बिहीबार, वैशाख १३, २०८१

नेपाली जनसम्पर्क समिति युकेले नेपाली कांग्रेसलाई झण्डै आधा करोड रुपियाँ नेपाल पठायो

नेपालप्लस संवाददाता / लण्डन२०७८ कार्तिक १४ गते २१:०९

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाली जनसम्पर्क समिति युकेले नेपाली कांग्रेसलाई झण्डै आधा करोड रुपियाँ नेपाल पठाएको छ ।

नेपाली कांग्रेसको सक्रिय सदस्यता वापत झन्डै आधा करोड रुपियाँ नेपाल पठाएको जनसंपर्क समिति युकेले प्रधानमन्त्री समक्ष बातएको हो ।

नेपाली जनसम्पर्क समिति युकेले हाल बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाको स्वागतमा नेपाली दूतावास, लन्डनमा शनिवार एक कार्यक्रम आयोजना गरेको थियो । त्यहि कार्यक्रममा जन संपर्क समिति युकेका अध्यक्ष युवराज गुरुङले प्रधनमन्त्री देउवा समक्ष यस्तो रिपोर्ट गरेका हुन् ।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङले युकेमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका दुइ हजार ५ जना सदस्यहरुको सदस्यता वापत रू ५१ लाख ८८ हजार पार्टीको कोषमा जम्मा गरिएको जानकारी दिए ।

तर ती सबैको क्रियाशील सदस्यता स्वीकृत भैसकेको छैन । क्रियाशील सदस्यता स्वीकृत नभएका आवेदकहरुले पठाएको शुल्क पनि पार्टी कोषमै रहने देख्निएको छ । किनभने नेपालको कानून अनुसार विदेशी मुद्रा बाहिर पठाउन मिल्दैन ।

सभापति गुरुङले सन् २००८ मा सोसलिस्ट इन्टरन्याशनलको सदस्यता वापत नेपाली कांग्रेस पार्टीले बुझाउनुपर्ने शुल्क पनि नेपाली जनसम्पर्क समिति युकेले बुझाई दिएको बताए । उनले कोभिडका बेला ब्रिटेनको कार्डिफ विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाइ जनसम्पर्क समिति युकेले राहत सामग्री वितरण गरेको तथा नेपाल सरकारले कोरोना पीडितहरुको सहयोगार्थ खडा गरेको कोषमा दुइ लाख रुपिया जम्मा गरेको पनि जानकारी दिए।

उक्त अवसरमा बोल्दै प्रधानमंत्री देउवाले नेपालमा गरेको सहयोगका लागि नेपाली जनसम्पर्क समिति युकेका सबै सदस्यहरुलाई धन्यवाद दिए ।

उनले सरकारले नेपालमा लगानीको वातावरण बनाइरहेको बताउँदै सरकारले लगानीकर्ताको सुरक्षाको जिम्मा लिने पनि बताएका थिए।

प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार अपरान्ह लण्डनबाट स्कटल्याण्ड प्रस्थान गरेका छन् ।

तपाइँको प्रतिक्रिया