शुक्रबार, वैशाख ७, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

सभापतिको अभिभाषण : एक उच्च साहित्यिक मन्तव्य— क

डा. गोबिन्द राज भट्टराई२०७८ असोज २३ गते ५:०६

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

असमीया साहित्य सन्मिलनी, द्वितीय राज्यिक अधिवेशन-२०१५, तेजपुर

असमीया साहित्य सम्मिलनीको द्वितीय वार्षिक अधिवेशनमा उपस्थित सम्मानीय सभापति डा. हीरेन गोहाइँज्यू, कार्यकारी सभापति डा. दिलीप बराज्यू प्रमुख्ये सम्मिलनीका केन्द्रीय, जिल्ला तथा शाखा समितिका कार्यकर्तावृन्द, स्वागतकारिणी समितिका सभापति महेन्द्रनाथ केओटज्यूका साथै सबै सदस्यवृन्द, यो सभामा विशेष रूपमा आमन्त्रित सम्मानीय अतिथि— ज्ञानपीठ पुरस्कार प्रापक विशिष्ट हिन्दी कवि केदारनाथ सिंहज्यू, साहित्यिक तथा शिक्षाविद् कलकत्ता विश्वविद्यालयका प्राध्यापक डा. श्यामल चक्रवर्तीज्यू तथा नेपालका विशिष्ट साहित्यिक समालोचक डा. गोविन्दराज भट्टराईज्यू, श्रद्धेय प्रतिनिधिवर्ग, टाढाटाढाबाट आई धरोहर बनिसकेको तेजपुर शहरमा महासागरझै जनश्रोत प्रवाहित गरी यो साहित्य क्षेत्रलाई पुण्यतीर्थमा परिणत गराउने साहित्य प्रेमीवृन्द र मेरा सम्मुखमा यो पुण्य क्षेत्रलाई भरिभराउ तुल्याएका गुणी ज्ञानी र सुधीवृन्दमा ढोग टक्र्याउँछु ।

सर्वप्रथम म असमीया साहित्य सन्मिलनीको झण्डालाई अभिवादन गर्दछु । साथै यहाँहरू सबैलाई हात जोडी नमस्कार गर्दछु । मेरा सम्मुखका उपस्थित विपुल जनसमावेशले मलाई निसन्देह अभिभूत, आप्लुत, आनन्दित र अनुप्राणित तुल्याएको छ ।

असमीया साहित्य सन्मिलनीका सभानेत्रीको भारी दायित्व म जस्ती एक नगण्य साहित्यसेवीलाई सौंपेर जुन स्नेह र औदार्य व्यक्त गर्नुभयो । त्यसका निमित्त म शिर निहुराएर कृतज्ञता ज्ञापन गर्दछु । म मेरो अयोग्यता प्रति सम्पूर्ण रूपमा सचेत छु । तर उदार मन भएका सुधी वृन्दको स्नेह र आशीर्वादलाई उपेक्षा गरी काँधको भारी फ्याँक्न नसकी शङ्कित र द्विधाग्रस्त हृदय लिएर यहाँहरूका सामु उभिएकी छु ।

म के जान्दछु भने मृत्युहीन जीवनको अपराजेय सत्यको बाटो देखाउने चौसठ्ठी कलाका परम सुन्दर र अनादि रसको महासागर मानव कल्याण गर्ने साहित्यको सृजन गर्ने क्षमता ममा छैन । अपूर्व सृष्टिमूलक प्रज्ञाद्वारा पाठकलाई एक अनिर्वचनीय आनन्दका साथै उच्च स्तरीय चिन्तनको उद्रेक गराउनसक्ने क्षमताबाट पनि म वञ्चित छु । त्यसैमाथि मेरो अनुभव र अध्ययन पनि सीमित छ । चिर स्नेही भाषा जननीको वेदीमा अर्पित गरेको मेरो योगदान पनि अति नगण्य छ । साहित्यको कर्ममा मेरो अपरिसीम अनुराग र यसखाले सृष्टिप्रति प्रगाढ अनुगत्य हुँदाहुँदै पनि यसको अनुशीलन (अभ्यास) र चर्चा गर्न अत्यन्त कम समय र सुयोग भेटेकी छु ।

भाषाले मानिस मानिसबीच रहेको पार्थक्यलाई पन्छाएर सबैलाई आत्मीयताको धागाले बाँध्न सघाउ पुर्‍याउँछ । कारण, भाषा मानिस मानिसबीच सम्पर्क गर्ने सेतु हो । हाम्रो शुभ चिन्तनद्वारा कलासुलभ सेतु निर्माण गरी जातीय जीवनलाई शक्तिशाली बनाउनु नै साहित्य सन्मिलनीको मूल उद्देश्य हो ।

जीवन र जीविकाको हलो काँधमा हालेर समसामयिक समाजको यथार्थ सत्यप्रति सधैँ सचेत र जागृत भई ज्ञान, गीत र कविताको मोहमा बन्दी भई जीवनको लामो बाटो हिँड्दै आएकी म समाज–साहित्य–संस्कृतिको एक नीरव पुजारी मात्र हुँ । त्यसर्थ यहाँहरू समक्ष एक पाण्डित्यपूर्ण भाषण प्रस्तुत गर्ने मेरो योग्यता छैन । यहाँहरूको निर्देशन, शुभेच्छा, सहयोग र मायालाई मूलधन सम्झी अयोग्य भएपनि यस महान् र पवित्र आसनमा बसेकी छु ।

यहाँहरूको पाउको धूलो कपालमा दलेर मैले सम्मिलनी झन्डा हातमा लिएँ । भाषा जननीलाई मेरो क्षुद्र शक्तिले सेवा गर्न ईश्वरले शक्ति प्रदान गरून् । यो अभिभारा मलाई अर्पण गर्ने परमेश्वरप्रति पनि म कवि गुरु रवीन्द्रनाथको भाषामा यसरी प्रार्थना गर्दछु—
तोमार पतका जारे दाऊ
तारे बहिबारे दाऊ शकति
(तिम्रो झण्डा तल झारी त्यहाँ बस्न शक्ति देऊ)
आशा गर्दछु मेरो मूढमति र अक्षमजस्ता दोषहरूलाई यहाँहरूले क्षमा गरिदिनु हुनेछ ।

असमीया भाषा साहित्य संस्कृतिको संभावना र समृद्धिको सपना देखी उद्बुद्ध भई स्मरणीय साहित्य सेवकले आफ्ना जीवन आदर्श, साधना र त्यागले एक अमूल्य धरोहरको घडेरी निर्माण गरे, जजसका जीवन आदर्श, सृजना र कर्मले, असमीया साहित्यको प्रतिष्ठा र विकासमा योगदान पुर्‍याए, उनीहरूप्रति सम्मान जनाउँदै म शिर निहुराउँदैछु ।

असमीया साहित्य सन्मिलनीलाई असमीया भाषा साहित्य संस्कृतिको सबैभन्दा बलियो र सम्माननीय जातीय संस्थानका रूपमा विकसित गर्नु हामी सबैको उद्देश्य हो । कारण यो सन्मिलनी दुई एक व्यक्तिहरूको संस्थान होइन । यो समग्र असम र असमप्रेमी अन्य भाषाभाषीहरूको पनि साझा मञ्च हो । असमीया भाषा साहित्यको स्वार्थ संरक्षण गर्नु, असमीया साहित्यको प्रचार–प्रसार गर्नु, असमीया साहित्यको विकासका निमित्त आवश्यक र स्वस्थ परिवेश तयार पार्नु पनि यो सन्मिलनीको मुख्य उद्देश्य हो । जातीय संहति (एकता) कायम गर्नका निमित्त सबै सम्प्रदायका भाषा साहित्यलाई स्वीकृति दिनु पनि यसको अर्काे मुख्य उद्देश्य हो । यस्ता महत् उद्देश्यका साथ एक निविड सम्बन्ध कायम गर्दै एकहोरो प्रयास र सु–शृङ्खलित रूपमा सन्मिलनीलाई असमको सांस्कृतिक विवेकका रूपमा हामीले निर्माण गर्नुपर्छ ।

हाम्रो जातीय जीवनको वेदमन्त्र नै सार्वजनीनता हो । विभिन्न जनगोष्ठी र अञ्चलवासीको पारस्परिक आदान–प्रदान र लेनदेन मार्फत हाम्रो संस्कृतिको निर्माण भएको हो । सार्वजनीनता, भ्रातृत्वबोध, सहमर्मिताका साथै सहनशीलता नै संस्कृतिको मूल मन्त्र हो ।

एक देशको कलासंस्कृति त्यसको साहित्य संस्कृतिको पृष्ठभूमिमा रचिन्छ । यो देशको भौगोलिक परिवेश, समाजको प्राकृतिक, मानविक (मानवीय) र आत्मीय सम्पर्क जनगणको सूक्ष्म रुचिबोध, भावावेग र भावबोध, युगौँदेखि विभिन्न जनगोष्ठीका विचित्र संस्कृतिलाई स्वीकृति, आत्ममर्यादा र सम्मान प्रदान गर्नु हाम्रो अन्य एक मुख्य उद्देश्य हो ।

असमीया जाति प्राग्ऐतिहासिक समयदेखि नै अस्ट्रिक र मङ्गोल गोष्ठीका जनगणहरू अविभक्त असमका विभिन्न पहाड र फाँटहरूमा बसोबास गर्दै आइरहेका छन् । त्यसर्थ के भन्न सकिन्छ भने भिन्न भिन्न समयमा भिन्न भिन्न भाषाभाषीहरू आई भिन्न भिन्न धर्म, विश्वास रीतिथिति माने पनि उनीहरूले ऐक्यको आदर्श कायम गरेका छन् । निवर्तमानमा आयतनमा सानो भए पनि असमीया भाषा, साहित्य, संस्कृति, पहाड र फाँटका नाना जाति संस्कृतिको धनी बनेको पाइन्छ । असमीया भाषा सहित्यको स्वार्थ संरक्षण, असमीया संस्कृतिको उत्कर्ष गर्नका निमित्त आवश्यक र स्वस्थ परिवेश तयार गर्नु यो सन्मिलनीको एक अर्काे उद्देश्य हो ।

असमीया संस्कृतिले आजको रूप प्राप्त गर्नका मूलमा रहेको छ ऐक्य, संहति र समन्वयको प्राणशक्ति । भारतको मानव सागरको किनारमा जाति, उपजाति, वर्ण, धर्म र सम्प्रदायको सहमतमा निर्मित संस्कृतिको जयगीत गाउँदै विश्वकवि रविन्द्रनाथ ठाकुरले पनि गाएका छन्—
हे थाय आर्य
हे थाय अनार्य
हे थाय द्राविड चीन
शक हुण दल
मोगल पाठान
एक देहे हलो लीन ।
(अर्थात् आर्य, अनार्य, द्रविड, चीन, शक, हुण, मुगल, पठान, सबै जाति एक देहमा लीन बनेको देश नै हाम्रो देश भारतवर्ष हो) ।

हाम्रो देशको हजार वर्षे इतिहासले पनि एकहोरो यहि भन्दछ कि हाम्रो जातीय जीवनको वेदमन्त्र नै सार्वजनीनता हो । विभिन्न जनगोष्ठी र अञ्चलवासीको पारस्परिक आदान–प्रदान र लेनदेन मार्फत हाम्रो संस्कृतिको निर्माण भएको हो । सार्वजनीनता, भ्रातृत्वबोध, सहमर्मिताका साथै सहनशीलता नै संस्कृतिको मूल मन्त्र हो ।

आजको यो सभा असमीया साहित्य सन्मिलनीको सभा हो । यस ‘साहित्य’ शब्दको उत्पत्ति ‘सहित’ शब्दबाट भएको कुरो हामी सबै जान्दछौँ । यसैगरी सन्मिलनीको शब्दकोशीय अर्थ के हो भने धेरै जना एकत्रित भई आयोजित गरिने सभा, संघ अथवा समिति । सबै जनालाई भेला पारी मिलन अथवा सहयोग गर्नु असमीया साहित्य सन्मिलनीको गुदी कुरो हो । सबैजना भेला पारी सबै जनाबीच एकता कायम गर्नु हाम्रो अन्तिम मूल उद्देश्य हो । भाषाले मानिस मानिसबीच रहेको पार्थक्यलाई पन्छाएर सबैलाई आत्मीयताको धागाले बाँध्न सघाउ पुर्‍याउँछ । कारण, भाषा मानिस मानिसबीच सम्पर्क गर्ने सेतु हो । हाम्रो शुभ चिन्तनद्वारा कलासुलभ सेतु निर्माण गरी जातीय जीवनलाई शक्तिशाली बनाउनु नै साहित्य सन्मिलनीको मूल उद्देश्य हो ।

यो उद्देश्यमा सफल बन्न असमीया साहित्य सन्मिलनी राजनैतिक जालझेलबाट टाढा बसी लक्ष्यपथमा अग्रसर बन्नु पर्छ, जनगणका छेउ पुग्नु पर्छ । कारण, राजनैतिक दलको हस्तक्षेप अथवा त्यसप्रति रहेको आसक्तिले सन्मिलनीको वृहत्तर लक्ष्य प्राप्तिमा बाधा आइनलागोस्, यस कुराप्रति हामी सजग रहनुपर्छ । सन्मिलनी सरकार विरोधी संस्था होइन । तर पनि, यति कुरा भन्नु नै पर्दछ कि राजनैतिक शक्तिबाट प्रभावमुक्त रहे नै सन्मिलनीको वास्तव लक्ष्य र चरित्र लोकमानसमा अक्षत रहनेछ । अनि यसरी यसको भावमूर्ती र मर्यादामा बट्टा लाग्ने छैन ।

भिन्न भिन्न समयमा भिन्न भिन्न भाषाभाषीहरू आई भिन्न भिन्न धर्म, विश्वास रीतिथिति माने पनि उनीहरूले ऐक्यको आदर्श कायम गरेका छन् । निवर्तमानमा आयतनमा सानो भए पनि असमीया भाषा, साहित्य, संस्कृति, पहाड र फाँटका नाना जाति संस्कृतिको धनी बनेको पाइन्छ ।

आज असमीया साहित्य सन्मिलनीको द्वितीय वार्षिक अधिवेशनको उपलक्ष्यमा हामी सबै सुन्दरका पुजारी (ज्योतिप्रसाद आगरवाला सन् १९०३–१९५१ आसामका प्रशिद्ध नाटककार, गीतकार, कवि, फिल्म निर्माता; सांस्कृतिक धरोहर) को निवासस्थान तेजपुरमा भेला भएका छौँ । कालिकापुराण योगिनी तन्त्रमा उल्लेखित उहिल्यैको हारूपेश्वर र परवर्ती कालमा स्वर्णपीठको रूपमा पर्यवेशित भएको आजको तेजपुर एक इतिहास प्रसिद्ध ठाउँ हो । महाबाहु ब्रह्मपुत्रको किनारमा स्थित प्रकृतिको मोहनीय रूप लावण्यले अँगाली राखेको र प्राचीन कीर्ति चिन्ह, स्थापत्य, भास्कर्य, मठमन्दिरले भरिभराउ तेजपुर केवल पूर्वाञ्चलमा मात्रै हैन समग्र भारत भित्र नै ऐतिहासिक रूपमा सुप्रसिद्ध एक शहर हो । यहाँ रहेको प्राचीन स्थापत्य भास्कर्यका निर्देशनहरू कैयौँ शताब्दीका सभ्यता संस्कृतिको साक्षी बनेका छन् । यसबारे पण्डित प्रवर वाणीकान्त काकती, इतिहासकार डा. हेरम्बकान्त बरपुजारी, डा. प्रतापचन्द्र चौधरी, राजमोहन नाथ आदि वरेण्य व्यक्तिहरूले ऐतिह्यमण्डित विभिन्न प्रसंगमा आ–आफ्ना विचार व्यक्त गरेका पाइन्छन् । उषा–अनिरुद्धको प्रेमकथाका साथै हरिहर युद्धको कथाले तेजपुरलाई एक अन्यतम ख्याति र मर्यादा प्रदान गरेको पाइन्छ । तेजपुर भित्र र छेउछाउमा स्थित अग्निगढ पहाड, चित्रलेखा उद्यान, महाभैरव मन्दिर, बामुनी पहाड, पदुम पुखुरी (पोखरी), कनकलता उद्यान, हजारा पुखुरी आदिले तेजपुर शहरलाई एक उल्लेखनीय पर्यटन स्थलका रूपमा स्वीकृति दिएको छ । यति मात्र हैन, अतीतको गौरवले गौरवान्वित तेजपुर शिल्प साहित्यको क्षेत्रमा पनि पुण्यताले मानिन्छ— सुन्दरका पुजारीको निवासस्थल । शिक्षा, साहित्य, संस्कृति सबै क्षेत्रमा हाम्रो प्रेरणाको र गौरवको ठाउँ हो यो तेजपुर शहर । यहाँको प्रत्येक अञ्चल नै वर्णनीय सृजन कलाको अनुपम रूप लावण्यले प्राचुर्यपूर्ण रहेको छ ।

असमीया भाषा साहित्यका पुजारी महादेव शर्मा, कमलाकान्त भट्टाचार्य, आनन्दचन्द्र आगरवाला, पद्मनाथ गोहाइँबरुवा, त्यागवीर, हेम बरुवा, चन्द्रनाथ शर्मा, डण्डिनाथ कलिता, अमिय कुमार दास, ज्योतिप्रसाद आगरवाला, विष्णुप्रसाद राभा, फणी शर्मा आदि वरेण्य व्यक्तिहरूको कर्म र त्यागले पवित्र पीठमा परिणत भएको यो उषानगरी तेजपुरको पवित्र धूलो शिरमा लगाउने सुयोग भेटेकामा म कृतार्थ बनेकी छु ।

हरितिमामय जीवनको जागृतिका छन्दले असमको जातीय जीवन उद्बुद्ध गर्ने कालजयी जीवनशिल्पी ज्योतिप्रसादको कुरा आज श्रद्धा सहित सम्झिएका छौँ । असमीया भाषा, साहित्य, कलासंस्कृतिमा उनको योगदान जूनझैँ चम्किरहेको छ । परम सौभाग्यको कुरा के हो भने मेरो बालख काल र कौमार्य कालको अविस्मरणीय सुनौलो समय तेजपुरको कालिबारी र वर्तमानको रानुसिंह पथमा बसोबास गर्दाको समय वाण थिएटरको मर्मस्पर्शी मञ्चाभिनय, पदुम पुखुरी (पोखरी) को नैसर्गिक सुषमा, तेजपुरमा आयोजित हुने सांस्कृतिक कार्यक्रमको बेला पकी (ज्योतिप्रसाद आगरवालाको घर) मा सङ्गीतको पूर्वाभ्यास र यहाँका सहज सरल संस्कृतिप्रेमी मानिसको सान्निध्य यी सबैले जीवनभरि मलाई प्रभावित पारिरहे । ‘पकी’ मा गीत सङ्गीत गुञ्जिरहेका बेला भेटिएका दुई कालजयी शिल्पी विष्णु राभा र फणी शर्मालाई पनि श्रद्धाका साथ स्मरण गर्दछु । यी त्रिमूर्तिका प्रेरणादायक सान्निध्यले मेरो कमलो मनमा सीमाहीन उत्साह जन्माई मेरो निमित्त सङ्गीतको एक उज्यालो र आनन्दको दैलो उघारिदिएको थियो । त्यसर्थ साहित्य, शिक्षा, संस्कृति सबै क्षेत्रबाट हाम्रो प्रेरणाको थलो, सुन्दर सेवी र कर्म उद्यमी अध्यवसायीहरूको बसोबासको भूमि ऐतिह्यमण्डित तेजपुरलाई पनि श्रद्धासहित प्रणाम चढाउँछु ।

तपाइँको प्रतिक्रिया