बिहीबार, वैशाख १३, २०८१

एनआरएनए समस्याको निकास एक हप्ताभित्रै निकाल्ने पूर्व अध्यक्षहरुको निर्णय

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक ८ गते १३:२९

 

एनआरएनए पूर्व अध्यक्षहरु । फाईल फोटो ।

गैर आवाशीय नेपाली संघको वर्तमान बिवादलाई समाधान गरि जति छिटो महाधिवेशन गर्न एक हप्ताभित्रै समाधानका बुँदा तयार पार्ने निर्णय पूर्व अध्यक्षहरुको बैठकले गरेको छ ।

वर्तमान अध्यक्ष कुमार पन्त सहित आजै सोमवार बसेको पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, भवन भट्ट, उपेन्द्र महतो सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा एनआरएनएको भविष्य चिन्ताजनक अवस्थामा पुर्‍याउन लागिएको, झन झन बदनाम हुँदै गएको र गैर आवासीय नेपालीहरुबिचमै बदनाम हुँदा एनआरएनएको भविष्य संकटमा पर्ने हुनाले यसलाई यथासक्य छितो समाधान गर्न केन्द्रिय समितिलाई परामर्श, सुझाव र सहयोग गर्ने निर्णय पूर्व अध्यक्षहरुले गरेका हुन् ।

छलफलमा पूर्व केन्द्रिय अध्यक्षहहरु वा संरक्षक समितिले समस्या समाधानको जिम्मेवारी लिँदा केन्द्रिय समिति पुरै असफल भएको, असफल बनाउन खोजिएको सन्देश जाने र त्यसले एनआरएनको साख, ईज्जत र भविष्यलाई हित नगर्ने भन्दै पूर्व अध्यक्षहरु केन्द्रिय समितिलाईनै काम गर्न दिनुपर्छ भन्नेमा सहमत भएका छन् ।

“केन्द्रिय समितिनै अहिलेको समस्या समाधान गर्न सक्षम छ । पूर्व अध्यक्षहरुले केन्द्रिय समितिलाई परामर्श, सुझाव र सहमतिका बुँदहरु दिएर सहयोग गर्नुपर्छ र त्यसलाई केन्द्रिय समितिलेनै लागू गर्नेगरि सहयोग गगर्नुपर्छ, पूर्व अध्यक्षहरुनै सक्रिय हुँदा राम्रोपनि हुँदैन भन्ने सहमति भएको छ” स्रोतले नेपालप्लसलाई भन्यो ।

एक हप्ताभित्रै सहमति, परामर्श र सुझावका बुँदाहरु तयार गरेर परराष्ट्र मन्त्रालयसमेतलाई तिनमा सहमति गराउने र जति सक्दो छिटो माहधिवेशन गराउन सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।

पूर्व अध्यक्षहरु मध्ये देवमान हिराचन काठमाडौंमा नरहेकाले चार पूर्व केन्द्रिय अध्यक्ष र वर्तमान अध्यक्ष पन्तसहितको निष्कर्ष देवमान हिराचनलाई फोन मार्फत सुनाएर छलफल गरिएको विशेष स्रोतले नेपालप्लसलाइ बतायो ।

बैठकमा पूर्व अध्यक्ष र संरक्षक समितिका सदस्यहरुले सार्वजनिक रुपमा बोल्दा बाहिर आफू अनूकुल ब्याख्या गरिने गरेको, तोडमरोड हुने गरेको र त्यसले सहमति भन्दा बिवाद स्रिजना गर्न सहयोग पुर्‍याएको भन्दै पूर्व अध्यक्षहरुले सार्वजनिकरुपमा नबोल्ने सहमतिसमेत गरेको स्रोतले बतायो । ‘पूर्व अध्यक्षहरु धेरि बोल्दा समस्या भयो, आफ्नो हिसाबले ब्याख्या गरे मेडिया र स्वार्थ समूहले । त्यसैले पूर्व अध्यक्षहरु सार्वजनिक रुपमा नबोल्ने भन्ने सहमति भएको छ” स्रोतले नेपालप्लससित भन्यो ।

पूर्व अध्यक्षहरुको यस अघिको बैठकमा शेष घले उपस्थित थिएनन् । आज सोमवारको बैठकमा प्रभावशाली भूमिकामा रहेका शेष घले र जीवा लामिछाने दुबैले समस्याको हल यथाशिघ्र निकाल्नुपर्ने भन्दै सहमति गरेपछि महाधिवेशन छिटो गर्ने वातावरण बनाउन सहज भएको भनाई नेपालप्लस स्रोतको छ ।

तपाइँको प्रतिक्रिया