बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारी, बेल्जियमका नेपालीलाई स्वर्णकाल !

नेपालप्लस संवाददाता२०७८ कार्तिक ११ गते १९:०७

कोरोनाको महामारीका बेला युरोपभरि ब्यापार, ब्यवशाय बन्द भए । पसल र रेस्टुरेन्टका ढोकामा ताला लागे । ब्यापारिक, पर्यटन क्षेत्र सुनसान भयो । धेरै ब्यवशायी, ब्यापारीले पुन्पुरोमा हात राखेर बसे । करोडौं डुब्यो । लाखौंको रोजगारी गुम्यो । दुनियाँको ब्यवशाय चौपट भैरहेका बेला नेपाली ब्यवशायी संघ बेल्जियमका महासचिव मदन दवाडीसहित झण्डै डेढ सय नेपालीलाई भने ब्यापार गर्न नभ्याएर हम्मेहम्मे परिरहेको थियो ।

“कोरोनाको महामारीका बेला यति ब्यापार भयो कि बेल्जियमका नेपालीको ब्यापार त कम्तिमा दोब्बर भयो” दवाडी भन्छन् “रेस्टुरेन्टहरुमा त कामदारसमेत नपाइने स्थिति बन्यो ।”

महामारीका बेला बेल्जियन, ईरानी, ईटालियन लगायत अन्य देशका नागरिकले खोलेका रेस्टुरेन्ट बन्द भए । टेबलमा आएर खान नपाइने नियम सरकारले बनाइदिएपछि ग्राहक बसालेर खाना खुवाउने रेस्टुरेन्ट, बार, काफे, पसलहरु सबै बन्द भए । बाहिर खाना खानुपर्ने, खानाका सौखिन, खाना पकाउन नभ्याउनेहरुले के गर्ने त ? सरकारले टेक अवे र होम डेलिभरि भने खुलै राखिदिएको थियो । नेपालीले यहि मौकाको भरपुर फाईदा उठाए ।

मदन दवाडी आफ्नो सुसी रेस्टुरेन्ट अगाडि

मदन दवाडीका अनुसार बेल्जियममा हाल करिब चारसय जति नेपाली ब्यवशायी छन् । ति मध्ये २८० वटा जति त जापानी खाना सुसीकै रेस्टुरेन्ट सन्चालक छन् । टेबलमा बसेर खाने रेस्टुरेन्ट, बार र कफी सपहरु बन्द भएपछि बेल्जियमका ग्राहकहरु टेक अवे र घरैमा खान मगाउन (डेलिभरी) थाले । ति सोहोरिएर नेपालीका रेस्टुरेन्टमा आए ।

“अधिकांश नेपालीले खोलेका रेस्टुरेन्ट टेक अवे र डेलिभरिका थिए । कोरोनाकालमा मेहनति नेपालीले घरघरै खाना पुर्‍याइदिने सेवा दिए । नेपालीका रेस्टुरेन्टमा भ्याइनभ्याई भयो” मदन दवाडी सुनाउँछन् ।

यो कोरोना महामारीको फाईदा बेल्जियमका मात्रै नभएर पोर्चुगलका नेपालीलेसमेत बेल्जियम आएर लिए । बेल्जियममा पोर्चुगलमा भन्दा कम्तिमा दोब्बर तलव र सुबिधा हुनालेपनि रेस्टुरेन्टको काम जानेका नेपालीहरु पोर्चुगल छोडेर बेल्जियम आए ।

“बेल्जियममा लौ न कोहि कामदार चाहियो पठाइदिनुस् भन्थे । काम जानेको छैन भन्यो, काम किन जान्नुपर्‍यो ? मान्छे भए पुग्छ सिप त सिकाइहाल्छु नी भनेरपनि नेपालीलाई काममा राखे” प्रेम पाठक भन्छन् ।

बेल्जियममा कोरोना महामारी अघि नेपालीका करिब एक सय सुसी रेस्टुरेन्ट थिए । कोरोना महामारीका बेलामै करिब १३० वटा सुसी रेस्टुरेन्ट खुलेको मदन दवाडीको भनाई छ ।

“रेस्टुरेन्टमा यति भिड भयो कि नेपालीका रेस्टुरेन्टले त धान्नै नसक्ने स्थिति बन्यो । काम जानेका नेपालीले धमाधम आफैंले सुसी रेस्टुरेन्ट खोले” दवाडी सुनाउँछन् ।

बेल्जियममा कोरोना कालमै १३० वटा नयाँ रेस्टुरेन्ट कसरि खुले ? कहानी अचम्म लाग्दो छ । कोरोना महामारीको पहिलो लकडाउनका बेला सरकारले हरेक ब्यवशायीलाई मासिक चार हजार आठ सय युरो र व्यबसाय मालिकलाइ टेबलमा खाना बन्द गरेपापत एक हजार ६ सय युरो दियो । फेरि दोस्रो लकडाउनमापनि सरकारले ब्यवशायीलाई मासिक तिन हजार दुई सय युरो दियो । कर्मचारीहरुलाई सधैं पाउने तलबको ८० प्रतिशत दियो । अघिल्लो सालको आम्दानी हेरेर त्यहि अनुसार ब्यवशायीलाई फेरि अनुदान दियो । कतिपय साना रेस्टुरेन्ट, पसलमा यत्तिपनि ब्यापार हुन्थेन । सरकारले भाडा तिरिदिने, अनुदान दिने र तलब समेत दिँदा धेरै नेपालीको बचत भयो । यहि मेसोमा अरुका रेस्टुरेन्टमा काम जानेका नेपालीले धमाधम आफैंले सुसी रेस्टुरेन्ट खोले ।

“सुसीमा सिप जानेर अर्काको काम गरेकाहरु पुरा साहु बने । कोरोनाको महामारी त नेपालीलाई यति फाप्यो कि अहिले बेल्जियमका गल्ली गल्लीमा नेपालीका सुसी रेस्टुरेन्ट छन्” प्रेम पाठक भन्छन् ।

सुसी रेस्टुरेन्ट फस्टाउनुको अर्को कारण थोरै लगानी र थोरै कर्मचारीमै शुरु गर्न सकिने भएकालेपनि हो । सानोतिनो काम चल्ने खालको रेस्टुरेन्टको योजना बनाउने हो भने ३० देखि ४० हजार युरोमै खोल्न सकिने भनाई नेपाली ब्यवशायी संघ बेल्जियमका महासचिव मदन दवाडीको छ ।

“थोरै लगानीमा खोल्न सकिने र एक जनाले सुसी बनाएपनि निक्कै ब्यापार गर्न सकिने भएकालेपनि सुसीतिर नेपालीहरु आकर्षित भए” उनी भन्छन् ।

त्यसो त, कोरोना महामारी शुरु हुनु अघि बेल्जियममा सुसीको आकर्षण अहिले जस्तो थिएन । कोरोनाकाल अघि नेपालीका रेस्टुरेन्ट कोरोनाकालमा झैं चलेकापनि थिएनन् । कोरोनाले गर्दा नागरिकहरु बाहिर गएर खान, सिनेमा हेर्ने, कफी सप र वारहरुमा जाने सबै बन्द भयो । घर घरमै खुम्चिएकाहरुले रेस्टुरेन्टबाट मगाएर घरैमा खाने बानी बसालिदियो । टेक अवे र डेलिभरि गर्ने रेस्टुरेन्टहरु अधिकांश नेपालीकै भएकालेपनि नेपालीहरुले आफ्नो ब्यवशाय फस्टाउने अवशर पाए ।

नेपाली रेस्टुरेन्ट उद्घाटन गर्दै बेल्जियमका मेयर

रेस्टुरेन्ट भित्रै गएर खाने रेस्टुरेन्टहरु बन्द भैदिँदा ग्राहकहरुले बाध्यतालेपनि सुसी खाए । सुसीमा बानी नपरेकाले शुरुमा तारेको सुसी खाए । खाँदै जाँदा बानी पर्दै गयो । बाध्यताले सुसी मगाएर खानेले पनि चाख्दै जाँदा मन पराउँदै गए । आठ दश वर्ष अघि सुसी नचिन्नेहरुपनि अहिले सुसीको पारंगत बनेका छन् । खासगरि बेल्जियममा युवा पुस्तामा सुसी खाने बानी कोरोना महामारीले बसालिदियो ।

“सुसी भनेपछि युवायुवती त पागलै हुने रैछन् । अहिले हप्तामा एक पटक सुसी खाने बेल्जियनहरुमा बानीनै बस्यो । पहिले फ्रेन्च फ्राई (तारेको आलु) थियो अहिले त्यो ठाउँ सुसीले लियो” दवाडी सुनाउँछन् ।

कोरोनाले गर्दा नेपाली आपूर्तिकर्ता, खाद्द थोक बिक्रेतालाईपनि फाईदा पुर्‍यायो । मदन दवाडीसहित अन्य पाँच नेपाली मिलेर फूड एशिया भन्ने कम्पनी खोलेका थिए । यसको उद्देश्य एशियाका अधिकांश देशको खाध्य सामाग्रि रेस्टुरेन्ट ब्यवशायी, पसलेहरुलाई आपूर्ति गरिदिने थियो । तर यो महत्वाकांक्षी योजना स्थापित हुने नहुने, भैहालेपनि कति समय लाग्ला भन्नेमा फूड एशियाका सन्चालकहरु निर्धक्क थिएनन् । तर कोरोना महामारीका बेला यो खाध्य कम्पनीलेपनि स्थापित हुने मौका पायो । अहिले फूड एशियाले बेल्जियमका ३०० भन्दा बढीलाई खाध्य लगायतका अन्य वस्तु आपूर्ति गर्छ ।

“कोरोनाका बेला अरु आपूर्ति कम्पनीहरुले सेवा बन्द गरे । हामीले जोखिम लिएर सामान दियौं । यसले गर्दा हामीलाई स्थापित हुन सहज मात्रै भएन कि नेपाली ब्यवशायीलेपनि सजिलोसित सामान पाए” मदन दवाडी भन्छन् ।

बेल्जियमका ब्यवशायी दवाडीलाई सुसी खानालाई नेपालीलेनै बेल्जियमका जिब्रोमा गाढिदिएपछि एउटा रहर जागेको छ । चासो र चाख बढेको छ, नेपालीले बेल्जियमको गाउँ गाउँमा सुसी पुर्‍याइदिएर प्रसिद्द बनाउन सक्छन् भने नेपाली खानालाई यसरिनै बेल्जियममा स्थापित गराउन किन सक्दैनन् ?

“आर्काको देशको खाना यहिँ नाम सुनेर, देखेर, चाखेर, सिकेर आर्काको देशका गाउँ गाउँमा प्रसिद्द बनाउन सकिने रहेछ भने हाम्रो आफ्नै खाना झन किन सकिन्न ?” दवाडीको तर्क छ ।

त्यसैले, अब नेपाली खानालाई प्रवर्धन गर्नुपर्छ भन्ने योजना दवाडीले बनाईरहेका छन् । भन्छन् “बेल्जियममा नेपाली रेस्टुरेन्ट ४, ५ वटा मात्रै छन् । अब नेपाली खाना स्थापित गर्नुपर्छ भन्ने हाम्रो सोच छ। मैले आगामी जनवरीदेखि नेपाली खाना पाइने रेस्टुरेन्ट खोल्ने तयारि गरिरहेको छु ।”

तपाइँको प्रतिक्रिया