मंगलबार, वैशाख ११, २०८१

एनआरएनए एनसिसीहरुद्वारा आयोजित विश्व भेलाको तयारी पुरा

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते १७:०१

एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरुले गर्न लागेको भनिएको विश्व भेलाको तयारी पुरा भएको भेला आयोजक समितिले पत्रकार सम्मेलन मार्फत् जनाएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएन) को तोकिएको मितिमा दशौं महाधिवेशन रोकिएपछि एक खालको अन्यौलता छाएकोले ति समस्याको समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको विश्व भेला गर्न लागेको आयोजकहरुले पत्रकार सम्मेलनमा बताए ।

“गैर आवासीय नेपाली संघमा एकताः आजको आवश्यकता“ भन्ने मूल नाराका साथ भेला यही आइतबार (अक्टोबर २४) मा तोकिएको छ ।

१८ वर्ष पहिले स्थापना भएका संघका एनसीसीहरुको आफ्नै पहलमा पहिलो पटक विश्व भेला हुन लागेको उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ “यो भेलाले एनआरएनमा उत्पन्न समस्याको निकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छौं ।”

पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए । ‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि  नै भेला आयोजना गरेका हौं’ उनले भने । यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे ।

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं । यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौं । विधानको १६.४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ । हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं ।’

संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व  भेला आयोजना गर्न लागेको उनले बताए ।  भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरु, आईसीसीका पदाधिकारीहरुलाई निमंत्रणा गरिएको उनले बताए । त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए ।

सबै एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए ।

एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक संकटकालिन स्थितिमा  एनआरएनए पुगेको टिप्पणी गरे । ‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने या नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो ।’

कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताइन् । ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उनले भनिन्, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु ।’

कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत नै रहेको स्पष्ट पारे।   । ‘संसोधित विधान अनुसार १६.१.४ मा आशय लेखिएको छ । राष्ट्रिय समितिहरुको आधारमा आईसीसी बनेको हो । १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भने, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आसय भएको श्रेष्ठले बताए । ‘एनआरएनए फुटाउने भन्ने होइन ।’

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरु अन्यौलमा परेकाले अन्यौल हटाउन आफुहरु लागि परेको जानकारी दिए । ‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्यौल हटाउनु पर्छ भनेर नै लागेका छौं’, उनले भने, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । एनसीसी बिना आईसीसी चल्दैन । हामीले यो उहाँहरुलाई झकझक्याएको मात्र हो ।’

कार्यक्रम दुई तहमा गरिने  र भेलामा ६२ एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहने संयोजक सुवेदीले बताएका छन्  ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा खुलेर छलफल गरिने आयोजकको भनाई छ ।

भेला सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । तत्काल समन्वय तथा संयोजन गर्न ९ सदस्यीय तयारी समितिसमेत बनाइएको जानकारी गराएका छन् ।

भेलाका आयोजक एनसीसीका सम्पूर्ण अध्यक्षहरु रहने ब्यवस्था गरिएको छ । “सबै साथीहरुलाई एकै ठाउँ भेला गरेर विचार मन्थन गर्ने उद्देश्यले विश्व भेला आयोजना गरिएको हो” बिज्ञप्तीमा भनिएको छ ।

भेला तयारी समितिका नौ जना सदस्यहरुको नाम यस अघिनै पटक पटक सार्वजनिक भैसकेको छ ।

संवन्धित समाचार

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

एनआरएनए एनसिसीहरुको विश्व भेला आव्हान: केन्द्रिय अध्यक्ष र महासचिवद्वारा भेला नगर्न पत्राचार

तपाइँको प्रतिक्रिया