बुधबार, वैशाख १२, २०८१

‘एनआरएनएको विवाद समाधान गर्न संरक्षक परिषद तयार’

नेपालप्लस संवाददाता / बेलायत२०७८ असोज २५ गते २१:१४

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले संघमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवाद समाधान गरी नयाँ निर्वाचन समेत गराउन संरक्षक परिषद तयार रहेको बताएका छन् ।

बेलायतको अल्डरशटस्थित एनआरएनएको नयाँ कार्यालय आइतबार उद्घाटन पछि बोल्दै उनले त्यस्तो बताएका हुन् ।

आइतबार नै एक विज्ञप्ति जारि गर्दै गैर आवासीय नेपाली संघले परराष्ट्र मन्त्रालयको सुझाव अनुसार अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्व निर्धारित १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गरिएको जनाएको थियो ।

संरक्षक परिषद्मा घलेसँगै पूर्व अध्यक्षहरु डा उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन, भवन भट्ट तथा पूर्व संरक्षक राम प्रताप थापा रहेका छन् ।

प्रमुख संरक्षक घलेले भने, “यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केहि भयो भने आउँदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गर्छौं । महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।”

कार्यक्रमलाई सम्बोधन गर्दै घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघ जस्तै मोडेलमा लग्नुपर्ने सुझाव दिए ।

उनले भने ‘अमेरिका, युके, अस्ट्रेलिया र जापान गैर आवासीय नेपाली संघका चार ओटा पिलरहरु हुन् । यो एउटा संस्था मात्रै होइन, एउटा संजाल हो । अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) नेपालमा दर्ता भएकाले उसले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुसँग समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्छ र त्यस्तो समझदारीपत्र फरक फरक पनि हुन सक्छ ।“

शेष घलेले आफ्नो कार्यकालमा तयार पारिएको भिजन २०२० एण्ड बियोंड भन्ने दस्तावेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे । उनले वर्तमान नेतृत्वले एनआरएनएका पंजीकृत सदस्यहरुलाई बेवास्ता गरेको बताए । घलेले एनआरएनएलाई ‘लाईफ टाइम मेम्बरसीप’ब्को अवधारणामा अघि बढाउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको जनाइन् । उनले नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसँग छलफल गरि बुझाउन आग्रह पनि गरिन् ।

कार्यक्रममा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१-२३ का लागि महासचिव पदका उम्मेदवार डा। केशव पौडेल, कोषाध्यक्षका उम्मेदवार रञ्जन त्रिपाठी, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमको सभापतित्व एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले गरेका थिए।

तपाइँको प्रतिक्रिया