शनिबार, मंसिर १८, २०७८

‘इनफ इज इनफ’- प्रसङ्ग एनआरएनएको आसन्न निर्वाचन

डा. हेम राज शर्मा२०७८ असोज ३१ गते २३:०७

आज भन्दा ठीक दुई वर्ष पहिले, सन् २०१९ अक्टोबर १७ तारिख बिहानको करिब ७ बजेको थियो । हायात होटल काठमाडौँमा संघका एक पूर्व अध्यक्षबाट फोन आयो । अघिल्लो दिन मेसिन बिग्रेर रोकिएको मतदानको लागि विश्व भरबाट आउनु भएका सयौं गैरआवासीय नेपालीको लाइन थियो बाहिर । म होटलको एउटा कोठाबाट त्यो दृष्य हेर्दै फोन रिसिभ गर्दै थिएँ । मतदाताको लाईनमा गएर भोट माग्ने वातावरण थिएन । उहाँको आग्रह थियो “हेमराजजी मिलाएर जानुपर्यो । संस्थाको छवि बिग्रिने भयो । उहाँको आशय थियो, हुन गइरहेको मतदान रोकौँ र सहमतिमा संघको अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीहरुको चयन गरौँ ।

मैले धेरै भूमिका नबाँधी उहाँलाई जवाफ दिएँ, हाम्रो जस्तो सामाजिक संस्थामा सहमति र सहकार्य एकदम राम्रो हो । तर तपाईहरुको पहल निकै ढिला भयो । ५० भन्दा बढी देशबाट गैरआवासीय नेपालीहरु मतदानको लागि काठमाडौँ आउनु भएको छ । हिजो दिनभर लाइनमा बस्दा पनि मतदान गर्न पाउनु भएन । आज फेरि उत्साहका साथ मतदानका लागि लाइनबद्द हुनुहुन्छ । यो अवसरको लागि प्रत्येकले लाखौँ रुपैयाँ खर्च गर्नु भएको छ । उहाँहरुको समय पनि त्यति नै खर्च भएको छ । हामीहरुले १०–८ महिनादेखि आफ्नो उम्मेदवारीको तयारी गरेका छौँ । देश देश घुमेका छौं । १०औं लाख रुपैयाँ खर्च गरेका छौँ । सहमति गर्दा सबै उम्मेदवारहरुलाई अटाउन सकिन्न । जित्ने उम्मेदवारहरु प्रति अन्याय हुनेछ । साँच्चिकै भन्नुहुन्छ भने चुनाव रोकेर हायात होटलबाट बाहिर निस्कने वातावरण छैन । उहाँले आयात होटलको वातावरण देख्नु भएको थिएन । उम्मेदवार र मतदाताको यस्तो उत्साहलाई हामीले रोक्यौँ र विधि विधान र प्रक्रियाभन्दा बाहिरबाट नेतृत्व चयन गर्‍यौं भने यी आम गैरआवासीय नेपालीहरुलाई अर्को सालदेखि यहाँ देख्न पाउनु हुनेछैन । संघ प्रति आकर्षण कम हुने मात्र होइन संस्थामा नराम्रो नजिर स्थापित हुनेछ । उहाँले कुरा बुझ्नुभयो र फोन छोटाउनुभयो ।

मतदानको लागि बाहिर लाइन बढ्दै थियो । भित्र सहमतिको खिचडी पाक्दै थियो । सहमतिको प्रयासमा धेरै उम्मेदरवारहरुलाई सहभागी बनाइएको थिएन । केही पूर्व अध्यक्षहरु र उहाँका नजिकका मानिसहरुको एउटा स्वघोषित समूह सक्रिय थियो । यही समूहले बनाएको टिमलाई सबै उम्मेदवाहरुबाट सहमति जुटाउने प्रयास गरिएको थियो । यस बारेमा मलाई कुल आचार्य दाईको फोन पनि आएको थियो । ‘ब्रो म अहिले मिटिङबाट निस्केर बाथरुमबाट फोन गरेको, तपाईले महासचिव पद छाडेको हो र?’

पूर्व अध्यक्षहरुले जादुको छडिमा समस्याको समाधान गर्नु हुन्छ भन्ने हल्ला गरिएको छ । विगतका चुनावमा खेल्नु भएको भूमिकाबाट उहाँहरु प्रति विश्वस्त हुने वातावरण छैन । संस्थापक अध्यक्ष बाहेक अरु सबै जसो पूर्व अध्यक्षहरु कुनै न कुनै रुपमा उम्मेदवार हराउने वा जिताउने खेलमा लाग्नु भएको छ । अहिले मैदानमा उभिनु भएका उम्मेदवारहरु प्रति उहाँहरुको आग्रह पूर्वाग्रह छ ।

हामीले एक अर्कालाई ब्रदर वा ब्रो भनेर संवोधन गर्छौ । उहाँ अलि हतारमा हुनु हुनुहुन्थ्यो । त्यसैले धेरै विषय कोट्टाउन चाहिन । मैले महासचिवमा पद नछाडेको प्रस्ट्याएँ । बाहिर हल्ला यस्तै छ, मतदातासम्म पनि यो खबर पुगे जस्तो छ भनेर उहाँले फोन राख्नुभयो । मतदाताहरु उत्तेजित नहुन भनेर मैले भित्रि कुरा नखोली फेसबुक स्टाटसमा उम्मेद्वारी कायम रहेको जानकारी दिएँ – ‘बुधवार प्राविधिक कारणले स्थगित भएको एनआरएनएको निर्वाचन बिहीवार बिहान १० बजेदेखि शुरु हुने भएको छ । मलाई महासचिव पदमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु‘ ।

मतदान सुरु हुनुभन्दा करिब १ घण्टा पहिले मलाई मतदानस्थलमा बोलाइयो । एउटा हलको कुनामा भएको सोफामा बस्न भनियो, एक अपराधीलाई जस्तो । हलको अर्को पट्टी त्यही स्वघोषित समूहका मानिस थिए । मैले सोफामा बसेर कुर्दै गर्दा निर्वाचन आयुक्त शिव रिजाल फोनमा कुरा गर्दै भित्र पस्नुभयो । उहाँ अलि तनावमा हुनुहुन्थ्यो । उहाँले प्रयोग गरेका आदरार्थी शब्दबाट सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उहाँलाई ठूलै शक्ति केन्द्रबाट फोन आएको थियो र निर्वाचन रोक्ने दबाब थियो । उहाँले निर्वाचन रोक्न नसक्ने जवाफ दिएको प्रष्ट सुन्न सकिन्थ्यो । मैले करीब १५ मिनट कुर्दा पनि मसँग कोही बोल्न आएन । मेरो आक्रोश देखेर होला कसैले मलाई महासचिव छोड वा चुनाव रोकौँ भन्ने प्रस्ताव गर्न सकेनन् ।

यत्तिकैमा मलाई कसैले हल बाहिर, जहाँ पाल राखेर मतदानको व्यवस्था गरिएको थियो, त्यहाँ जान आग्रह गरियो । म त्यहाँ पुग्दा एकजना पूर्व अध्यक्षले कुकुरले बिरालो झम्टे गरी ‘उम्मेदवार यहाँ किन यहाँ आएको’ भनी जाई लागे । मैले उनलाई ठाडो जवाफ दिने परिस्थिति बन्यो । कुमार पन्तजी एउटा कुनामा निन्याउरो अनुहार लगाएर एक्लै उभिनु भएको थियो । मलाई उहाँतर्फ जाने इसारा गरियो । मेरो अनुहारको आक्रोश राम्रैसँग पढेर होला कुमारजीले पनि मनको कुरा भन्न सक्नु भएन । उहाँले मधुर स्वरमा सोध्नु भयो – चुनाव जितिन्छ नि हेमराज जी ? उहाँले पुरै आत्मविश्वास गुमाइसक्नु भएको थियो । रातभरमा भएका तिकडम र केही सहपाठीले उहाँलाई छाडेर प्रतिस्पर्धीसँग लागेकोले पनि उहाँको आत्मविश्वास कम भएको मैले अनुमान गरेँ ।

मेरो जवाफ थियो – हिजो निर्वाचन भएको भए तपाई ४०० मतले अगाडि हुनुहुन्थ्यो । आज निर्वाचन हुँदा १५० मतले अगाडि हुनुहुन्छ । तपाई चुनाव हार्नुहुन्न । उहाँले फेरि सोध्नुभयो –पक्का हो नि ? मैले ढुक्क हुन भनेँ । विज्ञहरुको टिमले सर्बे गरेको सम्भावित नतिजा मैले उहाँलाई भनेको थिएँ । पछि वास्तविक नतिजामा १४७ मतको फरक पर्यो । कुमारजीले लामो सास फेर्दै भन्नुभयो, ‘त्यसो भए चुनावमा जाऊँ ।’ उहाँको बोलीले थप प्रष्ट गर्यो कि चुनाव रोक्ने प्रयत्न भएको रहेछ । सहमतिको लागि उहाँले हामीलाई छोड्न पनि तयार हुनुहुँदो रहेछ । उहाँको बाध्यतालाई मैले अन्यथा लिइन र २ वर्षको कार्यकालमा १ इञ्च पनि यसको प्रतिबिम्ब हुन दिइन । छोटो संवादपछि म त्यहाँबाट फर्किएँ ।

निर्वाचन कतैबाट पनि रोक्न सम्भव नभएपछि पूर्व निर्धारित समय बिहान १० बजेबाट मतदान सुरु भयो । सुरु भएको मतदान रोक्न अन्य उपायका बारे छलफल भएको कुरा थाहा भयो । दुई पक्ष बीच झगडाको नाटक मञ्जन गर्ने र प्रहरीले अश्रुग्याँस प्रहार गरी मतदातालाई तितर—बितर गराउने । यसै निहुँमा निर्वाचन रोक्ने र पूर्व नियोजित सहमति भनिएको टिमको घोषणा गर्ने । पहिलो दिन चुनाव रोकिँदा ३–४ सय मतदाता कर्मभूमी फर्किसक्नु भएको थियो । त्यो दिन पनि चुनाव रोकिएको भए पुनः निर्वाचन हुने कुनै सम्भावना नै थिएन । निर्वाचन भाँड्ने बजारमा हल्ला आएपछि थप सतर्कता अपनाइयो । सत्तारुढ दलले चाहेको भए प्रहरी प्रशासनबाट त्यो चुनाव रोकिने पनि थियो । भाग्यबस, चुनाव हुँदा पनि नहुँदा पनि सत्तारुढ दलले केही गुमाउनु पर्ने थिएन । त्यसैले त्यहाँ त्यस्तो घटना भएन ।

अधिकांश उम्मेदवारहरुले अघिल्लो दिन भोटिङ मसिनलाई डबल चेक गरेर इलेक्ट्रोनिक मतदान हुनुपर्छ भन्ने अनुरोध गर्दागर्दै कुनै एक समूहको चाहना अनुरुपमा जबरजस्ती कागजी मतदानमा लगिएको थियो । दिनभरको घटनाक्रम हेर्दा मत गणनामा हुँदा भरतपुर काण्ड हुने संभावना हामीले देखेका थियौं । त्यसैले उच्च सुरक्षाका बीच मतगणना गरिएको थियो । यसैलाई लिएर हायात होटलको बाहिर बबण्डर मञ्चिएको, पुलिसले लाठी चार्ज गरेको हामीले यूट्युबमा अझै हेर्न सक्छौँ ।

मतदान सकियो । तर मतगणना सुरक्षित किसिमले हुन्छ र नतिजा घोषणा हुन्छ भन्नेमा हामी विश्वस्त थिएनौँ । अधिकांश उम्मेदवारहरुले अघिल्लो दिन भोटिङ मसिनलाई डबल चेक गरेर इलेक्ट्रोनिक मतदान हुनुपर्छ भन्ने अनुरोध गर्दा–गर्दै कुनै एक समूहको चाहना अनुरुपमा जबरजस्ती कागजी मतदानमा लगिएको थियो । दिन भरको घटनाक्रम हेर्दा मत गणनामा हुँदा भरतपुर काण्ड हुने संभावना हामीले देखेका थियौं । त्यसैले उच्च सुरक्षाका बीच मतगणना गरिएको थियो । यसैलाई लिएर हायात होटलको बाहिर बबण्डर मञ्चिएको, पुलिसले लाठी चार्ज गरेको हामीले यूट्युबमा अझै हेर्न सक्छौँ ।

भोलि पल्ट बिहान मतगणना सकियो । २–४ पद बाहिर सोचे जस्तै निर्वाचन परिणाम आयो, ‘पिक्चर अभि भि बाँकी है मेरे दोस्त’ भने झैँ प्रपञ्च अझै रोकिएन । उम्मेद्वारको प्रतिनिधि, जसले उम्मेद्वारको तर्फबाट मुचुल्कामा हस्ताक्षर गर्नु पर्थ्यो, उहाँलाई मतदान परिणाम अस्वीकार गर्न दबाव दिइएछ ।

लोकतन्त्रमा गहिरो विश्वास राख्ने र नेपालको प्रशासनमा उच्च निष्ठा कमाएर बेलायतमा बसोबास गर्दै आउनु भएका ती मेरा मित्रले प्रस्ताव अस्वीकार गर्नुभएछ । निर्वाचन परिणामलाई अस्वीकार गरेर मुद्दा मामिलामा जाने एकजना अभियन्ताको प्रस्तावमा छलफल हुँदा मत बाझिएछ । विद्यार्थी राजनीतिमा लोकतन्त्रको अभ्यास गर्नुभएका मेरा नजिकका दाइहरुले पनि उक्त प्रस्ताव स्वीकार्नु भएनछ । साधुवाद छ ! आदरणीय दाइहरु र मेरा मित्रलाई ! तपाईहरुको सुझबुझले एउटा दुर्घटना हुनबाट संस्था बच्यो । तपाइहरुको ऋण केही चुक्ता गरेउ । बाँकि गर्दै जाउँला । निर्वाचनका यी गतिविधि बाहेक अन्तिम समयमा आएर कसरी मतदाता नामावलीमा नाम थपघट गरियो, पैसा र राजनितिको के–कस्तो खेल भयो त्यसको कथा व्यथा छुट्टै छ ।

हायात होटलको त्यो काण्डबाट हामी एउटा निष्कर्षमा पुग्यौँ– सत्तारुढ दलको प्रतिकूल नतिजा आउने गरी एनआरएनएको निर्वाचन नेपालमा हुनै सक्दैन । अनि प्रण गर्यौँ ‘विशेष महाधिवेशनबाट विधान संशोधन गरी अनलाईन भोटिङको व्यवस्था गर्ने र मतदाता (महाधिवेशन प्रतिनिधि) को छनोट प्रक्रियालाई पारदर्शी बनाउने । २०१९ को महाधिवेशनमा विवादको कारण विधान संशोधन र आर्थिक प्रतिवेदन पारित नभएकोले विशेष महाधिवेशन बोलाउनुपर्ने नै थियो । हामीले त्यो प्रण गर्दा नेपालमा दुई तिहाइको सरकार थियो । २०२१ मा त्यो सरकार ढल्ला र अर्को दलको सरकार आउला भन्ने कल्पना गरिएको थिएन । तर जसको सरकार रहने भए पनि निर्वाचनलाई व्यवस्थित पार्ने हाम्रो प्रणमा टसमस भएनौँ ।

विशेष महाधिवेशन हुन नदिने, महाधिवेशन भयो भने पनि विधान संशोधन गर्ने नदिने धेरै कोसिस भयो । सर्वोच्चमा मुद्दा हाल्न नेपालमा मान्छे उडाइयो । अध्यक्षले शुन्य सदस्यता शुल्क र पञ्जिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन जस्ता आफ्ना मुल मुद्दा छोडेर भए पनि सर्वसम्मत रुपमा विधानमा संशोधन गर्न सबैलाई राजी बनाउनुभयो । वास्तवमा आफूसँग असमति राख्नेहरुले जुन–जुन विषयमा विधान संशोधन गर्न राजी हुनुहुन्छ त्यति मात्र महाधिवेशन हलमा पेश गर्ने म्याण्डेट दिन आइसीसीलाई आग्रह गर्नुभयो । उहाँको आग्रहलाई आइसीसीको पूर्ण बैठकले सर्वसम्मत रुपमा मान्यो । दुइजनाको विशेष समिति बन्यो र उनीहरुले ल्याएको विधानलाई अक्षरस पालन गर्ने ब्ल्यान्क चेक हामीले दियौं । फुलस्टप र कमा पनि परिवर्तन गर्ने अधिकार हामीमा थिएन । विशेष महाधिवेशको हलमा त्यसै अनुसारको विधान संशोधनको प्रस्ताव पेश भयो, सर्वसम्मतीले पारित भयो ।

वर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचन नउठ्ने निर्णय गर्नुभएको छ । उहाँ कुनै उम्मेद्वारको प्रचार प्रसारमा लाग्नु भएको छैन । चुनावी बैठकमा सहभागी भएको हामीलाई जानकारी छैन । बरु केही पूर्व अध्यक्ष चुनावी प्रायोजनाका बैठकमा उपस्थित हुनु भएको देखिएको छ । वर्तमान अध्यक्षलाई भरोसा गरेर बाहिरबाट सहयोग नगरेर किन महाधिवेशन सम्बन्धी सम्पूर्ण अधिकारी तपाईहरुले आफ्नो हातमा लिन पर्यो ?

यसरी सर्वसम्मत रुपमा पारित गरिएको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गर्न रोक्ने कोशिस गरियो । मन्त्रालयमा गएर धर्ना बसियो । प्रमाणिकरण रोक्न सम्भव भएन किनभने मन्त्रालयले जुन जुन प्रकृयाले विशेष महाधिवेशन गर्न भनेको त्यही अनुसार गरेको प्रमाण पेश गरिएको थियो । अहिलेको समस्याको जड भनेको त्यही संशोधित विधानलाई मान्न तयार नहुनु र हायात होटलको परम्परालाई कायम गर्न खोज्नु हो ।

निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्नु नपर्ने, विधि विधान अनुसार चल्न नपर्ने, निर्वाचित कार्यसमितिलाई एम्बुसमा पारेर आफ्नो अनुकुलका मानिसलाई कार्यकारी अधिकार सुम्पिदिनुपर्ने, आफ्नो अनुकुलका मानिसबाट निर्वाचन गराइदिनुपर्ने- विचित्रको माग गरिएको छ । संस्थामाथि भित्र र बाहिरबाट यसरी धाबा बोल्दा पनि पूर्व अध्यक्षहरु मौन हुनु वा बोल्नेहरु पनि कसैको अनुकुल वा प्रतिकुलमा बोल्नु दुखको कुरा हो ।

पूर्व अध्यक्षहरुले जादुको छडिमा समस्याको समाधान गर्नु हुन्छ भन्ने हल्ला गरिएको छ । विगतका चुनावमा खेल्नु भएको भूमिकाबाट उहाँहरु प्रति विश्वस्त हुने वातावरण छैन । संस्थापक अध्यक्ष बाहेक अरु सबै जसो पूर्व अध्यक्षहरु कुनै न कुनै रुपमा उम्मेदवार हराउने वा जिताउने खेलमा लाग्नु भएको छ । अहिले मैदानमा उभिनु भएका उम्मेदवारहरु प्रति उहाँहरुको आग्रह पूर्वाग्रह छ । उहाँहरुका सार्वजनिक अभिव्यक्तिले पनि यसलाई प्रमाणित गरेको छ । त्यसैले उहाँबाट न्याय हुन्छ भन्ने सबै ढुक्क हुने स्थिति छैन ।

खोलालाई रोक्न वा छेक्न खोजियो भने यसले प्रलय ल्याउनेछ । खोलालाई एक छिन रोक्न सकिएका तर बाँध फुटे पछिको दृष्यको पनि परिकल्पना गरौँ । खोला छेक्नु भनेको पोटेन्सियल ईनर्जी संचित गर्नु हो । जति छेकिन्छ त्यति ईनर्जी खपत हुँदै जान्छ । बाध फुँटे पछि कन्भर्ट हुने काइनेटिक ईनर्जीले ल्याउने विनासको दृष्यको पनि परिकल्पना गरौं ।

पूर्व अध्यक्षज्यूहरुलाई प्रश्न छ – महाधिवेशन प्रतिनिधि विवाद तपाईहरुको पालामा थियो कि थिएन ? निर्वाचनमा ससाना विवाद तपाईहरुका पालामा थियो कि थिएन ? के विवाद मिलाउन तपाईहरुले पूर्व अध्यक्षलाई जिम्मा दिनुभयो वा आफैँले मिलाउनु भयो ?

