आइतबार, असोज ३१, २०७८

सपथ खाएर सिधै जहाज चढेको मन्त्रीले देशको शिर कसरि उँचो राख्ला राष्ट्रसंघ महासभामा ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज ८ गते २३:५२

Image credit-english.corporatenepal.com

यतिबेला नेपालको सुचना र संचारमा पहुँच भएको ठुलो जमातलाई समेत नेपालको परराष्ट्रमन्त्री को हो भन्ने थाहा छैन । सोध्ने नै हो भने धेरैले नेपालमा अहिले परराष्ट्रमन्त्री नै छैन भन्ने छन । केहीले प्रधानमन्त्रिले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी भन्ने छन । तर यथार्थमा भन्ने हो नेपालमा परराष्ट्र मन्त्री छन नारायण खड्का जो अहिले न्युयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघिय महासभामा भाग लिन ।

बुधवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायणलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री बनेपछिका सपथग्रहण लगायतका कामहरु सकेपछी बिहीवार संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री उनको नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गरेको छ ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा उनले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ । डा. खड्काले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने यो विषयमा दुनियाँभरका धेरै कुराहरु समेटिएका छन् । तर पनि उनी आफैं यि विषयहरुमा कत्तिको जानकार छन भन्ने कुरा महत्वपूर्ण हो ।

मन्त्रीको सपथ खाएर सिधै जहाज चढेको मन्त्रीले देशको शिर उँचो राख्ला भनेर हामी कल्पना गरिरहेका हुन्छौं । यहाँँभन्दा हरितन्नम सोच अर्को के हुन सक्ला !

बिज्ञताको हिसाब गर्ने हो भने उनी अर्थशास्त्री हुन । उनले भारतको पुणेबाट अर्थशास्त्रमा विद्यावारीधी गरेका हुन् । परराष्ट्र मामिला उनको विज्ञता भन्दा बहिरको क्षेत्र हो । संयुक्तराष्ट्र संघको महा सभामा उभिंदै गर्दा उनी सँग मन्त्रालयका अधिकारीहरुले लेखिदिएको सामान्य सम्बोधनका हरफहरु बाहेक केही हुने छैन । उनी जतिबेला नेपाल फर्किने छन् त्यतिबेला त्यो महासभामा आफुले के बोलें र ति कुराहरु कार्यन्वयनमा ल्याउन नेपाल जस्ता साना मुलुकहरुको कस्तो भूमिका हुनेछ भन्ने कुरा केही पनि थाहा पाउने छैनन् । सम्वभत: त्यहाँका कुटनितिक भेटघाटहरु निकै नै अप्ठ्यारा लाग्ने छन् ।

एक साता अघिसम्म नारायण खड्कालाई आफु मन्त्री बनाइँदै छु भन्ने थोरै पनि हेक्का थिएन । पटक पटकका गुट परिवर्तनपछी उनी पछील्लो समय दोस्रो पटक देउवा गुटमा पुगेका थिए । यसभन्दा अघी देउवाकै गुट छोडेर उनी कोइरालाहरुसँग नजिक थिए । आफ्नो विश्वासिलो धरातल नभएका कारण देउवाले मन्त्री बनाउलान भन्ने उनलाई झिनो आशा थिएन ।

त्यसो त, कांग्रेसका एक नेताका अनुसार खड्काले मन्त्री बन्ने कसरत नगरेका होइनन । तथापी उनलाई देउवाले भरोसायोग्य जवाफ दिएका थिएनन् । अचानक उनी मन्त्री बने र आजको भोली संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्न पाउने सौभाग्य प्राप्त गरे । तर प्रश्न जहीको त्यहिं छ- कस्तो देखिएला महासभामा नेपालको उपस्थिती ? परराष्ट्र मामिलामा गहिरो ज्ञान नभएको र मन्त्रालयका कर्मचारीहरुसँग शिष्टाचार गर्ने सामान्य समय समेत नपाएको मन्त्रीको प्रस्तुती कस्तो होला ?

नेपालमा धेरै अघिदेखि एउटा समस्या छ । हामीले कुनै पनि अन्तरराष्ट्रिय सभा सम्मेलनहरुलाई गहन रुपमा लिंदैनौं । आफ्नो उपस्थिती कसरी दर्विलो बनाउने भन्दा पनि विभागीय मन्त्रीहरु अरुनै काममा बढी ब्यस्त हुन्छन् । यसका ब्यापक कारणहरु होलान् । तर मुख्य कारण भनेको उनिहरुलाई तत्कालै ब्यक्तिगत रुपमा केही फाईदा हुँदैन । देशको बारेमा सोच्ने फुर्सद कसलाई छ र ?

नेपाली कांग्रेसको वडा अधिवेशनमा जाँदा बरु यिनले अलिकती छलफल गर्लान, आफ्ना सदस्य संख्या गन्ती गर्लान्, बीपीले भनेका केही हरफ कण्ठ पार्लान् । संयुक्त राष्ट्र संघको महासभामा देशको प्रतिनिधित्व गर्ने ब्यक्तिको तयारी खोइ ?

कम से कम संयुक्त राष्ट्र संघमा देशको प्रतिनिधित्व गर्ने ब्यक्तिले हप्तौं अघिदेखी विभिन्न विषयका विज्ञहरुसँग छलफल गर्ने र विषयको गहिराईसम्म पुग्न प्रयास गर्ने चलन जता पनि हुन्छ । तर मन्त्रीको सपथ खाएर सिधै जहाज चढेको मन्त्रीले देशको शिर उँचो राख्ला भनेर हामी कल्पना गरिरहेका हुन्छौं । यहाँँभन्दा हरितन्नम सोच अर्को के हुन सक्ला !

नेपाल जस्ता मुलकले विश्वका अगाडि भन्नुपर्ने धेरै विषयहरु छन् । धनी राष्ट्रहरुलाई खवरदारी गर्ने अनेकौं बुँदाहरु छन् । आफ्नै सार्वभौमताका बारेमा दुनियाँको दिमागमा बस्ने गरेर भन्नुपर्ने कुराहरु छन् । तर नेपाल कहाँ छ ? नेपाली कांग्रेसको वडा अधिवेशनमा जाँदा बरु यिनले अलिकती छलफल गर्लान, आफ्ना सदस्य संख्या गन्ती गर्लान्, बीपीले भनेका केही हरफ कण्ठ पार्लान् । संयुक्त राष्ट्र संघको महासभामा देशको प्रतिनिधित्व गर्ने ब्यक्तिको तयारी खोइ ?

हुन त नारायण खड्का यसको जिम्मेवार पक्ष नहुन सक्छन् । प्रधानमन्त्रिले अबिर धसेर बिमानस्थलको बाटो देखाएपछी हिंड्नै पर्‍यो । देशको छवि खड्का एक्लैले जोगाउन सक्ने कुरो पनि भएन । अढाइ महिना देखि शेरबहादुर देउवाले देशलाई बन्धक बनाएका छन् । एउटा चुस्त मन्त्रीमण्डल बनाएको भए परराष्ट्रमन्त्रीले आफ्नो सुरुवालको तनो कस्दै जहाज चढ्नुपर्ने थिएन । समय मिलेको भए उनले तनो कसेर तयारीकासाथ उड्ने थिए । तर देशको दुर्भाग्य यही हो हामीले पटक पटक शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा पाउँछौ । अथवा हामीले उनैलाई प्रधानमन्त्री बनाउन कस्सिन्छौं । जबकी उनी देशको कुनै पनि समस्याका बारेमा गम्भिर भए जस्तो अनुभुती हुँदैन ।

जीवनका अन्तिम वर्षहरुमा हिंडिरहदा देउवासित आफ्ना अनगिन्ती असफलका कथालाई छोप्न सक्नेगरी समयले साथ दिएको थियो । चाहेको भए देशको कायापलट हुनेगरी एउटा नक्सा बन्न सक्दथ्यो । बनेन, देश बनाउने र अन्तर्राष्ट्रिय मन्चहरुमा मुलुकको दर्विलो उपस्थिती गराउन पहल गर्नु यिनको बसको बात रहेन । देउवा ‘हाइ कम्प्लेक्स’ पीडित छन् । यिनको यो कम्प्लेक्स नेपालीले विश्वका कुनाकुनामा चुकाउनुपर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक