शुक्रबार, चैत १६, २०८०

एनआरएनएको नयाँ विधानका यथार्थ र कांग्रेस नेतामा भ्रम

प्रमोद सिटौला / अमेरिका२०७८ असोज २७ गते ०:०६

एनआरएनएका जतिपनि नेताहरु नेपालमा हुनुहुन्छ, खासगरि कुलजीहरुले विधानको संवन्धमा नेपालका नेताहरुलाई ‘यो अस्तिको विधान जबर्जस्ति बनाइयो । यो बिधान हामीले मानेका थिएनौं । जति समस्या छ बिधानमै समस्या छ’ भनेर ब्याख्या गर्नुभएको रहेछ । त्यो गलत हो ।

यो अस्तिको विधान चाहिँ कुल आचार्य र मन केसी दुई जनाले सहमती गरेर बनाएका हुन् । हामी बिधान समितिका मान्छेलाईपनि बाईपास गरेर ल्याइएको हो । तपाईहरु जे जे लेखेर ल्याउनुहुन्छ हामी समर्थन गर्छौं भनेर बनाएको बिधान भएकाले त्यो बिधान पास गर्न जति अहिले आइसिसीको, कुमार पन्तको हात छ त्यतिनै कुल आचार्यकोपनि हात छ । यो कुरा नेताहरुलाई गलत भन्नुभएको रैछ ।

अर्को कुरा, डेलिगेट्सको बारेमा चाहिं अहिलेको डेलिगेट्सबाट चुनाव जितिँदैन । नयाँ डेलिगेट्स नयाँ एनसिसीबाट ल्याउनुपर्छ भन्नुभएको रैछ । त्योपनि गलत छ । उहाँहरुले सहि गरेर, आफैंले बनाएको जुन बिधान छ त्यो विधानको बारेमा त उहाँहरुले नेतालाई गलत ब्याख्या गर्नुभयो ।

मैले नेताहरुलाई यि सबै कुरा भनें । बिधान देखाएर कपीसमेत हस्तान्तरण गरिदिएँ । तर उहाँहरु केहि कुरै सुन्न चाहनुहुन्न । उहाँहरुको दिमाख यस्तो छ कि यो एनआरएनए भन्ने संस्था सबै कम्निस्टले खान लागे ।

यस्तो यसो गरे जितिन्छ भनेर कांग्रेसका उम्मेदवारहरुलाई भन्नुभएको छ । नेताहरुले त्यहि त्यहि अनुसार बोलिरहनुभएको छ । कुनै कुनै नेताहरुले उहाँहरुलाई सोध्नुभएको छ ‘के के गर्दा तपाईहरुले जित्नुहुन्छ त ?’ त्योपनि अमुक नेताहरुले । अनि उम्मेदवार बन्नेहरुले ‘यो यो गरेर जितिन्छ’ भन्नुभएको छ ।

योपनि उल्लेख गरौं । परराष्ट्रको लफडा अहिलेको यत्ति चिठीमा मात्रै रोकिन्न । अहिले भन्दा झन दबाब दिने र एनआरएनएलाई अझ धेरै संकट आउने १०० प्रतिशत पक्का छ ।

डेलिगेट्सहरुको छनौट नयाँ कार्यसमितिबाट ल्याउनु भन्नु भएको छ । त्यो कुन आधारमा, केमा टेकेर भन्नुभएको छ त ? डेलिगेट्सको संवन्धमा परराष्ट्रले उल्लेख गरेर पठाएको छ । अहिले महाधिवेशन सार्नुको पछाडीपनि परराष्ट्रकै पत्र कारक हो । परराष्ट्रले पठाएको पत्र अनुसार जाँदा कुलजीलाई १०० प्रतिशत घाटा हुन्छ । हामीपनि राजनिति गरेर आएका मान्छे । जहिलेपनि के हुन्छ भने संस्थापन पक्षले आफ्नो समय लम्ब्यायो भने प्रतिपक्षलाई घाटा पर्छ । अहिले चुनाव भएको भए कुलजी अध्यक्ष बन्नुहुन्थ्यो होला । अब ६ महिना मात्रै धकेलियो भने के ग्यारेन्टि हुन्छ ?

परराष्ट्रको चिठी अनुसार त सबै ठाउँमा उजुरि पर्छ । किनभने विध्यार्थीलाई सदस्यता नदिएको एनसिसी खोजे दुई चार ठाउँ होला । नत्र युरोप र अमेरिकातिर बिध्यार्थी सदस्य नभएको कुनैपनि एनसिसी छैन । यो म दाबीका साथ भन्न सक्छु । त्यो भएपछि सबै एनसिसीको पुनर्निर्वाचन गराउनुपर्‍यो । त्यसले कुलजीलाई फाईदा हुँदैन ।

मैले नेपाली कांग्रेसका नेताहरुलाई स्पष्ठसित भनें । तर मेरा बारेमा सुनाएका रहेछन् । कसरि सुनाएछन् भने बिधान समितिको मानिस यो सिटौलापनि हो । यसले हो बिगारेको भन्ने कुरा उहाँहरुले सुनाउनुभएको रहेछ । म गएर भेट्नासाथ नेताहरुले मलाई “तपाई विधान समितिमा गएर त्यस्तो बिधान बनाउने ?” भनेर शुरुमै झम्टिनु भयो ।

मुल कुरा शेर बहादुर दाईकहाँ गएर कुरा गर्नुभएको छ । आरजु भाउजुले ‘के के गर्दा तपाईले जित्नुहुन्छ ?’ भनेर सोध्नुभएको छ । कुलजीले जे जे गर्दा मैले जित्छु भन्नुभएको छ त्यहि त्यहि गर भन्नुभएको छ । जस्तो- उहाँको दावा के रैछ भने ४० वटा एनसिसीमा कांग्रेसका मान्छेले जितेका छन् । अनि कांग्रेसका मान्छेले नयाँ डेलिगेट्स गएपछि जितिहालिन्छ भन्ने रैछ । उहाँलाई जित्ने तरिका कस्तो आएछ भने पहिलो नेताले लेखेर लेटरहेडमा दिने बित्तिकै चुनाव जितिन्छ भन्ने रहेछ । त्यसलेपनि चुनाव नजितिने भो । त्यसपछि कसरि जितिने भो त ? डेलिगेट्समा आफ्ना मान्छे आउनुपर्ने भयो ।

यो भन्दा पहिलेको बिधान समितिको म सदस्य हुँदाखेरी सोल्टी होटेलमा यहि विधान पेश गरिएको थियो । जुन अहिले हेमराजजीले प्रस्तुत गर्नुभएको बिधान छ त्यो बेला उहाँ बिधान समितिको संयोजक हुनुहुन्थ्यो । हामी सबै मिलेर बिफल बनाएर ल्याएको विधान हो त्यो । यो विधान हुनुहुन्न भनेर । त्यहि विधान उहाँ महासचिव भएपछि पेश गर्नुभयो । उहाँ महासचिव भैसकेपछि यसो गर्दा संस्था राम्रो हुन्छ भनेर बिधान ल्याउनुभयो । त्यो विधान ल्याउने बित्तिकै हामीले त्यो बिधानका कुरा उठाउँदाखेरि अरु होइन स्वयं मन केसी र कुल आचार्यले त्यो फेरफेर, डेलिगेट्स कसरि राख्नुपर्छ सबै बनाउनुभयो । अहिले आएर अरुलाई दोष दिएर भयो ? उहाँहरुले भन्नुपर्‍यो ‘मैले त्यति बेला गल्ति गरेछु । यो विधान सर्वसम्मतीबाट पास गर्नहुन्थेन’ भनेर । कि त त्यो बिन्दूबाट शुरु गर्नुपर्‍यो । होइन भने आफैं सहमती गरेर बनाएको बिधान, रातारात बदलेको बिधान अहिले बिरोध गरेर हुन्छ ?

त्यो बिधान खासमा देशहरुलाई हेरेर बनाइएको बिधान हो । अमेरिकालाई हेरेर बनाइएको बिधान होइन त्यो ? आइसिसीको बिधानमा १ जुलाईदेखि अन्तिम जुलाईसम्म चुनाव गर्नुपर्छ भनेर लेखेको छ । तर अमेरिकाको चुनाव अघि किन सारेको ? त्यो त उहाँहरुको स्वार्थमा ल्याएको हो नी ! सत्यलाई सत्य बोल्नुपर्‍यो । चुनावमा हार जित भनेको त हुँदै गर्छ । पहिले आफूले जे भनेको त्यो गर्न नसक्ने हो भने त्यसले नेत्रित्व कसरि गर्छ ?

अर्को कुरा के भने नेपाली कांग्रेसका नेताहरुको दिमाखमा बद्रि केसी भनेको केपी ओली भन्दा ठूलो कम्युनिस्ट हो । यसलाई कुनैपनि हालतमा जित्न दिनुहुन्न भन्दिएका रहेछन् । त्योपनि नेताले भने ल स्वभाविकै हो भनौं । ल ठिक छ, त्योपनि मानियो । तर संस्थाको बिधी बिधान र परिधीभित्रै बसेर आफ्नो मान्छे, नेत्रित्व ल्याउने कि संस्थामा हुँदै नभएको कुरा पाँडे पजेनी गर्ने ?

मपनि कांग्रेसको महाधिवेशन प्रतिनिधी हो । म आफैं कांग्रेसले जित्नुपर्छ भन्छु । तर भोटर्सले, बिधानले जित्नुपर्छ भन्ने हो नी त । मैले त नेताहरु सबैलाई एक एक कपी दिएर ‘यो बिधान मैले पास गरेको होइन दाई, यो बिधान तपाइको कुलजीले पास गरेको । होइन भने बोलाउनुस् कुलजीलाई भनें ।

यथार्थमा चाहिँ नेपालका कांग्रेसका नेताहरुलाई यस्तो भ्रम छरिदिएका रैछन् कि यो एनआरएनए जितेपछि त नेपालका गाउँपालिका, क्षेत्र, जिल्ला सबै जितिन्छ । एनआरएनए जितेपछि नेपालमा सबैतिर जितिन्छ जस्तो कुरा पो गर्छन् नेताहरुले ।

‘तपाई रबीनातिर छोड्नुस् । कुललाई सहयोग गर्नुस् । यसपटक पार्टीले निर्णय गरिसक्यो । पार्टीको निर्णय भन्दा दायाँबायाँ जानुभयो भने ठिक हुन्न’ भने मलाई । सिधै भाषानै यहि प्रयोग गरे । हामीले रबीनापनि त कांग्रेस हो नी भन्ने प्रश्न उठायौं । नेताहरुले ‘रबीनाले पार्टीले भनेको सुन्नुहुन्छ । पार्टीमा छलफल भैरहेको छ’ भने । कांग्रेसको एक जना उम्मेदवार मात्रै हुनुपर्छ, मिलाउँछौं भने ।

तर नेताहरु अरु कुनै कुरा सुन्न राजि छैनन् । मेरो भनाई के भने कुल हुनुपर्छ, वा हुनुहुन्न भन्दापनि मेरो एउटै कुरामा के सरोकार थियो भने त्यो बिधान हामीले बनाएको होइन । त्यो बिधान बद्रि केसीले बनाएको हो भन्ने कुराको मात्रै मलाई चित्त दुखेको । र त्यो सहि होइन । त्यो बेला बद्रि केसीले बिधान देख्न पाएकोपनि होइन । मन केसी, कुल आचार्य र कुमार पन्त मिलेर बनाएको हो कि होइन ? बिधान पास गर्ने बेलैमा असहमती गर्नुपर्‍यो नी त । असहमत हुँदाहुँदै बिधान पास गरेको भए जुन दिन पास भयो त्यो दिनदेखि आन्दोलन छेड्नुपर्थ्यो । बिधान ठिक छैन भनेर । जे सहि छ त्यो भन्नुपर्‍यो । चुनाव जित्ने डेलिगेट्समा सबैको सरोकार छ । तर बिधान बनाउँदै गर्दाखेरीको आफूलाई सम्झिनपर्‍यो नी ।

(गैर आवासीय नेपाली संघले मंगलवार राखेको दशैं, तिहार छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले राखेको मतब्यका केहि भागलाई पछि सम्पर्क गरेर थप गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक