शनिबार, मंसिर १८, २०७८

भुवन के सी जसले ‘रित्तो सिडी बेचे’

सन्जय घिमिरे२०७८ असोज ३१ गते ९:५५

कती नेपाली राजनीती र एनआरएनको कुरा गर्नु ? किन किन आजकाल मलाइ नेपालको राजनीती र एनआरएनको लफडा एकै लाग्छ । किन किन आजकाल मलाइ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र कुल आचार्य एकै लाग्छ । किन किन मलाइ आजकाल एमालेका अध्यक्ष खडगप्रसाद ओली र एनआरएका अध्यक्ष कुमार पन्त एकै लाग्छ । यसैले यीनैको पटक पटक कती कुरा गर्नु ?

म जसरी चाडवाडको मुडमा छु, तपाइहरु पनि शायद यस्तै मुडमा हुनुहुन्छ ।
आउनुस, यो चाडपर्वको मौसममा अली रमाइलो कुरा गरौं ।

खै किन हो कुन्नी, जब म लेख्न बस्छु, म गित सुन्न मन पराउँछु । गितहरुले मलाइ एकखालको उर्जा दिन्छन । गित मलाइ नशा जस्तै लाग्छ । कसैले मलाइ ‘गित’ र ‘वाइन’ भनेर सोध्यो भने म सजिलै भन्नेछु– गित । गित ‘वाइन’ जस्तैगरी ‘लाग्छ’ । लेख्न बस्दा मात्र होइन, कतै जमघटहरुमा रहँदा पनि अरु भन्दा गित संगितको कुरा गर्न म बढी रुचाउँछु ।

चाडपर्वको माहौलमा भएका जमघटहरु, जहाँ म जान्छु, मलाइ त्यहाँ कसैले गित संगितको कुरा गरिदिओस जस्तो लाग्छ । अक्सर हुन्छ पनि त्यस्तै ।

गत साता दशैंको माहोलमा म निम्त्याइएको थिएँ – शैलेश आचार्यको घरमा । शैलेश आचार्य, जो आफैं नेपाली फिल्मका निर्देशक, गितकार हुन र जसले नेपाली फिल्म, गित– संगितको मात्र होइन, पूर्वीय संस्कृती र सभ्यताको पनि नाडी छामेका छन । आचार्य यस्ता मान्छे हुन, जो नारायण गोपालको कुरा गर्दा गर्दै एक्कासी शाहीद लुधियानी र तलेत मेहबुदमा ‘जम्प’ गर्न सक्छन् । आचार्य यस्ता मान्छे हुन्, जो क्राइष्टको कुरा गर्दा गर्दै कृष्णमा ‘जम्प’ गर्न सक्छन् ।

आजको मेरो समाज, जहाँ म छु, यस्ता मान्छे कमै भेटिन्छन । उनले यदाकदा गर्न खोज्ने नेपाली शैलीको राजनीतीमा मेरो केही ‘रिजर्भसेन’ छ । बाँकी कुरामा त शैलेश आचार्यसँग गफिनुको मज्जा नै बेग्लै ।

हो यही मज्जा म लिइरहेको थिएँ बितेको साता, जहाँ नेपाली फिल्मका एकताकाका अर्का जल्दाबल्दा निर्देशक थिए नारायण पुरी पनि । साथमा थिए उ बेलाको नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा इश्वर बरालका सुपुत्र किरणरन्जन बराल । औसत मान्छेहरु यो संयोगको हिसाब किताब बुझदैनन । मलाइ भने किन किन यो हिसाब किताब महँगो लाग्छ । लागीरहेको छ । महँगो, मैले सही शब्द प्रयोग गरें कि गरिन थाह छैन । महँगो भन्दा ‘मुल्यवान’ बढी उपयुक्त होला शायद ।
शब्द जे होस, माहौलको कुरा गरौं ।

जहाँ हामी नेपाली गितका शब्द र भाव, नेपाली नायकका नायकत्व र स्वभावका विषयमा बढी कुरा गरिरहेका थियौं । नारायण पुरी सुनाइरहेका थिए “बेनीको बजार, जता माया उतै छ नजर ।” जहाँ नारायण पुरी सुनाइरहेका थिए “काला कुर्तैले छ महिने जागीर खायाँ ।“ यतिन्जेल शायद मैलै नारायण पुरीलाइ कम आँकलन गरेको थिएँ । उनी यस दिन मेरो दृष्टिमा झन अब्बल निष्किए ।

शैलेश आचार्य र नारायण पुरीको गित,संगित र कलाको गजब चेतले त्यसदिन मलाइ थप नतमस्तक बनायो । त्यस साँझ, जहाँ हामी तारा देवीले गाएको चाँदनी शाह रचित गित “ऊकाली ओरालीहरुमा।।।” भन्ने गितमा “कपाल दुख्ने गर्मिहरुमा” किन भनेको होला भनेर तर्क गरिरहेका थियौं । दुख्ने त टाउको पो हो त, कपाल पनि कहीं दुख्छ ? यस्ता कती रचना छन कती नेपाली गितमा, जो अमिल्दा छन । भावले अमिल्दा, शब्दले अमिल्दा ।

त्यो साँझदेखि म सोचीरहेको छु – एउटा खोज नै गरौं त्यस्ता लबस्तरा गितहरुको । खोजौंला पनि कुनै दिन ।

त्यस साँझ हामीले गितको मात्र कुरा गरेनौं । नेपालका नायकका विषयमा पनि कुरा गर्‍यौं । त्यो साँझ अघि नेपाली फिल्मका नायक त्यती कमजोर होलान भन्ने मैले कहिल्यै सोचेकै थिइन । भुवन के सी होऊन वा राजेश हमाल ।म निर्देशकहरुको माझमा छु र उनीहरुका कुरा सुनीरहेको छु ।

घटना वा सन्दर्भनै तोकेरै नभनौं । सारमा भनौं – नेपालमा महानायक त के, अब्बल नायकै छैन । महानायकको बहस वाहीयात हो ।

त्यस साँझ , शैलेश आचार्य र नारायण पुरी बाहेक पनि अरुहरु कोही थिए, जसले सुनाए– अमेरिका आएको बेला भुवन के सीले आफ्नो फिल्मको डिभीडी भन्दै रित्ता सिडी बिस डलरमा बेचेर पैसा बटुले । यो कुरा प्रमाण सहित सुनेर म एकछिन अबाक भएँ । एकछिन शुन्य भएर सोचें – मैले कुसुमे रुमालमा देखेको हिरोले अमेरिका आएर झुक्याएर बिस डलरमा सिडी बेचेर गए ? हो रहेछ ।

अब मलाइ नेपालमा को नायक वा महानायक भन्ने विषयमा प्रवेश नै गर्नु नै छैन, जुन विषयमा अहिले फेरि कतीपय नेपाली मिडीयाहरु प्रवेश गरिरहेका छन । म त सोचीरहेको छु – नेपालमा बरु महागायक र महागायीकाहरु छन्, महानायक वा महानायीकाहरु होइन ।

ओहो माष्टर मित्रसेन, ओ हो बच्चु कैलाश, ओहो गोपाल योन्जन, ओहो नातीकाजी, ओहो प्रेमध्वज प्रधान र योगेश्वर बैद्यहरु । ओहो नारायण गोपाल र अरुणा लामाहरु । ओहो गोपाल योन्जन र मिरा राणाहरु । ओहो धर्मराज थापा र नारायण रायमाझीहरु ।
ती जसलाइ म आज पनि सुनीरहेको छु ।

ती जो, आज म, जसलाइ हेर्न छोडेको छु, तीनका विषयमा मलाइ आज केही कुरा गर्नु छैन । मलाइ त मात्र तिनको कुरा गर्नु छ, जसले गाएकी छन् –
“फूलको थुंगा बगेर गयो, गंगाको पानीमा
कहिले भेट हुन्छ हे राजै, यो जिन्दगानीमा ?”

मान्नुस, मेरा वा हाम्रा ‘राज्यैहरु उतै, नेपालतिरै छन् । म यतीबेला ती मेरा ‘राज्यै’हरुलाइ सम्झिरहेको छु यो चाडवाडको बेला । मलाइ थाह छैन – मेरा ‘राज्यै’हरुसँग अब कहिले भेट हुन्छ ? कृपया मलाइ नसोध्नुहोला – मेरा ‘राज्यै’ को हुन ? नेपालमा मेरा ‘राज्यै’ कति छन कति ?

तपाइँको प्रतिक्रिया

फेसबुक