वर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचन नउठ्ने निर्णय गर्नुभएको छ । उहाँ कुनै उम्मेद्वारको प्रचार प्रसारमा लाग्नु भएको छैन । चुनावी बैठकमा सहभागी भएको हामीलाई जानकारी छैन । बरु केही पूर्व अध्यक्ष चुनावी प्रायोजनका बैठकमा उपस्थित हुनु भएको देखिएको छ । वर्तमान अध्यक्षलाई भरोसा गरेर बाहिरबाट सहयोग नगरेर किन महाधिवेशन सम्बन्धी सम्पूर्ण अधिकारी तपाईहरुले आफ्नो हातमा लिन पर्यो ? संस्थालाई वा अध्यक्षलाई असफल साबित गरेर हामीले के प्राप्त गर्न खोज्दैछौँ, के प्रमाणित गर्न खोज्दै छौँ ?

कुनै व्यक्ति विशेषलाई नेतृत्वमा आउन नदिन यी सबै प्रपञ्च भएका छन् भन्ने अनुमान लगाउन गाह्रो छैन । एक वर्ष पहिले देखि बजारमा आएका अभिब्यक्तिका जिकस पजलका टुक्रालाई जोडेर हेर्दा र २०१९ को चुनावको अनुभवले २०२१ निर्वाचन समयमा हुन नदिने वा भाँडभैलो हुन्छ भन्ने पक्का थियो । त्यसैले अध्यक्षले निर्वाचन समिति गठन देखि अनलाईन भोटिङको लागि निस्पक्ष मानिएको कम्पनी भेण्डरलाई छान्ने बढो सुझबुझ अपनाउनु भयो । थुप्रै योग्य ब्यक्ति हुँदा हुँदै पनि निश्चित जिल्ला र बिचारका व्यक्ति नै किन निर्वाचन आयुक्तमा छानिनु भयो भनेर हामीले कहिल्यै अध्यक्षलाई प्रश्न गरेनौं । असन्तुष्टहरु निर्वाचनमा आउँछन भने विधान बाहिर छानिएका २५ प्रतिशत प्रतिनिधिलाई पनि मानि दिन हामीलाई अध्यक्षले अनुरोध गर्नुभयो । एनसिसिको निर्वाचनमा अन्याय सहेर पनि निर्वाचनको नतिजा स्विकार्न आफ्ना सहयोगीलाई अनुरोध गर्नुभयो ।अध्यक्षले देखाउनु भएको अधितकम लचकतालाई कमजोरीको रुपमा हेरियो । अब चाहिँ ‘इनफ इज इनफ’ को अवस्था सृजना भयो र बोल्नैपर्ने बाध्यता आइपर्यो ।

अन्त्यमा उपाध्यक्ष रबिना थापाले हिजो आइसिसि बैठकमा प्रस्तुत गर्नु भएका शब्द सापट लिँदै म के भन्छु भने खोलालाई प्राकृतिक रुपमा बग्न दिउँ । खोलालाई रोक्न वा छेक्न खोजियो भने यसले प्रलय ल्याउनेछ । खोलालाई एक छिन रोक्न सकिएका तर बाँध फुटे पछिको दृष्यको पनि परिकल्पना गरौँ । खोला छेक्नु भनेको पोटेन्सियल ईनर्जी संचित गर्नु हो । जति छेकिन्छ त्यति ईनर्जी संचित हुँदै जान्छ । बाँध फुँटेपछि कन्भर्ट हुने काइनेटिक ईनर्जीले ल्याउने विनासको दृष्यको पनि परिकल्पना गरौं ।

(गैरआवासीय नेपाली संघका महासचिव शर्मा लेख्न र बहस गर्न रुचाउँछन् । नेपालप्लसले धेरै अनुरोध गर्दापनि पदिय मर्यादाको कारण देखाएर यस्ता लेखहरु उपलब्ध गराउन अस्विकार गर्दै आएका थिए । एनआरएनएका धेरै विषयमा सर्वाधिक जानकार मानिने उनलाई पछिल्लो समयमा एनआरएनए भित्रको बिवाद र यथार्थका बारेमा पटक पटक लेख्न आग्रह गरेपछि यो लेख प्राप्त भएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक