बिहीबार, वैशाख १३, २०८१

निहारिकाद्वारा लिखित ‘द्रौपदी अवशेष’ माथि काठमाडौँमा विमर्श

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक १० गते १२:३३

उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित पछिल्लो उपन्यास ‘द्रौपदी अवशेष’ माथि काठमाडौँमा विमर्श गरिएको छ ।

लोकवार्ता परिषद्द नेपालको आयोजनामा भएको कार्यक्रमका वक्ता प्रतिनिधिसभा सांसद छक्कबहादुर लामाले उपन्यासले हुम्लाको यथार्थपरक र गम्भीर विषय उठान गरेको बताए । पौराणिककालीन पात्र द्रौपदीसँग जोडिएको सामाजिक परम्परा हुम्लामा अझै पनि कायम रहेको बताउँदै उपन्यासमा परिवेश, विषयवस्तु र घटनाक्रम यथार्थपरक भएको उनले उल्लेख गरे । फरक परिवेशमा हुर्केकी लेखकले जिबन्त रुपमा बहुपति प्रथालाई प्रस्तुत गरेको भन्दै उनले प्रशंसासमेत गरे ।

कार्यक्रममा अर्का वक्ता प्रा.डा. वीणा पौड्यालले उपन्यासले कला, संस्कृति, पर्यटन, धर्म आदि बहुविषय पनि उठान गरेको उनको भनाई थियो । बहुपति प्रथा नै उपन्यासको मुख्य विषयवस्तु भएको उनले बताइन् । सामाजिक कुरीतिको रुपमा अन्य समाजले मानेको विषयलाई बाहिर ल्याउनु कठिन कार्य भएको बताउँदै उनले त्यो चुनौति लिन उपन्यासकार तयार भएकोमा गर्व लागेको बताइन् । उपन्यासमा महिलाको विषय उठान गर्न महिला लेखक भएकोले नै अझ सशक्त भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले पछिल्लो समय अनुसन्धानमूलक कृतिका लेखक र पाठकको संख्यामा वृद्धि भएको बताइन् । आध्ययन अनुसन्धानमा आधारित चिरहरण र योगमाया जस्तो सफल उपन्यास सिर्जना गरेर आफ्नो कलम स्थापित गरिसकेकी कार्कीको यो उपन्यास नेपाल बाग्मयको लागि नै अर्को एक महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरिन ।

उपन्यास पढ्दा त्यही भूगोल र परिवेश र भिन्न संस्कृतिमा पाठकलाई पुर्याउने र सँगसँगै घुमाउने पनि उनले बताइन् । उपन्यासमा यथार्थता र विविधता भएको भन्दै उपन्यास पढ्दा बागलुङमा गएर टिमुर हालेको, जिम्बुले झानेको थकाली खाना खाएजस्तो चखिलो भएको उनको भनाई थियो ।

यो उपन्यासमा चलचित्र बन्नसक्ने बलियो सम्भावना भएको उनले बताइन् । तर चलचित्र बनाउन हतार नगर्न पनि उनले उपन्यासकार कार्कीलाई आग्रह गरिन् । बीपी कोइरालाको ‘तीनघुम्ती’ उपन्यास चलचित्र बनाउँदा बिग्रिएको, ‘परिबन्ध’ कथा चलचित्र बनाउँदा बिग्रिएको भन्दै यो उपन्यासलाई चलचित्र बनाउनु अघि गम्भीर बन्न उपन्यासकारलाई उनले आग्रह गरिन् ।

कार्यक्रमका अर्का वक्ता डा. धनप्रसाद सुवेदीले आञ्चलिक उपन्यास मध्ये यो पनि एक शसक्त उपन्यास भएको बताए । शंकर कोइरालाको खैरेनीघाटदेखि अहिले नीलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’ एक भिन्न पहिचान भएका आञ्चलिक उपन्यास भएको उनले बताए । हिमालका परिवेशमा यस अघि केहि उपन्यास प्रकाशित भए पनि यो उच्च हिमाली क्षेत्रको फरक कथा भएको बताए ।

विद्यमान बहुपति परम्परालाई आधार बनाएर सफल उपन्यास लेखन भएको उनको भनाई थियो । बहुपति परम्परा ठीक वा बेठीक भन्नु भन्दा पनि उपन्यासकारले चलाखीपूर्ण तरिकाले यसको यथार्थता र सीमा देखाउने काम गरेको उनले बताए । उपन्यासमा प्रेम, जीवन र स्वतन्त्रताजस्ता विषयलाई बढो रोमाञ्चक ढंगले व्याख्या गरिएको उनले उल्लेख गरे । प्राय भिन्न संस्कृतिमा पुस्तक लेखिंदा विवाद हुने गरेकोमा द्रोपदी अवशेषलाई विवाद मुक्त बनाएर सम्पूर्ण यथार्थ चित्रण गर्नु लेखकको कलमको ठुलो खुबी भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उपन्यासकार नीलम कार्की निहारिकाले रचनागर्भ, विषयवस्तुको छनौट, लेखन र विमर्शसम्मका विषयमा आफ्नो भनाई राखेकी थिइन् । लेखकले जुन सोचका साथ लेख्छ पाठकले त्यही रुपमा बुझिदिँदा भने लेखन सफल भएको महसुस हुने उनले बताइन् । पाठक र समालोचकको सकारात्मक प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित रहेको बताउँदै उनले विषयवस्तु छनौटप्रति गर्व लागेको बताइन् । बहुपति प्रथाको उठान गम्भीर भएकोले पनि गलत र सही भन्नु भन्दा पनि सामाजिक सांस्कृतिक यथार्थ बाहिर ल्याउने प्रयास गरेको उनको भनाई थियो ।

कार्यक्रमका सभापति तथा लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीले धेरै पहिले आफूले पनि यस्तै विषयलाई पुस्तकको रुपमा बाहिर ल्याउन प्रयास गरे पनि डर र धम्कीका कारण थन्किएको भन्दै आख्यानको माध्यमबाट सो विषय बाहिर आएकोमा खुसी लागेको बताए ।

उपन्यासकार कार्कीले अनुसन्धानमूलक कृति प्रकाशन गरेको र त्यसमा पनि संस्कृतिलाई मुख्य विषयवस्तु बनाएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा जुम मार्फत अमेरिकाबाट जोडिएका ईश्वर देवकोटाले पनि आफ्नो छोटो मन्तव्य राखेका थिए । सीमित सहभागीहरुको बीचमा भएको कार्यक्रमलाई लोकवार्ता परिषद् नेपालका महासचिव डा। भक्त राईले सहजिकरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया