आइतबार, असोज ३१, २०७८

एनआरएनको लाज बचाउने कोही छ ?

सन्जय घिमिरे२०७८ असोज १७ गते १२:४७

खासमा मलाइ किन किन गैर आवासीय नेपाली संघ, एनआरएनएका बारेमा त्यती लेख्न मन लाग्दैन । यसका नेतृत्वकर्ताहरु र यसका खेलाडीहरुका जब भित्री र बाहीरी चलखेलहरु देख्छु र सुन्छु, झन म अवाक हुन्छु । दुख वा सुखको कुरा जे भन्नुस, म एउटा एनआरएन हुँ । भलै मेरा नेताहरुले कतीपय अवस्थामा मलाइ एनआरएन हुँ भन्न पनि लाज लाग्ने स्थितीमा पुरयाएका छन । आफ्नै लाजको म के चर्चा गरौं ? म जे हुँ, त्यसैको के बदख्वाँइ गरौं ? कती बदख्वाँइ गरौं ?

दुइ वर्ष अघि जब एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा कुमार पन्त निर्वाचीत भए, त्यतिबेला मैले उनै पन्तका नाममा एउटा खुला पत्र लेखेको थिएँ । दुइ वर्ष पछि आज फेरि अर्को निर्वाचनको पूर्वसन्ध्यामा म उतीबेलाको पत्रको सम्झना मात्र गरेर पन्तलाइ एउटा प्रश्न सोध्न चाहन्छु । दुइ वर्ष अघि लेखेको पत्र पढनुस है त ?

कुमार जी, नमस्ते
म तपाँइलाइ चिन्छु । तपाँइ मलाइ चिन्नुहुन्न । यो कुनै ठुलो वा नौलो कुरा भएन ।
तपााँइ हामी चिन्दै गरौंला ।

तपाँइले एनआरएनको अध्यक्ष पद ‘पडकाउनु’ भयो । यो पनि मेरा लागी त्यति ठुलो र नौलो कुरा होइन । किनकी तपाइ, त्यसैको अभ्यास गरिरहनु भएको थियो । र, म तपाइका ती अभ्यासहरुलाइ टाढाबाट नियालीरहेको थिएँ । खासमा मैले आज तपाइलाइ शुरुमा नै बधाइ भन्नुपर्ने थियो । तपाइ जो मेरो पनि नेता हुनुभएको छ । तर म आज बधाइको ‘मुडमा’ होइन, लज्जीत ‘मुडमा’ छु ।

म लाजले भरिएको छु । मेरो लाज, कुनै स्त्रीको लाखौं डलरको लाज जस्तो होइन । मेरो लाज बडो सस्तो छ । सस्तो तपाइहरुले बनाउनु भएको छ । लाजमा सौन्दर्यको मुल्य हुन्छ, मेरो आजको लाजमा कुनै सौन्दर्यको मुल्य छैन । म शुन्य छु । मेरो लाज बितृष्णाले भरिएको छ । मेरो लाजमा कुनै ‘रोमान्टीसिजम’ छैन । लाजमा उदासिनता मिसिएको शायदै हुन्छ । आजको् मेरो लाजमा उदासिनता मिसिएको छ । मलाइ थाह छैन तपाइ कती मेरो कुरा बुझ्ने समार्थ्य राख्नुहुन्छ । आशा गर्छु, तपाइसँग त्यो सामर्थ्य छ । एउटा कुरा चाहिं निर्धक्कसँग भन्छु–पैसाले त्यो सामर्थ्य किन्नचाहिं सक्दैन । अली खरो भए माफ गर्नुहोला ।

एनआरएनका नाममा यसपटक काठमाडौंको हायात होटलमा जे जस्तो ‘तमासा’ भयो र त्यो ‘तमासा’ पछि जे जती मैलै जे पढनु र सुन्नु पर्‍यो ‘टाढाबाट‘ –गैर आवासीय म जस्ता नेपालीहरुका बारेमा । त्यसबाट म बडो बिचलीत भएको छु । मेरै दाजु भाइ वा आफन्तजनले म वा हामी जस्ता नेपालीका बारेमा गरेका टिप्पणीहरुले मेरो मन र मस्तिष्कलाइ हल्लाइदिएको छ । म दोधारमा छु –आफुलाइ गैर आवासीय नेपाली भनुँ वा नभनुँ ?

साँँच्ची भनुँ ? मलाइ त्यो ‘गैर’ भन्ने शब्दसँग वर्षौैदेखि आपत्ती छ । त्यो शब्द किन किन मलाइ अप्रीय लाग्छ । नेपाली पाठकहरुले यो पढिरहनु भएको छ भने भन्नुहोला–नेपालप्रती यती हुरुक्क भएको भए किन बाहीर गएको त ? यो प्रश्न मैले म आफैंलाइ पनि गर्छु कहिलेकाहिं । र, यसको ठयाक्कै जवाफ म सँगपनि आज पर्यन्त छैन । मलाइ यो चाहीहिंथाह छ–जो नेपालमा बसेर हाम्रो बारेमा टिप्पणी गरिरहनुभएको छ, उहाँहरु पनि ‘चान्स’ खोजीरहनु भएको छ ।

चाहे नेपालका नेपाली होउन, चाहे बाहीर बस्ने नेपाली, ‘च्वाइस’मा होइन ‘चान्स’मा जिन्दगी बिताइरहेका छौं । मलाइ यसबारेमा धेरै टिप्पणी गर्नु छैन । अहिले यत्ती मात्र भनुँ–जिन्दगी सदैव सोझो रेखामा चल्दैन । जिन्दगी, गणित जस्तो हुँदोरहेछ । जिन्दगीको हिसाब किताब, दुइ गुणा दुइ जस्तो होइन रहेछ ।

कहिलेकाँही मलाइ लाग्छ–हामी गणितका सुत्रहरुभन्दा बाहिरको जिवन बिताइरहेका छौं । सुत्रहरुभन्दा बाहीरको जिन्दगी बिताइरहेका नेपालीहरुको जिन्दगीको आज तपाइ नेता हुनु भएको छ कुमार जी । तपाइलाइ कती यसको अनुभुत छ मलाइ थाह छैन । तपाइ व्यापार गर्ने मान्छे । तपाइहरु अक्सर ठान्नुहुन्छ –व्पापारमा दुइ गुणा दुइ नै हुनु पर्छ । तर मान्छेका जिन्दगीका भोगाइमा सदैब यस्तो हुँदैन कुमार जी ।

अन्यथा नठान्नुहोला, आजसम्मको अभ्यास हेर्दा तपाइहरु, गैर आवासिय नेपालीका भावनाहरुको गहिराइमा होइन, आफ्ना व्यक्तिगत ‘पोर्टफोलीया’, सामाजीक चकाचौध र व्पापारीक स्वार्थका ‘कनेक्सन मेन्टेन’ गर्नमा नै बढी तल्लीन हुनुहुन्छ । तपाइहरु एकादुइसँग पैसा छ, तपाइहरु हैसीयतको खोजीमा हुनुहन्छ । तर लाखौं गैर आवासीय नेपालीहरु जीवनको खोजीमा छन् । आफ्नो हैसीयत, शान औकात र व्यापारीक स्वार्थका लागी कृपया साधारण गैर आवासीय नेपालीहरुलाइ प्रयोग नगर्नुहोला ।
पैसा त तपाइहरुले होटलहरुबाट कमाउनुस, इज्जत र सम्मान त मान्छेका भावनाहरुबाट कमाउने हो कुमार जी ।

हेर्नुस त कुमार जी, नेपाली समाजको मनोबिज्ञान । अष्ट्रेलीयाबाट गएका एकजना गैर आवासीय नेपालीले अलीक अभद्र व्यबहार एयरपोर्टमा देखाए भनेर सोसल मिडीयाहरुमा कती कडा कमेन्टहरु आए । करिब तीन हजार गैर आवासीय नेपाली सम्मेलनका लागी काठमाडौं गएको ठाउँमा एकजना नेपालीले एरयपोर्टमा देखाएको चरित्र र व्यबहार, तपाइ–हामी सबैसँग जोडीएर आयो । अध्यागमन बिभागले अत्यन्त अस्वाभावीक र अमर्यादीत भाषामा गैर आवासीय नेपालीहरुप्रती टिप्पणी गर्दै बिज्ञप्ती नै निकाल्यो । हायातमा केही गैर आवासीय नेपालीले गरेको हो हल्लाका कारण गैरआवासीय नेपालीहरु कती होच्याइए तपाइलाइ थाह नै छ कुमार जी । हेर्नुस त कुमार जी हामी कहाँ छौं ? नेपाली समाज पनि बडो कृतज्ञ छ । पचास लाख नेपाली गैर आवासिय भएको ठाउँमा एकादुइका व्यबहार र चरित्रलाइ लिएर टिप्पणी गर्न समाज कति हतारिन्छ ? र कुन हदसम्मको टिप्पणी गर्छ ।

हुनत, कुमारजी हामी पनि ठाडो जवाफ दिन सक्छौैं–सभामुख जस्तो मान्छे नै ‘पातकी’ भएको देशका अरु मान्छेको के कुरा गर्नु ।

तर यसो भन्नु बडो अमर्यादीत हुन्छ । हामीलाइ आमालाइ नंग्याउनु छैन । अरु कसैलाइ, बा को झाँको झार्ने रहर छ भने झार्न दिनुस । तर कुमार जी, तपाइ हामी पनि ठिक गरिरहेका छैनौं । हामी आँफैले आफैंलाइ नंग्याइरहेका छौं । मेरो यत्ती आग्रह छ कुमार जी, हामीलाइ लाजबाट बचाउनुहोस । अक्टोबर २०१९

दुइ वर्षपछि आज अब मेरो प्रश्न गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाइ, कुमारजी के तपाइले यी बितेका दुइ वर्षमा हाम्रो लाज बचाउनु भयो ? म त झन एनआरएनलाइ झन झन नांगींदो देखिरहेको छु । बेल्जीयम होस कि अमेरिका । बेलायत होस कि जापान । जताततै । लाजमर्दो ।  मलाइ त फेरि पनि लाज बचाउने मान्छे चाहिएको छ । अब कोही छ हाम्रो लाज बचाउने ?

तपाइँको प्रतिक्रिया

फेसबुक