शुक्रबार, वैशाख १४, २०८१

पत्रकार सम्मेलनमै पत्रकारको जरोसमेत उखलेर फाल्ने धम्की

नेपालप्लस संवाददाता२०७८ कार्तिक ९ गते २०:५७

Image Credit-ekhabartouch.com

एनआरएनए एनसिसीहरुले आइतवार विश्व भेला भन्दै गरेको कार्यक्रमको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जरो समेत उखेलेर फाल्ने धम्कि आयोजकलेनै दिएका छन् । भेलाका निष्कर्षहरु सुनाईसकेपछि पत्रकारहरुलाई आफ्ना जिज्ञासाहरु राख्न दिएको र ति जिज्ञासाहरुको जवाफ दिने क्रममा आयोजक मध्येकै एक एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्कि दिँदै सार्वजनिक बेईज्जति समेत गरेका हुन् ।

पत्रकार श्याम लुईटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरि बिधान बिपरित भेला आयोजना गर्न हुन्छ र ? भन्ने लगायतका प्रश्न गरेका थिए । त्यसपछि चिरन शर्मालेपनि विधानकै धारा उल्लेख गर्दै केन्द्रिय समितिनै अवैधानिक भन्ने, फेरि त्यहि केन्द्रिय समितिलाईनै माग राख्ने कसरि बैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेका थिए । त्यस्तै उनको अर्को प्रश्न थियो, कतै यो भेलाले अर्को कुनै पक्षको एजेण्डा बोकेर हिँडेको त होइन ?

कार्यक्रमका मूल संयोजक एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिइसकेपछि उनले ‘यो बेलायतको विषय हुनाले एन आर एन ए उकेका अध्यक्ष प्रेम गाहा मगरजीलाई बढी थाह हुन्छ” भन्दै उनलाई जवाफ दिन भनेका थिए । त्यस लगत्तै प्रेम गाहा मगरले सार्वजनिक कार्यक्रममै गाली बेइज्जति शुरु गरेका थिए ।

उनले शुरुमै भने भने “यो चिरन शर्माको प्रश्नहरु आयो डेलिगेट्सको बारेमा । सबै प्रश्न स्पष्ठ पार्नुपर्छ भन्ने मलाई लाग्दैन । किनभने उहाँले बेलायतको कानुन अनुसार साईबर क्राईम एनआरएन बेलायतमा गर्नुभएको छ । जुन बेलायतको सबैभन्दा ठूलो पुलिस डिपार्टमेन्टमा हामीले कारवाहि अगाडि बढाइसकेका छौं । एनआरएनए बेलायतको फेसबूक ह्याक गरेर नेपाल ब्रिटेनबाट हाम्रो संस्थाको प्रोपर्टी चलाउनुभएको छ । उहाँनै हो त्यो ब्यक्ति जुन चाहिँ हामीले गरेको अस्तिको अधिवेशन, भेला आधिकारिक होइन भन्ने । उहाँले जुन बिवादास्पद कुरा ल्याउनुभएको छ यो भेलामा त्यसले गर्दा मैले स्पष्ठसित यति मात्रै भन्छु, ‘गएको अक्टोबर १२ मा बेलायतको ७० प्रतिशत भोट ल्याएर जितेको कार्य समितिले उहाँलाई पन्जिक्रित सदस्यबाटै बर्खास्त गरेको छ । त्यसैले आजको यो भेलामा उहाँलाई आउन नदिन बेलैमा जानकारि दिन सकिन । त्यसकोलागि म क्षमा चाहन्छु ।”

उनले शर्मालाई कुनैपनि कार्यक्रमम प्रवेश गर्नसमेत दिन नहुने बताउँदै भने “अब उप्रान्त यो गरिमामय संस्थालाई बिगार्ने, हालिमुहालि गर्न खोजिरहने त्यस्तो पन्जिक्रित सदस्यबाट निकालिसकिएको ब्यक्तिलाई अर्को जानकारि बाहिर नआएसम्म कुनैपनि गतिबिधिमा संलग्न हुन दिनुहुँदैन ।”

त्यसपछि प्रेम गाहा मगरले बेलायतकै अर्का पत्रकार श्याम लुइटेललाई एउटा बौद्दिक ब्यक्तित्व, पढेलेखेको ब्यक्ति चाहिन्छ भनेर आफू अध्यक्ष भएपछि ‘को मेम्बर’ मा राखेको उल्लेख गरे । त्यसपछि उनले श्यामप्रति आक्रोश पोख्दै भने “म एउटा संस्थाको अध्यक्ष हुँदाहुँदै मसित कुनै सरसल्लाह नगरि प्रश्नहरु गर्नुभयो । अहिले बेलायतको ‘को मेम्बर’ मा मैले जसरि तानें त्यसमा मैले दुई पटक सोच्ने बेला आएको छ । किनभने उहाँले सपथ खानुभएको छैन ।”

उनले आफूहरुले यो संस्था हामीले फुटाएर दुइ वटा बनाउन नचाहेको, १८ वर्ष बेलायतमा हालिमुहालि गरेको संस्थालाई ‘संस्थाको शुद्दिकरण, समुदायको एकिकरण’ भन्ने नारा लिएर हिँडेको बताए । आफू यो तरिकाले स्पष्ठसित अगाडि बढिरहेको र यो संस्था त्यहि तरिकाले अगाडि बढीरहेको उल्लेख गरे । अहिले निस्वार्थ भावनाले अगाडि बढिरहेको एनसिसीको अध्यक्षहरुको धारणानै यो संस्था आफूहरुलाई चाहिन्छ र संस्था आफूहरुले जोगाउनुपर्छ भन्ने धारणाले अगाडि बढेको बताउँदै भने “यो संस्थालाई शुद्दिकरण गरेर अगाडि ल्याउनकोलागि यो हालिमुहालीगर्नेहरुलाई चाहिं जरोबाट उखलेर नफालि हुँदैन । त्यसकारणले गर्दा जोजो पत्रकार मित्रहरुले नेगेटिभ बिचारको प्रश्नहरु गर्नुभयो उहाँहरु पहिलेनै परिचालन भएर आएको जस्तो देखियो ।”

उनले ह्वेल माछाको उदाहरण दिंदै भने “तपाईहरुलाई स्पष्ठसित थाह छ, संसारमा सबैभन्दा ठूलो जनावर ह्वेल माछा हुन्छ । त्यो ह्वेल माछाले मर्ने बेलामा ठूलो सास फेर्छ । त्यो १०८ किमीसम्म सुनिन्छ । अहिले केन्द्रले, संस्थापक पक्षले त्यहि गरिराखेको छ ।”

आफ्नो काम भनेको पब्लिकको आवाज लिएर जारि अभियानलाई अगाडि बढाउने, संस्थालाई जसरिपनि जोगाउँने, फुटेर कहिँ नजाने र शुद्दिकरण गरेर अगाडि बढ्ने बताउँदै भने “अबदेखि यस्ता खालका ब्यक्तिहरुलाई एनआरएनमा समावेश गरिने छैन । यो म विश्वभरि सचेत गराउन चाहन्छु । यस्तो खालको नकारात्मक समाचार लेख्ने ब्यक्तिहरुलाई कानुन अनुसारको सजाय नदिई हुन्न । यो संस्था भाँड्ने ब्यक्तिहरुलाई हामीले छोड्नुहुन्न । युकेको पत्रकारहरुले संस्था भाँड्ने तरिकाको प्रश्न गर्नुभयो । अब मैले यो कार्य समितिमा कुरा गर्नै पर्छ । श्याम लुइटेललाई मैले मनोनित गरेको छु । तपाई जुन तरिकाले यो भेलामा आउनुभयो यसमा मलाई दुख लागेको छ ।”

कार्यक्रममा प्रेम गाहा मगरले पहिलेनै शुभकामना दिईसकेका थिए । भेलाको निष्कर्ष सुनाइसकेपछि अधिकांश प्रश्नको जवाफ बुद्धिसागर सुवेदीलेनै दिएका थिए । तर बेलायतका पत्रकारले प्रश्न सोधेपछि सुवेदीले प्रेम गाहा मगरलाई जवाफ दिन भनेका थिए ।

पत्रकारमाथि यस्ता धम्की दिएपछि चिरन शर्माले ‘मलाई एक दुई मिनेट बोल्न दिनुस् न, सामान्य आलोचना आउने बित्तिकै अति धेरै निजात्मक आरोप लगाएको’ बताएका थिए । तर कार्यक्रमको सन्चालन गरेका तोया खनालले ‘अब कार्यक्रम सक्किएको, कार्यक्रमको तालिका अनुसार समय ढिलो भैसकेको’ भन्दै कार्यक्रमको अन्त्य गरेका थिए ।

यसको केहिबेरपछि नेपालप्लसलाई यो समाचार नलेख्न, यस्सो बिचार गरेर लेखिदिन भन्दै कार्यक्रम आयोजक निकटका केहि ब्यक्तिद्वारा आग्रह गरिएको थियो ।

तपाइँको प्रतिक्रिया