बिहीबार, चैत १५, २०८०

फ्रान्सका मेयरलेपनि मनाए दशैं

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असोज ३० गते १५:५३

फ्रान्सको बेल इल अँ मेयर भन्ने क्षेत्रको ल पाले नगरपालिकामा नेपाली झण्डा फहराउँदै फ्रान्सेली मेयरले दशैं मनाएका छन् । उक्त क्षेत्रमा पर्ने ल पाले नगरपालिकामा नेपाली झण्डा गाडेर दशैं मनाउने कार्यक्रम नेपाली ब्यापारी प्रकाश चन्द्र पाठकले मिलाएका हुन् ।

पाठकका अनुसार बेल इल अँ मेयर क्षेत्रको ल पाले नगरपालिकाका मेयर तिबो गोल्मु नेपालप्रेमी बनेका छन् । नेपाल गएका, नेपाललाई माया र प्रेम गर्ने धेरै फ्रन्सेलीहरुलाई नेपालको माया दिलाईरहन, संझना गराउन प्रकाश पाठकले दशमीकै दिन दशैं मनाउने कार्यक्रम राखेका थिए ।

नेपाली झण्डा समातेका मेयर र प्रकाश चन्द्र पाठक

“यो नगरपालिकामा नेपाली झण्डा फहराउने मन थियो । मैले नगरप्रमुखलाई भन्दै आएको थिएँ । दशैंमा नेपाली झण्डा नगरपालिका कार्यालयमै फहराएर दशैं मनाउन मेयर सहमत हुनु भयो” प्रकाश पाठकले नेपालप्लससित भने ।

कार्यक्रममा जमरा, टिकाटाला सबै गरेर दशैं भब्यसित मनाइएको थियो । दशैं मनाउन नेपालप्रेमी फ्रान्सेलीहरु लगभग तिन दर्जनजति आएका थिए । नेपालका विषयमा अध्ययन र भ्रमण गरेर अनुभव सँगालेका फ्रान्सेलीहरुले नेपालका अनेक रोचक पक्ष र आफ्ना अनुभवहरु दशैं मनाउन जम्मा भएकाहरुलाई सुनाएका थिए ।

“नेपाल घुम्नेहरुका कुरा सुनेर नेपाल नगएकाहरु धेरै खुशि भए । नेपाल जाने इच्क्षा राखेका छन् । मेयरले तिनका अनुभव ध्यान दिएर सुन्नुभयो र नेपालको कला, संस्क्रिति जान्न चाहेको बताउनुभयो” प्रकाश पाठकले सुनाए ।

कोरोना महामारीका कारण स्वास्थ्य नियमहरु पालना गर्नुपर्ने भएकाले नेपाली खाना चखाउन नपाएको पाठकको भनाई छ । ‘नेपाली खाना चखाउने रहर थियो । कोरोनाका नियमले गर्दा पाइएन । जलपान गरेर समापन गर्नुपर्‍यो । अर्को वर्ष नेपाली खाना सहितको कार्यक्रम राख्छौं” उनले भने ।

बेल इल अँ मेयर पेरिसबाट करिब ४०० किमी दक्षिणको एक फ्रान्सेली टापू हो । यो पर्यटकिय टापूमा गर्मी याममा लाखौं पर्यटक छुट्टी मनाउन जाने गर्छन् । प्रकाश चन्द्र पाठकले त्यहाँ नेपाली हस्तकला र अन्य नेपाली उत्पादनको निकै वर्षदेखि ब्यापार गर्दै आएको बताए ।

नेपालप्रेमी फ्रान्सेलीलाई दशैंको टिका लगाइदिँदै प्रकाश चन्द्र पाठक

मेयर कार्यालयको मुल द्वारमाथि फहराएको नेपाली झण्डामुनी मेयर र अन्य फ्रान्सेली तथा नेपाली

प्रकाश पाठकको नेपाली पसल

बेल इल अँ मेयर क्षेत्रको ल पाले नगरपालिकाका मेयर र प्रकाश पाठक नगरपालिकामा नेपाली झण्डा गाडेपछि

तपाइँको प्रतिक्रिया