शुक्रबार, वैशाख १४, २०८१

कुल आचार्यको उम्मेदवारी घोषणामा आइएलओ घोटाला छानबिन गर्न माग

नेपालप्लस संवाददाता / काठमाडौं २०७८ असोज १० गते २०:१२

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आइएलओको सहयोग बाट संचालित परियोजनामा भएको अनियमतिताको छानबिन गर्न माग गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै आचार्यले आफु निर्वाचित भएमा संस्था भित्र गरिएका अनियमिततालाई बाहिर ल्याउने घोषणा गरे। उनले संघ भित्र सानो समूहले चरम दुरूपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको पनि बताए ।

उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु ।’

‘पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछिपनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु’ उनले थपे ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् ।

करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ।’ नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो’ उनले भने ।

आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झन्डै दुइ तिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले समर्थन जनाएको दाबि गरिएको छ । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ । एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरे ।

एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिंदै विदेशमा रहेका नेपालीहरुलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिए।

घोषणा सभामा उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आर के शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार बेद खरेल, पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायत ले शुभ कामना दिएका थिए। त्यस्तै जानकी गुरुङ, आरके शर्मा, प्रविण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ, चिन्तामणि सापकोटा, दयानिधि सापकोटा लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

तपाइँको प्रतिक्रिया