बुधबार, वैशाख १२, २०८१

बेलायतमा एकैदिन ४३ हजार कोरोना संक्रमित, डेल्टाको अर्को रुपपनि भेटियो

बेलायतमा कोरोना प्रतिबन्ध हटे, भाईरस हटेको छैन

नेपालप्लस संवाददाता / बेलायत२०७८ कार्तिक ३ गते १८:३८

image credit-Istock via Global Michigan, university of Michigan

बेलायतमा ग्रीष्मकाल लागेपछि कोरोनाभाइरस प्रतिबन्ध हटाउँदा लाखौंको जनजीवन सामान्य भएको छ । तर जब कोरोना प्रतिबन्ध र नियमहरु हराइसके भाइरस भने हराएको छैन । बरु नयाँ स्वरुपको अर्को भाईरस देखापरेको छ ।

धेरै वैज्ञानिकहरुले अब सरकारलाई सामाजिक प्रतिबन्धहरु पुनः लागू गर्न सल्लाह दिइरहेका छन् । खोपको तिब्रतालाई गति दिन आग्रह गरिरहेका छन् । किनभने कोरोना भाइरस संक्रमण दर बढीरहेको छ । युरोपका कतिपत देशमा पहिलेनै बढ्ने क्रम उच्च बनिरहेको छ । अझै बढ्ने क्रम देखिईरहेको छ ।

बेलायतमा हिजो मंगलबार कोरोना भाईरसका ४३ हजार सात सय ३८ नयाँ संक्रमण भएको अभिलेख गरिएको छ । सोमबारको रिपोर्ट अनुसार ४९ हजार एक सय ५६ थिए । यो भनेको मध्य जुलाई पछि सबैभन्दा ठूलो संख्यामा संक्रमित भएको अभिलेख हो । नयाँ संक्रमण बितेको हप्ता प्रति दिन ४४ हजार भन्दा बढी थियो । अघिल्लो हप्ताभन्दा गत हप्ता १६ प्रतिशतले संक्रमण बढेको हो ।

गत हप्ता, राष्ट्रिय तथ्यांकको कार्यालयले बेलायतमा ६० जना मध्ये एकमा भाइरस भएको अनुमान गरेको थियो । यो भनेको महामारीको बेला बेलायतमा देखिएको उच्चतम स्तर मध्ये एक हो ।

जुलाईमा प्रधानमन्त्री बोरिस जोन्सनको सरकारले भाइरसको फैलावटलाई सुस्त पार्न एक वर्ष भन्दा पहिले लगाईएको सबै कानुनी प्रतिबन्ध हटायो । अनुहार छोप्ने र सामाजिक दूरी कायम गर्नुपर्ने नियमहरुपनि अनिवार्य रहेनन्, हटे । नाइटक्लब र अन्य भीडभाड हुने स्थलहरुलाई पूर्ण क्षमतामा खोल्न अनुमति दिईयो । सक्ने मानिसहरुलाई घरबाट काम नगर्न बरु कार्यालयमै शशरिर उपस्थित भएरै काम गर्न सल्लाह दिईयो ।
यस्ता पसलहरु खुला र स्वास्थ्य प्रतिबन्धहरु हटेपछि कोरोना संक्रमण ब्यापक हुन्छ भन्ने त्रास थियो । त्यो त भएन । तर संक्रमण दर उच्च रहेको छ । पछिल्ला दिनमा बढ्न थालेको छ । विशेष गरी बच्चाहरुको बिचमा धेरै बढेको छ । खासगरि खोप नलगाएकाहरुमा ब्यापक संक्रमण भएको छ ।

अस्पतालमा भर्ना हुने र मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ जुन गत हप्ताको तुलनामा एक दिनमा औसत १३० भएको छ । मंगलबार मात्र २२३ रिपोर्ट गरिएको छ । सरकारको आलोचकहरुका अनुसार धेरै जनसंख्यालाई खोप लगाउनु पहिले भन्दापनि संक्रमितको संख्या अहिले उच्च छ ।

बेलायतमा एक लाख ३८ हजार भन्दा बढी कोरोना भाइरसको मृत्यु रेकर्ड गरिएको छ, जुन रुस पछि युरोपमा सबैभन्दा धेरै हो ।

त्यस पृष्ठभूमिमा धेरैलाई बेलायतीहरु कोरोना भाईरस महामारी शुरु हुनुभन्दा अगाडिको सामान्य, स्वतन्त्र अवस्थामा फर्किनुहुन्न भन्ने लागेको छ ।

स्कटल्याण्डले यस महिना एउटा खोप पास कार्यक्रम शुरू गर्‍यो । पसल नाईट क्लब, रेस्टुरेन्टमा जाँदा खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने । अन्यथा प्रवेश नपाइने । बेलायतमा नाइट क्लबहरु, कन्सर्ट र अन्य सामूहिक कार्यक्रमहरुमा भाग लिन खोपको प्रमाण देखाउनुपर्ने नियम कन्जरभेटिभ सरकारद्वारा खारेज गरियो।

