आइतबार, असोज ३१, २०७८

एक जोर नाङ्ला

युवराज नयाँघरे२०७८ असोज २४ गते १३:१८

‘लौ हेर, के गरेकी तिम्ले !’ बिन्तीको चास्नीले घोलेर महारानीलाई हप्काएँ मैले । यो नाङ्लो हात पार्न मैले ज्यान निचोर्नु परेथ्यो । खुट्टाका पाँसुला बटार्नु परेथ्यो । पैतालामा खिल गाड्नु परेथ्यो । कति नङ खियाउनु परेथ्यो । कति खेप औँला दोब्राउनु परेथ्यो ।

‘के गरेकी तिम्ले ?’ म बोलेँ पनि ।

उनले त फिस्स हाँसेर आगो फ्याँकिन्— ‘जाबो !’

कति सजिलै उनले मेरो पौरखलाई माटैमा मिलाइन् । बालुवाका बोरामा घोलघाल गराइन् । इँटा, इँटै हो । बालुवा र माटैमा फरक हो नि । उनले सजिलै एकै पारिन्— पित्तल र सुन एउटै भनिन् ।

मान भएन भनेर मान्छेको हुल आज धुपबत्ती गर्ने पैसो दिन्छन् रे । खातिर गरिएन भनेर मान्छेको जत्था पूजाआजा गर्ने नोट गन्छन् रे । मनितो भएन भनेर कतिले अगुल्टो सल्काउने धनको पुल्ठो थमाउँछन् रे । मैले त यी सुने मात्र । छेउकुनै पर्नु परेन ।
अनि पो नाङ्ला हात परेथे । तिनै नाङ्लामा माला थिए । खादा थिए । राम्रा–राम्रा बिल्ला थिए । रिबन र राता धजाले मोरिएका गोला–गोला ब्याज थिए ।

महारानी बलिया–बलिया नाङ्ला पाएर खुशी थिइन्— जूनतारा बलेजस्तै उज्याली । म आफ्नो इज्जत फक्राउन हिँडेको मानिस खग्रास ग्रहणले छोपिएको सूर्य झैं अँध्यारिएको थिएँ । कारण त्यही थियो— मैले पाएको नाङलो नाचेको–नाचेकै थियो महारानीको हातहातमा ।

०००

महारानीले सिन्की सुकाइन् । गुन्द्रुक फिँजाएर घाममा राखिन् । मैले कति मान र इज्जतसँग पाएका ती नाङ्ला घाममा सुकाइछन् । त्यै नाङ्लामा बेसार, जीरा र ज्वानो निफन्न भ्याइछन् । मेथी, अलैँची र जिम्मु फिँजाउन भ्याइछन् । म हेरेको हेरेकै भएँ— मेरो नाङ्लो यतिखेर कक्रिएर सुतिरहेथ्यो ।

नेताको नाक हेरेर मैले बल्ल यो नाङ्लो पाएथेँ । अभिनेताको कान हेरेर बल्लतल्ल यो नाङ्लो भेटेथेँ । यो नाङ्लो हत्याउन मैले कति धेरै भजन गाउनु पर्‍यो । भोजन पनि मनग्गे गराएकै हो मैले ।

भोजन र भजनकै प्रतापले यो नाङ्लो मैले पाएको थिएँ । पाएकै दिन भित्तामा टाँसे । त्यो टाँस्या दिन पिता, पुर्खा र दर सन्तानसम्म जोडेको थिएँ । श्राद्ध र सराद्धे दुबैलाई साक्षी राखेको थिएँ । यो ठूलो–ठूलो सम्पत्ति ठानेको थिएँ ।

त्यो नाङ्लोमा मेरो उमेरको लगत थियो । मेरो कला थियो । मेरो हात माड्ने सीप, बोली घुमाउने क्षमता, आँखा सन्काउने तागत, कुरा बटार्ने बल र मान्छे ढलाउने कलाको वर्णन थियो । साह्रै ठूलो यत्नसँग त्यो नाङ्लो आएथ्यो मेरो घरमा ।

०००

समाजमा अचेल करोड घटीका चुट्की मार्दैनन् । मान्छेले एक शब्द बोल्न दश खर्बको लाभ हेर्छन् । सय र हजार झाडी पसे । लाख र करोड वर आए । उनान्सय वरका रुपियाँसँग मान्छेको नाता छैन कुनै पनि । छ त लाख र करोडसँग छ गहिरो र पिण्डपानी दिने सम्बन्ध ।

जति धेरै अङ्क भयो— खुम्चेर खित्का बस्यो । खित्का खुम्चिनु र हृदयको मुजा थन्किनु भनेको डाक्टरको घर–घर धाउनु हो । बिस्तारै त्यो धाउने कला पनि सुस्ताउँदो रै’छ । अनि दुनियाँदेखि वाक्कव्याक्क हुनु हो । कुच्चिएर आफैंसँग थल्लिनु हो ।

मैले नाङ्लोको रङ उडेको देखेपछि सबै कुरा देखेँ— रोगाएको, सढेको र गलेको । मैले नाङ्लोमा बिट खुस्केको देखेपछि भेटेँ— समाजको हृदय पातलियो, खस्कियो र लच्कियो ।

०००

कपालमा रङ दल्नेको फुर्ति बढेकै छ हिजोआज । त्यो फुर्तिले धेरैलाई अल्मलाउन, झुक्याउन, घुमाउन र लडाउन सकेको कुरा सुनिरहेकै छु म ।

त्यो नाङ्लोमा मेरो उमेरको लगत थियो । मेरो कला थियो । मेरो हात माड्ने सीप, बोली घुमाउने क्षमता, आँखा सन्काउने तागत, कुरा बटार्ने बल र मान्छे ढलाउने कलाको वर्णन थियो ।

मलाई नाङ्लो दिने बेलामा भनियो—‘तपाईंले घिउमा तितो मिसाउनु भएन । तपाईंले महमा टर्रो घोलघाल गर्नु भएन । तपाईंले खल्लोलाई गुलियोमा मिसमास पार्नु भएन ।’ ‘अनि किन यो नाङ्लो दिएको त ?’

‘सत्य जे हो— तपाईंले त्यै भन्नु भो, बोल्नु भो, लेख्नु भो । अनि यो सुनको थाली दिन नसके पनि गुयेँलाको फूल दिएको !’

‘लौ त लौ । उल्कै भएछ !’

यति भनेर थापेँ नाङ्लो । ल्याएर झुन्डाएथेँ घरको भित्तामा । अनि फैं रमाउँथेँ । घरी–घरी सर्माउँथेँ । पटक–पटक फन्केर लजाउँथेँ । आफ्नो सत्यवादी र सही बाटो देखेर । आफ्नो पसिनाको तागत र क्षमता हेरेर ।

अरुले नोटका भारी बुझाएर मनितो पाएथे । मैले त आफैं कमाएथेँ बाँसको नाङ्लो । मैले त आफ्नै बलबुताले पाएथेँ— बेतको नाङ्लो ।

०००

घरका भित्तामा कीला खोप्न नपाउँदा— यो नाङ्लोले हुनसम्म दुःख पायो । डेराको बास थियो । घरपटीले सधैँ कर्के नजरले हेरेर भनिरहे— ‘नाङ्लो निफन्ने र केलाउने कामका लागि हो नि !’

‘भित्तामा राख्नु नाङ्लोलाई मार्नु हो । उसको इज्जत माटोमा गाड्नु हो ।’
म साहू थिइनँ । उनी आसामी थिए । उनले भने बमोजिम नाङ्लो झुन्डिएन— भुइँमा, कुनामा वा कतै चेपचापमा ढुस्सिएर बसिरह्यो ।

नाङ्लो राख्न दरबार बनाउनै पर्ने भो । बैङ्क, सहकारी, आमा समूह वा वित्तीय संस्थालाई मैले तीन पुस्ते लेखेकै हुँ । आफ्नो ज्यान गरुँगो पारेकै हुँ । धेरै ठाउँमा फूलको थुँगा भएर उभिएकै हुँ ।

अनि बल्ल घर बनेको थियो । त्यै घरमा आँगन बनेन । फूलबारी बनेन । करेसाबारी र पूजाकोठा नि बनेन । जे–जे नबने पनि आफ्नै सास गुजुल्टिएर आफूतिरै फर्केर बँचाएकै थियो ।

नाङ्लो राख्न दरबार बनाउनै पर्ने भो । बैङ्क, सहकारी, आमा समूह वा वित्तीय संस्थालाई मैले तीन पुस्ते लेखेकै हुँ । आफ्नो ज्यान गरुँगो पारेकै हुँ । धेरै ठाउँमा फूलको थुँगा भएर उभिएकै हुँ ।

यो घर मेरो शहरको थियो । देशको मुटुको थियो । राजधानीको मूल्यवान जग्गामा थियो । संसारमा हलुकिएको तर काठमाडौँमा महँगिएको ठाउँमा थियो ।

०००

नाङ्लो आएको दिन हजार सूर्य अनुहारमा ओर्लियो । त्यो खुशीमा आफ्ना रमाए । सन्तान, नातागोता र कुलकुटुम्ब उस्तै उज्यालिए । ठूलै प्रताप जस्तै भएथ्यो । सबै जना चौबीसै घन्टा त्यसकै गफगाफमा मग्न थियौँ । ओर्काईफर्काई त्यसकै कुरा हुन्थ्यो । नाङ्लोले हम्किन पाएकोमा रमाइलो पनि बेस्सरी भयो । घमाइलो त त्यसै हुने नै भइरहेथ्यो । सबैको खुशीले सोहोरिएर आएको थियो यो घर ।

थुकले मुख धुनेहरुको हुलभन्दा परै थिएँ म । मलाई आफ्नै पसिनामा खलबलिएको खुशीले अँगालै हालेको थियो । म साह्रै लडेर पौरख कमाइरहेथेँ । मैले पौरखलाई आफ्नै–आफ्नाको अरिङ्गाले हुलले चिल्न खोजेको–खोजेकै थियो ।

यही बीचमा नाङ्लो आयो । ‘अब यो नाङ्लोले धपाएर सबै अच्छ्यु, बच्छ्यु, अरिङ्गाल, भुसुना र डाँसलाई तह लाउँछु !’

यति भनिसक्दा म घेराबन्दीमा परिहालेछु । मलाई चारै दिशाबाट छेकारो मारेर लछारपछार पारे । अरुको तामदान र घचेडाघचेडले के गल्थेँ म । बोलिहाल्थेँ म— ‘तामा, पित्तलको थाल हैन । नाङ्लो हो नाङ्लो !’ ‘अहिले बाँसको छ । पछि सुनकै होला । हेरी मात्र राख !’

मैले यो चम्काएर दुनियाँको सामु गलाएकै हो । ओठको मुस्कान खोस्न आँसु उमारिदिएकै हो । ओखतीले ज्यान सुकाओस् भनेर नशा तन्काएकै हो ।

०००

‘वास्तु शास्त्र मिलेन है !’ नाङ्लो झुन्डाएको दिन भुराभुरीले यसै भने ।
मलाई पसिना चुहाउँदा, दाह्रा किटी–किटी काम गर्दा, उछेरो आई–आई नङ्ग्रा खियाउँदा साइत पनि हेर्नु परेन । भद्रो नहेरी मैले काममा जोतिनु पर्‍यो । अनि पो नाङ्लो आइलाग्यो ।

होहल्लाको पछि कुदिरहन्छ आजको संसार । हल्लाको गल्ला खोलेर बस्नेहरुको कमी छैन देशदुनियाँमा । जोखना र चिना नहेराई ओखती पनि नखाने कालबेला मुख बाएर भँडारसम्मै आइरहेको छ । माथि मटानबाट जतिसुकै कन्पारो फुट्ने गरी कराए पनि भित्रिइसकेको ‘दादागिरी’ लाई रोक्ने कसले ?

मैले नाङ्लो झुन्डाउन खोज्दै त्यस्तै हेपाहा चालामाला खेपेकै हो । भोग्नु परे पनि मैले आफूलाई सानो, मसिनो र खिरिलो बनाएर काम फत्ते गरिछाडेको थिएँ । तर छिनमै हारमा गएर गाँसियो मेरो जीत ।

पट्याँस ट्याँस–पट्याँस ट्याँस ! ओहो, महारानीले नाङ्लो चलाइरहिछिन् । केलाई–कुलाई र हात चलाएर निफननाफनमा उनी असिनपसिन थिइन् । पूँजीवाद, विस्तारवाद, विसर्जनवाद र साम्राज्यवादका सबै पगरी धुलोपीठो भएर त्यै नाङ्लामा सुकेको धुलो भएर टकटकी रहेथे।

महारानीलाई भ्याई–नभ्याई थियो— छिनिक–छिनिक छिन्कन । फ्याट्ट–फ्याट्ट निफन्न ब्यस्त उनका हातले नाङ्ला नाचिरहेथे यताउता ।

ठानेँ मैले— ‘दुनियाँ नाँच्छ । म किन त ननाचुँ !’ भित्ताको नाङ्लो आएर घाममा उत्तानाचित खाइरहेथ्यो । त्यसको अन्नपात खाएर चराले रित्याएछ । हावाले गुडाएर नाङ्लो गुडेछ सरर्र ।

पट्याँस ट्याँस–पट्याँस ट्याँस ! ओहो, महारानीले नाङ्लो चलाइरहिछिन् । केलाई–कुलाई र हात चलाएर निफननाफनमा उनी असिनपसिन थिइन् । पूँजीवाद, विस्तारवाद, विसर्जनवाद र साम्राज्यवादका सबै पगरी धुलोपीठो भएर त्यै नाङ्लामा सुकेको धुलो भएर टकटकी रहेथे।

०००

आमाकी बुहारीसँग सम्बन्ध नचिसियोस्, यस्तै सोचेँ । आमाकी बुहारी ताती नरहून्, यस्तै ख्याल गरेँ । अनि पो ती भइन् मेरी महारानी । उनका हरेक नीति, नियम र कानुनले यो आँगनमा फूल फुल्छ । उनको बोलीवचन र रेखदेखले यो धारोमा पानी चुहिन्छ । अगेनामा बलेको आगोले ठूलठूलो ज्वाला हुरहुर्रिएको त ऊ बेलैदेखि हो । आजभोलि त ती घिउ, तेल, तिल वा पेट्रोलसम्म पोल्टामै बोकी हिँडेका हुन्छन् ।
नफकाई भो त अनि मैले ।

‘लौन, के गरेकी महारानी त्यस्तो ?’ रिसलाई पिएर शितली पानी खुवाउँछु । ‘के भो र ?’

नबोले पनि त्यस्तै भामरी छुटाउने उत्तर उनका आँखामा उम्लिइरहेकै हुन्छन् । शरीरका सबै अङ्गले कुन पुस्तादेखिको रिस फेरिरहेकै हुन्छन् । म देखे पनि अन्तै आँखा लगेर कर्के नजरबाट पढिरहेकै छु महारानीलाई ।

‘कत्ति दुःखले पाएको नाङ्लो किन भुइँमा उतारेकी ?’ यत्ति भन्न मन छ । अरु भनिहाल्ने आँट न शक्ति । उमङ्ग न जोस । कला न शिल्प । अथवा बल न क्षमता मेरो— प्रतिकार गर्ने ।

महारानीले सर्वाङ्ग हेरेर देउता चढाइन् आफूमा । त्यो देउता आङमा चढेको ज्यान आगोमा कदाइन् । आगोमा खली खाएका तन्नेरी बर्कुसी मारे झैँ म एउटा पाखामा उभिएर हेरिरहेँ …. हेरिरहेँ …..

०००

‘खुब लेख्यौ तिमीले होइन ? जाबो !’ ‘यो नाङ्लोमा जिम्मु सुकाउँछु । त्यसले ओखतीको काम गर्ला । म गहत सुकाउँला । त्यसले तिम्रो दादुरा निको पार्ला । म बेसार सुकाउँछु । तिम्रो तरकारी स्वादिलो पार्ला । म अदुवाको सुठो सुकाउँला । तिम्रो भान्सा चखिलो पार्ला । म सिन्की सुकाउँछु । तिम्रो जिब्रोमा स्वाद पार्ला ।’

महारानी तातो तेलमा पानी थोपा पड्के झैं गम्कन छोडिनन् ।‘तिमीले पाएका खादा कोचेर सिरक बनाउँछु । रङ्गीबिरङ्गी खादाको सिरक ओड्दा सपना पनि त्यस्तै मीठो–मसिनो होला !’

‘तिम्रा सम्मान–पत्रमा म ओखती पोको पार्छु । बिहान, राति, साँझ र मध्यान्हमा खाने ओखतीको पुरिया पार्दा सजिलो हुन्छ मलाई ।’

महारानीका कुरा सुन्नु पर्छ मैले । ‘सिरक बनाउन नभए पनि दोसल्लाको खोल हाल्छु म । खोल नहाले अर्को साल सिरक बनाउन महँगो पर्छ । तिम्रा कविता, गीत, निबन्ध, नाटक र गजलले छापिएका पैसाले अझै दस वर्ष सिरक किन्न सकिन्न ।’

एउटा नाङ्लोमा चामल सुकाइएथ्यो । अर्को नाङ्लोमा दाल बिस्कुन हालिएथ्यो । महारानी बलिया–बलिया नाङ्ला पाएर खुशी थिइन्— जूनतारा बलेजस्तै उज्याली । म आफ्नो इज्जत फक्राउन हिँडेको मानिस खग्रास ग्रहणले छोपिएको सूर्य झैं अँध्यारिएको थिएँ । कारण त्यही थियो— मैले पाएको नाङलो नाचेको–नाचेकै थियो महारानीको हातहातमा ।

बरु मेरो अर्चना गर्ने भए चाल्नीमा गर्नु होला— जहाँबाट म यो संसारको सबै खाले छिद्रलाई हेर्न सकुँ ।

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक