बिहीबार, वैशाख १३, २०८१

स्विडेनका र्‍याप गायकको गोली हानी हत्या, एकै वर्षमा २७३ गोलीकाण्ड

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते २०:५२

स्विडेनको राजधानी स्टकहोममा एक र्‍याप गायकको गोली हानी हत्या गरिएको छ । बिहिवार हत्या गरिएका उनको आज शुक्रवार स्विडिस मेडियाहरुले सार्वजनिक गरिदिएका हुन् ।

पुरस्कार विजेता स्वीडिश र्‍यापर आइनार देशकै शीर्ष स्थानमा छन् । स्टकहोममा गोली हानी हत्या गर्ने संदिग्धहरुको खोजी गरीरहेको प्रहरीले बताएको छ ।

१९ वर्षीय आइनार स्वीडिश र्‍याप गर्थे । सन् २०१९ मा स्वीडेनमा सबैभन्दा धेरै स्ट्रीम गरिएका कलाकार थिए ।

उनलाई बिहीबार राती ११ बजे भन्दा केहि पहिले एक अपार्टमेन्ट भवन बाहिर धेरै पटक गोली हानिएको थियो ।

एम्बुलेन्सका कर्मचारीहरुले प्राथमिक उपचार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको स्टकहोम प्रहरीका प्रवक्ता टोवे ह्यागले एएफपीलाई बताए । प्रहरीले हत्याको अनुसन्धान सुरु गरेको छ।

“हामी यो किन भयो र यसको पछाडि को हुन सक्छ भनेर पत्ता लगाउनको लागी सक्रिय रुपमा काम गरिरहेका छौं” ह्यागले भने ।

स्विडेनको सामान्य अभ्यास अनुसार प्रहरीले अझै पीडितको पहिचान पुष्टि गरेको छैन । तर स्वीडेनको मुख्यधारका मेडियाले उनी आईनार रहेको सार्वजनिक गरेका छन् । उनको पूरा नाम निल्स कर्ट एरिक आइनार ग्रोनबर्ग हो ।

आइनारका धेरै गीतहरु लागुऔषध र हतियार लगायत अपराधको जीवन सन्दर्भसित जोडिएका छन् । उनको प्रतिद्वन्द्वी कलाकार यासिनसँग सार्वजनिक झगडा थियो । आइनारलाई योजनाबद्ध रुपमा अपहरण गर्न भूमिका खेलेको भन्दै जुलाईमा १० महिनाको जेल सजाय सुनाइएको थियो ।

अपहरणको योजना भने असफल भएको थियो । केहि हप्तापछि यासिनको संलग्नताबिना अपहरण गरिएको थियो ।

अभियोजकका अनुसार आइनारलाई कुटपिट, लुटपाट र अपमानजनक अवस्थामा फोटो खिचेर ब्ल्याकमेल गरिएको थियो ।

यो अपहरणमा अपराधीहरुको सन्जालनै संलग्न थियो । यसमा ३० जना अपराधीहरु संलग्न थिए । ति बिभिन्न अपराधका आरोपित थिए ।

संदिग्धहरु मध्ये एक अर्का र्‍यापर हवल खलिल पनि थिए, जसलाई जुलाईमा अपहरणमा संलग्नताको आरोपमा साँढे दुई वर्ष जेल सजाय सुनाइएको थियो । उनको आइनारसँग सार्वजनिक झगडा समेत भएको थियो ।

फैसलामा पुनरावेदन गरिएको थियो । यो मुद्दा हाल स्भेआ अपील अदालतद्वारा सुनुवाई भैरहेको छ । मुद्दा डिसेम्बरसम्म लम्बिनसक्ने अनुमान गरिएको छ ।

धम्कीको श्रृंखला

एफ्टनब्लाडेट अखबारले शुक्रवार रिपोर्ट गरेको छ-आईनार टाउकोको मूल्य लिएर बाँचिरहेका थिए । उनीहरुले आइनरमाथि धम्किको श्रृंखला बढाइरहेका थिए ।

अचम्म के भने यस महिनाको सुरुमा स्टकहोमको केन्द्रमा रहेको एउटा रेष्टुरेन्टमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएका थुप्रै संदिग्धहरु मध्ये आईनार आफैंपनि थिए।

उनले सामाजिक सञ्जालमा गीत पोस्ट गरेर आफ्नो क्यारियर शुरू गरेका थिए । र २०१९ मा “काटेन ई थाक्तेन” बोलको गीत स्वीडेनको एकल सूचीमा नम्बर एक बन्न सफल भएको थियो । उनले ग्राम्मिस लगायतका धेरै स्विडेनी पुरस्कार जितेका थिए ।

स्विडेनी प्रधानमन्त्री स्टेफन लोफभेनले समाचार एजेन्सी टिटिलाइ भनेका छन् “उनी युवा थिए । धेरै युवाका लागि उनी प्रेरणाका स्रोत थिए भनेर म बुझ्छु । उनले ज्यान गुमाउनपर्नु ज्यादै दुखद छ ।”

अर्का एक स्वीडिश र्‍यापर २३ वर्षीय रोज शामल पनि २०१९को सामुहिक गोलिकाण्डमा मारिएका थिए ।

स्वीडेनले हालैका वर्षहरुमा बढ्दो गोलीबारी र बम विष्फोटमा लगाम लगाउन संघर्ष गरिरहेको छ । सामान्यतया लागुऔषध तस्करीमा संलग्न गिरोहहरुले संगठित अपराध गर्दै आएका छन् ।

प्रहरी तथ्या्क अनुसार सन् २०२१ को अक्टोबर १५ सम्ममा २७३ गोली हानाहानका घटना भएका छन् जसमा ४० जनाको मृत्यु भएको थियो ।

जम्मा एक करोड ३ लाख जनसंख्या भएको स्विडेनमा सन् २०२० मा ३६६ वटा गोली हानाहानका घटनामा ४७ जना मारिएका थिए ।

बिहिवार अपराधको यो घटनापछि राजनीतिक क्षेत्रभरिबाट पार्टी नेताहरुलाई कारबाहीको आह्वान गरिएको छ ।

“हामी राष्ट्रिय आपतकालमा छौं । र अब यस्तो राजनीतिक नेतृत्वको आवश्यकता छ जसले हत्या हिंसाबिरुद्द नियन्त्रण फिर्ता लिओस” वामपन्थी नेता नूशी दाडगोस्टारले ट्विटरमा भनेका छन् ।

(एएफपी, टिटी न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक