आइतबार, असोज ३१, २०७८

वाल्यकालको संझना र बितृष्णाको दीयो जलाउने प्रवाशीको दशैं

अनुराधा पौडेल२०७८ असोज २५ गते १०:५५

इमेज स्रोत-धनसन्चार डट कम

पेरिसमा पनि दशैं छ । दक्षिण एसियामा जस्तै । भारत देखि भुटान, बर्मा देखि कम्बोडिया । बंगलादेश देखि पाकिस्तानका हिन्दु गाउँहरुमा कतै नवरात्रीका नाममा कतै दूर्गा पुजाका नाममा त कतै दशहरा या बिजया दशमीका नाममा । युरोपमा कुनै कुनै वर्ष त क्यालेन्डरमा दशैं आउँछ र पाना पल्टिँदा दशैं पनि लुत्त गइहाल्छ । अक्सर बिद्यार्थी र एकल परिवारको मन हुनसम्म बिथोलेर लैजान्छ दशैंले ।

यतै हुर्केको पुस्तालाई दशैं भन्दा क्रिष्मस प्यारो किन लाग्छ भने उनीहरुको पर्व चोक चोक हुँदै रुख चढेर घर भित्रिन्छ । सानो समुदाय भएकोले हाम्रो पर्व नदीमा खोला मिसिए झैँ अतिक्रमणको चपेटामा छ । हामी इत्रुको नेपाली समुदायले नेपालमा जस्तो घर घरमा, टोल टोलमा, चोक चोकमा, समुदायमा र देशैभरी दशैं आएको देख्ने अवसर यता मिल्दैन । उता रातो माटोले पोतेको र कमेरो छर्केको घरमा घरको सदस्य टुप्लुक्क आउँदा आमाहरुको ह्दयमा खुसीको बत्ती बल्छ । यता उतैको संझनामा बितृष्णाको दीयो जल्छ ।

नेपाल छाडेपछि मैले सबैभन्दा ‘मिस’ गरेको कुरा भनेको दशैं र तिहार हो । सत्र वर्ष अगाडि पेरिस आएको मैले दशैं तिहार मानेर आएकी थिएँ । म त्यो बेला अभिभावकको जिम्मेवारीमा थिइन । छोरी र बुहारीको हैसियतमा थिएँ । त्यसैले मैले पेरिस पुगेपछि पूजा पाठकालागि अभिभावकीय जिम्मेवारी लिनुपर्ला भनेर सोचिन । पुजागर्न त त्यति जानेको पनि थिइन । नेपाल छाड्ने बेला पूजा पाठकालागि चाहिने न्यूतम सामाग्रीहरु बोकेर जानुपर्छ भन्ने हेक्का पनि भएन । अक्षता मोल्ने अबिरै नभएपछि र पुजा गर्ने सामान नै नभएपछि दशैं केहि न केहिको भयो ।

कुनै कुनै वर्ष नेपाली दुताबासले अभिभावको भूमिका ग्रहण गर्दा दशमीको टीको लगाउन पाइयो । तर अचेल आफ्नो परम्परा र संस्कृति भनेको आफैंले जगेर्ना गर्ने हो भन्ने लागेको छ । नत्र त छोराछोरीहरुले पनि आफ्नोलाई भुलेर अरुकोलाई आफ्नो बनाउने रहेछन् । हामी यता नहुर्केकोले यताको जस्तो गरी यताको चाडबाड मनाउन जानिंदैन र कतिपय बेला अरुका धार्मिक रितिरिवाजहरु अक्षरस पालना गर्न पनि मनले मान्दैन । नेपालमा मठ मन्दिरमा देउता ढोगेका हामीहरुलाई देउता नभै पर्व रित्तो हुने रहेछ ।

टीका थापिसकेपछि एकाध घन्टा गाउँ डुलिसक्दा सबैको घरमा टीका लगाइन्थ्यो । हामीलाई दिने दक्षिणा बढीमा एक रुपैयाँ कट्दैनथ्यो । केहि मोहर र केहि सुकामै दशैं कट्थ्यो । पछि एसएलसी दिने बेलासम्म हाम्रो दक्षिणाको भाउ बढेर दुइ या तीन रुप्पेसम्म भएको थियो ।

म हुर्केको गाउँ सँस्कृति या रितिरिवाजले भरिपूर्ण गाउँ थिएन । नजिकको ठूलो शहर पोखरा थियो जहाँ आइपुग्न कम्तिमा पनि ६ घन्टा बाटो हिड्नुपर्थ्यो । बजार बिहिन आफ्नै पुस्तेली गाउँ भएकोले हाम्रा साथी पनि हुँदैनथे । कि हुन्थे दाइभाइ कि हुन्थे दिदीबहिनी । अत्यधिक पारिवारिक माहोलको गाउँमा शक्ति पिठहरु नभएकोले लावा लस्कर लगाएर पूजा गर्ने चलन पनि थिएन । टपरीमा राखिएका जमरा मजेरीका कुनामा हुन्थे र बिहान बेलुका यसो दीयो जलाउने र दुइ चार लाइन दूर्गा स्लोकहरु हाल्नु बाहेक थप विशेष पुजा पनि हुँदैनथ्यो ।

अष्टमीका दिन भने सबैका घरमा खसी काट्ने चलन थियो । एकदमै थोरै घरमा मात्र खान नपुग्ने समस्या थियो । हाम्रो गाउँ बेसीमा भएकोले पुराना लमजुङे र कास्कीका राजाको कोट गरी दुइतिरका कोटहरुमा टीकाको बढाइँ गरेको चाहीं सुनिन्थ्यो । बढाइ सुनेपछि हामीलाई टीकाको साइत आइसकेको थाह हुन्थ्यो । टीका थापिसकेपछि एकाध घन्टा गाउँ डुलिसक्दा सबैको घरमा टीका लगाइन्थ्यो । हामीलाई दिने दक्षिणा बढीमा एक रुपैयाँ कट्दैनथ्यो । केहि मोहर र केहि सुकामै दशैं कट्थ्यो । पछि एसएलसी दिने बेलासम्म हाम्रो दक्षिणाको भाउ बढेर दुइ या तीन रुप्पेसम्म भएको थियो । आइए पढेर गएपछि पाँच रुप्पे भयो र बिहे गरेर गएपछि पचास रुप्पे । पैसा बटुल्न मन भएकाहरु पल्लो गाउँतिर टिका थाप्न गएपनि हाम्रा चार पाँच घरमा भने दक्षिणाकालागि पल्ला गाउँहरु जानु असाध्यै लाजको विषय बन्थ्यो । बिहे गरेर गएका दिदिहरु र भिनाजुहरुलाई भने राम्रै दक्षीणा मिल्थ्यो । यसकालागि बुबाहरुले नयाँ नयाँ नोट साटेर राख्नुहुन्थ्यो ।

टीका लागाइवरी ससुराली या माइती जानेहरु गएपछि दिनभर गाउँ सून्य हुन्थ्यो । अनि बेलुका पख फेरी भान्जा भान्जी छोरी चेली र ज्वाइँहरुले गाउँ ढाकिन्थ्यो । हामी बाहुनहरुको बस्तीमा टीका केवल एक दिन मात्र लगाइन्थ्यो र त्यो दिन बेलुका उल्कै चाप पर्थ्यो । समग्रमा हेर्दा दशैं यति नै थियो । तर दशैं आएपछिको महिला पात्रहरुको व्यस्तता कहिलेकाहीं अस्तव्यस्तामा परिणत हुन्थ्यो ।

हाम्रो पालोमा छोरीहरु स्कूल जाने चलन भर्खर भित्रिएको थियो । हामीहरु स्कूल जानुपर्ने भएपछि हाम्रा हरमा सदैव स्कूले लुगा हुन्थे । निर्वाहमुखी जनजिवन भएकोले दशैं आयो भन्दैमा हामीलाई बजारका झिलिमिली लुगा किनिदिने चलन थिएन ।

स्कूले जीवन जति रमाइलो जीवन त अरु बेला फर्केर आउँदैन । दशैंमा १५ दिनको छुट्टी हुन्थ्यो । छुट्टी हुनु पूर्व नै यो दिन कमेरो लिन जाने भन्ने सल्लाह हुन्थ्यो । डालो बोकेर डेढ दुइ घन्टा पर गएर कमेरो ल्याउनु एकातिर थकाइ लाग्ने र अर्कोतिर रमाइलो क्षणपनि थियो । अरुको खेतका कान्लामा रेहका कमेरो खोस्रँदा शायद जग्गा धनीलाई मर्का पर्दो हो । तर पनि ति ज्ञानी जग्गाधानीहरुले कमेरो सित्तैमा लग्न दिन्थे । कमेरोको जोहो गरेर मात्र पुग्दैनथ्यो । रातो माटो पनि खोज्न पर्यो । रातो माटो पनि अरुकै बारीमा पारिएका साना तिना खाल्डा खाल्डी खोस्रेर जम्मा पार्यो । रातो माटोले पुगेन कालो रँग पनि चाहिने झ्याल ढोका सृगार गर्न । अनि खोटो पकाउन पर्यो । घरमा बुहारी नभएका र छोराछोरी सानै भएका आमाहरुकालागि यो काम असाध्यै सकसपूर्ण हुन्थ्यो ।

घर बाहिरको लिपपोत त अर्कै छ । तर घरभित्रको लिपपोत पनि उत्तिकै महत्वपूर्ण हुन्थ्यो । दशैं भनेको धान मात्र होइन पाखो बारीमा रहेका भट्ट तथा मासहरु उखेल्ने र कोदो टिप्ने समयको पूर्व तयारी पनि हो । घरमा रहेका पुराना भकारीहरु रित्ताएर एउटै भकरीमा खनाउनु र पुत्लाले धान खाएकोमा दुख मनाउ गर्नु, सकिन आँटेका मसिनो अनदी तथा चिउरा बनाउने धानहरु बोरामा सार्नु, पुराना गुन्द्रीहरु टालटुल पारेर साना साना भकारीहरु बनाउनका लागि ठाउँ तयार गर्नु, मास तथा भट्टमासका घैँटा या बाँसका साना पटेराहरु पोत्नु, चुक अमिलो राख्नकालागि माटोमा साना भुँड्काहरुको हालचाल बुझ्ने समय पनि दशैं बिदामै पर्थ्यो । यिनलाई सहि सलामत राखेपछि तलाहरुको भित्तामा मुसाले पारेका गूँडहरु टाल्नु र भूँइको लिपपोत पनि यहि समयमा पर्थ्यो । सुत्ने कोठाहरुमा बिच्छाइएका गुन्द्री, काम्ला, डसना, सिरक सुकाउने तर धुन मिल्ने जति लुगा खरानीको बाहान बसालेर धुने समय पनि यहि पर्थ्यो । पछि भने घर घरै पानी आयो र सावुनको उपलब्धता पनि भयो । साबुन घर घरमा पुग्न थालेपछि लुगा धुनपनि सजिलो भयो । खोलातिर झरेर भएभरका लुगा धुनु, खोला बगरमा लुगा सुकाउनु पनि रमाइलो काम भित्रै पर्थ्यौ ।

यतिमा मात्र आमाहरुको काम कहाँ सकिन्थ्यो र ! दशैं भनेको मीठो मसिने खाने समय हो । मीठो भनेको तरकारी मासु र मसीनो भनेको मसिनो धानको भात ! यहि बेला घरमा रहेका लामे, गौरीया या अन्य मसिना या स्वादिला बास्नादाहरु चामल हुने धान सुकायो, तिनलाई कुटेर डालाभारी चामल बनाई राख्ने चलन पनि थियो । हाम्रो गाउँमा धान कुट्ने मेशिन धेरै पछि भित्रियो । नत्र ढिकीमै धान कुट्नु पर्थ्यो । मेशिनमा धान कुट्न पनि कम्तीमा एक घन्टा ढाडमा बोकेर धान लगिन्थ्यो । जाँदा एक घन्टा पालो कुर्दा एक घन्टा र घर फर्कँदा एक घन्टा । कम्तीमा तीन घन्टा समय १२ देखि १५ पाथी धान कुट्नकालागि खर्च हुन्थ्यो । दशैंमा १५ पाथी मात्र धान कुटिन्थेन । केहि चामल जोहो गरेर राख्ने चलन थियो । अझ म धेरे नै सानी हुँदा ओखलमा चिउरा कुट्ने पनि चलन थियो । चिउरा कुट्ने मानिसको अभाव हुदै गएपछि भने चिउरा बनाउने चलन हराउँदै गयो । केहि घन्टा हिडेपछि बजार पनि भेटिने र बजारमा चिउरा पनि किन्न पाइने भएपछि भने यो चिउरा बनाउने दुख हराएर गयो ।

आमाहरु दुरदर्शी हुन्थे । दशैंका अष्टमी, नवमी र दशमीकालागि भनेर छिटै भारि पुग्ने घाँसे कान्लाहरु यतिकै छाडिराख्थे ताकि छिटो काट्न सकियोस र सजिलो गरी भारी पुगोस ।

युरोप आएपछि ठाँटीको बिस्तारीत रुप यतातिरको ‘कम्युनिटी हाउस या कम्युनिटी हल’ रहेछ भन्ने जान्न पाइयो । हाम्रो गाउँको ठाँटी मुन्तिर हलो जुवा रोटे पिङका सामान डल्लेठो के के हो के के राखिन्थ्यो भने यतातिरको कम्युनिटी हाउसमा कूचि टेबुल राखिने रहेछ ।

त्यसो त, दशैंका बेला स्कूले छुट्टीको समय पारेर आमाहरुले दाउराका खालहरु पनि टकटकाउन भ्याउँथे । वर्षातले रुझेका दाउराका चाङबाट कुहे मुहेका दाउरा छाँट्छुट पार्ने र काम भियाउने चलन पनि त थियो ।

हाम्रो पालोमा छोरीहरु स्कूल जाने चलन भर्खर भित्रिएको थियो । हामीहरु स्कूल जानुपर्ने भएपछि हाम्रा हरमा सदैव स्कूले लुगा हुन्थे । निर्वाहमुखी जनजिवन भएकोले दशैं आयो भन्दैमा हामीलाई बजारका झिलिमिली लुगा किनिदिने चलन थिएन । पछि म बिहे भएर तराइ गएपछि भने हाम्रा घरमा दशैंमा लुगा हालिदिने चलन बाँकी नै रहेको देखेँ ।

दशैंमा बुवाहरु र दाइ पात्रहरुको काम बाटो फाँड्ने, भत्केका बाटोहरु सम्माउने र मिलाउने, पहिरोले थुनेर बाँगिएका कुला कुलेसाहरुलाई पूर्व आकार दिने, पिङ हाल्ने सामाग्रीहरु जोहो गर्ने र गाउँका लागि चाहिने नयाँ बिकासे योजनाहरु तर्जुमा गर्ने हुन्थ्यो ।

एक वर्ष हाम्रो गाउँमा एउटा ठाँटी बनाउने निर्णय भयो । ठाँटीका मुन्तिर गाउँका साझा सामाग्रीहरु राख्ने र माथिको तलामा बैठक बस्न मिल्ने सामुहिक हल बनाउने । यो ठाँटी बनाउनेताका लाहुरे बा आँगनका डिलमा बसेर, « ओतो छैन, पोतो छैन, सल्लाह छैन, केहि छैन, त्यसै ठाँटी बन्छ मोराहरु हो » भन्दै कराइरहनुहुन्थ्यो । केहि समय पछि हाम्रो गाउँमा ठाँटी बन्यो । युरोप आएपछि ठाँटीको बिस्तारीत रुप यतातिरको ‘कम्युनिटी हाउस या कम्युनिटी हल’ रहेछ भन्ने जान्न पाइयो । हाम्रो गाउँको ठाँटी मुन्तिर हलो जुवा रोटे पिङका सामान डल्लेठो के के हो के के राखिन्थ्यो भने यतातिरको कम्युनिटी हाउसमा कूचि टेबुल राखिने रहेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक