शुक्रबार, चैत १६, २०८०

“कुत्सित मनोभावना राख्ने केही ब्यक्तिहरुले संस्थालाई बिघटन तर्फ लैजाँदै छन्”

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २७ गते २३:२९

गैर आवाशिय नेपाली संघको विवाद उत्कर्षमा चलिरहेको र परराष्ट्र मन्त्रालयको पछील्लो पत्रले दुई वर्षमा हुने अधिवेशनलाई अन्योलमा पुर्याएको बेला अध्यक्षका एक जना प्रत्याशी कुल आचार्यले आफुहरु सबै विवादका विषयमा बसेर छलफल गर्न तयार रहेको बताएका छन ।

उनले भनेका छन- “विद्यमान विवादका विषयमा हामीहरु नेतृत्व सँगसँगै बसेर छलफल गर्न तयार छौं । तर नेतृत्वले आफ्ना गल्तीहरु स्विकार गरेर अरुको पनि अस्तित्व छ भन्ने कुरा बुझ्नु पर्दछ । सिस्टमलाई दुरुपयोग गरेर कब्जा गर्ने, जनभावना विपरित गएर प्रविधिको दुरुपयोग गर्ने जुन कार्यहरु भएका छन नेतृत्वले त्यो सच्याउनु पर्‍यो ।”

उनले थपे “गैर आवाशिय नेपाली संघ आफैंमा पवित्र छ । यसलाई हामी बचाउन चाहन्छौं । साथीहरुले झुटको खेती बन्द गर्नु पर्‍यो । तर संस्था प्रती कुत्सित मनोभावना राख्ने केही ब्यक्तिहरुले यसलाई दुरुत्साहित बनाउन खोजिरहेका छन र तिनले नै संस्थालाई बिघटन तर्फ लैजाँदै छन् ।

आचार्यले नेपालप्लससँग कुरा गर्दै भने “समयमा अधिवेशन गराउन नसक्नु अहिलेको कार्यसमितिको गम्भिर असफलता हो । संस्थालाई यो अवस्थामा पुग्नुमा वर्तमान कार्यसमितिका केही पदाधिकारीको मुख्य भूमिका छ । हामी संस्थालाई जुनसुकै अवस्थामा बचाउन चाहन्छौं । विवादहरु समाधान गर्नुको साटो अधिवेशन सार्नु गम्भिर षड्यन्त्र हो । उनले अधिवेशन पर सार्ने निर्णय आफैंमा अवैधानिक भएको पनि बताए ।

आचार्यले भने- विधानत: आइएसले एजेण्डा तयार गर्न सक्छ । अधिवेशन सार्ने निर्णय गर्न सक्दैन । प्रवक्ता मार्फत अधिवेशन सर्‍यो भन्दै झुक्याएर गरेको निर्णय वैधानिक छैन । ईतिहासमा हामी सफल भयौं अथवा असफल भयौं भन्ने लेखाजोखा यो कार्य समितिले गरोस । हारे पनि जिते पनि यो पवित्र अभियानलाई अगाडि बढाउन हामी सधैंं तयार छौं । “तर अहिलेको नेतृत्वले संस्थालाई निमिट्यान्न गराउने कार्यको मैले सधैंभरी विरोध गरिरहन्छु ।”

‘परराष्ट्र मन्त्रालय र नेपाली कांग्रेस पार्टीलाई संस्थाको आन्तरिक मामिलामा आमन्त्रण गरेको कसले हो ?’ भन्ने एउटा प्रश्नमा आचार्यले भने- “हिजो केपी ओलीले फ्रान्समा हाम्रो उम्मेदवार फलानो हो भन्दा राजनीति भएन ? आफ्ना पक्षकालाई जिताउन सुभाष नेम्वाङ, वृन्दा पाण्डे र युवराज चौलागाइँको समिती बनाउँदा राजनीति भएन ? हिजो कृषी समितिलाई कुनै प्रदेशले १० करोड रुपैयाँ दिदै गर्दा यो त कांग्रेसले गरेको हो रकम दिनु हुँदैन भनेर फोन गर्दा राजनीति भएन ? यो सबै आफुले गरेको गल्ती ढाकछोप गर्न अरुलाई राजनीति गर्‍यो भनिएको हो । विदेसमा बस्ने ८० लाख नेपालीहरुलाई बेच्ने काम भएको छ । हामीले भनेको सबै नेपालीको भावनाको संस्था, मर्यादित संस्था हो । यसो भन्दा कसरी राजनीति हुन्छ ?

आफूहरुले यो संस्थालाई प्रतिष्ठित र गरिमामय बनाउन लडिरहेको आचार्यले बताए । ‘अधिवेशन गर्न नसक्ने, निर्वाचन गराउन नसक्ने अनी आएका समस्याहरुको समाधान गर्न नसक्ने नेतृत्वले हामी यो संस्थाको नेतृत्वकर्ता हौं भन्ने अधिकार कसरी रहन्छ ?’ आचार्यको कथन थियो ।

‘तपाइहरुको अथवा यि विवादको कुनै न कुनै मिलन विन्दु त होला नि ?’ भन्ने नेपालप्लसको अर्को एउटा प्रश्नमा आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्दै अगाडि बढेर विवाद सुझाउने तर्फ वर्तमान नेतृत्व जाने हो भने फेरी मिलेर जान सकिने बताए ।

‘तर परराष्ट्रको निर्देशनका विरुद्द संस्थापना पक्ष अदालत जाने तयारी गरिरहेको छ भन्ने सुन्नमा आएको छ नि’ भन्ने अर्को एक प्रश्नमा आचार्यले भने- “अदालत जाने कुरा स्वागतयोग्य छ । त्यो कुरालाई म सम्मान गर्न चाहन्छु । तर अचम्म कस्तो छ भने गल्ती गर्ने अनी त्यसलाई ढाकछोप गर्न अदालत जाने ? अदालतले पक्कै पनि भन्ने छ यो कुरा ।”

एनआरएनको अधिवेशन प्रकृया शुरु भए देखी नै नेपाली कांग्रेसले कुल आचार्यलाई आफ्नो उम्मेद्वार बताउँदै आचार्यको पक्षमा लाग्न विदेशस्थित जनसंपर्क समितीहरुलाई निर्देशन् दिएको छ भने आफ्ना समर्थक र कार्यकर्ताहरु परिचालित गर्न एनआरएनएले छुट्याएका पाँचै क्षेत्रमा कांग्रेस नेताहरु तोकिएका छन् ।

नेपाली कांग्रेसको असोज १५, २०७८ को मितिमा चलानी नंवर ०९९ /०७८ रहेको परिपत्र अनुसार युरोप क्षेत्रकालागि सहमहामन्त्री प्रकाश शरण महत र केन्द्रिय सदस्य गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन प्रसाद जोशी छन् । अमेरिका क्षेत्रकालागि मिनेन्द्र रिजालको नाम तोकिएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिकालागि जनसंपर्क समिति केन्द्रिय विभागका अध्यक्ष गोबिन्द भट्टराई र कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा छन् । त्यस्तै, ओसियाना क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई तोकिएको छ ।

‘यो त अली बढी नै भएन र ?’ भन्ने नेपालप्लसको प्रश्नमा आचार्य भन्छन- “मैले प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्न नपाउने ? नेपाली कांग्रेस पार्टीले पूर्व पदाधिकारी, नयांँ पदाधिकारी र कोडिनेशन कमिटी बसेर गैर आवाशिय संघ सुधारका लागि, पद्दति र पारदर्शिता बनाउनका लागि मेरो नेतृत्वमा संस्थालाई अघी बढाउन निर्णय गरेको छ । प्रजातन्त्र र लोकतन्त्रलाई मान्ने एक मात्र पार्टीले गरेको त्यो निर्णयमा मैले गौरव गर्दछु ।”

आचार्यले कांग्रेस पार्टीप्रति गौरव मान्दै भने “कसैले कसैलाई समर्थन गर्ने भन्ने कुरालाई राजनीतिक रुपमा मात्र हेरिनु हुँदैन ।”

तपाइँको प्रतिक्रिया