शुक्रबार, वैशाख १४, २०८१

आफ्नो सम्पूर्ण पेन्सन प्रहरी संगठनमै समर्पण गर्ने खरेलको घोषणा

नेपालप्लस संवाददाता२०७८ असोज २० गते २०:४०

पूर्व प्रहरी महानिरिक्ष खरेल । फोटो-सुधिर शाह

पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले राज्यकोषबाट आफूलाई प्राप्त सम्पूर्ण पेन्सन रकम प्रहरी संगठनमै समर्पण गर्ने घोषणा गरेका छन् । खरेलले वार्षिक ६ लाख रुपैयाँ पेन्सन बुझ्दै आएका छन् । यो रकमलाई अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कार्यक्रम मार्फत बिभिन्न तहमा काम गरेका अशक्त प्रहरीहरुलाई प्रदान गरिने छ ।

यसमा २ जना प्रहरी जवान, २ जना हवाल्दार, प्रहरी सहायक निरिक्षक १ जना, प्रहरी नायव निरिक्षक १ जना र सिनियर प्रहरी अधिकृत १ जना गरी ७ जना अशक्त प्र्हरीहरु यस कार्यक्रमबाट लाभान्वित हुने छन् । पूर्व आईजीपी खरेलले गत वर्ष प्रहरी दिवसकै अवसर पारेर अच्युत मिना अमर प्रहरी पुरस्कार दुई जना अमर प्रहरीका जेहन्दार सन्तानलाई जनही वार्षिक ५१ हजारका दरले प्रदान गर्ने घोषणा गरेका थिए भने अमर प्रहरीकै एक छोरा र एक छोरीलाई पनि जनही वार्षिक ३० हजारको छात्रवृत्ती प्रदान गर्दै आएका थिए ।

यस पटक अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कार्यक्रम घोषणा गरेर पूर्व आईजीपी खरेलले कर्तब्य पालनको सिलसिलामा अशक्त र बिरामी भएका ७ जनालाई जनही ५ हजार मासिक उपलब्ध गराउने घोषणा गरेका छन् ।

खरेलले केही समय अघी मात्रै आफुले अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना गरेर असह्य प्रहरीलाई सहयोग गर्ने मनशाय रहेको बताउँदै आएका थिए । प्रहरी मुख्यालयमा आउँदो मंसिर १ गते देखी नेपाल प्रहरी स्मारक गुठीको विधान-२०५१ मार्फत यो कार्यक्रम संचालन गरिने छ ।

नेपाल प्रहरीमा कार्यरत रही कर्तब्यपालनको शिलसिलामा कुनै घटना, मुठभेड, भिड नियन्त्रण, प्रकोप उद्दार, दुर्घटना वा अन्य कुनै प्रहरी काम कारवाहीको शिलसिलामा अशक्त भएका प्रहरीहरुलाई अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कार्यक्रममा सामेल गराइने छ ।

यसरी कोष स्थापना गरेर अमर प्रहरिका सन्तान र अशक्त प्रहरीलाई सहयोग गर्ने अच्युतकृष्ण खरेल पहिलो पुर्व प्रहरी महानिरिक्षक हुन । अन्य कुनै पनि पुर्व महानिरिक्षकहरुले यसरी सहयोग गरेको अहिलेसम्म सार्वजनिक भएको छैन ।

खरेलले नेपालप्लससँगको कुराकानीमा भने “अरुले के गर्नु भएको छ भन्ने कुरा तर्फ म त्यती जानकार छैन । मलाई थाहा हुने भनेको मैले के गरेको छु भन्ने मात्र हो । मैले मेरो लगभग आधा जिन्दगी प्रहरी संगठनमा बिताएको छु । धेरै कुराहरु यस्ता छन जुन हामीले चाहेर मात्रै पनि हुँदैनन । तैपनि मैले यो सानो सहयोगको शुरुवात किन गरेको हो भने देशको सेवा गर्दागर्दै ढलेको कुनै प्रहरीलाई यही सानो सहयोगले पनि ठुलो हौशला दिन सक्छ ।”

अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कार्यक्रम अच्युतकृष्ण खरेल जिवित रहुन्जेल संचालनमा रहने छ भने ‘अत्युत–मीना अमर प्रहरी छात्रवृत्ति कोष’लाई निरन्तरता दिन मरणोपरान्त खरेल परिवारबाट छोरा डा. आयुष खरेल र छोरी डा. चाँदनी खरेलले ११ लाख रुपैयाँ अक्षयकोषमा राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया