आइतबार, असोज ३१, २०७८

‘एनआरएन लगानी : गैर आवाशिय नेपालीको हैशियत भन्दा चर्का कुरा’ अर्थबिज्ञ

नेपालप्लस संवाददाता२०७८ असोज २० गते २३:५८

नेपालमा लगानी लगायतका विषयलाई लिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका गैरआवासीय नेपाली संघका नेताहरु । फोटो- अनलाईन खबर

सन् २००३ मा गैर आवाशिय नेपाली संघको स्थापना हुँदा यसको दायरा फराकिलो बनेको थिएन । जम्माजम्मी एउटा सोच थियो-विदेशमा बस्ने सबै नेपालीलाई एउटै छाता मुनी ल्याउने । सानातिना सामाजिक काम गर्ने । विदेशमा आफ्नो उपस्थिती जनाउने । तर ७ वर्ष पछी यसको बाटो अलि फेरियो । सामाजिक संस्थाको घेराबाट थोरै पर हटेर यो संस्थाले आफूलाई ‘जन्मभूमिको बिकास साझेदार’ भन्यो । हो त्यहि बेला नेपाल सरकार र नेपालीले मनै खोलेर गैर आवाशिय नेपाली संघलाई स्वागत गरे ।

संघको २०१० पछीको एघार वर्षे यात्रामा एनआरएनको लगानी भित्र्याउने र देशको मुहार फेर्ने लय बोकेका आधा दर्जन भन्दा बढी नाराहरु पटकपटक परिमार्जन गरिए । अलिकती नयाँँ नारा थपिए र पुराना केही हटाइए पनि । तर संघको काम गर्ने तौर तरिकामा खासै परिवर्तन भएन । बाहिरबाट झट्ट हेर्दा गैर आवाशिय नेपाली संघले आफ्ना केहि सिमित माग पुरा गराउन लगानिका नारालाई जोडतोडका साथ उठाए जस्तो देखियो । नारा र प्रतिवद्दता अनुसार खासै काम नभएको नेपाल सरकार र एनआरएनका अभियन्ता दुबै पक्षले महसुस गरेका छन ।

त्यसो त, विदेशमा बस्ने नेपालीहरुको लगानिका विषयमा नेपाल सरकार खुकुलो भए पछी केही लगानी नगएको भने होइन । तर त्यो एनआरएनको सामुहिक लगानी नभएर उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले जस्ता केही सिमित ब्यक्तिहरुको थियो । र, नेपाल सरकारले त्यसैलाइ नै एनआरएनको लगानिका रुपमा बुझ्यो । तथापी कुरो यस्तो थिएन । किनभने नेपालमा जतीपनि गैर आवाशिय नेपालीहरुका लगानी भनिएको थियो तिनका ठुला साझेदार नेपाली बैंकहरु नै थिए । अथवा ६० प्रतिशत भन्दा बढी नेपालका वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराएका थिए र छन । अझै पनि मुख्य कुरा के हो भने गैर आवाशिय नेपालीहरु ठुला लगानी गर्न सक्ने हैशियतमा पुगेका छैनन् ।

अन्य बाहिरी लगानीको तुलनामा एनआरएनको लगानी आउनु निकै राम्रो हो । अन्य लगानीलाई दिइने सुविधा भन्दा राम्रो प्याकेज एनआरएनलाई दिनुपर्छ  ।

गैर आवाशिय नेपालीहरुको दोस्रो पुस्ता जो विदेशमा हुर्किंदै छ त्यो पुस्ता अझैसम्म या त स्कुलमै छ अथवा भर्खर भर्खर कलेज र विश्वविद्यालयको पढाईमा छ । जसले सिप, ज्ञान र धन आर्जन गर्ने उमेरसम्म चढेकै छैन । अहिले नेपाल र विदेश ओहोरदोहर गरिरहने एउटा समुह छ जुन हातमा गन्न सकिन्छ । त्यो समुहले मात्र नेपालको मुहार फेर्ने गरी लगानी गर्न सक्दैन ।

लगानीको बाटो बनाउन गैर आवाशिय नेपाली संघका वर्तमान अध्यक्ष कुमार पन्तले प्रतिवद्दता व्यक्त गरेको १० अर्वको प्रोजेक्ट केही सहयोगी अवश्य हुन सक्दछ । किनभने पन्त भन्छन ‘यो कदम भनेको यहाँँ केही सिमित ब्यक्तीहरुको मात्र लगानी नभएर थोरै भन्दा थोरै वचत गर्ने हरेक गैर आवाशिय नेपालीले आफूलाई लगानीकर्ताका रुपमा देख्न सक्दछ ।

पन्त थप्न्छन- ‘यो १० अर्वको प्रोजेक्ट बढ्दै जाँदा ५० अर्व पुग्ला । सम्पूर्ण देशका लागि यो निकै सानो लगानी हो । यसैले नै देशको मुहार फेरिन्छ भनेर त म भन्दिन । तर यसले सामुहिक लगानीका लागि गतिलो बाटो बनाइदिन्छ ।’

नेपाल सरकार पनि एनआरएनको लगानी प्रती पुन: आशावादी देखिएको छ । सरकारका एक जना सचिव भन्छन्- ‘हामीले विदेशका अन्य कम्पनीहरुलाई सर्त सहित देशमा प्रवेश गराउन भन्दा त एनआरएनको लगानी नै बढी प्रभावकारी हुन्छन् ।’

यो १० अर्वको प्रोजेक्ट बढ्दै जाँदा ५० अर्व पुग्ला । सम्पूर्ण देशका लागि यो निकै सानो लगानी हो । यसैले नै देशको मुहार फेरिन्छ भनेर त म भन्दिन । तर यसले सामुहिक लगानीका लागि गतिलो बाटो बनाइदिन्छ ।

नेपाल सरकार र गैर आवाशिय अभियन्ताहरुले यसो भनिरहँदा नेपालीहरुले भने गैर आवाशिय नेपालीहरुका प्रतिवद्दताहरुलाई पत्याउन सक्ने वातावरण खल्वलिएको छ । नेपालका एक अर्थशास्त्री डा. पोषराज पाण्डे भन्छन्- ‘अन्य बाहिरी लगानीको तुलनामा एनआरएनको लगानी आउनु निकै राम्रो हो । अन्य लगानीलाई दिइने सुविधा भन्दा राम्रो प्याकेज एनआरएनलाई दिनुपर्छ भन्ने मेरो मत छ ।’

तर एनआरएन भन्दैमा सरकारले अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई नजरअन्दाज गर्न नमिल्ने उनको धारणा छ । उनी भन्छन ‘एनआरएनको लगानीको श्रोत बुझेर मात्र अनुमती दिनुपर्दछ । दुई नम्बरी पैसा ल्याएर लगानी गर भन्दा यसले सबै वातावरण खल्बल्याइदिन्छ । एनआरएनले कुनै ‘अन एकाउन्टेड रिसोर्स’ यता इन्भेष्ट गरोस भन्ने पक्षमा म छैन ।

यो बिचमा बिदेशमा बस्ने नेपालीहरुले गरेको भनिएको लगानिलाई कसरी हेर्नु भएको छ भन्ने एक जिज्ञाशामा अर्थशास्त्री डा. पाण्डे भन्छन्- “त्यस्तो हेर्नेगरी र विष्लेषण गर्ने गरी एनआरएनको लगानी आए जस्तो त मलाई लाग्दैन । लगानी भन्दा पनि म त तामझाम नै पो देख्छु । ल हेर्नुस हल्ला गरे जस्तो कहाँ भएको छ लगानी । सानीमा बैंक, हाइड्रो जस्ता लगानी ब्यक्तिका हुन् । महतोजीको मेडिसिटिलाई पनि एनआरएनको लगानी भन्न मिल्दैन । किनभने यसमा ५ सय करोड त नेपालका बैंकले ऋण लगानी गरेका छन् । एनआरएनको गफ नै धेरै भयो । देशको बिकास गर्ने कुरामा एनआरएनबाट केही होला जस्तो त म देख्दिन ।”

एनआरएनको हल्ला अनुसार पैसा छैन । किनभने पढ्न वा मजदुरी गर्न गएको पहिलो पुस्ता नै चलाएमान छ । देशको मुहार फेर्ने गरेर पुँजी संकलन भए होला भन्ने मलाई लाग्दैन।

आर्थिक पत्रकारितामा लामो अनुभव सँगालेका पत्रकार गजेन्द्र बुढाथोकिको सोच पनि डा. पाण्डेको भन्दा खासै भिन्न छैन । बुढाथोकीका अनुसार नेपालमा अदृष्‍य लगानिको जोखिम बढीरहेको छ । जुनसुकै लगानिका सन्दर्भमा पनि सरकार चनाखो हुन जरुरी छ । तर गैर आवाशिय नेपालीहरुले आफ्नो हैशियत भन्दा ठूलो कुरा गरिरहेको उनले बताए । गफ अनुसारका लगानी आउने हो भने सरकारले कुनै पनि विदेशी सहयोग गुहार्नु नपर्ने उनको तर्क छ ।

“एनआरएनको हल्ला अनुसार पैसा छैन । किनभने पढ्न वा मजदुरी गर्न गएको पहिलो पुस्ता नै चलाएमान छ । देशको मुहार फेर्ने गरेर पुँजी संकलन भए होला भन्ने मलाई लाग्दैन” उनी भन्छन् ।

अर्को तर्फ डा. पाण्डे पनि एनआरएनको लगानी प्रती त्यती आशावादी देखिंदैनन् । उनी भन्छन्- “एनआरएनका केही मान्छेहरुले कानुन र संविधानमै आफ्ना कुराहरु राख्न सफल भएपनि देश बिकासमा सहयोगी होला जस्तो मलाई लाग्दैन ।”

तर संघका अध्यक्ष पन्त भने सबैलाई विश्वास दिलाउने गरी आफूहरु आउन लागेको बताउँछन । उनी भन्छन्- “मैले भनीनै सकेको छु १० अर्वको प्रोजेक्ट्ले देशको कायापलट नै हुन्छ भनेर म भन्दिन । तर मुख्य कुरा के भने विदेशमा बस्ने नेपालीलाई यसले एउटा बाटो बनाउँछ । अर्को कुरा लाखौं नेपालीहरुले अली अली गरेर जोगाएको रकम कसरी अदृष्‍य हुन्छ ? तपाईंहरु मान्नुस यो १० अर्वको प्रोजेक्ट नै यस्तो माध्यम हो जहाँँ हरेक गैर आवाशिय नेपाली जोडिन सक्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक