्तै सुलुलु म त…!
‘नलडी जाने पो को होला ?’ मैले भनेँ बुट्यान समातेर ।
यति भन्न पनि हातपाउ टेक्ने स्थिति छ । अगाडि हुर्दुुराएर गएका साथीहरु घुँडा टेकेर, मुन्टो जोतेर अनि जिउ होमेर हिउँमा पछारिएको देखिरहेको छु । हाँसोमा मुछेका छन् साथीहरुले हैरानीलाई ।

दक्षिणतिर काँ हो काँ हिउँको भीरले बगाइरहेको छ सेतो लेदो । म त अत्तालिएको छु बेस्सरी ।

हिमाली यात्रामा नियात्राकार युवराज नयाँघरे

घना जङ्गलको माझमा ढुङ्गेनी माने देखियो । तर त्यो माने पनि हिउँले छोपिएर नयाँ रुप र आकारको देखिन्छ । नौलो आस्थामा मन पुग्छ ।
‘भए पो चढाउनु । यै हो फूल !’ मैले हिउँको चारपाँच डल्ला चढाएँ ।
अगाडि जानेहरु मेरा हरेक चालामाला हेरिरहेका रहेछन् । उनीहरु आफैं लड्नबाट जोगिइरहेका थिए । थामिएर बोल्न पुगे—‘पिण्डजस्तो के चढाएको ?’
‘हिउँको पायस रैछ । त्यसैलाई बटारेर पुर्खालाई पिण्डदान गरेको !’  हाँसो भयो ।

वनमा रुख ढाल्ने र दाउरा चिर्नेहरुले बाटामा निस्केर हामीलाई निहाले । तिनले ठाने होलान्—‘यी सिपाही पो हुन् कि ! यी वनपाले पो हुन् कि ! यी सिआइडी पो हुन् कि !’

खोँचमा आगो बालेर आलु खाँदै रहेछन् बन्चरेहरु । भोक भए पनि म त्यता लागिनँ । फेरि उक्लेर माथि बाटो आइपुग्न निकै महाभारत छ । त्यस्तो बिपतमा को जाक्कियोस् !

हामी आफ्नै सुरमा ओरालोमा खुट्टा थिरी–थिरी गरिरहेका छौँ । ठाउँ–ठाउँमा रुखका जराले हिउँका ढिस्का उठाएको लाग्छ । मल हालेर रुखलाई हौस्याएको हो कि, सेतो माटो थपेको हो कि— हिउँ थुप्रेको देखेपछि कुरालाई अरु चटनी भयो ।
‘हिउँको बाढी छेक्ने बाँध हुन् यी !’ मेरा कुरामा अरुहरु हाँसे ।

ओरालोमा निकै अप्ठ्यारो छ खुट्टा जोगाउन । हिउँ, राताम्मे हिलो र चिप्ला पतकर— हरेक कुराले च्याँखे दाउ थापेजस्तो । म फुकी–फुकी पाइला सारिरहेको छु ।

एक थोक होला भन्यो भइदिन्छ अरु थोकै । कडा भनेर टेकेका धेरै झिँजामिजा भास्सिन्थे धेरै तल । हत्तेरिका…यै बोली हरेक मोड, घुम्ती र कुइनेटामा अरु साथीका मुखका थेगो सुन्थेँ म घरी–घरी ।

अब बाटो कोल्टिएको छ । पश्चिमतिर बाङ्गिएर गएको गोरेटो ओरालीमा मिसिन्छ । खोँच र चेपमा बस्ती र पखेराको लस्कर देखिन्छ ।

जूनबेँसीको पाखा र चिवाङ खोपसँगैको गुम्बा निकै सुन्दर भएर हाम्रा आँखामा सुस्तरी गफिन आउँछन् । पहाड छ, त्योभन्दा माथि हिमाल । अनि ती सबैलाई निल्न आतुर कुइराको भुसभुसे मुस्लो ।

हिमालमा कुनै अजङ्गको संसार हुँदैन, मनमा पानीको तरलता उमार्ने तह मात्र हुन्छ । यतिखेर मभित्र छ त्यही लहर, तह र तरङ्ग ।

जूनबेँसीको पाखा र चिवाङ खोपसँगैको गुम्बा निकै सुन्दर भएर हाम्रा आँखामा सुस्तरी गफिन आउँछन् । पहाड छ, त्योभन्दा माथि हिमाल । अनि ती सबैलाई निल्न आतुर कुइराको भुसभुसे मुस्लो । परेलीले पुछ्दै म हेरिरहन्छु—चौँरी धपाइरहेका गोठालाहरु । हिउँले धोइएर सुकिलिएका छन् तिखा चुलीहरु ।

रङको शक्ति हुँदो रहेछ पानीको कठोरतामा । हिमाल सम्भवतः त्यसको परीक्षामा कहिल्यै हार्दैन । म यतिखेर यस्तै सम्झिरहेको छु ।

हामी पासुँला दुखाएर फाप्लु झर्‍यौँ । झमक्क साँझमा त्यहाँ पुग्दा सारा जिउ हिलाम्मे थियो । पाखुरा, टाउको, लुगामा हिउँ र रातो माटेको लतपतले महाबिजोग भएथ्यौँ हामी ।

फेरि माघको लुगलुगाउँदो जाडो । हावाको प्रहारमा पनि परे हाम्रा ज्यान । थिलथिलो हुन पुग्यो शरीर ।

फाप्लुबाट उत्तरतिर उस्तै छन्— कारेलुङ र नुम्बुर हिमाल । थकाइ र हैरानीलाई नुम्बुरको भर्भराउँदो बैँसले निको पार्छन् चट्ट ।

उत्तरतिरको सल्लेरीले डाकिरहेको छ । फर्फर…फर्फर…लुङ्दर छन् सेता, नीला, राता अनि पहेँला । बाटाको यो बिछट्टै सौन्दर्यले माया पोखेको हुनु पर्छ हामीलाई ।
अँध्यारोले निलेको सल्लेरीमा अब हामी नि निलिनु छ सुस्तरी…सुस्तरी…!

तपाइँको प्रतिक्रिया

फेसबुक