बिहीबार, वैशाख ६, २०८१

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार हरी अधिकारीलाई

नेपालप्लस संवाददाता२०७८ असोज ९ गते ६:०१

ग‌ैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले स्थापना गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अमेरिका निवासी हरी अधिकारीको कृतिलाई प्रदान गरिने भएको छ ।

समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङ्मयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्ने साहित्यकार, लेखक हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्य रचना’ कृतिलाई प्रदान गर्ने निर्णय गरेको हो ।

निबन्ध, संस्मरण र ब्यक्तिचित्र मार्फत समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुतुलित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको ‘संकलित गध रचना’ नामक कृतिलाई पुरस्कारका निम्ति चयन गरिएको पुरस्कार निर्णायक समितिले जनाएको छ ।

अरनिको पुरस्कार समितिमा अमेरिकाका निलम कार्की निहारिका, महेश पन्त, फ्रान्स निवाशी लेखक ददि सापकोटा, नाईजेरियाका हिक्मत थापा र लेखक नयनराज पाण्डे थिए । पुरस्कार समितिको सल्लाहकारमा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने थिए ।

पुरस्कार समितिलाई पुरस्कारकालागि दाबि गर्दै झण्डै दुई दर्जन पुस्तक प्राप्त भएका थिए । त्यसमा समितिले  १० पुस्तक (१-विश्रामपुर, उपन्यास, पदम गौंतम; अमोहा- गैरआख्यान-डा.विजय ज्ञवाली; प्रियसी रोबर्ट – सुरेन उप्रेती; काँचो कागज, उपन्यास, गोपी सापकोटा; पशुक्रान्ती, उपन्यास, पुण्य प्रसाद सुवेदी; जोर बन्दुकको छाया : श्रीभक्त खनाल;  बिगत र बाडुली , संस्मरण – भारती गौतम; हरि अधिकारीका गध रचना – हरि अधिकारी; मुन्नी – पोस्तक श्रेष्ठ, १ अफगानी रणमैदान – केदार संकेत) छनौट गरेर पुरस्कार निर्णायक समिति (जुरी) लाई सिफारिस गरेको थियो ।

सिफारिस गरिएका पुस्तक मध्ये जुरीले हरि अधिकारीको पुस्तकलाई छनौट गरेको हो । समितिले वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डाहरिराज भट्टराई ( मेरिका), डा ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समिति चयन गरेको थियो । समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ का लागि यस कृतिको चयन गरेको हो ।

अरनिको पुरस्कार समितिले पुरस्कार निर्णायक समितिलाई पूर्ण अधिकार दिएको थियो ।

पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली संघको यहि अक्टोबरमा काठमाडौंमा हुने दशौं महाधिवेशनका अवसरमा पुरस्कार हस्तान्तरण गरिनेछ ।

तपाइँको प्रतिक्रिया