केही वैज्ञानिकहरुका अनुसार हाल कोरोना संक्रमितको संख्या धेरै देखिनुको एउटा ठूलो कारक के भने मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्नु । बेलायतको खोप कार्यक्रम छिटो शुरू भयो । डिसेम्बर २०२० मा बुढा र कमजोरहरुलाई दिइएका खोपहरु सबै गरेर अहिलेसम्म लगभग ८० प्रतिशत खोप दिन योग्य व्यक्तिहरुलाई दुई मात्रा लगाइसकिएको छ । शुरुमै खोप लगाउनेको संख्या हेर्दा लाखौं मानिसहरुलाई खोप लगाएको समय छ महिना कटिसकेको छ । त्यसैले केहि अध्ययनहरुले खोपको प्रभावकारिता बिस्तारै घट्दै गएको सुझाव दिएका छन् ।

बेलायतमा लाखौं मानिसहरुलाई बूस्टर शट (पहिलो मात्रा दिएपछि रोग प्रतिरोध क्षमता बढाउन दिईने अर्को मात्रा) हरु प्रस्ताव गरीएको छ । तर आलोचकहरु भन्छन – यो कार्यक्रम धेरै बिस्तारै चलिरहेको छ । एक दिनमा एक लाख ८० हजार मात्रा छ । बूस्टर खुराक (वा दोस्रो मात्रा) को लागि योग्य आधा भन्दा धेरै मानिसहरुलाई अझै पहिलो खोपपनि लगाइएको छैन ।

बेलायतले अमेरिका र धेरै युरोपेली राष्ट्रहरु भन्दा १२-१५ वर्ष उमेरका बच्चाहरुलाई खोप लगाउन लामो समय पर्खेको थियो । र पछिपनि बेलायतमा त्यो उमेर समूहका १५ प्रतिशतलाई मात्रै खोप लगाइएको थियो । त्यो उमेर समुहकालागि गत महिनाबाट मात्रै खोप लगाइएको थियो ।

सरकारको आपतकालिन वैज्ञानिक सल्लाहकार समूहका सदस्य, महामारी विज्ञान विज्ञ नील फर्ग्युसनका अनुसार बेलायतको उच्च केस संख्यालाई प्रभावित गर्ने एउटा कारक एस्ट्राजेनेका खोपमा धेरै निर्भर रहनुले हो । र यसले कोरोनाको धेरै गम्भीर नतिजाहरुको बिरुद्ध राम्रोसँग सुरक्षा गर्दछ । तर यसले संक्रमण र फैलावटको बिरुद्ध फाइजरको तुलनामा थोरै कम सुरक्षा गर्छ, विशेष गरी डेल्टा संस्करणको लागि ।

नील फर्ग्युसनका अनुसार अधिकांश पस्चिमी देशहरुमा अधिक नियन्त्रणका उपायहरु अपनाईएको छ । जस्तो- सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हातमा जेल घस्ने, खोप नलगाई कतिपय पसल र क्षेत्रमा पस्न नपाइने, सिमित संख्यामा मात्रै बार र रेस्टुरेन्टमा पस्न पाइने आदि । “यसो गर्दा बेलायतमा जसरि संक्रमण छिटो बढ्दैन” उनले भनेका छन् ।

यूकेका वैज्ञानिकहरुले प्रमुख भाइरसको उत्परिवर्तित (भेरियन्ट) को पनि अझ बिकसित वा अलग्गै विकास भएको नयाँ रुपका बारेमापनि चनाखोसित अध्ययन र अनुगमन गरिरहेका छन् । त्यसलाई उत्परिवर्तन भएको ‘ए वाई ४ दशमलव २’ नाम राखिएको छ । यो स्वरुपको संक्रमण थोरै भएपनि फैलिँदै गएको अधिकारीहरुले बताएका छन् ।

युनिभर्सिटी कलेज लन्डन जेनेटिक्स इन्स्टिच्युटका निर्देशक फ्राँस्वा बालुक्सले सबभेरियन्ट अलि बढी प्रसारित हुनसक्ने बताएका छन् । “त्यसैले नजिकबाट निगरानी गरीरहेका छौं । प्रमाणले के सुझाव दिएको छ भने यसको संख्या बेलायतमा उच्च भने छैन ।”

गत साता बेलायतका सांसदहरुले जारी गरेको एउटा रिपोर्टले निष्कर्ष निकालेको थियो – ‘बेलायती सरकारले महामारीको प्रारम्भिक दिनहरुमा लकडाउन गर्न धेरै लामो समय पर्खेर ढिलाई गर्‍यो । यस रोगलाई नियन्त्रण गर्ने मौका गुमायो र हजारौं अनावश्यक मृत्युको कारण बन्यो ।’

आलोचकहरुले बेलायती सरकारले अहिलेपनि गल्ती दोहोर्याइएको भन्दै आलोचना गरिरहेका छन् ।

(नेपालप्लसको साथमा एपी, एफपी र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक