शुक्रबार, चैत १६, २०८०

“बेलायतको नागरिकता लिएको भए यहिँ सांसद र मन्त्री बन्नुस, नेपालमा भोट हाल्न मिल्दैन” प्रम देउवा

नेपालप्लस संवाददाता / लण्डन२०७८ कार्तिक १३ गते २१:१९

प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा बसेर त्यहिंको नागरिक भैसकेकाले नेपाली नागरिकता खोज्नुभन्दापनि बेलायतकै सांसद र प्रधानमन्त्री बन्न नेपालीहरुलाई सुझाव दिएका छन् ।

शनिवार नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समितिका कार्यकर्ता, शुभेच्क्षुकहरुसितको भेटमा देउवाले उक्त कुरा बताएका हुन् ।

बेलायतको नागरिक हुनुनै ठूलो उपलब्धि भएको उल्लेख गर्दै प्रम देउवाले नेपालीहरुलाई भने “बेलायतको नागरिक हुनु चानचुने कुरा होइन, ठूलो उपलब्धि हो । कुनै बेला बेलायत विश्वको ठूलो एम्पायर थियो । बिदेशी पासपोर्ट लिनेहरुले नेपालमा मतदान गर्न पाइन्न । संविधान संशोधन गर्नपनि गाह्रो छ ।”

देउवासितको भेटघाटमा बेलायतमा पार्षद बनिसकेका केहि नेपालीहरुपनि पुगेका थिए । देउवाले ति नेपालीको उदाहरण दिँदै भने “तपाईहरु यहाँको पार्षद बनिसक्नुभएको छ । अब सांसद र कुनैबेला यहिँको प्रधानमन्त्री बन्नसक्नुहुन्छ ।”

देउवाले बिदेशी पासपोर्ट लिएपनि नेपालीहरुलाई नेपालमा लगानी सुरक्षित गर्ने आस्वाशन समेत दिए । उनले नेपालमा लगानी गर्नपनि नेपालीहरुलाई आग्रह गरे ।

देउवाले बिदेशी पासपोर्ट लिईसकेका नेपालीहरुलाई अन एराईभल भिसा दिने बताउँदै भने “सरकारले अन एराईभल भिसा दिन्छ । तपाईहरु भिसाको लागि नेपाली दुतावास जानुपर्दैन । काठमाडौं सिधै आएर विमानस्थलमै भिसा लिन पाउनुहुन्छ, झन्झट हुँदैन ।”

नेपालले यस अघिनै वर्षौंदेखि पर्यटकहरुलाई अन एराईभल भिसा दिँदै आएको थियो । कोरोनाकालमा रोकिएको अन एराईभल भिसा हालसालै खोलिसकेको छ । तर देउवाले अन एराईभल भिसा सरकारले पहिलो पटक दिन लागेझैं गरि कार्यक्रममा बताएका थिए ।

देउवाले अर्को अचम्मको प्रसंगपनि सुनाए, कोरोना भाईरस मुक्त देश बनाउने । आगामी चैत्र २०७८ भित्रै नेपाल कोरोना मुक्त देश हुनेपनि बताए । उनले भने “अब २०७८ को चैत्रसम्म देश कोरोनामुक्त हुन्छ ।”

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले एनआरएनएका केन्द्रिय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यलाई जिताउनसमेत आग्रह गरेका छन् ।

उदेउवाले भने “कुल आचार्यले धेरै सामाजिक काम गर्नुभएको छ । बिदेशका नेपालीहरुलाई धेरै सहयोग गर्नुभएको छ । उहाँ जस्तो मान्छे संस्थालाई चाहिन्छ ।”

कार्यक्रममा एनआरएनए बेलायतले प्रधानमन्त्री शेर बहादुर देउवालाई भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्ने लगायतका विषयमा ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा भनिएको छ “सन् १९९० को दशकमा यहाँले तत्कालीन प्रधानमन्त्रीको रुपमा उजागर गर्नुभएको तर आज झण्डै अढाई दशक बितिसक्दा पनि छिनोफानो नभइसकेको अवस्थामा यहाँकै प्रधानमन्त्रीत्वकालमा गोर्खा समस्याको न्यायपूर्ण तथा दीगो समाधान गरी गोर्खालीहरुप्रतिको न्याय स्थापित गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनु हुन आग्रह गर्दछौं “।

ज्ञापनपत्रमा बेलायतमा रहेका नेपालीहरुले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकार समक्ष आफ्ना निवेदनहरु पेश गर्दै आएको र एनआरएनएको ‘एक पटकको नेपाली सधैंको नेपालीू’ भन्ने मूल मर्म अनुरुप एनआरएनले यस्तो माग राखेको उल्लेख छ । उनीहरुले ज्ञापनपत्रमा नेपाली नागरिकता ऐन दफा १०, नेपालको संविधानको धारा २९१ लगायतका संवैधानिक तथा कानूनी प्रावधानहरु प्रवासमा रहेका नेपालीहरुका लागि विभेदकारी रहेको भन्दै यस्ता प्रावधानहरुले मात्रृभूमिसँगको सम्बन्धल़ाई मजबुत बनाउने भन्दा पनि टाढा बनाउने प्रकृति रहेको उल्लेख गरेका छन् । यस्तो प्रावधानले विदेशमा रहेका नेपालीहरुको सीप, ज्ञान र पूँजीगत लगानीलाई पनि सोझै निरुत्साहित गरेको भनाई ज्ञापनपत्रकर्ताको छ । उनीहरुले यस्ता विभेदकारी कानूनहरु तत्काल हटाउने पहल गर्न र गैरआवासीय नेपाली सम्बन्धी ऐन र नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने लगायतका विधेयकहरू तदारूकताका साथ संसदबाट पारित गराउनसमेत आग्रह गरेका छन् ।

बिदेशमा बस्ने नेपालीहरुलाई मतदानको ब्यवस्था गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ “सम्मानित सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा बस्ने नेपालीहरूले मतदानमा भाग लिने ब्यवस्था मिलाउन तथ्याङ्क संकलन लगायत ब्यवस्थापनमा तदारूकता देखाइ आगामी संसदीय निर्वाचनमा सहभागी हुने ब्यवस्था मिलाउन आग्रह गर्दछौं ।”

नेपाल र बेलायतलाई जोड्ने गरी सिधा हवाइ सेवा जति सक्दो चाँडो सूरु गर्ने व्यवस्था मिलाई दिनपनि आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै, ज्ञापनपत्र मार्फत् नेपालमा ब्रिटेनबाट प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्न नीतिगत तथा व्यावहारिक व्यवस्था अरु सुगम एवं झन्झटमुक्त बनाउन र बेलायत लगायतका मुलुकमा न्यून व्याजमा राखिएको नेपालीहरुको पूँजी बढी व्याज आउने नेपाली ब्यांकहरुमा राख्नुका साथै चाहेको बेला फिर्ता ल्याउनपनि सक्ने कानूनी प्रवन्ध मिलाईदिनसमेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक