बिहीबार, वैशाख १३, २०८१

बेलायतमा ईन्धन हाहाकार पछि सामाजिक संजालमा चर्कँदो जुहारी

जयराम तामांग / बेलायत२०७८ असोज १७ गते १:०४

नेपालमा छिमेकी देशले पेट्रोल नदिएपछि हाहाकार मच्चिएर दुख नभोगेको नेपालीहरु सायद कमै होलान् । नेपालमा त्यस्तो समस्या हुनु भनेको अबैध धन्दा र कालो बजारी गर्नेको काम हो । दुखिहरुको बिचमा त्रासको हावा फैलाएर बिचौलियाहरुले पैसो कुम्ल्याउने चाड जस्तै हुन्छ । तेल सकिनु भन्दा पहिला नै भएको पेट्रोल लुकाएर दुइ नम्बरी गर्छन् । तेब्बर चौबर बढी महँगोमा किन्न बाध्य पारिन्छ ।

जहाँ समस्या त्यहाँ अर्को थप समस्या खडा गर्न पल्केका हुण्डारहरु हाम्रो देशमा बग्रेल्ती पाइन्छन् । ठूला बडाको घर अफिसमा भने पहिला नै चाहिने जति सुरक्षित तरिकाले भण्डार गरिसकिएको हुन्छ । बिहान बेलुका मजदुरी गरेर खानेहरुको लागि संसारको जुनसुकै कुनामा भएपनि इन्धन भएन भने जीविका चलाउन अप्ठेरो परिरहेको हुन्छ । बिशेष त यातायातको साधन प्रयोग गरेर काममा आउने जानेको लागि झन् कष्टकर नै हुन्छ । इन्धन भएन भने संसारको जुनसुकै देशमा पनि समस्या हुने गर्दछ ।

संसारको बिकसित देशहरु अहिले इन्धनको विकल्प खोज्न थालेका छन् । र सफल हुँदैपनि गइरहेका छन् । बिकसित देशहरुले ब्याट्री र सोलारबाट धेरै कामहरु बिना इन्धन नै चलाउन थालीसकेका छन् ।

म बेलायतमा बसेको करिब १२ वर्ष भइसक्यो । कहिल्यै पनि बजारमा इन्धनको समस्या भएको समाचार सुन्नु परेको थिएन । तर आजभोली बेलायतमा इन्धनको समस्याले गर्दा धेरै कम्पनीहरु बन्द हुने स्थिति देखिन थालेको छ ।

मानिसहरु इन्धनको खोजीमा यताउता भागदौड गरेर बल्ल बल्ल भेट्टाएपनि घन्टौंसम्म लाइन बसेर पनि सिमित इन्धन मात्र आफ्नो सवारी साधनमा हाल्न बाध्य भएका छन् । एउटा राम्रो पक्ष भनेको केहो भने यतिका दिनसम्म पनि इन्धनको मूल्यमा खासै धेरै फरक भने देखिएको छैन । थोरै भएपनि धनि होस् या गरिब सबैले समानरुपले इन्धन पाओस भनेर बढीमा ३५ पाउण्ड सम्मको मात्र इन्धन भर्नोस भनेर प्रत्येक पेट्रोल पम्पहरुले सूचना राखेको छ । एक दुई पैसा (पेंनी) को तल माथि भए पनि सामाजिक संजालमा मानिसहरुले विभिन्न टिका टिप्पणीहरु भने गर्न छोडेका छैनन्।

‘इन्धन किन्नु भन्दा त कोकाइन किन्नु नै फाइदा होला’ भनेर एक स्थानियले आफ्नो फेसबुकको स्टाटसमा लेखेका छन् । अहिलेको इन्धनको समस्या हुनुमा बेलायत युरोपियन युनियनबाट बाहिरिनु हो । तरपनि कतिपय स्थानीयहरू यो स्विकार्दैनन्।

युरोपियन युनियनबाट बाहिरिनुपर्छ भनेर ५१,९ प्रतिशतले भोट हालेर जिते पनि ४८,१ प्रतिशतले भने युरोपियन युनियनमा नै रहनुपर्छ भनेर भोट हालेका थिए । ‘युरोपका मानिसहरुले हाम्रो काम लिए, अब हामी युरोपियन युनियनबाट बाहिरिनु पर्छ अनि मात्र हामीले यो देशमा काम पाउँछौं भनेर तिमीहरुले जितेका थियौ, उनीहरुले त् छोडेर गइ सके । तर पनि किन त्यो ठाउँमा बेलायतिहरु काम गर्न आउदैन त ?’ भनेर ति हार्नेहरु मध्येको कसैले आफ्नो सामाजिक संजालमा प्रश्न राखेको थियो ।

उनीहरु सस्तोमा काम गर्छन । एकै किसिमको काम सस्तोमा गर्न पाएपछि हाम्रो तलब पनि उनीहरुको जतिकै बनायो । अब हामी त्यति सस्तोमा काम गर्न सक्दैनौं । हामीले ट्रक चलाउने तालिम लिनको लागि ५ हजार पाउण्ड तिर्नु पर्छ । त्यस माथि पेट्रोल बोक्ने ट्यांकीको तालिम गर्न अर्को १ हजार ५ सय तिर्नु पर्छ । युरोपको मानिसहरुलाई बिना शुल्क, बिना तालिम त्यहि काम गर्न छुट दिएको थियो । हामी साँढे नौ पाउण्ड प्रति घण्टा तलब खानको लागि साँढे छ हजार तिरेर किन तालिम गरेर काम गर्न जानु ? भन्दै त्यसको प्रति उत्तरमा जित्नेहरु मध्येको एक जनाले आफ्नो स्टाटसमा लेखेका छन् ।

‘लण्डनमा पहिले एक दिनमा ६, ७ जना कामको लागि सोध्न आउँथे । अहिले एक जना पनि आउँदैन । काम गर्ने मान्छे पाईदैन । अब मेरो व्यवसाय बन्द हुँदै छ’ भन्दै लेख्नेपनि छन् । यस्ता प्रतिक्रिया दिने धेरै मानिसहरुले सामाजिक सन्जालमा अन्तर्वार्ताहरु राखेका छन् ।

म बसेको सानो शहरमा पनि धेरै कम्पनिहरु बन्द भइसकेका छन् । आफूलाई संसारको बादशाह ठान्ने देश आज इन्धनको अभावले थालिन थालेपछि यहि अक्टोबर ४ तारिख देखि ईन्धन आपूर्तिमा तालिम प्राप्त सैनिकहरुलाई इन्धन ओसार्न प्रधानमन्त्रीले निर्देशन दिईसकेका छन् । कुनै तयारि र योजना बिना गरेको युरोपियन युनियनको बहिर्गमनको नतिजा आजभोलि बेलायतले भोग्न थालेको छ । यो शुरुआत हो । यस्तै अरु समस्याहरुपनि नआउला भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया